+
+
मेयरलाई पत्र :

कृपया हाम्रो स्कुल फिर्ता ल्याइदिनुहोस् !

विपन्न नागरिकका छोराछोरीले पढ्न पाउने अधिकारमाथि लात मार्दै विद्यालय किन मर्ज गरियो ? मेरा मनभित्र मडारिएका प्रश्नलाई त्यो अजंगको भवनले गिज्याइरहेको थियो ।

जनक अधिकारी जनक अधिकारी
२०७९ असार ३२ गते १२:५३

शशि सर, नमस्कार

सर्वप्रथम खैरहनी नगरपालिकाको गरिमामय मेयर पदमा निर्वाचित हुनुभएकोमा हार्दिक शुभकामना सहित सफल कार्यकालको कामना व्यक्त गर्दछु ।

शशि सर, मैले यहाँलाई मेयर’साब भनी सम्बोधन गर्न सकिनँ किनकि तपाई, मेयर’साब होइन– खैरहनी निवासी आमनागरिकको सेवक भएको देख्न चाहन्छु । शशि सर, आज म, मेरा मनमा लागेका केही कुरा राख्दैछु ।

यसपालि म जसरी पनि मतदान गर्न त्यता आउने निर्णयमा पुगेको थिएँ । किनकि यता केही समयदेखि राजनीतिक अस्थिरता र नेतृत्व तहको कमजोरीका कारण म र म जस्तै करोडौं नागरिकको विश्वासमाथि आघात पर्दैथियो । राजनीतिक दलहरू राष्ट्र र जनताको समुन्नतितर्फ नलागेर पारस्परिक द्वन्द्व र हिलो छ्यापाछ्यापमा नै समय बिताउँदै आएको तथ्य जगजाहेर छ ।

मेरो निराशाको कारण यो पनि हो । त्यसैले समुन्नत राष्ट्र निर्माण तथा लोकतन्त्र बलियो बनाउनकै लागि भए पनि संवैधानिक अधिकारको प्रयोग गरी मतदानमार्फत योग्य उम्मेदवार चयन गर्न त्यता गाउँ आउने निर्णय गरें । देशको राजधानीबाट थोरै मात्र टाढा भए पनि म गाउँ नआएको वर्षौं भइसकेको थियो ।

राजधानीको महँगी, सरकारी कर्मचारीको जीविकोपार्जन गर्न धौ–धौ पर्ने पारिश्रमिक, निजी स्कुल र कलेजको महँगो शुल्क तिरेर छोराछोरीलाई शिक्षा किनिदिनुपर्ने बाध्यता, महिनाभरि दुःख गरेर आएको पारिश्रमिक घरबेटीलाई बुझाएर ओत लाग्नुपर्ने विवशताका कारण काठमाडौंबाट करिब १५० किलोमिटरको दूरीमा रहेको चितवन जिल्लास्थित खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित मेरो गाउँ मेरै लागि मुग्लान जस्तो भइसकेको थियो ।

मतदाता परिचयपत्रको मतदान केन्द्रमा लेखिएको सरस्वती राष्ट्रिय आधारभूत विद्यालय कतै देखिएन । यताउति नियालें तर कतै विद्यालय भवन देखिएन । पछि थाहा पाएँ त्यो विद्यालयको नाम केवल मतदान केन्द्रको नाम बनेछ । उक्त विद्यालय कतै अर्कैमा मर्ज भएछ ।

अझ २०७४ को चुनावताका मतदाता परिचय पत्रबाट मेरो परिवारकै नामावली हटाइएको हुँदा यसपालि समयमै पुनः नाम दर्ता गरी लोकतन्त्रको रक्षार्थ आवधिक चुनावमा मतदान गर्ने दृढसंकल्प गरिसकेको थिएँ ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । स्वविवेक प्रयोग गरी असल नेतृत्व चयन गर्न मतदान प्रक्रियामा सहभागी हुनु एक असल नागरिकको दायित्व हो भन्ने कर्तव्यबोध गर्दै वैशाख २८ गते चितवन प्रस्थान गरें ।

कलंकी चोकमा दशैंमा घर जानेको भीड जस्तै मानिसै मानिस थिए । सडकमा फाट्टफुट्ट देखा परेका बसहरू खचाखच यात्रु लिएर आ–आफ्नो गन्तव्यतर्फ हुइँकिरहेका थिए । सडक किनारामा उभिएका हजारौं यात्रु आफूलाई कोच्न मिल्ने खाली ठाउँको अपेक्षामा हरेक सवारी साधन नियालिरहेका थिए ।

म पनि त्यही भीडमा गन्तव्य पुग्ने अभिलाषा लिई यताउता भौंतारिरहेको थिएँ । एक मनले भनिरहेको थियो, तँ फर्की, चितवन न जा । तैंले मतदान गर्न जाँदा–आउँदा लाग्ने खर्चले तेरो परिवारको दुई महिना भान्छा चल्छ । फेरि अर्काे मनले भनिरहेको थियो, तँ जत्तिको मान्छेले एक असल नागरिकको दायित्वबाट विमुख हुन मिल्दैन, जा मतदान गर्न जा । त्यसपछि अन्तरमनको आवाजलाई कदर गर्दै एउटा सानो गाडी रिजर्भ गरेर घरतर्फ लागें ।

