+
+
विशेष रिपोर्ट :

मौसम पूर्वानुमान पूर्वाधारमा बेवास्ता : बर्सेनि मानवीय र भौतिक क्षति बढ्दो

भू–बनोटका कारण छिनछिनमा बदली भइरहने नेपालको हिमाली र उच्च पहाडी क्षेत्रमा पर्याप्त मौसम मापन केन्द्र छैनन् । यो आधारभूत संरचनाको अभावले हरेक वर्ष ठूलो मात्रामा मानवीय र भौतिक सम्पत्तिमा क्षति भइरहेको छ । मौसमी सूचना प्रणालीमा सरकारी बेवास्ताले निम्त्याएको क्षति ।

मुकेश पोखरेल मुकेश पोखरेल
२०७९ साउन ९ गते २०:२३
३ हजार ६ सय मिटर उचाइमा रहेको मनाङ गाउँ र त्यसभन्दा माथिको भूभाग । नाङ्गो आँखाले वर्षाको असर देख्न सकिने भएपनि कति वर्षा भयो भन्ने कुनै रेकर्ड छैन । तस्वीर : मुकेश पोखरेल

९ साउन, काठमाडौं । १५ जेठ २०७९ मा पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भयो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित विमानमा रहेका २२ जनाकै मृत्यु भयो । दुर्घटनापछि सरकारले कारण पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

आयोगले विमान दुर्घटनाको कारण सार्वजनिक गर्ने नै छ । तर, अहिलेसम्मका प्रारम्भिक सूचना र स्थानीय बासिन्दाको भनाइ अनुसार, खराब मौसमका कारण उक्त विमान दुर्घटनामा परेको थियो ।

सो दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमलाई कारण देखाएर ‘इनरुट’को मौसम सफा भएको पुष्टि नभएसम्म उडान नगर्न निर्देशन दियो । तर, नेपालमा मौसम सम्बन्धी जानकारी दिने एक मात्र निकाय जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिलेको अवस्थामा ‘इनरुट’ को मौसम सम्बन्धी जानकारी उपलब्ध गराउन नसक्ने बतायो ।

हवाईजहाज उडानका लागि निश्चित रुट तोकिएको हुन्छ । उडान भएको विमानस्थलदेखि गन्तव्य विमानस्थलसम्मको हवाईजहाज उड्ने बाटोलाई ‘इनरुट’ भनिन्छ । अहिले मौसम पूर्वानुमान महाशाखाले आन्तरिक उडानका लागि गन्तव्य विमानस्थलको मात्र मौसमी विवरण उपलब्ध गराउँछ ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल आन्तरिक हवाई कम्पनीहरूलाई इनरुटको मौसम सम्बन्धी जानकारी उपलब्ध गराउन प्राविधिक रूपमा कठिनाई भएको बताउँछन् । ‘हामीसँग इनरुटको मौसमी अवस्था दिने प्रविधि छैन’ पौडेल भन्छन्, ‘दिन नसकिने भन्ने होइन । यदि प्रविधि जडान भयो भने उपलब्ध गराउँछौं ।’

जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिष्ट एवं हावापानी विश्लेषण शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार नेपालमा डब्लूआरएफ (वेदर रिसर्च एण्ड फोर्काष्ट) मोडेल तथा स्याटलाइटबाट पर्याप्त विवरणका आधारमा मौसमको पूर्वानुमान गरिन्छ । तर, डाँडाकाँडा, खोंच तथा पहाडी र हिमाली क्षेत्रको मौसमी अवस्था स्याटलाइट र मोडेलहरूले क्याप्चर गर्न सक्दैनन् । जसका कारण मौसम सम्बन्धी विवरणहरू मिल्दैनन् ।

‘स्याटलाइट र अन्य विकसित देशका मोडेलहरू हाम्रो देशमा मिल्दैनन् । हामीले सही मौसमी सूचना उपलब्ध गराउने हो भने उच्च पहाड र हिमाली क्षेत्रमा धेरैभन्दा धेरै स्वचालित मौसमी स्टेशन नराखी सुखै छैन’ कँडेल भन्छिन्, ‘त्यसबाट प्राप्त डेटाले हामी हाम्रो पूर्वानुमानलाई पनि भरपर्दो बनाउन सक्छौं । त्यसले ‘रियल टाइम’ को सूचना उपलब्ध गराउँछ र मौसमका कारण हुने सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।’

