+
+

ब्रह्माण्ड उत्पत्तिको सिद्धान्त बिग ब्याङ्गबारे गलत अवधारणाको चिरफार

डा. कमल ढकाल डा. कमल ढकाल
२०७९ असार ३१ गते १३:२९

एक अमेरिकन प्रख्यात लेखक तथा साहित्यकार जोसेफ क्याम्बेलले मिथकका बारेमा रोचक कुरा गरेका छन्। उनी भन्छन्, ‘मिथक इतिहास भन्दा धेरै महत्त्वपूर्ण र कटु सत्य हो। इतिहास भनेको पत्रकारिता मात्र हो र त्यो कत्तिको भरपर्दो छ भन्ने तपाईंलाई थाहा छ।’ हाम्रा धर्मशास्त्रका पुस्तकमा भएका लगभग सबै कुरा मिथक हुन् तर ती कुराहरू यति धेरै शक्तिशाली छन् कि तिनका अगाडि सत्य कुराको केही जोर चल्दैन।

वास्तवमा आधुनिक विज्ञानको उत्पत्ति नै मिथकलाई चिर्नको लागि भएको हो। तर विज्ञानमा पनि मिथक यति धेरै छन् कि त्यसले कहिलेकाहीं अर्थको अनर्थ लगाइदिन्छन् भने कहिलेकाहीं रोचकता पनि थपिदिन्छन्।

न्यूटन र स्याउ

उदाहरणको लागि न्यूटनको स्याउको रुख। हामी सबैले के सुनेका छौं भने एकदिन न्यूटन स्याउको रुखमुनि बसिरहेको बेला अचानक एउटा स्याउ खसेर उनको टाउकोमा लाग्यो। यसै घटनामा आधारित रहेर उनले गुरुत्व आकर्षणको नियम पत्ता लगाए। यो कथामा केही सत्यता भए पनि उल्लेखनीय रूपमा बढाइँचढाइ र आलंकृत गरिएको छ।

उनको घर वरिपरि स्याउको रुख थिए होलान्, ती घटनाबाट प्रेरित पक्कै भएका होलान् तर स्याउ खसेकै भरमा गुरुत्व आकर्षणको नियम पत्ता लगाएका भने होइनन्। फेरि यो कथाको कुनै ठोस प्रमाण छैन।

उनले प्रकाशित गरेका कृति र खासगरी सन् १६८७ मा प्रकशित भएको उनको पुस्तक ‘फिलिसोफिया प्रिन्सिपिया म्याथम्याटिका’ मा कतै स्याउको प्रसंग उल्लेख गरिएको छैन।

न्यूटनले कहीं पनि औपचारिक रूपमा स्याउको कथा भनेका थिएनन्। न्यूटनलाई भेटेका र उनलाई चिनेजानेका केही मान्छेले लेखेको भरमा नै यो कथा बनेको हो। यो कथाको उल्लेख पहिलो पटक भोल्तेयरले सन् १९२७ मा फ्रान्सको गृहयुद्धको बारेमा लेखिएको एक निबन्धमा गरेका थिए।

न्यूटनको पहिलो बायोग्राफी लेख्ने व्यक्ति सर डेभिड ब्रुस्टरले पनि भनेका छन्, ‘मैले न्यूटन र स्याउको बारेमा केही प्रमाण फेला पार्न सकिनँ।’ खैर जेहोस्, यो कथाले विज्ञानका विद्यार्थीलाई उत्प्रेरणा र आम मानिसका लागि रोचकता दुवै पैदा गरेको छ र स्याउ खस्ने घटना वास्तवमा गुरुत्वाकर्षण नियमसँग सम्बन्धित पनि छ। त्यसैले स्याउ खसेको घटना सत्य होस् वा नहोस् तर न्यूटन र स्याउको कथाले गुरुत्वाकर्षणको मर्मलाई बोक्छ अर्थात् गुरुत्वाकर्षणको नियमलाई बुझाउन स्याउ खसेको कथाले झनै सजिलो बनाइदिन्छ।

