+
+

एक आमाको अनुभव : किशोरवयका छोराछोरीलाई कसरी बुझ्ने ?

नेहा केसी नेहा केसी
२०७९ साउन ५ गते १५:०४

गत हप्ता अफिसको लागि तयार हुँदै थिएँ, त्यतिबेला मेरी किशोरी छोरीले उनको कपालको बारेमा गुनासो गरिन् । मैले प्रायः उनी आफ्नो कपाल देखेर बौलाहा भएको देखेको छु । गनगन गरिरहेको सुनेको छु । त्यसपछि उनले मलाई सोधिन्, ‘किन मेरो कपाल तपाईं वा हजुरआमाको जस्तो छैन ?’

म केवल मुस्कुराएर उसलाई भन्छु, ‘तपाईं या त गुनासो गर्न सक्नुहुन्छ वा आभारी हुन सक्नुहुन्छ ।’ त्यसपछि सप्ताहन्तमा हामीले पिन्टेरेस्ट वा इन्स्टाग्राम हेर्‍यो र नयाँ कपाल शैली अपनाउने प्रयास गर्‍यौं । यसले उनको मुड बदल्न मद्दत गर्‍यो र गुनासोबाट स्टाइलमा ध्यान केन्द्रित गर्‍यो ।

क्याम्ब्रिज शब्दकोशका अनुसार १३ देखि १९ वर्षको उमेरलाई किशोरावस्था भनिन्छ । किशोरावस्थाले धेरै शारीरिक, मानसिक र सामाजिक परिवर्तन ल्याउँछ । स्वभाविक हो, किशोरावस्थाका छोराछोरीको अभिभावक बन्न चुनौतीपूर्ण हुन्छ । यदि राम्ररी उनीहरुलाई सम्हाल्न सकिएन भने आमाबुवा र छोराछोरी दुवैका लागि जटिल अवस्था पनि आउन सक्छ । खासगरी आमाबुवामा धेरै धैर्यता चाहिन्छ ।

सधैंजसो अँगालो हाल्न चाहने, काखमा लुटपुटिन चाहने बच्चा अचानक एकान्तमा बस्न रुचाउँछ । बिना कारण रिसाउन थाल्छ । नजानिंदो ढंगले आफ्नो हक खोज्न थाल्छ । चर्को स्वरले बोल्न थाल्छ । बुवाआमाले रोजेका पहिरन वा खानेकुरामा चित्त बुझाउन छाड्छ ।

किशोरावस्थामा बालबालिका भावनात्मक बेचैनी र शारीरिक परिवर्तनबाट गुज्रिन्छन् । तिनीहरुको प्रारम्भिक जीवनका महत्वपूर्ण परिवर्तन हुनथाल्छन् । शरीरको उचाई, आकार, प्रकार, तौल, रंग बद्लिन्छ । शरीरमा देखिने विभिन्न परिवर्तनका कारण उनीहरु बेचैन पनि हुन्छन् । छिटो-छिटो बदलिने आफ्नो रुपरंगले उनीहरुको आत्मबल केही कमजोर हुनपुग्छ ।

यस उमेर चरणमा उनीहरु धेरै सक्रिय, उत्साहित र ऊर्जावान् हुन्छन् । यो उत्साह, ऊर्जा र सक्रियतालाई सिर्जनशील काममा लगाइदिनुहोस् । जस्तो खेलकुद, लेखन, वाद्यवादन, गायन, चित्रकला ।

किशोर-किशोरी हेयरस्टाइल र फेसनप्रति बढी नै सचेत हुन्छन् । आफ्नो रुपरंगमा उनीहरुले बढी ख्याल गरिरहेका हुन्छन् । आफ्नो शरीरमा भइरहेको परिवर्तनले एक किसिमको रोमाञ्चकता पनि पैदा गरेको हुन्छ । त्यसैले उनीहरुमा मेकअप गर्ने, नयाँ नयाँ शैलीका पहिरन लगाउने, ऐना हेर्ने प्रवृत्ति हुन्छ । यतिबेला आमाबुवाले निगरानी गर्न थाल्छन्, जो उनीहरुलाई पटक्कै मन पर्दैन । किशोर छोराछोरी र आमाबुवावीच यही कुरामा टक्कर पनि पर्ने गर्छ ।

