+
+

एमाले : लिलिपुट, गुलिभर वा बराबर ?

निर्मलकुमार भट्टराई निर्मलकुमार भट्टराई
२०७९ साउन ३ गते १६:१५

सङ्घ र प्रदेशको निर्वाचन नजिकिंदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देशैभर कार्यकर्ता प्रशिक्षण अभियान सुरु गरेको छ। कतिपय प्रदेशले आफ्नो प्रदेशमा संगठन शुद्धीकरण र सुदृढीकरण अभियानसमेत सुरु गरेका छन्।

पार्टीको पछिल्लो सचिवालय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई सात प्रदेशको जिम्मा तोकिसकेको सन्दर्भमा अबका केही महिनामा नेकपा (एमाले) जनताको घरदैलोमा आफ्ना समग्र पक्ष लिएर पुग्ने निश्चित छ। स्वाभाविक रूपमा यो अवधिमा देशभर देहायका विषयमा विहङ्गम एमाले पार्टी पङ्तिमा विचार-विमर्श हुने नै छ।

१. वैचारिक पक्ष

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मार्क्सवाद। लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने पार्टी हो। विगतमा यो पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्तबारे कार्यकर्ता पङ्क्तिमा बारम्बार प्रशिक्षण, छलफल र अन्तरक्रिया गर्दै आएको थियो। एमालेको पार्टी जीवनमा वैचारिक प्रशिक्षण अभिन्न अङ्गको रूपमा स्थापित थियो। तर जब एमाले र माओवादीबीच एकता भयो, वैचारिक प्रशिक्षण ठप्प भयो।

एमाले-माओवादी एकता हुँदा ‘जनताको जनवाद’लाई पार्टीको अन्तरिम विचार भनिए पनि त्यसले ठोस आकार ग्रहण नगरी एमाले-माओवादीको ‘पिण्डम् स्थाने पिण्डम्’ हुनपुग्यो। सो अवधिमा नेताहरूमा ठूलो वैचारिक खाडल देखियो। दुई फरक भङ्गाला मिसिए पनि उनीहरूले आफ्नो वैचारिक रङ जस्ताको तस्तै राखेर पुन: विभाजित हुनपुगे।

यो घटनाले नेपालका कम्युनिस्ट घटकहरूलाई पार्टी एकताको प्रमुख आधार वैचारिक एकता नै हो भन्ने गम्भीर पाठ सिकाएको छ। नेताहरूले गाला जोडेर गरिएको एकता क्षणभङ्गुर हुने रहेछ। झन् पदाकाङ्क्षा र सत्ता स्वार्थले प्रेरित एकता त तासको महलसरह हुने रहेछ।

एकताको कारणले तीन वर्षभन्दा बढी समय रोकिएको वैचारिक अभियान एमालेले पुन: सुरु गरेको छ। नेता कार्यकर्ताको कुँडिएको वैचारिक धारलाई यो अभियानले साँध लगाउनेछ।

२. साङ्गठनिक पक्ष

देशमै सबभन्दा ठूलो साङ्गठनिक सञ्जाल भएको नेकपा (एमाले)को सङ्गठन माथि भनिएझैं एमाले-माओवादी एकताको कारणले करिब चार वर्ष चलायमान हुन सकेन। एकताको कारणले पुराना साङ्गठनिक संरचना भत्काइए र नयाँ संरचना बनाउन भू-भारत उत्पन्न भयो। पार्टी सङ्गठन प्रतिशतको आधारमा निर्माण गर्नुपर्ने भयो। व्यक्तिको योग्यता, क्षमता, इतिहास र समर्पणको आधारमा जिम्मेवारी दिने कम्युनिस्ट परम्परा खण्डित भयो।

केन्द्रदेखि तृणमूल तहसम्म एकीकृत सङ्गठन निर्माण गर्न क्यालकुलेटर लिएर बस्नुपर्ने भयो ! र, दशमलवमा झगडा गर्ने हास्यास्पद परिस्थिति उत्पन्न भयो। एमाले पूर्ववत् रूपमा ब्युँझिएर विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन गरे पनि पार्टी र जनसङ्गठनका सबै कमिटी नियमित लयमा अझै फर्किसकेका छैनन्।

विधानले तोकेबमोजिमका तृणमूल तहसम्मका सबै कमिटीलाई पूर्णरूपेण सक्रिय बनाउने र करिब दश लाख पार्टी सदस्यलाई पार्टीको कुनै न कुनै जिम्मेवारीमा सङ्गठित गर्ने यो अभियानको मुख्य लक्ष्य हो।

३. सांस्कृतिक पक्ष

कम्युनिस्टहरू छुट्टै धातुले बनेका मानिस हुन् भनिन्छ। यदि यो भनाइलाई मान्ने हो भने एमालेका कार्यकर्ता सांस्कृतिक रूपले अरूभन्दा भिन्न हुनुपर्छ। नेता-कार्यकर्ताको द्वन्द्ववादी विश्व दृष्टिकोण, जनताबाट सियो पनि नलिने त्यागी चरित्र, राज्यकोष, सार्वजनिक र निजी सम्पत्ति समेतप्रतिको निस्पृहता, सेवाभाव र देशभक्ति एमाले पङ्क्तिको लागि अपरिहार्य छन्। तर पेचिला वैचारिक-साङ्गठनिक अभियानको अभावमा सम्पूर्ण एमालेजनमा यो पक्ष घुर्मैलो बनेको छ।

अधिकार प्राप्तिको आन्दोलनमा सम्पत्ति गुमाएका, अङ्गभङ्ग भएका, जेलनेल खाएका अगुवा नेता, कार्यकर्ता लिलिपुट जस्ता र पैसावालहरू (पैसा कमाइको स्रोत जेसुकै होस्) गुलिभर जस्ता देखिनु एमालेको अहिलेको चुनौती हो।

