+
+

मिठाइको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका सर्वप्रिय मिठाइ पसल

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन ४ गते १९:११

काठमाडौं । रसबरी, जुलेबी, बर्फी, लड्डु, गुलाब जामुन, पेंडा । यी नाम काफी छन्, जसले मुखमा पानी आउँछ । गुलियो र रसिलो मिठाइको धेरै बखान गरिरहनुपर्दैन ।

शुभकार्यमा होस् वा खुसियालीमा, मुख मिठ्याउन यावत थरीका मिठाइ खाने खुवाउने गरिन्छ । त्यसो त कतिपयलाई खानापछि मिठाइ नभई हुन्न । भोक मेट्न होस् वा मुख स्वाद फेर्न, मिठाइ खोज्ने गरिन्छ ।

साउनको महिना । धेरैले मासुमंस छाड्छन् । यतिबेला धेरैले नास्ताको रुपमा मिठाइ खाने गर्छन् । अतः काठमाडौंमा केही यस्ता मिठाइ पसल छन्, जो स्वाद र गुणस्तरका कारण सर्वप्रिय छन् । यहाँ त्यस्तै पाँच मिठाइ पसलको चर्चा गरिएको छ, जहाँका मिठाइले स्वाद पारखीलाई हरक्षण आमन्त्रण गरिरहेका हुन्छन् ।

गुलाब स्वीट्स

मिठाइ पारखीहरूको पहिलो रोजाइमा पर्छ गुलाब । यसको स्थापना २०७० सालमा भएको थियो । गुलाबका न्युरोड, कलंकी, झम्सिखेल लगायत आठ स्थानमा शाखा सञ्चालनमा छन् ।

नेपालमा गुणस्तरीय र स्वादिष्ट मिठाइको अवधारण भित्र्याउन भारतबाट गुलाबको फ्रेन्चाइज नेपालमा भित्र्यायो । नेपालमा सीमित मात्रामा मात्र मिठाइ पसल भएको अवस्थामा गुलाब भित्रियो र लोकप्रिय पनि भयो । शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालि अन्तर्गत रहेको यो २०७० सालमा स्थापना भयो ।

गुणस्तरमा कुनै कमी नहोस् भनेर समय–समयमा गुणस्तरको मान्छे नै बोलाएर गुणस्तर जाँच गर्न लगाउँछ । सामान्यता मिठाइ पसलमा लड्डु ६–७ दिनसम्म बेचिन्छ, तर गुलाबमा भने तीन दिन मात्र राखिन्छ ।

यहाँको रसबरी, काला जामुन, जेरी, लड्डु र पेंडा धेरै बिक्री हुने मिठाइ हुन् । गुलाबमा होम डेलिभरीको त व्यवस्था छैन, तर कतैबाट आग्रह भएमा भने डेलिभरी गरिदिने गरेको छ ।

केही मिठाइमा १० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । मूल्यको कुरा गर्दा एक पिस रसबरीको ३६ रुपैयाँ, लड्डु एक पिसको ५५ र किलोको १३ सय रुपैयाँ, जेरीको एक पिसको २५ र किलोको ११ सय रुपैयाँ र पेंडाको पिसको ४० र किलोको १४ सय पर्छ ।

रामेश्वरम् मिठाइ

नयाँ बानेश्वर, भैंसेपाटी र पेप्सीकोला गरी तीनवटा शाखा रहेको रामेश्वरम् मिठाइ पनि काठमाडौंको उत्कृष्ट मिठाइ पसलमध्ये पर्छ । रामेश्वर भन्ने व्यक्तिले भारतको दिल्लीबाट नेपाल आएर रामेश्वर मिठाइ पसल खोलेका थिए । पछि त्यो बन्द भएपछि त्यो रामेश्वर रामेश्वरम् भएर फेरि खुल्यो ।

यहाँको रसबरी, दूधबरी, लड्डु र मिक्स मिठाइ एकदमै बढी बिक्री हुने मिठाइमा पर्छ । शुद्धतामा पनि रामेश्वरमले खेलाँची गरेको छैन । जसको कारण पनि यसले धेरै जनाको मन जित्न सफल भएको छ ।

