
News Summary
Generated by OK AI. Editorially reviewed.- कवि अविनाश श्रेष्ठले २०६० सालमा प्रकाशित पर्यावरणीय कविता सङ्ग्रह \'करोडौं सूर्यहरूको अन्धकार\' मार्फत मानव र पृथ्वीको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
- उनले मानव जातिको संवेदनहीनता र प्रकृतिप्रतिको विनाशकारी व्यवहारलाई आलोचना गर्दै पर्यावरणीय सचेतना र संरक्षणको आव्हान गरेका छन्।
- अमेरिकामा अनुवादित उनको कविता सङ्ग्रह र समालोचनाले उनलाई प्रथम नेपाली पर्यावरण कविका रूपमा स्थापित गरेको छ।
ल्याटिन शब्द होमो सेपियन्स अर्थात् बुद्धिमान् मानव । अद्वितीय बुद्धिमत्ता र सोच्ने क्षमताका कारण नित्सेले यसलाई कल्पित महामानव अर्थात् सुपरम्यान घोषणा गरे । अहिले आएर त्यही सुपरम्यानलाई युवल नोह हरारी मेसिन–मानव अर्थात् साइबोर्ग परिकल्पना गरिरहेका छन् ।
तर त्यही महाज्ञानी मानव पृथ्वीलाई निजी पेवापात सम्झेर आफ्नै लागि पर्या–अपराध र त्रासद विसर्जन नित्याउँदो छ । अझ भनौं, पृथ्वी र पर्यावरणका निम्ति प्रतिनायक भएर नग्न नृत्य देखाउँदो छ । उसभित्रको सदासयता र सहृदयता अर्थात् संवेदनाको सागर निरन्तर सुक्दो छ !
अग्रज कवि अविनाश श्रेष्ठले २०६० सालमै ल्याएको पर्या–कविता सँगालो ‘करोडौं सूर्यहरूको अन्धकार’लाई मनन गर्दा जानी–जानी आत्महत्या उन्मुख छ, होमो सेपियन्स महान् ! कथित महाबुद्धिमान्को (कु)मति देखेर चिन्पान्जी र ओराङओटाङहरू मरीमरी हाँसिरहेका छन् ।
बहुसङ्ख्यक वञ्चित र शक्ति–सत्तामा नरहेका होमो सेपियन्सका तर्फबाट कवि अविनाश मानवीय इच्छा मात्र अन्तिम र वैध नहुने तर्क गरिरहेका छन् । पृथ्वीको सुस्वास्थ्य वा आरोग्यका निम्ति मानवकेन्द्री होइन कि प्रकृतिकेन्द्री र जैवकेन्द्री विश्वदृष्टि शंखनाद गरिरहेका छन् ।
करोडौं सूर्य बल्दा पनि
हुनेछैन त्यसपछि
उज्यालो
हाम्रो समयका ईश्वरको पनि
हुनेछ अवसान त्यहीं
एउटै मात्र सत्य
अस्तित्वमा रहनेछ—
सर्वग्रासी
खग्रास
अन्धकार ।
(करोडौं सूर्यहरूको अन्धकार)
कवि फगत स्रष्टा नभएर युगद्रष्टा हो, सिङ्गो मानव जातिको अग्रदूत हो । अझ अलिकता उता गएर भन्ने हो भने पैगम्बर वा अगमवक्ता हो । उसले आगामी दिनमा हुने घटना-दुर्घटनाबारे भविष्यवाणी गरेर देश–दुनियाँलाई सचेत गराउँछ वा मार्गदर्शनका लागि मद्दत गर्छ । सत्यम्, शिवम्, सुन्दरम्को विराट चेतनाले प्रज्वलित कवि अविनाश श्रेष्ठ मानव र पृथ्वीको भविष्यलाई लिएर गहिरो चिन्तन गर्छन् । प्रकृतिको विधान मिचेर अघि बढ्दै जाँदा मानव, ईश्वर वा पृथ्वीकै भविष्यमा सन्देह हुने गरी वकपत्र लेख्छन् । स्वघोषित ‘सर्वश्रेष्ठ’को अविवेकी दुष्कर्मको फेहरिस्त उसैलाई फर्माइदिन्छन् ।