बिग ब्याङ्गको मिथक

तर मैले आज यहाँ चर्चा गर्न खोजेको विषय अर्कै हो। ब्रह्माण्डको उत्पत्ति सम्बन्धी सिद्धान्त बिग ब्याङ्ग यो ब्रह्माण्डको उत्पत्ति सम्बन्धी सिद्धान्तमध्ये सबैभन्दा प्रख्यात छ। यसमा पनि यस्तै मिथक छ। तर, यसको मिथकले भने अर्थको अनर्थ लगाएको छ जसले गर्दा आम मानिसले यसको उल्टो अर्थ लगाएका छन्।

आम मानिसले बिग ब्याङ्गबारे गलत धारणा राखेका छन्। बिग ब्याङ्ग सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति शून्यमा अचानक कुनै ठूलो वस्तु ब्याङ्ग पड्केको भनेको होइन। न यो बमजस्तै कुनै विस्फोट भएर ब्रह्माण्डको उत्पत्ति भएको भनेको हो। यो सिद्धान्तको नाम कसरी बिग ब्याङ्ग रहन गयो, पहिला जानौं।

खगोलविद् फ्रेड होइलले ‘बिग ब्याङ्ग’ शब्द पहिलो पटक प्रयोग गरेका थिए। बिग ब्याङ्ग शब्द उनले २८ मार्च १९४९ मा बीबीसी रेडियोसँगको अन्तर्वार्ताको क्रममा ब्रह्माण्ड शून्यबाट फ्याट्ट आफैं आयो भन्ने त्यतिबेलाको भौतिकशास्त्रीहरूको विचारलाई खिल्ली उडाउन प्रयोग गरेका थिए। किनकि उनी त्यस्तो मान्यतालाई ‘ननसेन्स’ भन्थे।

उनले ब्रह्माण्डलाई स्थिर-अवस्था (स्टडी स्टेट मोडेल) को रूपमा अघि सारेका थिए। तर उनको अन्तर्वार्तापछि यो शब्द यति लोकप्रिय भयो कि भौतिकशास्त्रीले प्रतिपादन गरेको ब्रह्माण्डको उत्पत्ति कुनै एक विन्दुबाट सुरु भयो भन्ने सिद्धान्तलाई बिग ब्याङ्ग भन्न थालियो।

साँचो अर्थमा बिग ब्याङ्ग

बिग-ब्याङ्ग सिद्धान्तले ब्रह्माण्डको उत्पत्ति कुनै वस्तु पड्केर भएको मान्दैन। यसले त आकाश र समयको कुनै एक स्थान र समयबाट सुरुवात भएको मात्र जनाउँछ। सरल शब्दमा भन्दा बिग ब्याङ्ग अनुसार अहिलेको ब्रह्माण्ड तातो र घना एक बिन्दुबाट सुरु भएको मान्दछ जुन विस्तारै फैलिएको थियो।

पहिले अत्यन्त द्रूत गतिमा र त्यसपछि थप मापनयोग्य दरमा। सुरुमा अत्यन्त तातो र पछि विस्तारै सेलाउँदै गएको हाम्रो ब्रह्माण्ड अहिले लगभग बिग ब्याङ्गको मान्यता अनुसार १३.८ अर्ब (विलियन) वर्ष बुढो भएको छ र अझै विस्तार भइरहेको छ।

यसरी विस्तार हुने क्रममा अत्यन्तै घना रूपमा भएको इनर्जीबाट सुरुमा विस्तारै प्रकृतिका आधारभूत कणहरूको निर्माण भए र पछि तिनै कणहरू एकत्रित भएर ग्रह, तारा र आकाशगंगाको निर्माण भयो। जीवको विकास त ग्रह बनिसकेको धेरै पछि मात्र भएको देखिन्छ।

मैले यहाँ बिग ब्याङ्ग नै अन्तिम सत्य हो, यसले सबै कुरा पत्ता लागिसक्यो भनेर पलेंटी कसेर बस्ने विद्वान मित्रहरूसँग प्रश्न गर्न चाहेको हुँ। हाम्रा ऋषिमुनिहरूले सबै कुरा वेदमा भनिसके, अब हाम्रो काम राम नाम जप्ने बाहेक अरु छैन भनेर खरानी घस्नेहरूसँग पनि मेरा प्रश्न छन्।

