+
+

पेटीमा नबसे पेट भरिन्न

इमानको कमाइ र मिहिनेतको रोटी खाने हामीमाथि ज्यादै नराम्रो व्यवहार गरिन्छ । यहाँ त हामीले भन्दा सडकका भुस्याहा कुकुरले बढी सम्मान पाएका छन् । हामीलाई त सरकारकै मान्छेले बाटोमा अपराधीको जस्तो व्यवहार गर्छन् ।

‘सामरी’, मकै पोलेर बेच्ने व्यवसायी ‘सामरी’, मकै पोलेर बेच्ने व्यवसायी
२०७९ साउन २ गते १९:०९

मेरो नाम सामरी (परिवर्तित नाम) हो, घर मकवानपुरको मकवानपुरगढी, अमाभञ्ज्याङ । २०५९ सालमा आएको बाढीले हाम्रो खेतबारी सबै बगायो । घर र गोठ बचे पनि त्यहाँ बस्न सकिने भएन । त्यसपछि हामी परिवार नै काठमाडौं आयौं ।

जनविद्रोह चलिरहेकाले हेटौंडामा त्यति धेरै व्यापार हुने अवस्था थिएन । गाउँमा बस्न नसकिने भएपछि यहाँ हुने आफन्तले काठमाडौं नै बोलाउनुभयो ।

यहाँ आएपछि हामीले ठेला लिएर मकै पोल्न थाल्यौं । हरिया मकै पनि बेच्न थाल्यौं । तर, यहाँ नगरप्रहरीसँग जोगिएर काम गर्न गाह्रो छ । कसैलाई असर नपरोस् भनेर अलि खुला ठाउँमा गएर बस्यो भने त प्रहरी झन् सजिलै आइपुग्छ ।

उनीहरू आएपछि भाग्न त सम्भव हुँदैछ, घेरा हालेर समाउँछन् । अहिलेसम्म ८ पटक मेरो ठेला लगिसक्यो । समाएपछि त आत्मसमर्पण नै गर्ने हो, केही जोर र उपाय लाग्दैन ।

मेरा दुई जना नानीबाबु छन् । उनीहरूलाई पढाउनका लागि पनि यो काम नगरी सुखै छैन । सानोतिनो जागिर खाउँ न त भन्दा पनि पहुँच छैन । पढाइ पनि धेरै छैन ।

गाउँ फर्केर जाउँ भने बस्ने घर छैन । घर बनाएर बस्न मिल्ने जमिन पनि छैन । गाउँ गएर अधियाँ गरेर खाउँ भने पनि गाउँबाटै ‘खेती गरेर फाइदा भएन’ भनेर मान्छे यतै आउँदैछन् ।

गाउँको जग्गा बेचेर केही गरौं न त भने त्यो पहिरो गएको जमिन कसले किन्छ ? अलिकति पूँजी भए पनि त सटरभित्रै आनन्दले व्यापार गर्न हुन्थ्यो, त्यो पनि छैन ।

त्यसैले यही १००/२०० को व्यापार गरेर जीवन गुजार्नु परेको हो । सटरमा बसेर भाडा तिर्न सकिंदैन । सानो लगानीको व्यापारमा महँगो भाडा तिरेर कति कमाउने, कति बचाउने ? नुन–तेलको खर्च केले पुर्‍याउने ?

महँगीले आकाश छोएको छ । बच्चाहरू जति कक्षा उक्लिंदै जान्छन्, खर्च उति बढिरहेको छ । खर्चले नपुग्ने भएपछि श्रीमान् राति सडकमा चुरोट बेच्नुहुन्छ । तर, उहाँलाई पनि प्रहरीले तीन पटक समातेर लगिसक्यो ।

अहिले त नगरप्रहरी मात्रै हैन, सिभिल प्रहरी पनि सडकमा बसेर व्यापार गरेको देखिसहँदैन । गरिब हुन् गरिखाउन् न त भन्ने भावना कसैमा पनि छैन ।

ठूलो अपराध गरेजस्तो गर्छन् । हामी पेटीमा रहरले बसेका हैनौं, यहाँ नबसे पेट भरिन्न । यहाँबाट सटरमा सरे ऋण थपिन्छ ।

सडकमा हिंड्नेलाई अप्ठेरो हुन्छ भन्ने हामीले पनि बुझेका छौं । हामीले पोलेको मकै खानेहरू त यहाँका धनीहरू नै हुन् । हामीले पोलेको मकै मीठो मानेर खानेहरू नै हामीलाई नमीठो व्यवहार गर्छन् । मैले पोलेको मकै खान हुने तर, मेरो गरिखाने ठेला देख्न नहुने भन्ने पनि हुन्छ ?

इमानको कमाइ र मिहिनेतको रोटी खाने हामीमाथि ज्यादै नराम्रो व्यवहार गरिन्छ । यहाँ त हामीले भन्दा सडकका भुस्याहा कुकुरले बढी सम्मान पाएका छन् । हामीलाई त सरकारकै मान्छेले बाटोमा अपराधीको जस्तो व्यवहार गर्छन् ।

सडक बनाउन यहाँका मान्छेको घर भत्केको ठाउँमा हामीले व्यापार गरेको भनेर गाली गर्छन् । घर हामीले भत्काएको हैन नि, सरकारले भत्काएको हो ।

सार्वजनिक सडक भनेपछि त्यहाँ पहिले गाडी गुड्न पाउनुपर्छ, तर सडकमा गाडा गुड्न पाउँदैन भनेर कहाँ लेखिएको छ ? हिजो गाडी नहुँदा मान्छे हिंड्ने बाटो त हो, यो । गाडीभन्दा पहिला त गाडा नै थिए सडकमा । यो त धनीले कब्जा गरेको भन्न पनि त मिल्ला नि उसो भए !

हो फुटपाथमा पैदलयात्रुले सजिलोसँग हिंड्न पाउनुपर्छ, तर त्यहाँ गरिबको पाइला नै पर्नै हुन्न ? बाटै छेकेर राख्नेलाई कारबाही गर्दा सजाय भोग्नेलाई पनि गल्तीको महसुस हुन्छ । तर, यहाँ कसैलाई असर नपर्ने गरी बस्दा पनि लखेट्दै–लखेट्दै दुव्र्यवहार किन हुन्छ ?

हामीले यहाँ व्यापार गरेर आलिसान महल बनाउन सक्ने हैन । दुई आना घडेरी किन्न पनि सक्ने हैनौं । धेरै नै गरेछौं भने छोराछोरीलाई बोर्डिङमा पढाउनेसम्म हो । त्यही पनि अब त ‘फि’ बढाएर नसकिने भइहाल्यो ।

हामीलाई लखेट्ने प्रहरीभन्दा हामी निमुखाकै भोट लिएर कुर्सीमा पुगेपछि ‘समात्’ भनेर खटाउनेहरू सम्झिंदा रिस उठ्छ । ती जनताका प्रतिनिधि हुन् कि धनवालाका मात्रै ?

(फुटपाथमा मकै पोलेर गुजारा गर्ने ‘सामरी’ सँग रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित । नगर प्रहरीले प्रतिशोध साँध्न सक्ने भएकोले हामीले उनको पहिचान गोप्य राखेका छौं ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?