नेपालमा भएका हवाई दुर्घटनामध्ये धेरैको मुख्य कारण मौसम नै हुने गरेको छ । ४ फागुन २०७० मा नेपाल वायुसेवा निगमको एबीबी ट्वीनअटर विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । घटना पछि सरकारले गठन गरेको छानबिन आयोगका भनाइमा सो विमान दुर्घटनाको प्रमुख कारण खराब मौसम थियो ।

काठमाडौंबाट जुम्लाका लागि उडेको जहाज मौसममा खराबी देखिएपछि पोखरा अवतरण गरेको थियो । जुम्लाको मौसममा सुधार आएको सूचनापछि पोखराबाट उडेको उक्त विमान अर्घाखाँचीमा पुग्दा मौसममा आएको परिवर्तन पछि दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र देउजा जहाज उड्ने बेलामा भिजिविलिटी सही भए पनि डाँडापाखामा मौसम बदली हुँदा दुर्घटनाको जोखिम बढ्ने बताउँछन् ।

६ दशकयता भएका हवाई दुर्घटना पहाडी र हिमाली भेगमा मनसुन तथा हिउँदमा पानी परेको समयमा भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थाई एयरवेजको विमान २०४९ साल साउनमा रसुवाको घ्याङ्फेदीमा दुर्घटनामा पर्यो । घटनाको अनुसन्धान गर्न गठित आयोगको प्रतिवेदन अनुसार ११३ जनाको मृत्यु भएको उक्त दुर्घटनाको एउटा कारणमा मौसम पनि थियो ।

त्यसैगरी सन् २००६ मा कञ्चनजंघामा भएको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा २४ जनाको मृत्यु भयो । सो दुर्घटनामा नेपालको संरक्षण क्षेत्रका हस्ती डा.हर्क गुरुङसहितका विज्ञहरू परेका थिए । सन् १९९१ को मनसुनको समयमा दुई महिनाको फरकमा काठमाडौंमा भएका दुई ठूला हवाई दुर्घटनाको प्रमुख कारण पनि मौसमलाई मानिन्छ । उक्त दुर्घटनामा २८० जनाले ज्यान गुमाएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रका प्रमुख सञ्जय कुमार नेपालमा भइरहेका दुर्घटनाका कारणमध्ये ‘प्रतिकूल मौसम’ मुख्य कारण रहेको बताउँछन् । ‘उडान सम्पादन कार्यका लागि वायुमण्डलमा एउटा निश्चित स्तरको हावाको वेग, बाह्य दृश्य, वायुचाप, तापक्रम आर्द्रता आवश्यक हुन्छ’ उनी भन्छन्, ‘यी तत्वहरूमध्ये कुनै पनि तत्व उग्र हुनेवित्तिकै उडान कार्य जोखिममा पर्छ ।’

उनका भनाइमा जाडोयाममा तुँवालो, कुहिरो, हुस्सु तथा सुक्खा मौसममा हुरीबतास, टर्बुलेन्स र वर्षायाममा घना बादल, चट्याङ तथा आकाशबाट जमिनतर्फ र जमिनबाट आकाशतर्फ बहने हावाको चापले जहाजलाई अप्ठ्यारो पार्दछ । विमान चालकहरूले वायुमण्डलको सही मौसमी सूचना पाउन सके भने सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।

‘विद्यमान मौसमी संयन्त्रले केही विमानस्थल र आसपासको निश्चित क्षेत्रको ताजा तथा अनुमानित मौसम सम्बन्धी विवरण समय–समयमा प्राप्त भइरहेको छ’ उनी भन्छन्, ‘नेपालमा भएका अधिकतम दुर्घटना इनरुटको प्रतिकूल मौसमले गर्दा भएका छन् । नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको अग्रसरतामा उड्डयन मेटेरियोलोजी र एयर ट्राफिक व्यवस्थापनको संयन्त्र स्थापना गर्न जरूरी छ ।’