बिग ब्याङ्ग भन्नाले समय र आकाश सुरु भएको अवस्था हो। यो हामीले सोचे जस्तो बम वा बारुद जस्तो पड्केर बनेको भनेको होइन। मानव निर्मित बमको विस्फोट हावामा फैलिए पनि बिग ब्याङ्ग कुनै पनि कुरामा फैलिएको थिएन। किनभने बिग ब्याङ्ग अगाडि आकाश बनेकै थिएन। त्यसैले विस्तार गर्न वा बमको टुक्रा जस्तो फैलिन कुनै ठाउँ नै थिएन।

बरु, भौतिकशास्त्रीहरू विश्वास गर्छन् कि बिग ब्याङ्गले अन्तरिक्ष आफैं सिर्जना र विस्तार गर्‍यो। ब्रह्माण्डलाई विस्तार गर्‍यो, जसरी माकुराको जालो माकुराले आफैं भित्रबाट निर्माण गर्छ।

देख्न सकिने ब्रह्माण्डलाई अवलोकनयोग्य ब्रह्माण्ड पनि भनिन्छ। यति ठूलो र भीमकाय छ कि पृथ्वीबाट यसको एक छेउसम्मको दूरी कुनै पनि दिशामा लगभग १४.२६ गिगापार्सेक अर्थात् ४६.५ विलियन प्रकाश वर्ष छ। यो त अर्धव्यास भयो भने व्यास ९३ विलियन (अर्ब) प्रकाश वर्ष हुन आउँछ।

बिग ब्याङ्ग अनुसार ब्रह्माण्ड ९३ अर्ब प्रकाश वर्ष बराबर दूरी भएको एउटा गोला हो। प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा आकाशमा हिंड्ने दूरी हो। प्रकाश एक सेकेन्डमा तीन लाख किलोमिटर हिंड्न सक्छ, त्यसैले एक वर्षमा लगभग ९० खर्ब किलोमिटर (९.४६ ट्रिलियन किलोमिटर) पार गर्छ। अब ९३ अर्ब प्रकाश वर्ष भनेको कति ठूलो दूरी हो ? तपाईं आफैं अनुमान लगाउनुहोस्।

बिग ब्याङ्गले ब्रह्माण्डको सबै रहस्यको उत्तर दिंदैन

बिग ब्याङ्गले ब्रह्माण्ड सम्बन्धी धेरै कुरा बुझ्न सजिलो भए पनि यसले कैयन् अरु अनुत्तरित रहस्यको उत्तर खोज्न सक्दैन। जस्तै- बिग ब्याङ्ग अघि के थियो ? ब्रह्माण्डमा रहेको कालो पदार्थ कसरी उत्पन्न भयो ? आदि।

यस कुरामा बिग ब्याङ्ग चुप बस्छ, जसरी कसैले आत्माको बारेमा सोध्यो भने बुद्ध चुप बस्थे। किनकि ज्ञानी वा विज्ञानी पुरुष बोल्नका लागि मात्र बोल्दैन, आफूसित जति सूचना वा तथ्य छ, सोको बारेमा मात्र बोल्छ।

भनिन्छ- हामीले देख्ने ब्रह्माण्ड त जम्मा ४ वा ५ प्रतिशत मात्रै हो, बाँकी ९०-९५ प्रतिशत त कालो शक्ति र कालो पदार्थ (डार्क म्याटर र डार्क इनर्जी) छ जसलाई बिग ब्याङ्गले व्याख्या गर्न सक्दैन। डार्क पदार्थ बिग ब्याङ्ग भन्दा पहिले नै बनेको भन्ने अहिलेको तथ्यले देखाउँछ। बिग ब्याङ्गको अवधारणाले ब्रह्माण्ड विस्तार भइराख्छ वा अन्ततः संकुचित हुन्छ भन्न सक्दैन र सम्पूर्ण चक्र पुन: सुरु हुन्छ भन्ने संकेत गर्दैन।

आलोचकहरू भन्छन् कि बिग ब्याङ्गले थर्मोडायनामिक्सको पहिलो नियमलाई उल्लङ्घन गर्छ। यसले भन्छ कि पदार्थ वा ऊर्जा सिर्जना वा नष्ट गर्न सकिंदैन। किनकि बिग ब्याङ्ग सिद्धान्तले ब्रह्माण्ड शून्यबाट सुरु भएको सुझाव दिन्छ। यदि बिग ब्याङ्गलाई मान्ने हो भने ब्रह्माण्डको बाउन्ड्री अर्थात् सिमाना कहाँ छ र सिमाना पारि के छ ?

