+
+

नेपाली क्रिकेट प्रशिक्षकको अस्थिरता

नेपाली खेलाडी मेहनती छन् । इतिहास पनि राम्रो भएको नेपाली टोलीलाई एउटा उचाइमा पुर्‍याउँदा आफ्नो करिअरलाई मद्दत गर्ने भएकाले प्रशिक्षकहरु नेपाल आउन चाहन्छन् । तर जब नेपाल आउँछन्, सोचे जस्तो पाउँदैनन् ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन ५ गते १८:४८
पुबुदु, वाटमोर र पटवाल ।

५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले बुधबार राजीनामा दिए । उनी पछिल्लो तीन वर्षमा राजीनामा दिने तेस्रो विदेशी प्रशिक्षक हुन् ।

२०७८ मंसिरमा दोस्रो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदुले विश्वकप विजेता डेभ वाटमोरको ठाउँ लिएका थिए । तर उनी मुस्किलले ९ महिना टिके । जबकी पहिलो कार्यकालमा झण्डै ५ वर्ष काम गरेका थिए ।

उनी अघि प्रशिक्षक रहेका वाटमोर वर्ष दिन पनि टिकेनन् । २०७७ मा एक वर्षका लागि प्रशिक्षक भएका उनी कार्यकाल पूरा नुहँदै नेपाली टिमबाट बिदा भए । त्यसअघि मुख्य प्रशिक्षक रहेका पटवालले पनि ८ महिनामै राजीनामा दिएका थिए ।

सन् २०१८ मा जिम्बावेमा भएको एकदिवशीय विश्वकप छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले यो सफलता प्राप्त गर्दा नेपाली प्रशिक्षक जगत टमाटाले टिम सम्हालेका थिए । तर एकदिवशीय मान्यता जोगाउने र लिग टूमा अझ राम्रो प्रदर्शन गर्ने भनेर क्रिकेट संघले विदेशी प्रशिक्षक ल्याएको थियो ।

तर कुनै पनि प्रशिक्षक टिकेनन् ।

किन छाड्छन् प्रशिक्षकले ?

थुप्रै प्रतिकुलताका बाबजुद एकदिवशीय मान्यता पाएको नेपाली टिमबारे विश्व क्रिकेट जगतमा सकारात्मक धारणा छ । नेपाली खेलाडी मेहनती छन् । इतिहास पनि राम्रो भएको नेपाली टोलीलाई एउटा उचाइमा पुर्‍याउँदा आफ्नो करिअरलाई मद्दत गर्ने भएकाले प्रशिक्षकहरु नेपाल आउन चाहन्छन् । तर जब नेपाल आउँछन्, सोचे जस्तो पाउँदैनन् ।

खासगरी व्यवस्थापन पक्ष निकै कमजोर छ । घरेलु क्रिकेटको संरचना लगभग शून्य छ । अन्तर्राष्ट्रिय टूरको संख्या असाध्यै थोरै छ । एक्पोजरको अभावमा टिमले राम्रो प्रदर्शन गर्न सकेको छैन ।

पछिल्लो समय त खेलाडी छनोटमा समेत क्रिकेट बोर्डको आवश्यकता भन्दा बढी चासो देखिन थालेको छ । क्रिकेट संघले चार खेलाडीलाई कारबाही गरेपछि त क्रिकेट टिमलाई एकतावद्ध राख्न समेत नसक्ने अवस्था आएको छ ।

नेपाली ब्याट्सम्यानसँग प्रशिक्षक पुबुदु ।

क्रिकेट टिमका एक अनुभवी सदस्य भन्छन्, ‘हरेक प्रशिक्षक अवसरको खोजीमा नेपाल आउँछन् । तर यहाँकोे अवस्था सोचे जस्तो पाउँदैनन्, नतिजा पनि त्यसअनुसार नआएपछि टिक्दैनन् । पछिल्ला राजीनामा पनि त्यही हो ।’

राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्री पनि क्रिकेट संघको फितलो व्यस्थापनका कारण विदेशी प्रशिक्षक बिदा मनाउन मात्रै नेपाल आए जस्तो देखिएको बताउँछन् । ‘पछिल्लो तीन वर्षमा ३ प्रशिक्षक आउनुभयो, जानुभयो । उहाँहरु यहाँ समय बिताउन र बिदा मनाउन आउनुभएको जस्तो देखियो,’ क्षेत्रीले भने, ‘हाम्रो फितलो व्यवस्थापन र दुरगामी सोच नहुँदाको परिणाम हो यो ।’