अन्य क्षेत्रमा पनि उस्तै

मौसम पूर्वानुमानमा पूर्वाधार अभावले हवाई क्षेत्रसँगै हिमालमा पदयात्रामा निस्कने पदयात्री, नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई झन् असर पारेको हुन्छ । मौसम सम्बन्धी उपयुक्त जानकारीको अभावमा पदयात्रीले अकालमा ज्यान गुमाएका उदाहरण छन् ।

एउटा उदाहरण हो, १८ असोज २०७१ मा आएको हुदहुद नामक हिमआँधीले मनाङ र मुस्ताङको सिमाना अन्नपूर्ण क्षेत्रमा नेपालीसहित ३९ जना विदेशी पर्यटकले ज्यान गुमाएका थिए । हिमआँधीका कारण थोरङ्ला पास पार गर्ने क्रममा रहेका ३९ पदयात्रीको मृत्यु भएको थियो ।

पर्यटन विभागका अनुसार त्यसबेला २१६ पर्यटकसहित ३८४ जनाको उद्धार गरिएको थियो । अन्नपूर्ण क्षेत्रमा १२ घण्टामा ५ फिट ११ इन्च हिमपात भएको थियो । तर, मौसम पूर्वानुमान पूर्वाधारको अभावमा समयमै यस सम्बन्धी जानकारी बाहिर आउन सकेको थिएन ।

त्यसैगरी ३ माघ २०७६ मा अन्नपूर्ण सर्किटमा पदयात्रामा निस्केका ३ नेपाली गाइड र चार कोरियन पदयात्रीको हिमपहिरोमा परेर मृत्यु भयो । ३२०० मिटर उचाइमा पर्ने हिम्कु केभमा पुगेर फर्कने क्रममा व्यापक हिमपात भएको थियो । त्यस भेगमा उपयुक्त पूर्वाधार भएको भए उनीहरूलाई त्यहाँ जानबाट रोक्न वा अरू कुनै किसिमले उनीहरूको ज्यान बचाउन सकिनेथियो ।

त्यसैगरी २५ असोज २०७५ मा म्याग्दीको धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको हिमआँधीमा परेर मृत्यु भएको थियो । ५ कोरियाली र ४ जना नेपालीसहितका उनीहरू हिमआँधीमा परेका थिए । उनीहरूमध्ये केहीको शव टेन्टभित्र र केहीको टेन्टबाहिर भेटिएको थियो ।

नेपालका पुराना पर्यटन व्यवसायी एवं नेपालमा लामो समयदेखि पदयात्राको क्षेत्रमा कार्यरत कर्मा शेर्पा लामा उच्च हिमालमा पदयात्रामा जाँदा मौसम सम्बन्धी सही जानकारी एकदमै आवश्यक पर्ने र वास्तविक जानकारी नपाउनु ठूलो समस्या हुने बताउँछन् ।

‘कहिले हिमपात हुन्छ भनेको समयमा मज्जाले घाम लागेको हुन्छ । कहिले घाम लाग्छ भनेको समयमा मौसम बिग्रेको हुन्छ’ उनी भन्छन्, ‘हिमाली क्षेत्रमा पदयात्राका लागि मौसमी सूचना एकदमै महत्वपूर्ण हुन्छ । तर, नेपालमा अहिलेसम्म सही सूचना उपलब्ध हुनसकेको छैन । पर्यटन विकास गर्ने हो भने सरकारले मौसम सम्बन्धी सही सूचना दिने व्यवस्था गर्नु एकदमै जरूरी छ’ शेर्पा भन्छन्, ‘तर खै सिस्टम आउँदैछ भन्छन्, कहिले आइपुग्ने हो ?’