यही प्रश्नको समाधान गर्न स्टेफन हकिंगले सन् १९८३ मा प्रख्यात वैज्ञानिक जेम्स हार्टलेसित मिलेर एक शोध प्रकाशित गरे जसमा उनले ब्रह्माण्डको सुरु र सिमाना दुवै नभएको अनन्त ब्रह्माण्डको परिकल्पना गरेका छन्।

यसलाई बाउन्ड्री-लेस युनिभर्सको नामले चिनिन्छ। यद्यपि यो अवधारणालाई धेरैले स्वीकार गरेका छैनन्। उनले लेखेको किताब ‘ब्रिफ हिस्ट्री अफ टाइम’ मा पनि यो विषय उल्लेख गरेका छन्।

अनन्त र चक्रीय ब्रह्माण्डको सिद्धान्त

त्यस्तै अरु धेरै कुरा छन् जुन बिग ब्याङ्गबाट जान्न बुझ्न सकिंदैन। त्यसैले ब्रह्माण्ड सम्बन्धी अरु ४/५ ओटा सिद्धान्त पनि प्रचलित छन्। यीमध्ये एक हो होइलले भने जस्तो स्थिर-अन्तहीन (इटरनल युनिभर्स) ब्रह्माण्ड मोडेल हो।

यसले ब्रह्माण्डको सुरुवात र अन्त्यको सम्भावनालाई अस्वीकार गर्दछ। यसको सट्टा निरन्तर विस्तार भइरहेको ब्रह्माण्डको लागि छनोट गर्दछ जुन यद्यपि समान समग्र घनत्व कायम राख्छ।

यस मोडेलमा आकाशगंगा, ग्रह र पदार्थका अन्य रूपहरू निरन्तर बन्दै नाश हुँदै गर्छन्। त्यस्तै अर्को हो- चक्रीय ब्रह्माण्ड मोडेल (साइक्लिक युनिभर्स)। यी दुई मोडेल विस्तारै विस्तारै मानिसको ध्यान पनि तान्न थालेका छन्।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भौतिक विज्ञान तथा गणितका प्राध्यापक तथा भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता रजर पेनरोज लगायतले यस मोडेललाई मानेका छन्।

यसले ब्रह्माण्डको बिग ब्याङ्ग जस्तो द्रुत विस्तार समावेश गर्दछ। तर, यसले विस्तारको मात्र होइन, ब्रह्माण्डको संकुचन पनि थप्दछ। विस्तार अनि संकुचन र फेरि विस्तार। यसले ब्रह्माण्ड अनन्तकालसम्म चल्ने बताइन्छ।

वेद अनुसार ब्रह्माण्डको आयु

चक्रीय र अनन्त मोडेल हाम्रो पूर्वीय दर्शनअनुसार पनि मेल खान्छ। यसलाई एकपटक सरसर्ती हिसाब गरेर हेरौं। हाम्रो वेद-पुराण अनुसार ब्रह्माण्डमा ४ युगहरू छन् जुन परिक्रमा गरिरहन्छ र यो ब्रह्माण्ड अनन्त चलिरहन्छ।

यसलाई विष्णु पुराण भाग ३ मा विस्तृत रूपमा उल्लेख गरिएको छ। सत्ययुग- १७ लाख २८ हजार वर्ष, त्रेतायुग- १२ लाख ९६ हजार वर्ष, द्वापर युग- ८ लाख ६४ वर्ष र कलियुग- ४ लाख ३२ हजार वर्ष।