वैशाख २८ गते, आफ्नो मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने दिन । टाँडी ओर्लिएर आराम नगरिकन भाइको घरमा खाना खाएर म आफ्नो मतदान केन्द्रतर्फ लागें । मेरो गाउँ धेरै फेरिएछ । घरहरू बढेछन्, बजार बढेछ । अनि गाउँमा अर्काे एउटा अंग्रेजी मिडियमको प्राइभेट स्कुल पनि थपिएछ ।

महेन्द्र राजमार्गबाट करिब ३०० मिटर दक्षिण एउटा खोला र खोलाको छेउमा एउटा सार्वजनिक चौर थियो, जसलाई हामी सुर्तनी खोलाको नामबाट सुर्तनी चौर भन्थ्यौं ।

सानोमा गाई–भैंसी चराउन, फुटबल खेल्न, मोटरसाइकल, साइकल सिक्न हामी त्यतै जाने गर्थ्यौं । पछि त्यो चौरमा एउटा प्राथमिक विद्यालय खुल्यो– ‘सरस्वती राष्ट्रिय आधारभूत विद्यालय’ को नामबाट । वडा नम्बर ९ को त्यो विद्यालय राम्ररी चलेको हो । यस वडा निवासीले मतदान गर्ने पनि त्यहीं नै हो । त्यसैले म सुर्तनी चौरमा उक्त विद्यालय खोज्दै गएँ ।

पहिला खोलाको छेउमा रहेको चौर अहिले निकै साँघुरिएछ । जग्गाको महत्व नभएको समयमा व्यक्तिको नाममा भएको जग्गा समेत चौरमा प्रयोग भएर चौर ठूलो देखिएको थियो वा जग्गाको महत्व बुझेर सार्वजनिक जग्गा नजिकका सँधियारले अतिक्रमण गरेर चौर सानो देखिएको हो बुझ्न सकिनँ ।

पहिलाको ठूलो तर अहिले खुम्चिएर सानो भएको त्यो चौरमा खैरहनी नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र र एउटा अजंगको भवन बनेको रहेछ । म विद्यालय खोज्दै अलिक पर पुगें, खोलामाथिको पुल तरेर पर रोडमा पुग्न लाग्दा समेत विद्यालय नदेखिएपछि भने म आफूलाई झुक्किएको आभास भयो र बाइक फर्काएर वडा कार्यालयभित्र छिरें ।

त्यहाँ सोधेपछि थाहा भयो– परिचयपत्र त्यही अजंगको भवनको एक छेउमा रहेको सानो घरबाट वितरण गरिने रै’छ । गएँ मतदाता परिचयपत्र लिएँ । मतदाता परिचयपत्रको मतदान केन्द्रमा लेखिएको सरस्वती राष्ट्रिय आधारभूत विद्यालय कतै देखिएन, तर त्यस विद्यालयले मलाई टिठलाग्दो पाराले हेरे झैं अनुभूति भयो । नजरले यताउति नियालें तर कतै विद्यालय भवन देखिएन । पछि थाहा पाएँ त्यो विद्यालयको नाम केवल मतदान केन्द्रको नाम बनेछ । उक्त विद्यालय कतै अर्कैमा मर्ज भएछ ।

विद्यालय मर्ज भयो, किन ? कारण थियो– विद्यार्थी पुगेन । मनमनै प्रश्न गरें– विद्यार्थी किन पुगेनन् ? बस्ती पातलियो ? होइन । धेरै बसाईं सरे ? त्यो पनि होइन । त्यसो भए किन ? प्रश्न अनुत्तरित थियो ।

स्थानीय सरकार भनेको स्थानीय नागरिकले आफ्नो स्थानीय तह सञ्चालन गर्न आफैंले चुनेको सरकार हो । त्यसैले यो स्थानीय तहका नागरिकको भावनाको कदर गर्दै त्यहाँको आवश्यकता अनुरूप सञ्चालन हुन्छ भन्ने जनअपेक्षा हुने गर्दछ । हो त्यसरी चुनिनु र सञ्चालन हुनु नै प्रजातान्त्रिक सरकारको विशेषता पनि हो । सरकारी स्कुलमा विद्यार्थी पुगेनन् तर गाउँमा अर्को एउटा निजी स्कुल थपियो किन ? सायद कसैले यसको कारण पत्ता लगाउने र व्यवस्थापन गर्ने प्रयास नै गरेनन् ।

यदि अंग्रेजी माध्यमबाट पढाइ नभएकै कारण विद्यार्थी नआएका हुन् भने स्थानीय सरकारले आफू मातहतको विद्यालयमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्थ्यो । यदि विद्यालयमा गुणस्तरीय शिक्षण विधि नभएको कारण हो भने स्थानीय सरकारले आफू मातहतको विद्यालयमा शिक्षक, शिक्षिकालाई तालिम दिई गुणस्तरीय शिक्षण विधिबाट पढाइ सञ्चालन गर्न सक्थ्यो ।

