
१० साउन, बुटवल । रुपन्देही तिलोत्तमाको ब्लु स्काई सोलुसन नामक कल सेन्टरले गरेको कारोबार र गतिविधिबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको छ ।
सूचना प्रविधिसम्बन्धी विज्ञ सहितको प्रहरी अधिकृतको २ जनाको टोलीले मंगलबारबाट अनुसन्धान थालेको हो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ब्लु स्काई सोलुसन नामक कल सेन्टरमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको थियो । उक्त कल सेन्टरले भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
सोमबार साँझ बुटवल आइपुगेको सीआईबीको टोलीले मंगलबारदेखि बरामद गरिएका कम्प्यूटर, ल्यापटप र कल सेन्टरमा ऋण प्रवाहका लागि प्रयोग गरिएको एप्सहरुको बारेमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।
साइबर सम्बन्धी जनशक्ति नहुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सीआईबीबाट अनुसन्धानका लागि टोली मगाएको थियो । इन्टरनेट मार्फत हुने अपराध भएकाले साइबर सम्बन्धी विज्ञ टोलीले अनुसन्धान थालेको हो ।
ठगी कसुरमा मुख्य अभियुक्तका रुपमा भारत विहारका २५ बर्षका जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङ घोराही उपमहानगरपालिका–१३ का ४० बर्षका हिमाल बाठामगरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डीएसपी केसीले बताए ।
बैंकिङ एप्स मार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधारणलाई पीडित बनाएको आरोप लगाएको छ । तिलोत्तमा–२ जानकीनगर रुरुपथ स्थित प्रेमराज गुरुङको घरमा कल सेन्टरले मासिक तीन लाख २५ हजार रुपैयाँ तिरेर घर भाडामा लिएको थियो ।
रुपन्देहीको तिलोत्तमा र काठमाडौंको कल सेन्टरबीच सम्बन्ध रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बुटवल आएको अनुसन्धान ब्यूरोले काठमाडौंसहित देशका मुख्य शहरमा पनि कल सेन्टर सञ्चालन भएको हुनसक्ने आशंका सहित अनुसन्धान अघि बढाएको बताएको छ ।
प्रतिक्रिया 4