अर्थात् कलियुग भन्दा हरेक पहिलो युग डबल, त्रिबल र चौबरले ठूलो र कुल जोड्दा ४३ लाख २ हजार वर्ष पुग्छ। यो जम्मा वर्ष वा चक्रलाई महायुग भनिन्छ। यस्तो एक हजार चक्रहरू अर्थात् एक हजार महायुग ब्रह्माको एक दिन हुन्छ। त्यसैले ब्रह्माको एक दिन ४.३२×१००० = ४.३२ अर्ब मानव वर्ष हो। ब्रह्माको यस्तो प्रत्येक दिनलाई ‘कल्प’ भनिन्छ।

ब्रह्माको रात पनि ४ अर्ब ३२ करोड मानव वर्षकै हुन्छ। उनको दिनमा ब्रह्माण्डमा जीवन अवस्थित छ भने रातको समयमा जीवनको कुनै रूप हुँदैन। अर्थात् यसलाई लय र प्रलय भनिन्छ। त्यसैले ब्रह्माको दिन र रात गरेर जम्मा ८.६४ अर्ब मानव वर्ष हुन्छ।

विष्णु पुराणले ब्रह्माको आयु १०० वर्ष बताएको छ। ब्रह्माको प्रत्येक वर्षमा ३६० दिन र रातहरू समान हुन्छन्। यसरी ब्रह्माको कुल आयु ३६०x१००x८.६४ अर्ब वर्ष = ३११०४० अर्ब (विलियन) मानव वर्ष हुन आउँछ अर्थात् लगभग ३११ खर्ब वर्ष। यस अवधिलाई ‘महाकल्प’ भनिन्छ। जुन ब्रह्माको आयु हो।

अहिले सत्य, द्वापर, त्रेता पनि सकिएर कलियुगको सुरु भएको मानिन्छ। यसलाई हिसाब गर्दा अहिले ब्रह्माको आयु लगभग ५० वर्ष हुन आउँछ जुन लगभग १५५ खर्ब वर्ष जति हो।

बिग ब्याङ्ग अनुसार अहिले ब्रह्माण्डको आयु १३.८ अर्ब (विलियन) वर्ष जति भयो। सरसर्ती हेर्दा वेदमा भनेको नम्बर र बिग ब्याङ्गको नम्बर बीच त धेरै फरक देखिन्छ तर कुनै कुनै वैज्ञानिकहरू ब्रह्माण्डको आयु बिग ब्याङ्गले भने भन्दा धेरै हुने अनुमान गर्छन्।

यसरी हेर्दा अहिलेको आधुनिक विज्ञानले भनेको जस्तै ठ्याक्कै नमिले पनि यो पूरै कपोलकल्पित र आधारहीन जस्तो पनि देखिंदैन। फेरि हाम्रा शास्त्रहरू काव्यात्मक ढंगले लेखिएको हुनाले प्राय:जस्तो पात्र र कथा रूपक रूपमा बुझ्नुपर्छ। यहाँ ब्रह्मा भनेको एक व्यक्ति नभएर पूरै ब्रह्माण्ड हो, ब्रह्मा संकेत मात्र हो पूरै ब्रह्माण्डको।

मैले यहाँ बिग ब्याङ्ग नै अन्तिम सत्य हो, यसले सबै कुरा पत्ता लागिसक्यो भनेर पलेंटी कसेर बस्ने विद्वान मित्रहरूसँग प्रश्न गर्न चाहेको हुँ। हाम्रा ऋषिमुनिहरूले सबै कुरा वेदमा भनिसके, अब हाम्रो काम राम नाम जप्ने बाहेक अरु छैन भनेर खरानी घस्नेहरूसँग पनि मेरा प्रश्न छन्।

ब्रह्माण्ड एकदमै रहस्यमय छ, यसको खोज निरन्तर जारी रहन्छ र कसैले पनि यही हो भनेर किटानीका साथ केही भन्न सक्ने ठाउँ प्रकृतिले सजिलै दिएको छैन र हुनु पनि हुँदैन। यो रहस्यमय छ र त जीवन रसिलो छ, उत्सुकताले भरिएको छ।

लेखकको बारेमा
डा. कमल ढकाल

भौतिकशास्त्रमा विद्यावारिधि गरेका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् । उनी विज्ञान र दर्शनमा गहिरो रुचि राख्छन् । यहाँ व्यक्त विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?