यदि विद्यालयको भवन, व्यवस्थापन लगायत कारण हो भने ती सबै व्यवस्थापन गर्न पनि स्थानीय सरकार स्वतन्त्र थियो । यदि कुनै शिक्षक, शिक्षिकाको कारण विद्यार्थी नआएका हुन् भने स्थानीय सरकारलाई नियम कानुनको परिधिभित्र रही आफ्ना कर्मचारी पुरस्कृत र दण्डित गर्न पनि कानुनले रोकेको थिएन । यी सबै अवस्था विद्यमान हुँदाहुँदै विद्यालय किन सुधार गरिएन ?

विपन्न नागरिकका छोराछोरीले पढ्न पाउने अधिकारमाथि किन लात मारियो ? विद्यालय किन मर्ज गरियो ? मेरा मनभित्र मडारिएका प्रश्नहरूलाई त्यो अजंगको भवनले गिज्याइरहेको थियो ।

मैले बुझें– त्यो अजंगको भवन कृषिउपज राख्ने कोल्ड स्टोर रहेछ । त्यो भवन देखेपछि मेरो मन उद्वेलित भयो । आहा यो अवधिमा मेरो गाउँमा कृषि क्रान्ति नै भइसकेछ कि जस्तो पनि लाग्यो । तर त्यस्तो कृषि उपजमा क्रान्तिकारी परिवर्तन भएको पनि थाहा पाइनँ ।

कृषि उपज स्टोरेज गर्न भवन बन्नु नकारात्मक हुँदै होइन तर के बीसौं करोड खर्च गरेर त्यो भवन बनाउन आवश्यक थियो ? अहिलेसम्म त्यस भवनबाट कुनै कृषि सम्बन्धी कार्य पनि सुरु भएको छैन । गाउँलेले कृषि प्रविधि–बीउविजन आदिको सेवा पनि पाएका छैनन् । मात्र एउटा बडेमानको भवन ठडिएको रहेछ । मेरो प्रश्नहरूले मेरै मस्तिष्कभित्र कोकोहोलो मच्चाइरहेको थियो ।

शशि सर, मेयरमा निर्वाचित भइसकेपछि विपन्न वर्गका बालबालिकाले पढ्न पाउने गरी गाउँगाउँमा मन्टेसरी पाठशाला खोल्ने, बूढानीलकण्ठ मोडेलको एउटा विद्यालय खोल्ने लगायतका योजना तयार पारेको कुरा र विभिन्न नयाँ–नयाँ धेरै योजना बारे सञ्चारमाध्यमहरू मार्फत थाहा पाएँ ।

शशि सर, मैले आफ्नो भोट हालें । तपाईं मेरो र यो सिंगो नगरपालिकाको मेयर, अझ शिर ठाडो पारेर, आफ्नो दाहिने हात, छातीको देब्रेतर्फ मुटुमाथि राखेर भन्न सक्छु मेरो अमूल्य मतदान तपाईंको विजयको लागि थियो ।

एक मतदाता, एक स्थानीय नागरिक, एक शुभेच्छुक वा एक असल पथप्रदर्शक जुन नाताले भए पनि वडा नम्बर ९ बाट खोसिएको सरस्वती राष्ट्रिय आधारभूत विद्यालय नयाँ व्यवस्थापनसहित वडा नम्बर ९ का आम नागरिकका लागि फिर्ता दिन सक्नुहुन्छ ?

तपाईं राजनीतिलाई पेशा ठानेर अथवा राजनैतिक अभीष्ट पूरा गर्ने उद्देश्य मात्र लिएर मेयर बन्नुभएको हो भने हामीले धेरै अपेक्षा नगर्दा हुन्छ । तर मेरो विचारमा शशि सर ! तपाईंलाई समयले एउटा ठूलो जिम्मेवारी दिएको छ र यो ऐतिहासिक जिम्मेवारी अहिलेको यो समयमा तपाईंसँग मात्र छ । त्यसकारण अहिले तपाईं हाम्रा लागि महत्वपूर्ण हुनुहुन्छ ।

त्यसैले म, वडा नम्बर ९ निवासी सबै नागरिकको तर्फबाट नम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, के त्यो नाशिएको विद्यालय, नयाँ व्यवस्थापनसहित उपहारस्वरूप फिर्ता गर्न सक्नुहुन्छ ?

शशि सर, यदि नयाँ व्यवस्थापन सहित नाशिएको विद्यालय फिर्ता गर्न सक्नुहुन्न भने बिन्ती मेरो मतदान केन्द्रको नामबाट ‘सरस्वती राष्ट्रिय आधारभूत विद्यालय’ हटाइदिनुहोला । अनि आफूलाई मन लागेको काममा लाग्नुहोला ।

तपाईंको शुभेच्छुक
जनक अधिकारी
खैरहनी–९ चितवन
हालः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?