गत वर्ष मेलम्चीमा आएको लेदो माटोसहितको बाढी

मौसमी सूचना प्रणाली कति महत्वपूर्ण हो भन्ने थाहा पाउन १ असार २०७८ मा मेलम्चीमा आएको बाढीपहिरो पर्याप्त छ । मेलम्चीको मुहान भेम्राथाङमा मौसम मापन केन्द्र नहुँदा कति पानी परेका कारण यति ठूलो बाढी आयो भनेर अहिलेसम्म यकिन गर्न सकिएको छैन । विभागकी सिनियर मेटेरियोलोजिष्ट कँडेल यदि भेम्राथाङ आसपासमा स्वचालित मौसम मापन केन्द्र भएको भए बाढी आउनसक्ने संभावनाको बारेमा पूर्व सूचना दिन सक्ने बताउँछिन् ।

‘त्यहाँ परिरहेको पानीको अवस्थितिलाई हेरेर तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गर्न सकिन्थ्यो’ उनी भन्छिन्, ‘त्यसले धनजनको क्षति कम हुन्थ्यो । मानिसले आफू र आफ्नो सम्पत्ति जोगाउन पाउँथे ।’ मेलम्चीमा आएको बाढीका कारण २४ जनाले ज्यान गुमाएका थिए ।

त्यसैगरी ३१ जेठ २०७८ देखि २ असारसम्म परेको दर्केझरीले मनाङमा ठूलो क्षति गर्यो । कहिल्यै यस्तो झरी नपर्ने मनाङमा तीन दिनसम्म लगातार वर्षा भयो । र, मर्स्याङ्दीमा आएको बाढीले घर बगाउँदा स्थानीयहरूले घरबाट लत्ताकपडा पनि निकाल्न पाएनन् ।

यसरी एकै रातको बाढीका कारण झण्डै ५० परिवार घरवारविहीन हुन पुगे । मनाङका उच्च ठाउँमा यदि स्वचालित मौसम मापन केन्द्र भइदिएको भए यो वर्षाको स्थिति अनुसार समयमै पूर्व सूचना गर्दा मानिसले धनमाल बचाउन सक्ने संभावना हुन्थ्यो ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल स–सानो र डाँडाको खोंचमा विकास हुने मौसमी प्रणालीलाई स्याटेलाइट र मोडेलले कभर नगर्ने हुँदा स्वचालित मौसमी केन्द्र अथवा मौसमी राडरको माध्यमबाट सूचना उपलब्ध गराउन सकिने बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसमी राडारको स्थापना गरेको छ । जसले २०० किलोमिटर टाढासम्मको मौसमी सूचना उपलब्ध गराउँछ । पाल्पा र उदयपुरमा पनि राडार स्थापना गर्ने विभागको तयारी छ ।

मौसमी राडारले सीधा दिशाको मात्र सूचना उपलब्ध गराउने हुँदा राडार बाहेक डाँडाकाँडा र खोंचको मौसमी विवरण प्राप्त गर्न ‘रियल टाइम स्टेशन’ र क्यामेरा राखेर मौसमी सूचना प्राप्त गर्न सकिने विभागका पूर्व महानिर्देशक ऋषिराम शर्मा बताउँछन् ।

‘हिमालमा हिउँ र पानी नाप्ने संयन्त्र छैन’

मौसम पूर्वानुमानमा पूर्वाधारको महत्व नेपाल जस्ता देशमा झन् धेरै हुन्छ । जलवायुका दृष्टिले नेपाल विश्वमै फरक विशेषता भएको मुलुक हो । भौगोलिक वनावट अनुसार स्थान विशेषमा नेपालको जलवायु फरक छ । उदाहरणका लागि तराईको जलवायु पहाडको भन्दा फरक छ भने पहाडको जलवायु हिमालसँग मिल्दैन ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण परेका असरहरू पनि तराईमा भन्दा पहाड र पहाडमा भन्दा बढी हिमालमा परिरहेको छ । तर, हिमालमा के भइरहेको छ भन्ने पर्याप्त रूपमा तथ्यपरक र यथार्थ जानकारीको अहिले पनि अभाव छ । हाइड्रोलोजिष्ट एवम् जलवायुविज्ञ सन्तोष नेपाल उच्च हिमाली क्षेत्रमा पानी र हिउँ कति परिरहेको छ भन्ने कुराको पर्याप्त जानकारीको अभाव रहेको बताउँछन् ।

