+
नेपाली क्रिकेट :

वेस्ट इन्डिजविरुद्ध नेपाललाई इतिहास बनाउने अवसर, यस्तो छ दुवै टोलीको लय

२०८२ असोज  ३ गते २१:०९ २०८२ असोज ३ गते २१:०९

वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई अब मुख्यत: दुईवटा रेकर्ड बनाउने अवसर छ । पहिलो भनेको पूर्ण सदस्य राष्ट्रविरुद्ध ऐतिहासिक जित निकाल्नु हुनेछ भने ऐतिहासिक शृंखला जित निकाल्ने अवसर पनि रहनेछ ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई इतिहास बनाउने अवसर, यस्तो छ दुवै टोलीको लय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० शृंखला खेल्न यूएई प्रस्थान गर्दैछ।
  • नेपालले पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलोपटक द्विपक्षीय टी-२० शृंखला खेल्दै इतिहास बनाउन खोजिरहेको छ।
  • कप्तान रोहित पौडेलले वेस्ट इन्डिजलाई हराउन सक्ने क्षमता रहेको उल्लेख गर्दै टोली उत्साहित रहेको बताएका छन्।

३ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० शृंखला खेल्न यूएई प्रस्थान गर्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा आउँदो २७ देखि ३० सेप्टेम्बरसम्म तीन खेलको टी-२०आई शृंखला हुनेछ ।

शृंखलाका लागि दुवैले अन्तिम टोली घोषणा गरिसकेका छन् । नेपालले अघिल्लोपटकबाट ३ परिवर्तन गर्दै टोली घोषणा गरेको छ भने वेस्ट इन्डिजले अधिकांश सिनियर खेलाडीलाई आराम दिएर युवा खेलाडीलाई पनि समेटेको छ ।

विशेषगरी आसन्न टी-२० विश्वकप छनोटको रिजनल फाइनलका लागि यस शृंखला निकै अर्थपूर्ण रूपमा हेरिएको छ । छनोटमा सहभागी हुनुअघि नेपालको यो अन्तिम तयारी हुनेछ ।

यस शृंखला नै नेपालको लागि ऐतिहासिक शृंखलाको रूपमा छ । नेपालले पहिलोपटक कुनै पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको हो ।

यसो हुँदा यसका अलावा नेपाललाई यस शृंखलामा अर्को इतिहास बनाउने अवसर पनि छ । नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्यलाई टी-२०आईमा हराउन सकेको छैन ।

पूर्ण सदस्य राष्ट्रविरुद्ध यस्तो छ प्रदर्शन

नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हुनेछ ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको छैन । हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।

नेपालले अहिलेसम्म पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको छ। २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।

दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको क्षण

नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको छ।

पछिल्लोपटक सन् २०२४ मा भएको टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल केवल १ रनले पराजित हुँदै इतिहास बनाउनबाट चुकेको थियो।

इतिहास बनाउने अवसर

वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई अब मुख्यत: दुईवटा रेकर्ड बनाउने अवसर छ । पहिलो भनेको पूर्ण सदस्य राष्ट्रविरुद्ध ऐतिहासिक जित निकाल्नु हुनेछ ।

नेपालले वेस्ट इन्डिजलाई हराएमा नेपालका लागि टी-२० क्रिकेटमा हालसम्म हासिल भएको सबैभन्दा ठुलो उपलब्धि त्यही हुनेछ ।

त्यसपछि नेपाललाई ३ मध्ये २ खेल जितेर शृंखला नै आफ्नो पक्षमा पार्ने अवसर पनि छ । त्यसो भएमा नेपालले पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको ऐतिहासिक द्विपक्षीय शृंखलामा ऐतिहासिक जित पनि हुनेछ ।

वेस्ट इन्डिजले यस शृंखलाका लागि घोषणा गरेको टिममा केही युवा खेलाडी पनि समावेश भएर अधिकांश मुख्य खेलाडीलाई आराम दिइएको हुँदा नेपाललाई उत्कृष्ट प्रदर्शन गर्दै शृंखला जित्ने अवसर पक्कै पनि रहनेछ ।

दुवै टोलीको लय

यस शृंखला खेल्नुअघि नेपालको लय मिश्रित छ । यद्यपी वेस्ट इन्डिजको भने खराब लय कायम छ ।

