+
+

बुद्धिचाल संघमा चुनावी चहलपहल, सर्वसम्मत नेतृत्व छान्ने तयारी

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार २२ गते १८:२४

२२ असार, काठमाडौं । नयाँ खेलकुद ऐन कार्यान्वयनको अन्योलता र कोरोना महामारीका कारण रोकिएका राष्ट्रिय खेल संघहरुको कार्यसमिति निर्वाचन धमाधम हुँदैछन् । ऐन कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पनि ‘लचिलो’ विधि अपनाएको छ ।

नेपाल बुद्धिचाल संघले दुईपल्ट मिति तोकेर पनि गर्न नसकेको चुनावी साधारणसभा शुक्रबार र शनिबार काठमाडौंमा हुँदैछ । सात वर्षपछि हुन लागेको निर्वाचनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

नेकपा एमालेका नेता (हाल मकवानपुर जिल्ला अध्यक्ष) एकलाल श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिले २०७६ चैत २८ गते बुद्धिचाल संघको सातौं अधिवेशन तथा निर्वाचनको मिति तय गरेको थियो । तर, चैत ११ गतेदेखि कोरोना महामारी नियन्त्रणको लागि सरकारले देशव्यापी लकडाउन लागू गरेपछि पहिलोपल्ट निर्धारित मितिमा निर्वाचन हुन सकेन । दोस्रोपल्ट गत जेठ २० गतेका लागि निर्धारण गरिए पनि आन्तरिक किचलोका कारण हुन सकेन ।

पटक पटक चुनावको मिति घोषणा भएर पनि निर्वाचन हुन नसक्नुको अर्को कारण भनेको राजनीतिक खिचातानी पनि थियो । बुद्धिचाल संघमा नेकपा एमाले समर्थितको बाहुल्य थियो । पार्टी विभाजनपछि महासचिव हिराकाजी महर्जनको नेतृत्वमा एउटा टिमले नेकपा एकीकृत समाजवादी रोजे । एमालैमै रहेका अध्यक्ष श्रेष्ठसँग मतभेद भएपछि संघमा विवाद सुरु भएको हो ।

एक महिनाअघि संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम, महासचिव महर्जनसहित कार्यसमितिका १८ जनाले हस्ताक्षर गरेर संघ विघटन गरी तदर्थ समितिको मागसहित राखेपमा निवेदन नै दिएका थिए । आगामी कार्यकालका लागि अहिलेसम्म अध्यक्ष पदका एक्ला प्रतिस्पर्धी गौतम त्यसलाई परिस्थितिगत बाध्यता भन्छन् । ‘त्यसलाई गलत अर्थमा पनि हेरिनु हुँदैन । संघमा नियमित काममै असर पर्न थालेपछि छिटो निर्वाचनका लागि दवाव दिनका लागि हामीले परिषदलाई आग्रह गरेका थियौं,’ गौतमले अनलाइनखबरसँग भने ।

बुद्धिचाल संघको ३१ सदस्यीय कार्यसमितिमध्ये २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र १० जना सदस्य निर्वाचनमार्फत आउनेछन् । सदस्यमा सात प्रदेशबाट एक–एक जना र तीनजना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् । सदस्यमा कम्तिमा दुई जना महिला अनिवार्य हुनुपर्ने वैधानिक व्यवस्था छ ।

अघिल्लो साताको कार्यसमिति बैठकले असार २४ र २५ गते निर्वाचनको मिति तोकेपछि अहिले बुद्धिचालमा चुनावी माहोल तातिएको छ । नयाँ राष्ट्रिय खेलकुद ऐन २०७७ असारमा जारी हुनुअघि नै संघले विधान संशोधन गरी संघीय संरचनामा लगिसकेका कारण केन्द्रीय निर्वाचनका लागि राखेपबाट पनि बाधा भएन । ‘हामीले विधान संशोधन गरी पहिलोपल्ट घोषित मितिमै जिल्ला र प्रदेश प्रतिनिधि चयन गरिसकेका थियौं । त्यसैले छोटो समयमै निर्वाचन सम्पन्न गर्न सम्भव छ,’ संघका सचिव उमेश केसीले भने ।