‘हामीकहाँ पानी कसरी पर्दछ भन्ने कुराको लार्ज पिक्चर नै छैन’ नेपाल भन्छन् ‘हिउँ, पानी कति परिरहेको छ भन्ने विषय वैज्ञानिक रूपमा एकदमै महत्वपूर्ण हुन्छ ।’ हुन पनि पर्याप्त ‘डेटा’ उपलब्ध भए पूर्वाधार विकास, कृषि र सिंचाइ लगायतका क्षेत्रमा योजना निर्माण गर्दा धेरै उपयोगी हुन्छ । डेटाको उपलब्धता नहुँदा पूर्वाधार क्षेत्रमा समेत नोक्सान पुगेका धेरै उदाहरण छन् ।

गत वर्ष मनाङमा आएको बाढीले पुर्याएको क्षति

१ असार २०७८ मा मर्स्याङ्दी नदी र त्यसको जलाधार क्षेत्रमा रहेका कुल २९८ मेगावाट क्षमताका १२ वटा, कास्कीको मादी खोलामा अवस्थित ५ वटा र मनाङमा ५ वटा गरी २२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्यो । १२ वटा जलविद्युत्मध्ये पाँचवटा चालु अवस्थामा थिए भने बाँकी निर्माणाधीन अवस्थामा ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार, निर्माणाधीन अवस्थामा रहेका सबै विद्युतगृहको ८५ प्रतिशत भन्दा बढी काम सकिएको थियो । उनी भन्छन्, ‘पुनर्निर्माणमा लाग्ने खर्च र उत्पादनमा हुने ढिलाइसहित सबै नोक्सान जोड्दा २२ वटा विद्युत् गृहको रु.१२ अर्बभन्दा बढी क्षति भएको छ ।’

इन्जिनियर एवम् जलविद्युत् प्रवर्द्धक शैलेन्द्र गुरागाई त्यति ठूलो बाढी आउने कल्पना नै नगरिएको र त्यस अनुसार आयोजनाको डिजाइन पनि नभएको बताउँछन् । ‘हामीसँग त्यति ठूलो बाढी आउने र माथिल्लो तहमा हुनसक्ने वर्षाको डेटा नै थिएन’ उनी भन्छन्, ‘आयोजनाको डिजाइन पनि यति ठूलो बाढी थेग्न सक्ने गरी भएको थिएन ।’

त्यति मात्र होइन केही जलविद्युत् आयोजनाहरूमा पहिला डिजाइन गरेभन्दा हिउँदको समयमा ४० प्रतिशत कम विद्युत् उत्पादन भएको छ । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडका प्रबन्ध निर्देशक एवम् जलविद्युत् प्रवर्द्धक सूर्यप्रसाद अधिकारी पहिलाको डेटा अनुसार खोलामा बग्ने पानी नहुँदा विद्युत् गृहमा क्षमताभन्दा कम विद्युत् उत्पादन र कतै बढी पानी हुँदा क्षमता भन्दा बढी विद्युत् उत्पादन भइरहेको बताउँछन् । अधिकारीका अनुसार २.५ मेगावाट उत्पादन क्षमता रहेको उक्त हाइड्रोले हिउँदको समयमा खोलामा पानीको अभावमा क्षमता जति उत्पादन गर्न सकेको छैन । १.६५ मेगावाट क्षमताको थोप्पलखोला हाइड्रोपावरको समस्या पनि यस्तै छ ।

अधिकारी ठूला हाइड्रोपावरमा पनि उक्त समस्या देखिएको बताउँछन् । ‘खोलामा बग्ने पानीको निश्चित समयको डेटा निकालेर त्यसको औसतलाई आधार मानेर डिजाइन गरिएको हुन्छ तर, यो विवरण अब मिल्न छोड्यो’ उनी भन्छन्, ‘यदि हामीसँग लामो समयको डेटा भएको भए यो अवस्था आउँदैनथ्यो । डेटा अभावमा हाइड्रोका लगानीकर्ताले कसरी क्षति व्यहोरिरहेका छन् भन्ने यो एउटा उदाहरण हो ।’

अधिकारी हरेक नदी तथा खोला र त्यसको जलाधार क्षेत्रमा पानी र मौसम मापनका यन्त्रहरू राखेर त्यसको डेटा संकलन गर्नुपर्ने र त्यो भोलिको पुस्तालाई काम लाग्ने बताउँछन् । उनी भन्छन्, ‘विगतको डेटा नहुँदा हाम्रो पुस्तालाई त काम लागेन, आउँदो पुस्ताका लागि हामीले त्यो काम अहिल्यैदेखि गर्नुपर्दछ ।’