आँखै सामुन्ने वन विनाश, सिमसारको विलुप्ति, जलवायु प्रकोप, वैश्विक उष्णता, निरन्तर पातलिंदो ओजन तह, मौसमी अनिश्चितता, वर्षाको ढाँचामा गडबडी, जैविक असुरक्षा, मरुभूमीकरण, महासागरको अम्लीयकरण देखेका कविको अतिशयोक्ति वा वक्रोक्ति नै सही, पारमाणविक विध्वंशपछि आइन्स्टाइनले भने जस्तै चौथो विश्वयुद्ध हुने भयो भने पृथ्वीमा ढुङ्गा हानाहान गर्ने मानव नै रहने छैन ।
यो मानव वा पृथ्वीको खराबीको कामना बिल्कुलै होइन, बरु सम्भावित प्रलय, संहार र विनाशअघि नै युगलाई बाँच्ने र बचाउने शुभ–चेतावनी वा सावधानी हो । कुनै अरण्यरोदन, क्रन्दन पनि होइन, पृथ्वी पशुपन्छी, कीटपतङ्ग, बोटवृक्ष सबैको साझा घर हो भन्ने काव्यिक सन्देश हो ।
कविताको मखमली हरियो उपत्यकामा मन्त्रमुग्ध हुने कवि पटक्कै चाहँदैनन्, पृथ्वीमा अन्धकार होस्, खग्रास बनोस् । तर पर्यावरणीय सङ्कटकाल यही किसिमले बढोत्तरी हुँदै जाँदा पृथ्वी नै ध्वस्त हुने दिन आउन सक्छ । त्यतिबेला एउटा सूर्यको के कुरा, करोडौं सूर्य उदाउँदा पनि पृथ्वीमा उज्यालो खस्ने छैन । त्यो महानिशामा कुनै जीवजन्तु, कीटपतङ्ग, जलजीव, वनस्पति वा चराचरको अस्तित्व रहने छैन ।
नौ पृष्ठ, पाँच खण्डमा विभाजित सङ्ग्रहकै सबभन्दा लामो कवितालाई ‘करोडौं सूर्यहरूको अन्धकार’को कथ्य र कथनमा भ्रामक सत्यको प्रक्षेपण छ । यो कवि स्वयम्को अविनाशीय कविता हो । उनका कवितालाई सदैव स्वादिष्ट व्यञ्जन सम्झने प्रख्यात समालोचक एवम् कवि मनप्रसाद सुब्बाका शब्दमा यसमा कविको सबभन्दा बृहत् र त्रासद रेटोरिक अर्थात् वाक्वैविध्य छ । यो त गहन परिवेश–विमर्शको थानमा चिन्ता बसेको कवि–झाँक्रीले अन्तिम वाण मन्त्र फलाकेर हानिपठाएको हो ! वास्तवमा भन्ने हो भने, पर्याचेतनाको कोणमा यो कवितासङ्ग्रह गीता–बाइबल समतुल्य छ ।
सूर्य प्रकृतिको सर्वोत्तम उपहार हो । आदिम अन्धकार युगका मानिसले समेत सूर्यदेव मानेका छन् । करोडौं सूर्यहरूको अन्धकार कवितामा प्रक्षेपित जाज्वल्यमान पर्यावरणीय चेतनामा यसलाई डढ्न नसकेका असल आत्माहरूको तेजले बनेको उज्यालो मानिएको छ । एक दिन सूर्य नै उज्यालो वा रापताप दिन असफल हुने स्थिति आए के होला ? प्रत्युत्पन्नमतिका कविको काव्यात्मा यसै प्रश्नको वरिपरि छ ।
दिनदहाडै प्रकृतिको चीरहरण देखेर व्यथित कविहृदयले यहाँनेर विरोधाभास वा विपर्यास अर्थ अलङ्कार मार्फत लामो सुस्केरा हालेको छ । त्यसको अर्थ के हो भने पृथ्वीको अधिपति मानव मात्र होइन । पृथ्वीमा पशुपक्षी, कीटपतङ्ग, जलजीव र वनस्पतिको पनि उत्तिकै अधिकार छ । प्रकृति पनि जीवित प्राणी हो । पृथ्वी ग्रहलाई बचाउने हो भने पर्यावरणीय विनाश र युद्धको उन्मूलन वाञ्छनीय मात्र होइन, अत्यावश्यक छ भन्ने कविको सूक्ति छ । कविले पर्यावरणीय अखण्डतादेखि पर्यावरणीय लोकतन्त्रको साझा रूपरेखा कविता मार्फत नै कोरेका छन् । कविको मानवेत्तर संवेदना र समानुभूति असाधारण छ ।
ओ लुसिफर प्यारे !