नेपालले २०२५ मा ८ टी२०आई खेलेको छ जहाँ ४ खेल जित्दा २ मा पराजित भएको छ २ १ खेल नतिजाविहीन रह्‍यो ।

अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा नेपालले समूह चरणमा कतार र कुवेतलाई हराउँदा हङकङसँगको खेल वर्षाले रद्द भयो । उक्त शृंखलाको फाइनलमा नेपालले कुवेतसँग ३ रनको हार बेहोरेको थियो ।

यस्तै त्यसपछि स्कटल्याण्डमा भएको शृंखलामा नेपालले दुई खेल जित्दा एकमा स्पष्ट हार बेहोरेको थियो । एक खेल बराबरी भएर तीनपटक सुपर ओभरमा पुग्दा पराजित भएको थियो ।

यता वेस्ट इन्डिजको लय भने खराब छ । सन् २०२५ मा १२ वटा टी-२०आई खेलेको वेस्ट इन्डिजले २ वटा मात्र जितेको छ । पछिल्ला ८ खेलमा एउटा मात्र जितेको छ ।

जुनमा भएको इंग्ल्याण्डसँगको ३ खेलको टी-२०आई शृंखलामा सबै खेल हारेको वेस्ट इन्डिजले त्यसपछि आयरल्याण्डलाई हराउँदा अस्ट्रेलियासँग लगातार ५ हार बेहोर्‍यो भने पाकिस्तानसँग १ खेल जित्दा २ खेलमा हार बेहोरेको थियो ।

वेस्ट इन्डिजले यस शृंखलामा केही नयाँ खेलाडीहरूलाई पनि मौका दिएकाले हारको शृंखला तोड्न नयाँ खेलाडीहरूले पनि राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।

के भन्छन् नेपाली खेलाडी ?

यस ऐतिहासिक शृंखला खेल्नका लागि नेपाली टोली उत्साहित देखिएको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले अस्ट्रेलियाको एक्सपोजर सदुपयोग गर्ने राम्रो अवसर भएको बताए ।

‘अस्ट्रेलियामा पनि राम्रो खेलहरू खेलेर आएका छौं । तयारी एकदम राम्रो छ । यो शृंखला खेल्नका लागि एकदमै उत्साहित छौं’ कप्तान रोहितले भनेका छन् ।

उनले वेस्ट इन्डिजसँग खेल्न टिमभित्र सबैमा कन्फिडेन्स रहेको उल्लेख गरे । ‘हामी एकदम कन्फिडेन्ट छौं, पछिल्लो समय हामीसँग पनि विभिन्न प्रतियोगिता खेलेको अनुभव छ, मोटिभेसन पनि छ, हामी वेस्ट इन्डिजलाई हराउँछौं।’

सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका आदिल अन्सारी र सन् २०२४ पछि पहिलोपटक टिममा फर्किएका सन्दीप जोरा पनि शृंखलाका लागि उत्साहित छन् । दुवैले वेस्ट इन्डिजलाई हराउन सक्ने क्षमताको टिम बनेको उल्लेख गरेका छन् ।

यस्तै गुल्शन झाले पनि वेस्ट इन्डिजसँग खेल्न पाउनु धेरै ठुलो कुरा भएको बताउँदै राम्रो खेल प्रदर्शन गर्नुपर्ने कुरामा जोड दिए ।

यता सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि यो ऐतिहासिक क्षण भएको र यस्तो अवसरको सदुपयोग गर्न सक्नुपर्ने कुरा उल्लेख गरे ।

‘हामी ऐतिहासिक क्षणमा छौं । हाम्रो लागि राम्रो अवसर पनि छ । विश्वकप छनोटमा जानुभन्दा अगाडि तयारीको मौका छ’ मल्लले भने, ‘एउटा राम्रो टिमलाई हराउने मौका पनि छ हामीसँग’ उनले भनेका छन् ।

***

नेपाल र वेस्ट इन्डिजको खेल तालिका

पहिलो खेल : २७ सेप्टेम्बर (११ असोज)- बेलुका ८:१५

दोस्रो खेल : २९ सेप्टेम्बर (१३ असोज)- बेलुका ८:१५

तेस्रो खेल : ३० सेप्टेम्बर (१४ असोज)- बेलुका ८:१५

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम

वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय