+
+
कथा :

म कसरी आफूलाई सुम्पन सक्छु ?

छायाको आँखाबाट आँसु रित्तिंदै थियो तर, मनमा दृढ विश्वासको जग ठडिंदै थियो । अनि आफैंसँग बोलिन्, ‘म कसैको कठपुतली होइन । आफ्नो जीवनको मालिक मै हुँ । म आफ्नो रुचि र चाहना अनुसार नै आफ्नो जीवन चलाउँछु । जीवन चलाउन विवाह गर्नैपर्छ भन्ने छैन । म आफू जन्मेको माटो छाडेर, आफू खेलेको आँगन त्यागेर, आफू हुर्केको घर–गाउँ भुलेर कहीं जान्न !’

भूमिका विष्ट भूमिका विष्ट
२०७९ असार ३२ गते ६:५३

बस्तीमा लागेको भीषण आगलागी मत्थर भएपछि गाउँले क्रमशः आफ्नो दिनचर्यामा फर्किएका थिए । खरानी भइसकेका घरहरू अब नयाँ संरचनामा ठडिंदै थिए । कोही डाँडाभाटा लगाउने काममा तल्लीन थिए भने कोही छानो छाउने ।

किसानहरू गोठ–टहरा बनाउने र आफ्ना गाईबस्तु स्याहारसुसार गर्ने काममा लागेका थिए । बोटबिरुवा लगाउने, अन्नपात जोहो गर्ने, खेतीपाती सुरु गर्ने सुरसार पनि हुँदैथियो । सबै आ–आफ्ना लयमा फर्किसकेका थिए । जनजीविका सामान्य बन्दैथियो ।

बस्तीमा कसले आगो सल्काइदियो ? थाहापत्तो लागेको थिएन ।

गाउँ नै तहसनहस बनाएको आगलागीले छायालाई पनि दुःखी नबनाउने कुरै भएन । त्यही गाउँ, त्यही समाजमा हुर्किएकी छाया यसबाट कसरी अछुतो रहन सक्थिन् र ? उनकै घर जलेर नष्ट भएको थियो । घरसँगै उनले सँगालेर राखेका कतिपय सरसामान खरानी भएका थिए ।

यद्यपि एउटा कुराले भने उनलाई सन्तोष दिलाएको थियो । बस्तीमा कसैले आगो सल्काइदियो, जसले उनको विवाहको कुरा रद्द भयो । आफ्नो मञ्जुरीविना हुन लागेको विवाह रोकिएकोमा उनी मनमनै खुसी थिइन् । किनभने आगलागी हुनुअघि उनको घरमा विवाहको कुरा भइरहेको थियो ।

बस्तीमा आगलागी नभइदिएको भए ? सायद छायाको विवाहको कुरा पक्का हुन्थ्यो । आमाबुवाको खातिर उनी पराय घर जान बाध्य हुन्थिन् । विवाह गरौं, मन नमिल्ने मान्छेसँग कसरी जीवन कटाउने ? विवाह नगरौं, घर–परिवार र समाजको अगाडि कसरी मुख देखाउने ? उनी बडो द्विविधामा थिइन् । त्यसैले बस्तीमा भएको त्यो अप्रत्यासित घटना उनको निम्ति एक हिसाबले ठिकै थियो ।

बस्तीमा कसले आगो सल्काएको थियो ? गाउँलेमाझ यसको चर्चा सेलाएको थिएन । यसको रहस्योद्घाटन हुन बाँकी नै थियो ।

*** ***

धेरै दिन भएको थियो, छाया खोलामा गएकी थिइनन् । त्यसअघि त उनी नियमितजसो खोलामा जान्थिन् । निष्फिक्री नुहाउँथिन् । निष्फिक्री नै त नभनौं, किनभने अर्धनग्न नुहाइरहँदा उनी कता–कता भयभीत अनि सशंकित हुन्थिन् । त्यसक्षण उनलाई आभास हुन्थ्यो, कसैले चियाएर हेरिरहेको छ ।

उनलाई यस्तो किन हुन्थ्यो ? थाहा छैन । तर, जब–जब उनी कुनै एकान्तमा हुन्थिन्, कसैले चियो गरिरहेको छ भन्ने लाग्थ्यो ।

घर नजिकको पोखरीमा गएर माछालाई चारो दिन उनलाई खुब आनन्द लाग्थ्यो । किन आनन्द लाग्थ्यो ? सायद पोखरीमा आफ्नै प्रतिविम्ब हेर्न पाएर हो कि ! वा माछाहरू तँछाडमछाड गर्दै चारो खाएको दृश्य हेर्न पाएर !

धेरै दिनपछि उनी पोखरीमा पुगिन् । पोखरीमा आफ्नै प्रतिविम्ब हेरेर एकोहोरिएकी थिइन् । त्यसैबेला उनलाई कसैले चियो गरे झैं लाग्यो ।

यसरी अदृश्य रूपमा पछ्याइरहेको त्यो को थियो ? सायद आफ्नो प्रेमी । छायालाई यस्तै लाग्थ्यो । र, उनले मनमनै आफ्नो प्रेमीको आकृति बनाइसकेकी थिइन् । काल्पनिक प्रेमीसँग उनी हाँस्थिन्, कुरा गर्थिन् र रमाउँथिन् । यो कस्तो पागलपन हो ? आफैंलाई हेरेर उनी बेलाबखत चकित हुन्थिन् ।

तर, काल्पनिक दुनियाँमा मनमग्न हराइरहेकी छायालाई फेरि उसैगरी विथोल्ने दशा आइलाग्यो । उनलाई विवाहका लागि माग्न घरमा केटा आए । उही केटो, जोसँग यसअघि विवाह हुनै लागेको थियो ।

यसपालि छाया लाचार भइनन् । आफ्नो इच्छा विपरीत विवाहको कुरा छिनेकोमा बुवाआमासँग विद्रोह गरिन् । विवाह गर्दै नगर्ने अडान लिइन् । तर, घरपरिवार र समाजले उनलाई निरन्तर दबाब दिइरह्यो ।

छायालाई फकाईफुल्याई गर्नका लागि केटो घरमा नै आए । उनले छायालाई एकान्तमा भेट्न चाहेको बताए । उनले छायालाई एकदमै माया गर्ने र कहिल्यै दुःख नदिने भन्दै फकाउन थाले । तर, छायाले आफ्नो अडान छाडिनन् ।

छायाले आफू कुनै युवाको प्रेममा परिसकेको स्पष्ट बताइन् । उनले यो पनि भनिन् कि, उनी कुनै अदृश्य पुरुषलाई मन पराउँछिन् । र, उक्त पुरुष हरपल छायाकै वरिपरि रहने गर्छन् ।

छायाको कुरा सुनेर उनलाई माग्न आएका केटो निराश भए । उनले छायालाई भने, ‘त्यो सबै तिम्रो भ्रम सिवाय केही होइन ।’ तर, छायाले उनको कुरा पत्याइनन् ।

तब उक्त केटोले रहस्यमय तरिकाले भने, ‘बस्तीमा आगलागी हुनुअघि तिमीलाई त्यो अदृश्य पुरुषले घरबाहिर बोलाएको थियो नि है ?’

छाया एकछिन त भावशून्य भइन् । आखिर यो केटोलाई कसरी थाहा भयो ? किनभने यस्तो कुरा छायाले कसैसँग भनेकी थिइनन् । छायाले एकै सासमा सोधिन्, ‘यो कुुरा तिमीलाई कसरी थाहा भयो ?’

प्रश्न सुनेर केटो एकछिन चुप लाग्यो । उनी केही बोलौं वा नबोलौंको दोधारे स्थितिमा देखिए । ‘छाया म तिमीलाई सत्य कुरा भनौं’ उक्त केटोले केही अक्मकिएको स्वरमा भन्यो, ‘तिम्रो भावना मैले बुझिसकेको थिएँ । तिमी कुनै अदृश्य पुरुषको प्रेममा छौ भन्ने कुरा मलाई यसअघि नै थाहा भइसकेको थियो ।’

छाया कुनै आज्ञाकारी बालक झैं केटोको कुरा सुनिरहेकी थिइन् ।

केटो भन्दै थियो, ‘खासमा त्यो दिन तिमीलाई कुनै अदृश्य पुरुषले होइन, मैले बोलाएको थिएँ । तर, तिमीलाई उही भ्रम भयो र मेरो स्वर पहिचान गर्न सकिनौ । तिमी हत्तपत्त दौडेर घर पछाडि आयौ । यताउता हेर्‍यौ । अनि कसैलाई नदेखेपछि फेरि घरभित्र गयौ ।’