म हरियोमै हाँस्छु
हरियोमै म नाच्छु
हरियैहरियो भए मात्र म बाँच्छु रे !
तिमीलाई छु मतलब यार ?
एलर्र्जी छ भने तिमीलाई हरियोसित
खुरुक्क मरुभूमितिर जाऊ
आफ्ना करौंती–बन्चरो जस्ता इरादा बोकेर
कृपया म बस्ने जङ्गल हेर्दै नमुस्कुराऊ ।
(जङ्गलकामना : १)
सन् २०२४ अविनाश श्रेष्ठको सिर्जनयात्रा दुई कारणवश सुखद् रह्यो । एउटा त अमेरिकावासी कवि रोहन क्षेत्रीको अनुवादमा हार्पर कोलिन्स पब्लिसर्सले उनको कविता सञ्चयन ‘द डस्ट ड्रअज् इट्स फेस अन द विन्ड’ निकै महत्त्वका साथ प्रकाशन गर्यो । नेपाली कविको कुनै किताब यसरी छापिएको थिएन । अर्को, उनको पर्या–कविता सङ्ग्रह ‘करोडौं सूर्यहरूको अन्धकार’को परिवद्र्धित संस्करण २१ वर्षपछि पाठकमाझ आयो ।
‘करोडौं सूर्यहरूको अन्धकार’ मैले पहिलो प्रकाशनकालमै पढेको थिएँ । अहिले पढ्दा पनि त्यत्तिकै तरोताजा र स्वच्छ अनुभव गरें । कालचक्र नेपालले ईश्वरवल्लभ, मोहन कोइराला, विमल निभा, अविनाश श्रेष्ठ, श्यामल, विप्लव ढकाल, मोमिला, वंशी श्रेष्ठ लगायत १२ कविको कवितासङ्ग्रह एकसाथ प्रकाशन गरेर राजधानीको शङ्कर होटलमा भव्य विमोचन कार्यक्रम गरेको थियो । कार्यक्रममा मैले पनि हाजिरी जनाएको थिएँ । तर त्यो कवितासङ्ग्रहको उभार र प्रयोगधर्मिता माया पब्लिकेसनको नयाँ साजसज्जा सहितको संस्करण पढेपछि मात्र महसुस गरें । मेरो मथिङ्गल एक किसिमले झन्झनायो ।
पुस्तकमा पहिले ३८ कविता मात्र थिए । अहिले थप १५ कविता बोनसका रूपमा रहेका छन् । यसमा २०४० सालदेखि २०५९ सम्मका कविता समेटिएकाे छ । पृष्ठ सङ्ख्या मात्र थपिएका छैनन्, नामचीन कवि मनप्रसाद सुब्बा, गीता त्रिपाठी, राजा पुनियानी, विमल निभा, नारायण ढकाल र पुरुषोत्तम सुवेदीका विद्वत्तापूर्ण लेख एवम् टिप्पणीले पुस्तक गहकिलिएको छ । सँगसँगै अविनाश श्रेष्ठको २४ पृष्ठ लम्बाइको आत्मकथ्य (पृथ्वी, प्रकृति, पर्यावरण र पारिस्थितिकीको पक्षमा) पढ्दा पर्यावरणीय दिव्यज्ञानले आलोकित हुने अवसर मिलेको ।
