+
+

स्थानीय निर्वाचनमा कुन पदमा कति मत बदर ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते २१:२९

१० साउन, काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा तीन लाख मत पूर्ण रुपमा बदर भएको छ ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, कुल खसेको १ करोड २५ लाख ८४ हजार मतमध्ये २ दशमलब ४ प्रतिशत मत पूर्ण रुपमा बदर भएको हो ।

बदर भएको तीन लाख दुई हजार बाहेक बाँकी रहेको एक करोड २२ लाख मत पूर्ण वा आंशिक रुपमा सदर भएको देखिन्छ ।

स्थानीय तह निर्वाचनमा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला र दलित वडा सदस्य अनि दुई वडा सदस्य गरी सातवटा पदमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

आयोगले सबै पदमा दिएको मत बदर भएमा मात्रै पूर्ण रुपमा बदर मत भनी अभिलेख राखेको छ । मतदाताले ६ वटै पदमा मत बदर गरेपनि एउटा मत सदर छ भने त्यो बदर मानिदैन । केही ठाउँमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएकाले बदर मत केही झिनो रुपमा तलमाथि भने हुनसक्छ ।

अध्यक्ष र प्रमुखमा

आयोगको विवरण अनुसार, एक करोड २२ लाख सदर मतमध्ये स्थानीय तहका प्रमुख वा अध्यक्षले पाएको मत एक करोड ११ लाख ७८ हजार मात्रै छ ।

प्रमुख वा अध्यक्ष पदमा मात्रै करिव १० लाख २२ हजार मत बदर भएको छ । पूर्ण रुपमा बदर भएको मतसमेत जोड्दा अध्यक्ष वा मेयरमा १३ लाख २४ हजार मत बदर भएको छ । यो कुल सदर मतको १० प्रतिशतभन्दा बढी हिस्सा हो ।

उपाध्यक्ष वा उपमेयर

सबै स्थानीय तहको उपमेयर वा उपाध्यक्षका सबै उमेदवारहरुले पाएको कुल मत १ करोड ४ लाख ३५ हजारमात्रै छ । यसरी हेर्दा यो पदमा १७ लाख ६५ हजार मत बदर भएको छ, जुन कुल सदर मतको करिव १५ प्रतिशत हुन आउँछ ।

सत्तारुढ दलहरुले तालमेलका क्रममा अधिकांश ठाउँमा प्रमुख र उपप्रमुख पदमा भागवण्डा गरेकाले ठूलो संख्यामा मत बदर भएको देखिन्छ ।

वडाध्यक्ष

देशभरका स्थानीय तहका वडाध्यक्षमा एक करोड १४ लाख ९० हजार मत खसेको छ । यो सबैभन्दा बढी र यथार्थको नजिक रहेको मत हो । मतदाताले प्रमुख र उपप्रमुख पदमा मतदात गर्दा त्रुटी गरेपनि वडाध्यक्ष पदमा सबैभन्दा कम त्रुटी गरेको देखिन्छ । वडाध्यक्षमा करिव सात लाख १० हजार मतमात्रै बदर भएको छ ।

महिला वडा सदस्य

महिला वडा सदस्यमा एक करोड ८ लाख ९९ हजार मत खसेको छ । करिव १३ लाख मत बदर भएको छ । प्रायः सबैजसो स्थानीय तहमा महिला वडा सदस्यमा प्रतिस्पर्धा भएको थियो भने केहीमा निर्विरोध निर्वाचित भएका थिए ।

दलित महिला वडा सदस्य

देशभर दलित महिला वडा सदस्यमा एक करोड ४ लाख २० हजार मत खसेको छ । करिव १७ लाख ८० हजार मत बदर भएको हिसाब निस्किएपनि कयौं ठाउँमा दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै परेको थिएन । उम्मेदवारी नपरेको ठाउँमा मतदान नहुने र मत हालेपनि त्यसको गणना नहुने भएकाले देशभर दलित महिला वडा सदस्यले कम मत पाएको देखिन्छ ।

वडा सदस्य

हरेक वडामा दुईजना रहने भएकाले देशभरका वडा सदस्यहरुले पाएको मत दुई करोड १२ लाख छ । हरेक मतदाताले दुईवटा वडा सदस्यलाई मतदान गर्ने भएकाले वडा सदस्यमा एक करोड ६ लाख १८ हजार मत खसेको हिसाव निकाल्न सकिन्छ ।

यसरी हेर्दा १५ लाख ८२ हजार मत बदर भएको देखिन्छ । मतपत्रमा वडा तहका पदको कोठा पछाडि हुने भएकाले कतिपय मतदाताले ती पदमा मतदान नै नगरी मतपत्र बुझाएको आयोगका कर्मचारीहरु बताउँछन् । त्यसले गर्दा पनि वडाको मत तुलनात्मक रुपमा घटी देखिन्छ ।

निर्वाचन आयोगले यसपालि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थिएन । स्थानीय स्तरमा घरदैलो गरी सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको र कतिपय अवस्थामा त्यसको दुरुपयोग भएको भन्ने प्रश्न उठेपछि आयोगले यसपाली घरदैलो कार्यक्रम रोकेको थियो । कतिपयले त्यही कारणले पनि बदर मतको अनुपात बढेको बताउछन् ।

निर्वाचन आयोगको विवरण अनुसार, स्थानीय तह निर्वाचनमा प्रति मतदाता २८४ रुपैयाँ खर्च भएको थियो । यसरी हेर्दा बदर मतका कारण मात्रै राज्यकोषमा आठ करोड ५२ लाख रुपैयाँ नोक्सानी भएको देखिन्छ । आंशिक मतको अनुपात समेत हिसाब गर्ने हो भने नोक्सानीको मात्रा अझै बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?