मनाङका उच्च हिमाली भूभाग । तस्वीर : मुकेश पोखरेल

घटना विशेषका आधारमा जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा धेरै छलफल हुन्छ । तर, हिमताल र सगरमाथा क्षेत्रको बरफ पग्लिरहेको बाहेक अन्य स्थानको ‘ट्रेन्ड’ कता गइरहेको छ र के भइरहेको छ भनेर वैज्ञानिक रूपमा अध्ययन हुन सकिरहेको छैन । त्यसको कारण डेटा ग्याप नै भएको जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक ऋषिराम शर्मा बताउँछन् ।

‘जलवायु परिवर्तनको कुरा गर्छाैं, तर हामी कता गइरहेका छौं भन्न सक्दैनौं’ उनी भन्छन्, ‘हिमालमा हिउँ र पानी नाप्ने संयन्त्र नै छैन ।’

हाइड्रोलोजिष्ट एवं जलवायुविज्ञ सन्तोष नेपालको धारणा पनि शर्माको जस्तै छ । उनका भनाइमा वैज्ञानिक अध्ययनका लागि धेरै स्थानको डेटा आवश्यक छ र त्यो भनेको नेपालको उच्च हिमाली क्षेत्रमा धेरैभन्दा धेरै मौसमी स्टेशन स्थापना गरेर डेटा संकलन गर्ने हो । उनका भनाइमा एक ठाउँको स्टेशनले प्रदान गर्ने डेटाको आधारमा समग्र हिमालको अवस्थाका बारेमा निष्कर्ष निकाल्नुहुँदैन ।

नेपाल भन्छन्, ‘वर्षा सबै ठाउँमा एकनासले हुँदैन । खोलाको खोंचमा कम पर्दछ । डाँडाकाँडामा बढी पर्दछ । हाम्रा स्टेशन सजिलोका लागि प्रायः खोला र खोंचहरूमा हुन्छन् । त्यसले पनि वास्तविक तथ्य नआउने सम्भावना हुन्छ ।’

एक अन्तर्राष्ट्रिय जर्नलका अनुसार, पाकिस्तानको इन्दुस हिमालमा गरिएको एक अध्ययनले स्टेशनले दिइरहेको डेटाले भन्दा रियलमा लगभग डेढ गुणा बढी पानी परेको पाइएको थियो ।

त्यसैगरी नेपालको दूधकोशी जलाधार क्षेत्रमा सन् १९७६ मा जापानी वैज्ञानिकहरूले गरेको एक अध्ययनले ४/५ किलोमिटरको दूरीमा भएको वर्षाको दर पनि फरक रहेको देखाएको थियो ।

कति छन् त मौसमी स्टेशन ?

भौगोलिक बनावट र उच्च हिमालको संवेदनशीलताका आधारमा मौसमी डेटा पाउनका लागि पर्याप्त मात्रामा मौसमी स्टेशनहरू आवश्यक भए पनि नेपालको उच्च हिमाली क्षेत्रमा त्यस अनुरूप मौसमी स्टेशन छैनन् । त्यसले आवश्यक सूचना अभाव ‘डेटा ग्याप’ को अवस्था सिर्जना भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, सगरमाथाको आधारशिविरमा ‘नेशनल जियोग्राफिक’ च्यानलले स्थापना गरेका बाहेक ४ हजार मिटरको उचाइमा पाँचवटा वर्षा मापन केन्द्र रहेकोमा हाल एउटा मात्र सञ्चालनमा छ । ताप्लेजुङको खमाचिनमा ४ हजार २४२, रसुवाको पाइगोटाङमा ४ हजार ९१, ताप्लेजुङको नुपमा ४ हजार, मनाङको नारमा ४ हजार १९५ र फु मा ४ हजार १०० मिटर उचाइमा रहेका वर्षा मापन केन्द्रमध्ये नारको मानव स्वचालित वर्षा मापन केन्द्र मात्र हाल सञ्चालनमा छ ।

