+
+
कांग्रेस बैठक :

डा. शेखरको प्रतिवादमा उत्रियो संस्थापन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते २०:४७

२८ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संस्थापन समूहका नेताहरुले डा. शेखर कोइराला समूहको प्रतिवाद गरेका छन् । होटल–होटलमा भेला गरेर गुट चलाएको, सभापतिको बद्ख्वाइँ गरेको भन्दै उनीहरुले शेखर समूहले महाधिवेशनमा व्यहोरेको पराजय स्वीकार गर्न नसकेको आरोप लगाएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअघि शेखर समूहले छुट्टै भेला गरेको थियो, जसले सभापति देउवामाथि गम्भीर प्रश्न उठाएको थियो । सभापति देउवा आफूलाई मत नदिनेहरुको सभापति हुन नसकेकोदेखि सरकार सञ्चालनमा चुकेको यो समूहको आरोप थियो ।

पार्टी कार्यालय, सानेपामा बैठकको पहिलो दिन सोमबार डा. शेखरले गर्भनरलाई हटाउने निर्णय, बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता लगायतका मुद्दामा देउवालाई प्रश्न गरेका थिए ।

मंगलबारको बैठकमा भने संस्थापन समूहका केन्द्रीय सदस्यहरु शेखर समूहको प्रतिवादमा उत्रिएका छन् । केही नेताहरुले डा. शेखरतिर संकेत गर्दै बैठकमा राखेको धारणा सञ्चारमाध्यममा पुर्‍याएको भन्दै आपत्ति जनाएका थिए ।

केन्द्रीय सदस्य जीतजंग बस्नेतले महाधिवेशनमा सभापति देउवाले आफ्नो सुराकी गर्न पठाएको भन्ने डा. शेखरको अभिव्यक्तिमा प्रश्न उठाए । उनले भनेका छन्, ‘त्यही बेला भनेको भए हामी पनि साथ दिन्थ्यौं । तर अहिले केही एजेण्डा बनाएर विरोध गर्नुभयो ।’

केन्द्रीय सदस्य रामहरि खतिवडाले जे गर्दा पनि विरोध गर्ने प्रवृत्ति देखाएको बताए । २०४९ सालपछि पहिलो पटक कांग्रेस सबभन्दा ठूलो पार्टी बनेकोमा खुसी हुनुको साटो विरोध गरेको भन्दै उनले भने, ‘गठबन्धन नभएको भए हाम्रो प्रधानमन्त्री र गृहमन्त्री हुन्थ्यो ? ओली सरकारले चुनाव गराएको भए कति जित्यौं ?’

प्रदेश र प्रतिनिधिसभा चुनाव सम्मुखमा रहेका बेला होटल होटलमा बैठक गरेर सभापतिलाई खुइल्याउन खोजेको भन्दै उनले एकअर्कालाई बद्नाम गरेर पार्टी बलियो हुन्छ भनेर प्रश्न गरेका छन् ।

खतिवडाले डा. शेखरतर्फ संकेत गर्दै बैठकका विषय बोलिसक्दा नसक्दै सञ्चारमाध्यममा पुर्‍याएको आरोप लगाए । केन्द्रीय सदस्य महेन्द्र लिम्बुले आफूले मात्र जानेको जस्तो गर्न नहुने बताए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत भिन्न मतको पनि सीमा हुने बताएको एक नेताले जानकारी दिए ।

मंगलबारको बैठकमा संस्थापन समूहका नेताहरु योजनावद्ध रुपमै सभापतिको बचाउमा उत्रिएको शेखर समूहका एक केन्द्रीय सदस्य बताउँछन् ।

‘कांग्रेसलाई पहिलो पार्टी बनाउँछु, गठबन्धन हुन्छ’

केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु चुनावी गठबन्धनबारे मध्यमार्गी देखिएका छन् । देशव्यापी चुनावी गठबन्धनको पक्षमा देखिएका नेताहरुले आफ्नो क्षेत्रमा भने उम्मेदवारी कांग्रेसले छाड्न नहुने तर्क गरेका थिए ।

केन्द्रीय सदस्य मोहन बस्नेत भन्छन्, ‘म गठबन्धनको पक्षमा छु, तर सिन्धुपाल्चोकमा मैले टिकट नपाएर गठबन्धनको अरु कोहीले पाए मलाई स्वीकार हुँदैन । मेरो क्षेत्रमा कांग्रेसलाई जिताएको छु । १० करोड कसैले दिन्छु भनेपनि समानुपातिकमा म बस्दिन ।’

आफ्नो क्षेत्रमा पदाधिकारीले नै चलखेल गरेको भन्दै उनले अरूको क्षेत्रमा म चलखेल गर्न नपरोस् भन्ने चेतावनीको भाषा बोलेका थिए ।

अरुले पनि यस्तै तर्क गरेपछि सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन हुने प्रष्ट पारेका छन् । आगामी चुनावमा कांग्रेसलाई बलियो र पहिलो पार्टी बनाउने भन्दै उनले त्यसका लागि गठबन्धन गर्ने बताएका छन् ।

उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिएका थिए । अहिले संविधान बनाउन चाहने र नचाहनेबीच द्वन्द्व रहेको भन्दै उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने, ‘संविधान बचाउन चाहनेलाई लिएर हिँड्ने हो ।’

प्रवक्ता डा. प्रकाशशरण महतले पनि गठबन्धनको सकारात्मक र नकारात्मक दुबै पक्ष हुने बताए । कतिपय ठाउँमा आफू ठूलो हुँदा पनि अरुलाई समर्थन गर्नु परेको स्वीकार गर्दै उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने, ‘त्यो तहको मात्र हेर्दा किन यसो गरेको होला भन्ने लाग्छ । तर समग्रतामा हेर्दा त्यही थोरै मतले जितलाई हार र हारलाई जितमा रुपान्तरण गरेको हुन्छ ।’

अरुले गठबन्धन गर्दा गर्दा के परिणाम आएको थियो भन्ने सबैलाई जानकारी रहेको भन्दै उनले अघि भने, ‘विविध कारणले गर्दा यो गठबन्धनलाई निरन्तरता दिँदा राम्रो हुन्छ भन्ने साथीहरुको निष्कर्ष छ । कुन ठाउँमा कसको के प्रभाव छ, त्यसको अध्यननका आधारमा समझदारी विकास गर्नुपर्छ भन्नेमा हामी सबै सहमत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?