वर्तमान अध्यक्ष श्रेष्ठले पार्टी राजनीतिलाई प्राथमिकतामा राख्दै संघको नेतृत्व नदोहोरिने निर्णय गरेका छन् । उनी खेलकुदमा राजनीति घुसाउनुहुन्न भन्ने मान्यतामा आफू अडिग रहेकोसमेत बताए । ‘सकेसम्म सबैलाई मिलाएर सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्नमा मेरो समर्थन रहनेछ । प्यानल बनाएर अगाडि जाँदा भविष्यमा अप्ठेरो हुनसक्छ । म आफैं पनि सबैको चाहनाले नेतृत्वमा आएको हो,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने ।

गौतम अध्यक्ष पदका एक्ला दावेदार

नेपाली कांग्रेस समर्थित विदुरप्रसाद गौतम अहिले अध्यक्ष पदका एक्ला दावेदार छन् । राष्ट्रिय राजनीतिमा गठबन्धन भएजस्तै आफूहरुले पनि गठबन्धन गरेर चुनावी तयारी गरेको महासचिव हिराकाजी महर्जनले बताए । महर्जन आगामी कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्ष पदका दावेदार हुन् । त्यस्तै हालका उपाध्यक्ष नारायणराज गमाल महासचिवको प्रत्यासी बनेका छन् । उनी नेकपा एकीकृत समाजवादीको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (समाजवादी)का प्रवक्तासमेत हुन् ।

वर्तमान कार्यसमितिका सचिव धर्म लामा र सदस्य उमेश केसी पनि महासचिवका दावेदार हुन् । केसी एमाले समर्थित नेपाल खेलकुद महासंघका प्रवक्तासमेत हुन् । पूर्व च्याम्पियनहरु मोनालिसा खम्बो र भुपेन्द्र निरौला पनि कार्यसमितिमा पदाधिकारीको दावेदार हुन् ।

बुद्धिचाल संघको ३१ सदस्यीय कार्यसमितिमध्ये २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र १० जना सदस्य निर्वाचनमार्फत आउनेछन् । सदस्यमा सात प्रदेशबाट एक–एक जना र तीनजना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् । सदस्यमा कम्तिमा दुई जना महिला अनिवार्य हुनुपर्ने वैधानिक व्यवस्था छ । निर्वाचित हुन नसकेमा मनोनित गरेर ल्याउन पाइने सुविधा पनि छ ।

बुद्धिचाल संघको कार्यसमिति चयनका लागि ११४ जना मतदान अधिकारप्राप्त प्रतिनिधि हुनेछन् । आसन्न चुनावमा भने ११३ जनाले मतदान गर्नेछन् । संघको सदस्य जिल्लासंख्या ४९ भए पनि २९ जिल्लालाई मात्र मतदान अधिकार दिइएको छ । मतदान अधिकार पाउने जिल्लाबाट प्रतिजिल्ला २ जना प्रतिनिधि छानिनेछन् ।

सात प्रदेशबाट ३–३ जनाका दरले २१ मत हुनेछ । आर्विटर कमिसनबाट २ जना, राष्ट्रिय च्याम्पियन (पछिल्लो प्रतियोगिताका आधारमा) महिला र पुरुष १–१ जना तथा कार्यसमितिका ३१ जनाले मतदान गर्न पाउँछन् । कार्यसमितिका उपाधयक्ष सुदेन्द्रप्रसाद श्रेष्ठले यसअघि नै राजीनामा दिएका कारण यसपल्टको निर्वाचनमा कार्यसमितिमा ३० मत मात्र रहेको छ ।