‘नेशनल जियोग्राफिक’ च्यानलले सगरमाथा क्षेत्रको ८ हजार ४०० देखि ८ हजार ८१० मिटरको उचाइमा आफ्नो अध्ययन प्रयोजनका लागि पाँचवटा मौसमी स्टेशन राखेको छ । त्यसबाहेक अन्य कतिपय संघ–संस्थाले आफ्नो अध्ययन प्रयोजनका लागि स्टेशन राखेका छन् । कतिपयको जानकारी विभागलाई समेत छैन ।

विश्व मौसम संगठनले एकै प्रकारको भूगोलमा १०० वर्ग किलोमिटर र फरक खालको भू–भागमा १० वर्ग किलोमिटरको फरकमा राखिने मौसम केन्द्रले वर्षा र तापक्रमको स्थितिलाई प्रतिनिधित्व गर्न सक्ने औंल्याएको छ । विश्व मौसम संगठनले औंल्याए अनुसार प्रत्येक १०० वर्ग किमिको फरकमा स्टेशन राख्दा पनि नेपालमा १ हजार ४७२ मौसम केन्द्र आवश्यक पर्छ ।

जुम्लामा अवस्थित स्वचालित मौसम केन्द्र । तस्वीर : जल तथा मौसम विज्ञान विभाग

तर, नेपालको भूबनोट फरक प्रकृतिको छ । २/४ किलोमिटरको फरकमै फरक भूबनोट र हावापानी पाइन्छ । विभागका पूर्व महानिर्देशक समेत रहेका ऋषिराम शर्मा नेपाल जस्तो भूबनोट भएको देशमा १० वर्ग किलोमिटरको फरकमा मौसम स्टेशन आवश्यक रहेको बताउँछन् ।

यस हिसाबले नेपालमा १४ हजार ७१८ वटासम्म मौसम स्टेशनको आवश्यकता पर्दछ । विभागका अनुसार अहिले वर्षा र तापक्रम मापन सहित करिब ६०० वटा मात्रै स्टेशन छन् । विश्व मौसम संगठनले औंल्याएको १०० वर्ग किलोमिटरको हिसाबमा पनि अहिले भएका मौसम स्टेशन आधाभन्दा कम हुन् । १० वर्ग किलोमिटरका हिसाबले करिब १४ हजार स्टेशन कम छन् ।

सम्भव छ उच्च हिमालमा स्टेशन

स्वचालित मौसम मापन केन्द्रले छिनछिनको मौसमी विवरण उपलब्ध गराउँछ र त्यो मौसम पूर्वानुमान तथा नयाँ–नयाँ जलवायु मोडेलहरूको विकासमा उपयोगी हुन्छ । ‘पर्याप्त डेटाको आधारमा गरिने पूर्वानुमान मेल खान्छ’, सिनियर मेटेरियोलोजिष्ट इन्दिरा कँडेल भन्छिन् ।

नेपालको उच्च हिमाली क्षेत्र विकट र धेरै ठाउँमा मानव बस्ती छैन । ती ठाउँको विवरण प्राप्त गर्ने एकमात्र विकल्प त्यहाँ स्वचालित मौसम स्टेशन स्थापना नै हो । मानव संचालितको सट्टा सबै स्थानमा स्वचालित स्टेशनका लागि खर्च बढी लाग्छ । तर, उच्च हिमालको मौसमी विवरण प्राप्त गर्न त्यो बाहेक अर्को विकल्प छैन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा उच्च हिमाली क्षेत्रमा मानव बस्ती नभएका कारण मानव संचालित यन्त्र आवश्यक रहेको उनको भनाइ छ । त्यहाँको एकमात्र विकल्प नै स्वचालित यन्त्र जडान हो ।

तर, त्यसका लागि मोबाइल नेटवर्क टावरले राम्रोसँग काम गर्नुपर्दछ । शर्मा भन्छन्, ‘सबै स्थानमा मोबाइलको नेटवर्कले काम गर्दैन । ठूलो विपत् आइलागेको ठाउँमा नेपाल टेलिकम र एनसेलसँग कुरा गरेर भए पनि टावर राख्नुपर्दछ, मौसम विज्ञान विभागले त्यसका लागि कुरा गरिरहेको छ ।’

