+
+

बालबालिका : माया नपाउँदा अपराधको बाटोमा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ साउन ११ गते ७:४०

१० असार, दाङ । २०७६ सालतिरको घटना हो । दाङको लमहीका १२ वर्षीय राजन (परिवर्तित नाम) घोराहीको सुधार केन्द्रमा आइपुगे । काकाले चुरोट खाँदै गर्दा भेट्टाएपछि उनलाई सुधार केन्द्रमा छोडिदिए । तर जब उनको भित्री कथा केलाइयो, एउटा कारुणिक कुरा बाहिर आयो ।

बुवा बितेर आमा अन्यत्रै हिंडेपछि उनी एक्लिए । उनको अभिभारा हजुरबुवा र हजुरआमामा भयो । उनले साथ त पाए तर माया पाएनन् । आमा-बुवाको मायाको अभाव सधैं खट्किरह्यो । त्यही माया पाउन उनी साथी-संगत खोज्दै हिंडे । संगतले उनलाई गलत बाटोमा डोहोर्‍यायो । क्रमशः उनले गलत संगतकै कारण चुरोट, खैनी खान सिके । र, अन्ततः उनी कलिलै उमेरमा कुलतको बाटोतिर धकेलिए ।

०००

दाङकै एक बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय बालक नियमित विद्यालय आउन छाडे । कक्षा कोठामा उनको उपस्थिति कम हुँदै गएपछि विद्यालयले उनको गतिविधिमाथि निगरानी बढायो । एकदिन विद्यालयले उनलाई पछ्याउँदै जाँदा आफ्नै उमेर समूहका साथीहरूबीच नशाले मातेको अवस्थामा उनी भेटिए । विद्यालयले उनलाई तत्काल समाएर सोधपुछ ग¥यो । जब उनले शिक्षकसामु आफ्नो कुरा सुनाए, शिक्षक समेत भावुक भए ।

पाँच वर्षसम्म पनि बुवा वैदेशिक रोजगारीबाट नफर्केपछि आमा घर छाडेर माइतमै बस्न थालिन् । आमासँगै बस्दा स्कुल छुट्ने भएपछि उनी अंकलसँग बसेर पढ्न थाले । त्यसपछि उनी आमाको मायाबाट पनि टाढिए । आमा र बुवाको माया नपाउँदा उनी एक्लिन पुगेछन् । त्यही एक्लोपन मेटाउन उनी साथीभाइको संगतमा पुगे । संगतकै लहलहैमा उनी धुम्रपानको अम्मली बन्न पुगे ।

०००

तीन वर्षअघि दाङ घोराहीका १३ वर्षीय बालक र ९ वर्षीया बालिकालाई मोबाइलमा देखिएको दृश्य अनौठो लाग्यो । फिल्ममा दुई महिला–पुरुष एकअर्कामाथि उक्लेको देखासिकी गर्दै उनीहरू एकअर्कामाथि चढ्ने गतिविधि गरे ।

अर्काेदिन बालिकाले आफ्नो यौनांगमा दुःखेको महसुस भयो र आमालाई सुनाइन् । आमाले सोधपुछ गरेपछि घटना बाहिर आयो । त्यसपछि बालिकाका अभिभावकले बालक विरुद्ध प्रहरीमा उजुरी दिएपछि बालक पक्राउ परे । अन्ततः जिल्ला अदालत दाङले बालिकामाथि बलात्कार भएको भन्दै बालकलाई तीन महिना बाल सुधार गृहमा राख्ने फैसला सुनायो ।

केही वर्षयता प्रहरीमा आउने यस्ता घटनाले प्रहरीलाई समेत हैरान बनाएको छ । माथिका तीन प्रतिनिधि बालकका कथा जस्तै पछिल्लो वर्षयता बालबालिका कुलत र अपराधको बाटोतर्फ उन्मुख भइरहेका छन् । प्रहरीको तथ्यांक केलाउँदा बर्सेनि लागूऔषध, चोरी र यौनजन्य अपराधहरूमा बालबालिकाको संलग्नता बढेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा ५९ जना बालबालिका विभिन्न अपराधमा पक्राउ परेका छन् । जसमा जबर्जस्ती करणीमा १४, ज्यान मार्ने उद्योगमा १४, चोरी तथा डाँकामा पाँच जना, सार्वजनिक शान्ति विरुद्ध मुद्दामा ६ जना रहेका छन् । तीमध्ये अधिकांश १४ देखि १८ वर्ष उमेर समूहका बालबालिका आपराधिक गतिविधिमा संलग्न हुने गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले बताए ।

समाजमा हुने विभिन्न प्रकृतिका अपराधमा बालबालिकासमेत मुछिंदै जानु चिन्ताको विषय भएको उनले बताए । उनले असल अभिभावकत्व नपाउँदा बालबालिका अपराधतर्फ उन्मुख भइरहेको बताए । ‘विभिन्न घटनामा आरोपित भनिएका धेरैजसो बालबालिका परिवारमा माया नपाएरै गलत बाटोमा गएको देखिन्छ’ उनले भने, ‘परिवारबाट हुनुपर्ने निगरानी र हेरचाह नपाउँदा बालबालिका अञ्जानमै अपराध गर्न पुगेका छन् ।’

मनोविद् करुणा कुँवर कलिलो उमेरमा अभिभावकको पर्याप्त माया, साथ र संरक्षणको अभावका कारण अञ्जानमै बालबालिका कुलतको बाटो रोज्ने र विभिन्न अपराधतर्फ उन्मुख हुने बताउँछिन् । हुर्कंदै गरेका बालबालिका अत्यन्त जिज्ञासु स्वभावका हुने हुँदा असल अभिभावकत्वको कमीले गर्दा आफ्नो बालजिज्ञासा मेट्ने क्रममा वा देखासिकी गर्दा थुप्रै बालबालिका अञ्जानमै गलत बाटोतर्फ जाने उनी बताउँछिन् ।

‘हुर्कंदै गरेको बाल उमेर अत्यन्त संवेदनशील समय हो । कलिलो मस्तिष्कले सही-गलत छुट्याउन सक्दैन’ उनी भन्छिन्, ‘त्यो उमेरमा अभिभावकबाट पाउनुपर्ने उचित समय, माया र साथ नपाउँदा बालबालिकामा नकारात्मक मनोविज्ञान तयार हुँदै जान्छ । अन्ततः यसले उनीहरूलाई विभिन्न आपराधिक गतिविधि वा कुलतको बाटोतर्फ उन्मुख गराउँछ ।’

सन्तानलाई समय दिन नसक्ने अभिभावक, बढ्दो पारिवारिक विखण्डन र प्रविधिको विकासक्रमले एक्लै रमाउने स्वभावमा हुर्किरहेका बालबालिका विभिन्न आपराधिक क्रियाकलापमा सहभागी हुनुको पछाडि कारण भएको बताउँछिन् मनोविद् कुँवर । ‘बालबालिका कस्तो वातावरणमा हुर्किरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनी भन्छिन्, ‘यदि कुनै बालक द्वन्द्व, अत्यन्तै कठिन परिस्थिति र पारिवारिक झै-झगडाबीच हुर्किरहेको छ भने उसमा नकारात्मक कुराको गहिरो प्रभाव पर्छ र उसभित्र आपराधिक सोचाइको विकास हँुदै जान्छ ।’ बाल्यकालमा परेको मनोवैज्ञानिक असरले कालान्तरमा उनीहरूलाई गलत बाटोतर्फ उन्मुख गर्ने कुँवर बताउँछिन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?