
काठमाडौं । लेखक पद्मसुन्दर जोशीको अनुसन्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले पुस्तक विमोचन गरे ।
नेपालयले प्रकाशन गरेको पुस्तकमा काठमाडौं उपत्यकाको एक अद्वितीय जल व्यवस्थापन प्रणाली हिति प्रणालीलाई समेटिएको छ । हिति प्रणालीले लोपोन्मुख सम्पदाको संरक्षण र सम्वद्र्धनमा भूमिका खेल्दै आएको छ । हितिलाई मल्लकालमा विकास भएको जल व्यवस्थापनको महत्वपूर्ण प्रणाली मानिन्छ ।
उपलब्ध सूचना र ज्ञानको संकलन गरी हिति प्रणालीको प्राविधिक पक्ष र व्यवस्थापनका स्थापित पद्धति तथा हाल हिति प्रणालीमाथि भइरहेको व्यभिचार र पुनिर्निर्माणका सम्भावनालाई समेटेर पुस्तक तयार पारिएको लेखक जोशीले बताए ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर महर्जनले हितिसम्बन्धी पुस्तक प्रकाशित भएको आफू सबैभन्दा खुसी भएको बताए । पाटनका हितिहरुबाट पानी झारेर देखाउने आफ्नो धोको पुर्याउन प्रयासरत रहेको पनि उनले बताए ।
काठमाडौं उपत्यका सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी सहरी विकासका योजनाकार समेत हुन् । उपत्यकाको पूर्वाधार विकासका साथै सम्पदा जगेर्नामा सक्रिय उनी पेशाले इन्जिनियर हुन् ।
‘हिति प्रणाली’ पुस्तकको बजार मूल्य १ हजार ४९५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4