कार्यसमितिमा निर्वाचित पदाधिकारीको संख्या माग र आवश्यकताअनुसार थपघटको निर्णय हुनसक्ने संघका एक पदाधिकारीले जानकारी दिए । विधानमा आवश्यक संशोधनका लागि संघले उपाध्यक्ष राजेन्द्रप्रसाद रिजालको संयोजकत्वमा उमेश केसी र यज्ञप्रसाद पन्त सम्मिलित कार्यदल बनाएको छ ।

आकांक्षी व्यवस्थापनका लागि पदाधिकारीको संख्यामा पुनर्विचार हुनसक्ने सम्भावना देखिएको छ । कार्यदलले साधारणसभामा पेश गर्ने मस्यौदा पास भएमा लगत्तै हुने निर्वाचनमा कार्यान्वयन हुनेछ । तर, अध्यक्ष श्रेष्ठले आवश्यकताअनुसार विधान संशोधन गरिए पनि पदाधिकारी बढाउने पक्षमा आफू नरहेको बताएका छन् ।

संघलाई झोलाबाट कार्यालयमा लैजान मेरो उम्मेदवारी : गौतम

नेपाल बुद्धिचाल संघमा दुई दशकदेखि पदाधिकारीका रुपमा कार्यरत वर्तमान उपाध्यक्ष गौतम सहमतिको प्रयासले मूर्त रुपमा पाउँदा अध्यक्ष हुने निश्चितजस्तै छ ।

२०६० सालदेखि संघमा रहेका गौतम सचिव, उपाध्यक्षहुँदै पछिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्षमा विताएका हुन् । त्यसले उनी आफू अध्यक्षको स्वभाविक दावेदारका रुपमा मान्छन् । राजनीतिक समीकरण र सहमतिको प्रयासले उनी बलियो दावेदार बनेका छन् ।

अध्यक्षका उम्मेदवार गौतमले बुद्धिचाल संघलाई व्यवस्थित र स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहेको सुनाए । ‘संघको व्यवस्थापनका लागि गर्नुपर्ने काम धेरै छन् । संघलाई प्रणालीमा लैजानुछ । व्यापक मात्रामा व्यवस्थापकीय सुधार गर्नुछ । हामीसँग अहिलेसम्म आफ्नै कार्यालय पनि छैन । मेरो पहिलो प्राथमिकता नै संघको आफ्नै कार्यालय स्थापना गर्नुमा हुनेछ,’ गौतमले भनेका छन् ।

उनले बुद्धिचाल खेल विकासका लागि दुईवता महत्वपूर्ण योजनालाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।

पहिलो– बुद्धिचालको ग्रासरुट विकास ।

दोस्रो– प्रभावकारी अन्तर्राष्ट्रिय सहभागिता ।

नेपालकै पुरानो खेल भएर पनि बुद्धिचाल शहरकेन्द्रित खेलका रुपमा रहनुलाई गौतमले दुखत भनेका छन् । ‘आधारभूत कुरा के हो भने बुद्धिचाालको विकासका लागि यसलाई विद्यालयस्तरमा सञ्चालन गर्नुपर्छ । शिक्षा मन्त्रालयसँग सहकार्य गरेर सम्भव भएसम्म पाठ्यक्रममै समावेश गर्न मेरो पहल हुनेछ,’ आफ्ना योजनाबारे गौतमले थपे, ‘स्थानीय सरकारसँग मिलेर यो खेललाई ग्रामिणस्तरमै दैनिकीका रुपमा स्थापित गर्नुछ ।’

उनले अन्तर्राष्ट्रिय पहुँच स्थापनाका लागि पनि आफ्नो प्राथमिकता भएको बताएका छन् । ‘धेरैभन्दा धेरै प्रतियोगितामा नेपालको सहभागिता हुने छ भने नीतिगत रुपमा पनि बुद्धिचालमा अग्रणी देशहरुसँग सम्बन्ध विस्तार गरी नेपाली बुद्धिचाल विकासमा प्रयोग गरिनेछ,’ उनले भने ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?