उनले अघि भने, नेपाली क्रिकेटमा जताततै समस्या छ । भौतिक पूर्वाधारमा समस्या छ । क्रिकेटको विकासमा भन्दा पनि आफ्नो समूह बनाउन काम धेरै भइरहेको छ ।’

नेपाली प्रशिक्षक जगत टमाटा पनि राष्ट्रिय टिममा काम गर्न सजिलो नभएको बताउँछन् । त्यसमाथि अहिलेको क्रिकेट साइकल झन चुनौतीपूर्ण रहेको भन्दै उनी भन्छन्, ‘मुख्य कुरा नतिजा नै हो । नतिजा नआएपछि स्वभाविक रुपमा प्रश्न उठ्छ ।’

जगत टमाटा ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द भने व्यवस्थापकीय कमजोरी स्वीकार गर्दैनन् । उनले भने, ‘हामीले प्रशिक्षकका लागि वातावरण नबनाएको होइन ।’ बरु नतिजा राम्रो नआउँदा प्रशिक्षकहरु दबावमा परेको बताउँछन् उनी ।

उनका अनुसार प्रशिक्षक पुबुदुलाई पनि अमेरिका टूरमा राम्रो नतिजा नआएपछि सचेत गराइएको थियो । आईसीसीको वार्षिक साधारण सभामा सहभागी हुन बर्मिङ्घम पुगेका चन्दले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘अमेरिका टुरमा अन्तिम खेल हारेपछि स्कटल्याण्डमा राम्रो नतिजा नआए पूनर्विचार गर्नुपर्छ भनेर भनेका थियौं । अहिले हामीले सेफल्याण्डिङ गराएका हौँ ।’

पहिलो पटक राम्रो काम गरेकाले पुबुदुलाई ल्याउनुपर्छ भन्ने सबैको सुझावका आधरमा प्रशिक्षक नियुक्त गरेको, तर नतिजा नआउँदा दबावमा परेको उनले बताए ।

अर्को प्रशिक्षक को ?

आईसीसीको वार्षिक साधारण सभामा हुन गएका क्यान अध्यक्ष चन्दसँगै सचिव प्रशान्त मल्ल १४ गते नेपाल फर्केन तय भएको छ । त्यसपछि मात्र नयाँ प्रशिक्षक नियुक्त प्रक्रिया अगाडि बढ्ने क्यानका जनरल म्यानेजर वृतान्त खनालले बताए ।

नेपालले आगामी सेप्टेम्बरमा लिग टूको अर्को श्रृखला खेल्नुपर्नेछ । त्यसका लागि छिट्टै प्रशिक्षक नियुक्त गर्नुपर्ने भएकाले खुला विज्ञापन गर्ने कि सिधै नियुक्ति गर्ने भन्ने अलमल क्रिकेट संघमा छ । क्यान अध्यक्ष चन्द भन्छन्, ‘विज्ञापन गरेर छनोट गर्ने वा सिधै नियुक्त गर्ने भन्ने विषयमा आइसीसीसँग छलफल गरेर निर्णय गर्छौँ ।’

चतुरबहादुर चन्द ।

नेपाली प्रशिक्षक टमाटा भने प्रशिक्षक नियुक्त गर्नुअघि नै सम्झौताबारे सोचविचार गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रशिक्षकसँग सम्झौता गर्दा राम्रोसँग गर्नुपर्छ । जति समयका लागि काम गर्ने हो त्यति समयकै लागि गर्नुपर्छ ।’

पूर्व कप्तान क्षेत्री प्रशिक्षक नियुक्त गर्दा खेलाडीको मनोविज्ञान बुझनुपर्ने बताउँछन् । ‘कमीकमजोरी सुधार गर्नसक्ने र मनोबल उच्च राख्ने खालको हुनुपर्छ । हामीले दबाबमा कसरी खेल्ने भन्ने बुझाउन सक्नुपर्छ,’ उनी भन्छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?