
२४ असार, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य नाजुक रहेको त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । निकै भावुक अवस्थामा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको बताए ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि उनी बेहोस भएको जापानका सन्चार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री फुमिओ किशिदाले यो घटनालाई बर्बरतापूर्ण आक्रमण भनेर निन्दा गरेका छन् । उनले यसलाई सहन नसक्ने पनि बताए ।
पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको घटनाको अमेरिकाले पनि निन्दा गरेको छ । यो घटनालाई नजिकबाट नियालीरहेको भन्दै ह्वाइटहाउसले शिन्जो आबेको परिवार र जापानी नागरिकको साथमा रहेको जनाएको छ ।
आक्रमणकारी को हुन् ?
पूर्वप्रधामन्त्री आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद भएको छ ।
गोली हानेपछि उनी भाग्ने कोसिस नगरेको र सुरक्षाकर्मीले घटनास्थल नजिकैबाट उनलाई नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् । साथै उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे । मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ । यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प–डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो ।
गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ । गोली लागेपछि उनी भुइँमा लडेको र रगताम्य भएको तस्वीर सामाजिक सन्जालहरुमा देखिन्छ ।
प्रतिक्रिया 4