हुन त हामी अभिभावक आफ्ना बालबच्चासँग मायालु र समझदारीपूर्ण सम्बन्ध निर्माण गर्ने प्रयत्नमा हुन्छौं । यद्यपि बदलिंदो परिस्थितिका कारण आमाबुवा अनि छोराछोरीबीच केही न केही असमझदारी रहन्छ । अतः यस्तो असमझदारी कसरी हटाउने ? कसरी किशोर छोराछोरी र आमाबुवाबीच संवादको वातावरण मिलाउने ? आफ्नो भोगाइ र बुझाइको आधारमा केही कुरा बुँदागत रुपमा प्रस्तुत गर्छु ।

बच्चालाई शारीरिक, मानसिक र सामाजिक परिवर्तनका लागि तयार राखौं

किशोर चरणमा हुने शारीरिक र भावनात्मक परिवर्तनबारे बालबच्चासँग कुराकानी गर्नुहोस् । खासगरी खाना खाने समयमा उनीहरुसँग यस्तो कुरा साझेदार गर्नु उपयुक्त हुन्छ । किशोरावस्थामा के कस्ता परिवर्तन हुन्छन् ? यससँग सम्बन्धित पुस्तकहरु पढ्न दिनुहोस् ।

स्पष्टता खोज्नुहोस्

उनीहरु के चाहन्छन् ? आमाबुवाबाट कस्तो व्यवहार चाहन्छन् ? कस्तो जीवनशैली अपनाउन रुचि राख्छन् ? भविष्यका लागि के सोच्छन् ? उनीहरुको मनोभाव बुझ्ने प्रयास गर्नुपर्छ । अर्थात् उनीहरुको अपेक्षा के छ ? स्पष्ट हुनु जरुरी छ । परिस्थितिलाई कसरी सम्हाल्ने, तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सिकाउनुपर्छ । उनीहरुले चाहेको कुरा गर्न दिनुपर्छ भन्ने छैन । यद्यपि उनीहरुको आवश्यकतालाई नजरअन्दाज नगर्नुहोस् । मानवीय जीवनका मूल्य सिकाउनुहोस् । यसका सीमा र सर्तहरुबारे सजग गराउनुहोस् ।

उपदेश होइन, उदाहरण उपयोगी हुन्छ

यतिबेला बच्चाहरु आमाबुवाबाट टाढा बस्न खोज्छन् । आफ्नो मनोमानी गर्न चाहन्छन् । आमाबुवासँग संवाद गर्न रुचाउँदैनन् ।

यसले गर्दा अभिभावक र छोराछोरीबीच असमझदारी बढ्न सक्छ । छोराछोरीको बदलिंदो व्यवहारलाई बुझ्ने र स्वीकार्ने गर्नुहोस् । उनीहरुलाई गाली गर्ने, टिप्पणी गर्ने वा धेरै निगरानी गर्न उचित हुँदैन । छोराछोरी टाढा हुन खोज्छन्, झर्किन्छन्, राम्रो व्यवहार गर्दैनन् भने उनीहरुलाई के समस्या छ बुझ्ने कोसिस गर्नुहोस् । उनीहरु कस्तो व्यवहार गरिरहेका छन् ? त्यसको अध्ययन गर्नुहोस् । त्यसपछि उनीहरुसँग बसेर छलफल गर्नुहोस् । उनीहरुको कुरा सुन्नुहोस् । उनीहरुलाई बुझ्नुहोस् ।