केन्द्रीय, प्रादेशिक र स्थानीय सत्तामा पुगेपछि जे गरे पनि हुन्छ भन्ने भाव एमालेका नेता-कार्यकर्तामा पलाउन थालेको छ। यस्ता अभियानमार्फत यसलाई बेलैमा करेक्सन नगर्ने हो भने एमालेले आफूलाई अरूभन्दा भिन्न बनाउन सक्दैन। पदलाई सम्पत्ति ठान्ने र सम्पत्तिलाई पदप्राप्तिको साधन बनाउने पूँजीवादी प्रवृत्तिलाई बेलैमा काँडेतार नलगाउने हो भने एमाले एमालेजस्तो रहँदैन।

४. भावनात्मक पक्ष

भन्न परोइन, पार्टीको दीर्घ जीवन त्यो पार्टीका नेता-नेताबीच, नेता-कार्यकर्ताबीच र कार्यकर्ता-कार्यकर्ताबीचको भावनात्मक सम्बन्ध कस्तो छ भन्नेमा निर्भर गर्दछ। पार्टी निर्माणको सुरुवाती चरणमा अद्वितीय भावनात्मक सम्बन्ध विकास गरेको एमालेले संसदीय राजनीतिका तीन दशकमा भावनात्मक सम्बन्धमा ठूलो क्षयीकरण भोगेको छ।

कमरेड्ली सम्बन्ध हुनुको सट्टा एकआपसमा शत्रुवत् सम्बन्ध भोगेको छ। एकआपसमा सिर्जनात्मक आलोचना-आत्मालोचनाको परम्परालाई कैयौं पटक ध्वंसात्मक गालीगलौजले विस्थापन गरेको छ। पार्टीभित्र भावनात्मक एकता बनाइराख्न नसक्दा पटक-पटक एमालेले विभाजन र विग्रह भोगेको छ।

५. केही गलत प्रवृत्ति

अधिकार प्राप्तिको आन्दोलनमा बलिदानको प्रश्न प्रमुख हुन्थ्यो। पञ्चायत र राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व गर्दा मारिने वा जेलनेल, अङ्गभङ्ग हुने अवस्था हुन्थ्यो। अधिकार प्राप्तिको चरणबाट देश समृद्धिको चरणमा प्रवेश गरेको छ।

अब एमालेलाई राज्यको नेतृत्व गर्ने अवसर प्राप्त छ। देशको मुख्य पार्टी हुनुको नाताले तीन तहका सरकारमा एकैपटक सबै तहमा वा कुनै न कुनै तहको अविच्छिन्न नेतृत्व गर्ने अवसर एमालेलाई छ। राज्यको नेतृत्व गर्ने अवसर पाउँदा प्राप्त हुने अवसरहरूको पार्टीभित्र न्यायोचित वितरण कसरी हुन्छ भन्ने अहिले प्रमुख सवाल बनेर खडा भएको छ।

एकातिर अवसरहरूको न्यायोचित वितरणमा नेतृत्व चुक्ने र अर्कोतिर नेता-कार्यकर्ता अवसर प्राप्तिको लागि जायज नाजायज सबै हथ्कण्डा प्रयोग गर्न पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको छ। पैसा सबै थोक हो, पैसाले टिकट किन्न सक्छ, चुनाव जित्न पैसावाल नभई हुँदैन भन्ने भाष्य पार्टीभित्र जबर्जस्त स्थापित गर्न खोजिंदैछ। पार्टीमा चुनाव लड्ने, पद पाउने केही निश्चित मानिस मात्र हुन् भन्ने मनोविज्ञान नजानिंदो पाराले प्रवाह गरिंदैछ।

अधिकार प्राप्तिको आन्दोलनमा सम्पत्ति गुमाएका, अङ्गभङ्ग भएका, जेलनेल खाएका अगुवा नेता कार्यकर्ताहरू लिलिपुट जस्ता र पैसावालहरू (पैसा कमाइको स्रोत जेसुकै होस्) गुलिभर जस्ता देखिनु एमालेको अहिलेको चुनौती हो।

गरिब, श्रमजीवी र मध्यम वर्गको बाहुल्य रहेको एमाले पङ्क्ति लिलिपुट हुने र मुठ्ठीभर अकुत पैसावालहरू पार्टीमा गुलिभर हुनसक्ने परिस्थितिलाई काबूमा लिन एमाले नेतृत्वलाई सफल बनाउन पनि यस्ता प्रशिक्षण, साङ्गठनिक अभियान र राष्ट्रव्यापी नेता-कार्यकर्ता अन्तरक्रिया एमालेलाई अति आवश्यक छ।

स्वतन्त्रता, समानता, समाजवाद र कालान्तरमा साम्यवादसम्म पुग्ने लक्ष्य राखेको एमालेले बेला बेला जीउ टक्टक्याएन भने, आफैंलाई धोइपखाली गरेन भने बाटैमा जुका, जुम्रा र अन्य परजीवीको शिकार नहोला भन्न सकिन्न।

नेकपा (एमाले)मा जतिसुकै दृश्य अदृश्य समस्या र चुनौती भए पनि देशका अरू प्रमुख पार्टीभन्दा वैचारिक, सङ्गठनात्मक दृष्टिले एमाले सुदृढ र शक्तिशाली नै छ। यसलाई देश र जनताको पक्षमा अझ बढी उत्तरदायी र जवाफदेही बनाउनु सबै एमालेजनको साझा दायित्व हो।

(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?