+
+

‘सीमापारि भारतमा प्रशस्तै मल, वारिपट्टि हामी हेरेको हेर्‍यै’

डिल्लीमाया सार्की डिल्लीमाया सार्की
२०७९ असार २४ गते १०:१४

“मेरो घर मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नम्बर ३ भेलाइमा पर्छ । मेरो यहाँ ५ बिघा खेत छ । गहुँ, तोरी र मकै भित्र्याएको खेतमा अहिले रोपाईं चलिरहेको छ । आधा रोपाईं सकियो, आधा बाँकी छ । डीएपी मल भए अहिल्यै र त्यो नभए युरिया मल अबको केही दिनमै चाहिन्छ ।

हाम्रो सबै खेतका लागि कम्तीमा ७ बोरा डीएपी र ७ बोरा नै युरिया मल चाहिन्छ । गहुँ र मकै बालीका लागि मल खोज्न सबै प्रयास गरें तर पाइएन । निकै संघर्ष गरेर कृषि सहकारीबाट दुई दिन पहिले २० किलो डीएपी मल ल्याएकी छु । १४ बोरा मल चाहिने ठाउँमा २० किलो मलले म कसरी टारुँ ! मल परेको ठाउँमा त उब्जनी होला नपरेको ठाउँमा के होला ?

यस्तै समस्या गहुँ र मकैमा पनि भोगियो । मल नपाउँदा भारतबाट व्यापारीले कालोबजारी गरेर ल्याएको केही थोरै मल त हालियो तर गुणस्तरको नहुने रहेछ । युरिया र डीएपी मल नपाएका कारण गहुँ नफस्टाउँदा बीउ र ट्याक्टरको ज्याला समेत उठेन । मल हाल्ने बानी पर्‍यो, मल नहाल्दा नफल्ने रहेछ । अब मल पाउने आशा नै छैन, धान के फल्ला, रोपाईंको खर्च कसरी उठ्ला !

एक महिना जति अगाडि भारतबाट लुकाई–छिपाई ल्याएको भनिएको डीएपी र युरिया मल महँगोमा केही व्यापारीले बिक्री गरेको सुनेकी थिएँ । सहकारीबाट मल किन्दा युरिया मल ९०० रुपैयाँ र डीएपी २३०० रुपैयाँ बोरामा पाइन्थ्यो । तर, चोरी गरेर अर्को ढंगबाट ल्याइएको मल युरिया बोरामै २ हजार र डीएपीलाई ३५०० सम्म पर्ने गरेको सुनें ।

त्यस्तो महँगो मल हालेर कसरी खेती गर्ने ? गुणस्तर ठिक भए/नभएको कसरी जाँच्ने ? मेरो मात्रै होइन यहाँ सबै किसानको हालत उस्तै छ । कसैले मल पाएको छैन । कृषि सहकारीमा थोरै मल आइहाल्यो भने पनि किसान बीच खोसाखोस हुने अवस्था छ । दुई–तीन वर्ष अघिसम्म मलका लागि यत्ति ठूलो दुःख गर्नु पर्दैनथ्यो । भनेको जति नपाइए पनि मल भने पाइन्थ्यो तर पछिल्लो केही वर्ष निरन्तर हामीले दुःख पाइरहेको छौं ।

सरकार को हो ? मल छैन भनेर कसलाई भन्ने हो ? सधैं मल नपाएर हामीहरूलाई समस्या भएको कुरा सरकारले बुझ्ने कहिले हो ? यहाँबाट डेढ घण्टा साइकलमा गयौं भने पारि भारतमा मल प्रशस्त मात्रामा किसानले प्रयोग गरेको देख्छौं । नजिकैको सीमापारि भारतका किसानले मल पाउने तर नेपालका किसानले मल नपाएर हेरेर बस्ने कहिलेसम्म हो ? भारतबाट मल ल्याउन केही मानिसले प्रयास गरेको पनि देखिन्छ । तर, सीमामा कठिनाइ छ । किसानले कसरी गरिखाने हो सरकारले जवाफ देओस् ।”

(मोरङकी किसान डिल्लीमाया सार्कीसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?