अध्ययन गर्नुहोस्

किशोरपुस्तालाई लक्षित गरिएका थुप्रै फिल्म र पुस्तक छन् । अभिभावकले त्यस्ता फिल्म हेर्ने, पुस्तक पढ्ने गर्नु उत्तम हुन्छ । यसले आफ्ना छोराछोरीको आनीबानी बुझ्न सहज बनाउँछ । किशोर चरणमा छोराछोरीहरु कस्तो मनोदशाबाट गुज्रिरहेका हुन्छन् भनी बुझ्न सकिन्छ ।

छोराछोरीको गतिविधिमा सहभागी हुनुहोस्

छोराछोरीसँग बसेर फिल्म हेर्ने, सप्ताहन्त घुम्ने, छोटो पैदल यात्रामा निस्कने गर्नुहोस् वा उनीहरुलाई मनपर्ने परिकार बनाएर दिनुहोस्, कुराकानी गर्नुहोस् । यसले तपाईंहरुलाई आपसमा निकट बनाउँछ । एकसाथ किनमेल गर्ने, पुस्तक पढ्ने, टेलिभिजन हेर्ने जस्ता गतिविधिले पनि एकअर्कालाई नजिक ल्याउँछ ।

खेलकुद, कला र साहित्यमा प्रेरित गर्नुहोस्

यस उमेर चरणमा उनीहरु धेरै सक्रिय, उत्साहित र ऊर्जावान् हुन्छन् । यो उत्साह, ऊर्जा र सक्रियतालाई सिर्जनशील काममा लगाइदिनुहोस् । जस्तो खेलकुद, लेखन, वाद्यवादन, गायन, चित्रकला । ध्यान दिनुपर्ने कुरा चाहिं के भने उनीहरुको रुचि के छ ? उनीहरु संगीतमा रुचि राख्छन् वा अभिनयमा ? क्रिकेट खेल्न मन पराउँछन् वा फुटबल । उनीहरुलाई रुचिलाई पटक्कै नजरअन्दाज नगरौं ।

खेलकुदले उनीहरुलाई व्यवस्थित र अनुशासित बनाउन सहयोग गर्छ । संगीत, लेखन, नृत्य आदिले उनीहरुलाई रचनात्मक बनाउन सहयोग गर्छ । साथै यस्ता क्रियाकलापले उनीहरुको आत्मविश्वास बढाउन पनि मद्दत गर्छ ।

साथीसंगीसँग रमाउन छुट दिनुहोस्

किशोर-किशोरीहरु बुवाआमाभन्दा साथीसंगीसँग समय बिताउन रुचि राख्छन् । विपरितलिंगीप्रति स्वभाविक आकर्षण बढ्छ । नयाँ नयाँ सम्बन्ध बनाउन उत्सुक हुन्छन् । उनीहरु साथीसँग खेल्न, घुम्न र कुरा गर्न रुचाउँछन् । यस्ता कुराहरुमा उनीहरुलाई छुट दिनुपर्छ । धेरै नियन्त्रण गर्नु उचित हुँदैन । यद्यपि ध्यान दिनुपर्ने कुरा चाहिं के भने उनीहरु कस्तो संगतमा छन् ? सामाजिक सञ्जालमा के हेरिरहेका छन् ? यसमा चाहिं चासो राख्नुपर्छ ।

साथै बच्चालाई आफू किशोर छँदाको कथा सुनाउनुहोस् । आफू कुन परिस्थिति र मनस्थितिबाट गुज्रिएको हो, त्यो कुरा बताउनुहोस् ।

उनीहरुसँग तपाईंले आफूलाई अभिभावकको रुपमा मात्र हैन, साथीको रुपमा व्यवहार गर्नुहोस् । त्यसले गर्दा उनीहरुको विश्वास जित्न सजिलो हुन्छ ।

आफ्नो बच्चालाई महसुस गराउनुहोस् कि तपाईं उसलाई बिना शर्त माया गर्नुहुन्छ । उनीहरुलाई बेलाबेला सरप्राइज गिफ्ट दिनुहोस् र विशेष महसुस गराउनुहोस् ।

(केसी शिक्षक एवं विद्यालय परामर्शदाता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?