+
+

रसुवागढी नाका सञ्चालनबारे केन्द्रमा सहमति, फिल्डमा अन्यौल

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन २ गते २१:५१

२ साउन, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रसुवागढी केरुङ नाका दोहोरो सञ्चालन हुने सहमतिबारे केहीदिन अघि फेसबुकबाट थाहा पाए । परराष्ट्र मन्त्रालय र चिनियाँ केन्द्रीय प्रतिनिधिहरुबीच गत ३० असारमा भएको सीमा समन्वय बैठकमा कोभिड प्रोटोकल पालना गर्दै नाका दोहोरो सञ्चालन गर्ने सहमति गरेको थियो ।

प्रजिअ जैसीकाअनुसार नेपाल चीन बैठकलाई नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले फेसबुकमा पोष्ट गरेको विज्ञप्तिमार्फत उनले नाका सञ्चालनको निर्णयबारे थाहा पाएका हुन् ।

रसुवागढी नाका कहिले खुल्छ भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘नाका अहिलेसम्म एकतर्फी नै छ । केन्द्रमा सहमति भएको ४ दिन भयो फेसबुकबाट थाहा पाएँ औपचारिक जानकारी आएको छैन ।’

प्रजिअ जैसीकाअनुसार चीन र नेपाली अधिकारीबीच भएको विगतको सम्झौताअनुसार अहिले नाकाबाट कोभिड मापदण्ड पालना गरेर दैनिक १४ कन्टेनर मालवस्तु ढुवानी गर्न पाइन्छ । नेपाली वस्तु चीनमा निर्यात गर्न बन्देज भएको दुई वर्ष नाघिसकेको छ ।

नेपालले वस्तु आयात मात्रै गर्न पाउने नाकाबाट अहिले सुविधा पाएअनुसारको दैनिक कोटामा मालवस्तु नआएको पनि जैसीले बताए । ‘पाएको कोटा दैनिक १४ कन्टेनर हो । तर, सिजन नभएका कारण अहिले दैनिक ६/७ वटा मात्रै कन्टेनर सामान आइरहेका छन्’, जैसीले भने, ‘नेपालको वस्तु आयात कोटाअनुसार दुईतर्फ नभए पनि नेपालबाट निर्यात होस् भन्ने हाम्रो उद्देश्य हो ।’

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले पनि नाका दोहोरो सञ्चालनबारे थप प्रगति नभएको बताए । ‘अहिलेसम्म नाका एकोहोरो नै सञ्चालनमा छ’, मैनालीले भने, ‘नाका दोहोरो खुल्नेबारे नेपाल र चीनतर्फ कतैबाट पनि औपचारिक जानकारी छैन ।’

नेपाल-चीनको तिब्वतबीच द्विपक्षीय व्यापार सहजीकरण गर्ने उद्देश्यले बनेको नेपाल-तिब्वत व्यापार सहजीकरण समितिको बैठक आइतबार बसेको थियो ।  छलफलमा दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवहन सुविधाका साथै भन्सार प्रकृयामा सरलीकरण लगायतका विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । छलफलमा स्थलगत मार्गबाट नेपालबाट निकासी हुने मालवस्तुको ढुवानी प्रकृयालाई छिटो सहज गर्ने विषयका साथै नेपाली वस्तुहरुको चिनियाँ बजारमा सहज प्रवेशकाबारेमा छलफल भएको मन्त्रालयल जानकारी दिएको छ ।

‘निर्बाध रूपमा दुईतर्फी व्यापार गर्न उपयुक्त विधि अवलम्वन गर्ने विषयमा समेत छलफल भएको थियो,  पारवाहन प्रोटोकल कार्यान्वयन, अन्तरदेशीय विषेश आर्थिक क्षेत्र स्थापना, आधिकारिक आर्थिक सञ्चालकको व्यवस्था, भुक्तानी सहजीकरण, बहुकार्यात्मक प्रयोगशाला स्थापना लगायतका विषयहरुमा समेत गहन छलफल भएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।वार्तामा चीन सरकारको सहयोगमा निर्माण भईरहेको रसुवाको टिमुरेमा रहेको सुक्खा बन्दरगाहलाई य्रथाशीघ्र सकाउने र  कोरोला, किमाथान्का र ओलाङचुङगोला लगायतका सीमा नाक्रामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको मन्त्रालयको भनाइ छ । ‘नेपाल-चीनबीच निर्बाध रूपमा दुईतर्फी व्यापार सञ्चालन गर्न उपयुक्त विधि अवलम्वन गर्ने, भन्सार नाकाहरुमा कोभिड विरूद्धको स्वास्थ्य प्रोटोकल कडाइका साथ पालना गर्ने र कृषिजन्य, पशुजन्य र वनस्पतिजन्य उत्पादनहरू चीनतर्फ निकासी गर्नको लागि आवश्यक प्रकृयागत विषय र प्राविधिक क्षमता अभिवृद्धि गर्न दुवै देशले सहकार्य र समन्वय गर्ने समेत सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसो त परराष्ट मन्त्रालयले भने आफूहरुले नाका सञ्चालनको नीतिगत अवरोध मात्रै चिरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अनलाइनखबरसंग भनिन् ‘हामीले नीतिगत अन्यौलता चिरेर चीनसंग नाका खोल्न समझदारी गरेका छौं’, लम्सालले थपिन् ‘तर कहिलेदेखि नाका खुल्छ र दोहोरो नाका खुल्ने प्रोटोकल के हुने भन्ने भन्नेबारे हामीलाई थाहा हुन्न । फिल्डमै समन्वय गर्नुपर्ला ।’ चीनमा पढ्न जाने विद्यार्थीहरुबारे पनि आफूहरुले नीतिगत बाटो मात्रै खुलाएको उनले बताइन् ।

२०७७ भदौ १६ मा नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका चिनियाँ पक्षले बन्द गराएको थियो । तर, नेपालको ताकेतापछि कडा कोभिड शर्तका साथ २९ माघ २०७७ मा चीनले एकतर्फी रुपमा नाका खुला गरेको थियो ।

फोटो सौजन्य :  नवराज जैसी, प्रमुख जिल्ला अधिकारी -रसुवा 

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?