छायाले घृणाको नजरले केटोलाई हेरिन् । तर, के भन्ने ? उनको वाक्य फुटेन ।

*** ***

बस्तीमा आगलागी हुनुअघिको कुरा । त्यसबेला छायाको विवाहको कुरा छिनिसकेको थियो । छाया खोलामा नुहाएर घर फर्किएकी थिइन् । खोलामा नुहाइरहँदा उही अदृश्य पुरुषले उनलाई पछ्याइरहेको जस्तै लाग्यो । जब उनी घर आइन् तब, घर पछाडि कसैले उनलाई बोलायो, ‘छाया।’

उनलाई लाग्यो, त्यो आवाज पक्कै अदृश्य पुरुषको हुनुपर्छ । उनी घर पछाडि गएर खोज्न थालिन् । तर, त्यहाँ कसैलाई देखिनन् ।

‘जब कसैलाई नदेखेर तिमी घरभित्र पस्यौ, तब म रिसले अरू चुर भएँ’ केटो भन्दैथियो, ‘किनभने म तिमीलाई आफ्नो बनाउन चाहन्थें । तिमी भने कहिल्यै नदेखेको, कहिल्यै नभेटेको पुरुषसँगको प्रेममा लिप्त थियौ ।’

‘अनि के त ?’ छायाले आवेगमै सोधिन्, ‘मेरो जीवन म आफ्नै मर्जी अनुसार चलाउँछु । तिमीलाई यसमा किन टाउको दुखाइ ?

केटोले भन्यो, ‘तिम्रो बुवाआमाले विवाहको लागि मञ्जुरी दिइसकेका थिए । तिमी मेरो हुनेवाला थियौ । त्यसैले तिमीमाथि मैले आफ्नो हक जमाउनु के अन्यथा हुन्छ ?’

छाया उनीसँग थप विवाद गर्ने पक्षमा थिइनन् । किनभने उक्त केटोसँग तर्क गरेर उनलाई केही फाइदा हुनेवाला थिएन । उनी केटोको कुरा नसुने झैं गरी त्यहाँबाट हिंड्नै लागेकी थिइन् । केटोले हठात् उनको हात समात्यो र जोडले करायो, ‘मैले पक्का गरिसकें म तिमीसँग नै विवाह गर्छु । मेरो परिवार, छरछिमेकमा विवाहको हल्ला भइसकेको छ । अब म कसरी पछि हट्न सक्छु ?’

केटोको यस्तो जिद्दीपनले छायाको मन पग्लने कुरै थिएन । बरु, उनी केटोप्रति थप आक्रोशित भइन् । उनले केटोको गालामा जोडले थप्पड हानिन् । र, सरासर उनी त्यहाँबाट हिंडिन् ।

उनी एकान्तमा पुगेर धेरैबेर रोइरहिन् । यतिबेला उनलाई महसुस भयो, छोरी हुनुको पीडा ।

अरू कुनै पुरुषको लागि आफूलाई सुम्पनुपर्ने । आमाबुवाको इज्जत राखिदिनुपर्ने । समाजको थिति पालना गरिदिनुपर्ने । के छोरीले विवाह नगरी बस्नै हुँदैन ? के छोरीले आफ्नो मर्जीको जीवन विताउन पाउँदैन ? के छोरीले स्वच्छन्द बाँच्न पाउँदैनन् ?

छायाको आँखाबाट आँसु रित्तिंदै थियो । तर, मनमा दृढ विश्वासको जग ठडिंदै थियो । उनले दुवै हात मुठी कसिन् । अनि आफैंसँग बोलिन्, ‘म कसैको कठपुतली होइन । आफ्नो जीवनको मालिक मै हुँ । म आफ्नो रुचि र चाहना अनुसार नै आफ्नो जीवन चलाउँछु । जीवन चलाउन विवाह गर्नैपर्छ भन्ने छैन । म आफू जन्मेको माटो छाडेर, आफू खेलेको आँगन त्यागेर, आफू हुर्केको घर–गाउँ भुलेर कहीं जान्न ।’

यही बखत उही अदृश्य पुरुषले आफूलाई बोलाए झैं महसुस भयो, छायालाई । उनले यताउता हेरिन् । केही देखिनन् । छायाले आफ्नो दुवै हत्केलाले चिउँडो थमाइन् । र, प्रेमिल भावमा सुस्तरी भनिन्, ‘हो, म कल्पनाको संसार रच्छु । त्यसमा मेरो परिवार बनाउँछु । अनि आफ्नै जीवन बाँच्छु । आफ्नै । नितान्त आफ्नै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?