स्वचालित केन्द्रमा सेन्सर जडान गरिएको हुन्छ । उक्त सेन्सरले प्रत्येक एक घण्टामा उक्त स्थानको मौसमी अवस्थाको बारेका विवरण मोबाइल फोन नेटवर्कको माध्यमबाट पाउन सकिने शर्मा बताउँछन् । अर्को विकल्प भनेको स्याटेलाइट विधि हो । यो विधि महँगो हुने उनको भनाइ छ ।

पर्याप्त मात्रामा मौसमी जानकारीको अभावमा पदयात्रा तथा हिमाल आरोहणमा गएका स्वदेशी तथा विदेशी पर्यटकले ज्यान गुमाएपछि अन्नपूर्ण क्षेत्रमा नेपाल पर्यटन बोर्डसँग मिलेर मौसम मापन केन्द्र स्थापना गर्न लागिएको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल भन्छन्, ‘सन् २०१४ को घटना लगायत अन्नपूर्ण क्षेत्रमा भएका घटनाबाट पाठ सिकेर विभागसँग मिलेर अन्नपूर्ण एरियालाई नै कभर गर्ने गरी ९ वटा केन्द्र स्थापना गर्ने योजनालाई यस वर्षको वार्षिक कार्यक्रममा समेटेका छौं ।’

विभागका महानिर्देशक कमलराम जोशी पनि दातृ निकायसँग कुरा भइरहेको र हरेक वर्ष स्टेशन थप गर्ने विषय विभागको प्राथमिकतामा रहेको बताउँछन् ।

तर, जोशीले प्राथमिकता रहेको बताए पनि उच्च तथा हिमाली क्षेत्र तथा दुर्गम क्षेत्रमा स्टेशन राख्ने विषयमा विभाग नै त्यति इच्छुक रहेको देखिन्न । त्यसको कारण हो, स्टेशनको अनुगमनका लागि जानुपर्ने बाध्यता र त्यस बापत कर्मचारीले पाउने दैनिक भत्ता ।

‘स्टेशन दुर्गम र उच्च हिमालमा हुन्छन् । तर, नेपाल सरकारको नियम अनुसार दिइने खर्चले त्यहाँ जाने कर्मचारीलाई पुग्दैन’ विभागका पूर्व महानिर्देशक ऋषिराम शर्मा भन्छन्, ‘स्टेशन स्थापना गरेर मात्र भएन । त्यहाँ समय–समयमा अनुगमनमा जानुपर्दछ । कर्मचारीलाई मोटिभेसन गर्ने गरी विशेष व्यवस्था हुने हो भने गर्न नसकिने भन्ने हुन्न ।’

जल तथा मौसम विज्ञान विभाग नेपालको एकमात्र आधिकारिक मौसमी जानकारी उपलब्ध गराउने निकाय हो । तर, विभागको अहिलेसम्म आफ्नो ऐन–नियम छैन । जसले गर्दा विभिन्न निकायले आफ्नो किसिमले मौसमी स्टेशन स्थापना गर्दा त्यसको नियमन तथा त्यसबाट आउने विवरण समेत विभागले प्रयोग गर्न पाएको छैन । विभागका महानिर्देशक कमलराम जोशी विभागको आफ्नो ऐन–नियम नहुँदा समस्या आएको बताउँछन् ।

‘यहाँ कतिपय संघ–संस्थाले आ–आफ्नो किसिमले स्टेशन स्थापना गर्दछन् । अनि चलाउन नसकेर लौ लिइदिनुपर्यो भनेर आउँछन् । हामीसँग समन्वय भएर स्थापना गरेकाहरूको त हामी सञ्चालनको जिम्मा पनि लिन्छौं’ जोशी भन्छन्, ‘जिम्मा नलिएकाहरूले चलाउन सक्दैनन् बन्द हुन्छ । यो हुनुको एउटै मात्र कारण विभागको आफ्नै नीति नभएर हो । कसैले केही गरिहाल्यो भने पनि हामीले नगर भन्ने अवस्था छैन ।’

यसबाट मौसम पूर्वानुमान पूर्वाधारको अभावले यतिविघ्न मानवीय र भौतिक क्षति हुँदा पनि हाम्रो सरकारी संरचना कुन मनोविज्ञानमा छ भन्ने स्पष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?