मलाई के थाहा भयो भने, ‘करोडौं सूर्यहरूको अन्धकार’ त कीर्तिमानी कवितासङ्ग्रह पो रहेछ । त्यसअघि नेपाली साहित्यको पर्याकविता सेक्सनमा सग्लो कवितासङ्ग्रह थिएन । त्यो त दुई दशक पहिले नै अविनाश श्रेष्ठले भरपाई गरिसकेका रहेछन् । यो सङ्ग्रह पढेपछि मैले अविनाश श्रेष्ठको सम्पादक, कथाकार, निबन्धकार, नाटककार, समालोचक, प्राध्यापक आदित्यादि बहुमुखी÷आयामिक व्यक्तित्व सबै बिर्सिएँ । कवि, केवल पर्याकविको औतारमा पाएँ । उनका कविताको भाव नितान्त नवीन र गम्भीर छन्, शिल्प पक्ष उज्ज्वल छ । हरेक काव्यपङ्क्ति शानदार छन्, उल्लेखनीय छन्, विशिष्ट छन् । सिरान–पुछार नै उद्धरणीय हुनु यसको विशेषता हो ।
समुद्रको नीलो सौष्ठव, बाघ वा हरिणको सुनौलो भुवा, जेब्रा वा जिराफको श्वेत धर्सोको स्वच्छन्द बयानवाजी वा चलनचल्तीको काव्य–कारखानाबाट उछिट्टिएर, सार्वभौम प्रतीकहरू राखेर, विश्वचेतनाको उभार बोकेर, सौन्दर्यशास्त्रको मनन गरेर, अनन्त सत्य उजागर भएको छ, अविनाशका कवितामा । मान्छे, माछा, चरा, माटो, झारपातमा के फरक छ ? सबै यसै धराका हुन् । यहाँनेर अविनाश श्रेष्ठ जन्मसिद्ध कवि लाग्छन् । पर्यावरणीय सचेतनाबारे कविता लेख्दालेख्दै पनि शिल्प पक्षलाई अखण्ड र जिउँदोजाग्दो राखेका छन् ।
कला, शिल्प र सौन्दर्यको स्खलन नहोस् भनेर औधी सचेत छन् । सन्देशै–सन्देशको गह्रुँगो भारीले कविता थला परेको छैन । कविता अडिने स्पेस हरेक हरफमा राखेका छन् ।भनौं भने आज हामीलाई पुरस्कार दिने उम्दा किताबको सर्वथा अभाव छ ।
श्रेष्ठ साहित्यको वार्षिक सूची निकाल्दा हल्लाखल्ला गरिएका कामचलाउ किताब बटुलबाटुल गर्नु परिरहेको छ । कवि अविनाश श्रेष्ठले उमेरको उनन्चालीसौं मैनबत्ती बालेर चालीसको दशकदेखि लेखेका यति उम्दा शिल्प, सांस्कृतिक सञ्चेतना, मूल्य र सौन्दर्यबोध अनि कलात्मक गद्यशैलीको कविता पुरस्कृत गर्न सकेको भए के कविको मात्र उचाइ बढ्थ्यो ? सम्पूर्ण साहित्य र पाठकलाई न्याय हुन सक्दैनथ्यो ?