रामेश्वरम् आफैंले त होम डेलिभरी गर्दैन, तर ‘भोक लाग्यो’ र ‘भोकगञ्ज’ जस्ता डेलिभरी कम्पनीले भने यहाँबाट डेलिभरी गर्छन् । यहाँ मिक्स मिठाइ किलोको १५ सय रुपैयाँ पर्छ भने लड्डु प्रतिपिसको ५२ र किलोको १४ सय रुपैयाँ पर्छ । रसबरी पिसको ४० रुपैयाँ पर्छ ।

संगम स्वीट्स

मिठाइ तथा शाकाहारी खानेकुराका लागि चर्चित छ, संगम स्वीट्स । काठमाडौंको बानेश्वर, कालिमाटी, कमलपोखरी, नयाँ बानेश्वर र पुरानो बानेश्वर गरी यसका पाँचवटा शाखा छन् ।

वि.सं. १९९५ सालमा स्थापना भएको संगमको सबैभन्दा बढी बिक्री हुने मिठाइ लड्डु हो । लड्डुसँगै रसबरी र लालमोहन पनि उत्तिकै रुचाइएको छ । ग्राहकको सुविधाको लागि संगमले होम डेलिभरीको पनि व्यवस्था गरेको छ । यहाँ ताजा र स्वस्थकर मिठाइ पाइने भएकाले पनि यो धेरैको रोजाइमा पर्न सफल भएको हो ।

संगममा १ पिस लड्डुको ४५ र १ केजीको १४ सय रुपैयाँ पर्छ । रसबरी १ पिसको ३५ र लालमोहनको ४५ रुपैयाँ पर्छ ।

टिपटप

टिपटप समोसाको लागि एकदमै लोकप्रिय छ । साथै मिठाइको लागि पनि यो धेरैको रोजाइमा पर्ने गर्छ । विशेषगरी यहाँको जेरीलाई धेरैले रुचाएका छन् । ४० वर्षअघि स्थापना भएको टिपटपले न्युरोड र महाराजगन्ज लगायत पाँचवटा आउटलेट विस्तार गरिसकेको छ ।

टिपटपको स्न्याक्स र मिठाइ दुवै उत्तिकै मात्रामा बिक्री हुन्छ । मिठाइको परिकारमा पनि यहाँको जेरी एकदमै बढी बिक्री हुन्छ । टिपटपमा १ पिस जेरीको ३० र १ केजी जेरीको मूल्य ११ सय रुपैयाँ छ ।

बद्रीको हलवाई पसल

काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो र लोकप्रिय मिठाइ पसल हो बद्रीको हलवाई पसल । एक सय वर्षअघि स्थापना भएको यो मिठाइ पसलले अहिले पनि ग्राहकको मन  उत्तिकै जितिरहेको छ ।

ललितपुरको जावलाखेलमा अवस्थित यो हलवाई पसलको अर्को कुनै शाखा छैन । एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको यो पसलको मिठाइको स्वादमा भने परिवर्तन आएको छैन ।

यहाँको एकदमै लोकप्रिय मिठाइ जेरी स्वारी हो । यहाँको मिठाइहरु पहिले शुद्ध घिउमा बन्थ्यो । पछिल्लो समय भने डबल रिफाइन्ड तेलमा बन्छ । जुन मलेसियाबाट आयात हुन्छ । मिठाइ बनाउने ठाउँको सरसफाइमा पनि विशेष ध्यान दिइन्छ । यस पसलले होम डेलिभरीको त व्यवस्था छैन । तर यसले बद्री फुड्स भन्ने अर्को कम्पनी पनि सञ्चालन गरेको छ । बद्री फुड्सले भने विभिन्न ग्रोसरी मार्फत पनि नेपाली मिठाइ अनरसा, खजुरी र जेरी जस्ता मिठाइ बिक्री भइरहेको छ ।

बद्रीको हलवाईमा एकदमै धेरै बिक्री हुने जेरी स्वारीको मूल्य २५ रुपैयाँ हो भने जेरी १ किलोको ५ सय र स्वारी पनि १ किलोको ५ सय रुपैयाँ पर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?