+
+

उपेन्द्रले अहंकार गरे, पदको लोभ देखियो : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:०७

२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

उनले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको दाबी गरे । काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे ।

यादव पक्षले यो बैठकलाई अवैध भनेकोप्रति लक्षित गर्दै भट्टराईले यादव पक्षले इतिहासलाई भुलेर गरेको कुरामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए ।

‘गतसाल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो । मैले जनजाति एकजना जो भएप नि बनाउनुपर्छ भने,’ उनले भने, ‘तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन ।’

पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको अध्यक्ष भट्टराईले बताए । पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने उनको भनाइ छ । उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने बताए ।

‘म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस्’, भट्टराईले भने ।

अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गरे । ‘श्रीलंकामा राजापक्षे परिवारमा जे गरे पनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो ?,’ उनले भने, ‘यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासे छ । राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ । सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ । धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने, यो दुष्चक्रमा नेपाल फसेको छ । नेपाल पनि त्यही गम्भीर संकटमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?