हामी केही कृतघ्न भयौं भन्दैमा सबै त्यस्तै हुन् कसरी भन्ने ? अविनाशलाई प्रकृतिदूत भन्दै दार्जीलिङे कवि राजा पुनियानीले महान् पुरस्कार लिखितम् धनीका नाममा दिएका छन्, ‘प्रकृतिवादी कविको आकाश अपूर्व नीलो छ । यिनको कवितामा आकाश खुनसरी देखियो ।
रोमान्टिकको जून नदीमा झर्न मन पर्छ । अविनाशको कवितामा जून नदीबाट टाढा भाग्छ । रोमान्टिकको रुख हरियै छ र त्यसमा चराहरूको चिरबिर छ । यिनको कवितामा रुख मृत्युशय्यामा ढलेको छ । नित्सेको कल्पित महामानव यिनका कवितामा प्रकृति दानव हो । हरारीले कल्पना गरे, मान्छे अब साइबोर्ग हुने हो । यिनका कवितामा मान्छे उस्तै संवेदनहीन अर्धयन्त्र । बढ्दो उष्णताले काँपिरहेको पृथ्वीको तापमान नाप्ने थर्मोमिटर भयो यिनको कविता ।’
पर्यावरण कवितामै विद्यावारिधि गीता त्रिपाठीका शब्दमा पर्यावरणीय कविता अङ्ग्रेजी र जर्मन भाषामा अनुवाद भएर सन् १९९७ मै विश्वमञ्चमा पुगेका आधारमा पनि अविनाश श्रेष्ठ पर्यावरण सचेत प्रथम नेपाली कविका रूपमा स्थापित कवि व्यक्तित्व हुन् । काठमाडौं महानगरको पर्यावरणीय समस्यामा आधारित उनको कवितासङ्ग्रह ‘हेर्नूस् यस शहरलाई’ जर्मन कवि ग्यार्ट हाइडेनरिखको अनुवादसहित २०५४ मै प्रकाशन भएको तथ्य स्मरणीय छ ।
यस पुस्तकमा पशुपतिनाथ, स्वयम्भूनाथः यो शहरलाई हेर, बूढानीलकण्ठ, गलैंचा बुन्नेहरूको गीत, चोभार, इँट बनाउनेहरू र बढ्दो शहरीकरण, रिङरोडः ट्रकहरू, बसहरू, बागमती नदीको किनारमा उभिएर, गणेशः वसन्तपुर दरबार स्क्वायर, स्वप्नवाग : एउटा फ्ल्यासब्याक शीर्षकका १० कविता समावेश छन् । अहिलेका जल्दाबल्दा पर्याकवि राजा पुनियानीले आफ्नो नवीनतम पर्याकविता सँगालो ‘तङसिङ’मा अविनाश श्रेष्ठलाई ‘पर्यावरण कविताका पुरोधा’ नै जिकिर गरेका छन् ।
निश्चय नै अविनाश श्रेष्ठ स्थानीय पर्यावरणीय सरोकारलाई कविताको कथ्य बनाउने प्रथम कवि हुन् । अहिले त्यसमा थुप्रै कवि लामबद्ध भएका छन् । उनमा पर्याचेतना वा पारिस्थितिकीतन्त्रबारे काव्यिक जागरण कसरी आयो ? कौतूहलको विषय छ । यसको पृष्ठभूमिमा लामखुट्टे मार्ने नाममा छर्किएको कृत्रिम विषादीले निम्त्याएको भयावह पर्यावरणबारे सन् १९६२ मा रचेल कार्सनको पुस्तक ‘साइलेन्ट स्प्रिङ’, सन् १९७२ को उत्तराखण्डमा जङ्गल फँडानी रोक्न रुखलाई अँगालोमा बाँध्ने (चिपको) अभियान, सन् १९८९ मा मेधा पाटेकरले थालनी गरेको नर्मदा बचाओ आन्दोलन, सन् १९८४ को भोपाल ग्यास चुहावट दुःखान्त, सन् १९८६ को युक्रेनको चेर्नोबिल परमाणु दुर्घटना आदि छन् । तिनको अभिशप्त घाउ, महादुःस्वप्न अनि पर्यावरणीय त्रासदी र अवसानका बीभत्स महागाथाले उनलाई यस्तो कविता गर्ने अन्तस्प्रेरणा र मानसिक ऊर्जा दिएका रहेछन् ।
आफ्नो छैटौं कवितासङ्ग्रहमा अविनाश असली चरामित्र देखिएका छन् । उनी चरा विनाको आकाश परिकल्पना गर्नै सक्दैनन् । त्यो भनेको सौन्दर्यविहीन शून्यता हो । कवि पर्वते ग्राम्य जीवनको अतीतव्यसनमा रमाउँदै कविता फलाक्छन् । चराको साथी थियो चरा । चराको अभिभावक थियो आकाश । आकाशको आत्मीय थियो मान्छे । मान्छेको सहयात्री थियो जङ्गल । मान्छेको सहयात्री थियो जङ्गल र जङ्गलले सुसेल्दा शरद आउँथ्यो । जङ्गलले सुस्केरा काढ्दा थालिन्थ्यो शिशिर । गीत गाउँदा जङ्गलले जताततै ढकमक्क फक्रिन्थ्यो, वसन्त । ‘जङ्गल : एउटा सलिलकी’ मा आम मानवका तर्फबाट कविको भद्र आत्मालोचना छ ।
जङ्गललाई मरुभूमितिर लखेट्दै
जङ्गलको अमरताको गीत गाइरहेछु म… ।
प्रस्तुत सङ्ग्रहको केन्द्रमा पर्यावरणीय विषमता भए पनि यसको किनारमा गरिबीको विवशता, दासत्व, मूर्खता, अमानवीय व्यवहार आदि विषय पनि उत्तिकै समेटिएका छन् । ‘गलैंचा बुन्नेहरूको गीत’ले संवेदनशील पाठकलाई हुरुक्कै बनाउँछ । कविता होस् त यस्तो !
आङ्निमा जब तान बुन्छे…
पानी, खोला, पहाड, कुहिरो
चराचुरुङ्गीको आवाज, माटोको गन्ध
जङ्गलको मीठो सुसेली बुन्छे ।
कवितामा विम्बित आङनिमा स्वयम् प्रकृति हो । नारी र प्रकृतिमा साम्यता छ । आज पुरुष दम्भले नारी र प्रकृतिको मर्म र भावना दुवै बुझ्न सकेको छैन । प्रकृतिका कारण नै पृथ्वी मनमोहक छ । नारीको महानताका कारण नै तपाईं हाम्रो घरसंसार सुन्दर छ । जिन्दगीमा खुसियाली छ । पर्यावरणीय नारीवादको दृष्टान्त दिने यो कवितामा कविको काव्यचेतना टल्किएको छ । यस्तो लाग्छ, कवि अविनाशका शब्दपुञ्जमा हराएको जङ्गल हरियाली सहित फर्कन्छ, सुकेनास लागेको नदी फेरि ब्युँझन्छ, चराले गुँड फर्केर बच्चा कोरल्न पाउँछ । मानव सद्बुद्ध हुन्छ ।
चिनाउनुअघि नै गुरुबाले बाह्रखरी
आमाले मलाई चिनाइसक्नुभएको थियो !
रुख
चरा
आकाश
नदी
मान्छे
र जङ्गल ।
अबको समय कवितालाई बचाउन पनि प्रकृति नबचाई धर छैन । त्यसैले त कविले आदिवासी वा रैथाने स्मृतिलाई कविताको मालामा गाँसेका छन् । आदिवासी पर्याचेतना वास्तवमा अनमोल छ । आदिवासीमा प्रकृति पुज्ने संस्कृति जिम्दो छ । आदिवासी अफ्रिकी उखानै छ– यो पृथ्वी हामीले पुर्खाबाट बिर्तामा पाएका होइनौं, हाम्रा नानीहरूबाट उधारोमा पाएका हौं । पर्यावरणीय सङ्कटको पहिलो सिकार हुने नै आदिवासी, रैथाने, पिछडिएका समूह, महिला आदि हुन् ।
मेरो खनातिकी आमाले
आफ्नो नाबालक छोरालाई
सबैभन्दा पहिले चिनाउनेछिन्
दुःख जस्तै फैलिएको मरुभूमि
र भन्नेछिन् :
बाबा !
तिम्रा जिजु–पुर्खा अदूरदर्शी पिचास थिए..
अविनाश श्रेष्ठको कविताको पहिलो शर्त संवेदनशीलता हो अनि कथ्यप्रतिको अनन्य सजगता । यो उनले निद्रामा होइन कि प्रज्ञाचेतनामा देखेको सपना हो । धरतीको धड्कन, स्पन्दन वा ढुकढुकी छ अविनाशको हृदयमा । पञ्चमहाभूत, भोलिको गीत, जङ्गल ः एउटा सलिलकी, निर्जल प्रलय, करोडौं सूर्यहरूको अन्धकार, चोभार आदि कवितामा त्यही ढुकढुकाइरहेको छ । कविको अर्को भविष्यवाणी पनि पढेर हेरौंः
अमृतका सरस तालहरू
तिर्खैतिर्खाको बालुवामा फेरिनेछन्…
मान्छे
माटो बन्नेछ
माटो बन्नेछ
निर्जन !
पृथ्वीको सुरक्षा नै कवि अविनाश श्रेष्ठको एक मात्र सरोकार हो । कविले निराशा र विद्रोह मात्र बाँडेका छैनन्, सँगसँगै आशाको सञ्चार पनि गरेका छन् । उनले कविता मार्फत सहकार्य र हातेमालोका निम्ति खुला आह्वान गरिरहेका छन्– अझ पनि केही गर्न सकिन्छ कि ? सबै नभए पनि केही त जोगाउन सकिन्छ कि ? पृथ्वी साथै प्रकृतिलाई थोरै भए पनि लयमा फर्काउन सकिन्छ कि ? पृथ्वीलाई भविष्यका सन्तति बाँच्न लायक रहिरहन दिन सकिन्छ कि ?
हुनलाई अविनाशले विनाशलीला मच्चिइरहेको पृथ्वीको कविता लेखेका हुन् । प्रकृति वा वसुन्धराको आलो चोट, घाउ र दोहनबारे लेखेका हुन् । तर ती प्रेमपत्र जस्ता छन् हरियो मसीले लेखिएका । नवीनतम विषय, कौतुकमय विम्ब, प्रतीक र मिथक अनि तीव्रतम अभिव्यञ्जनाको कोलाज छ, काव्यिक अनुभूतिले लटरम्म विम्बविन्यास छ । म यसो सोच्छु– कुनै चलनचल्तीको प्रतिरोधी कवि हुँदो हो त मानवलाई खलपात्र (इको–भिलेन) बनाएर कति भद्दा र विद्रुप स्वरमा आक्रोश वा कुण्ठा पोख्दो हो ? जस्तो कि मैले यस समीक्षाको थालनीमै सगोत्रीय भत्र्सना गरेको छु ।
कमजोर कविले नै हो गरम वा चर्का कविता लेख्ने । झरनाको झङ्कारमा लेखिएका नरम कविताले नै हृदयङ्गम वा मनन गर्न बाध्य बनाउँछ । हामीले कि हिजो (विगत) का कविता लेखेका छौं, कि आजका कविता । हामीसँग भोलि (आगत) का लगभग कविता छैनन् । लौ त भनुँ भने, आगतको फ्ल्याट खाली छ । के हामी भोलिका बारेमा सोच्दै सोच्दैनौं ? भोलिका लागि लेखिएका कविता कालचक्र पार गर्दै झन् पछि झन् सान्दर्भिक र प्रासाङ्गिक हुँदै जान्छन् । प्रत्येक पाठकले होशहवासमै विश्वचेतनाको चमकमा भोलिको गीत लेख्ने कविलाई सयौं सलामी दिनेछन् र पर्याकविताको रोपाइँमा बाउसे, रोपाहार भएको आत्मिक अनुभूति गर्नेछन् । तर पर्यावरणीय दुर्दशाबारे हाम्रो अलमल, अल्छ्याइँ, अरूचि वा बेवास्ता कविलाई कतै दुखेको छ, निर्जल प्रलयको खुलेआम निमन्त्रणाले विस्मित पारेको छ ।
हामीलाई लाग्ने छ
हाम्रो पुस्तामा केही भइहाल्ने होइन…
किन चिन्तित हुने हामी व्यर्थैमा…
तपाईं हामीले सोचेको भन्दा
अलि फरक शैलीमा आउने छ प्रलय
चुपचाप चुपचाप ।
प्रतिक्रिया 4