८ मंसिर, काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार दिउँसो जेनजीका समूहहरू सिंहदरबार गेटमा पुगेका थिए ।
भित्र छिर्न नपाएपछि मिरज ढुंगाना समूहसहित केहीले सिंहदरबार गेटबाहिर मागपत्र टाँसेर हिँडे । द काउन्सिल अफ जेनजीसहित जेनजी मुभमेन्ट नेपालका केही सदस्य गेटभित्र छिरेर पनि प्रधानमन्त्री भेट्न पाएनन् ।
थरीथरी जेनजी समूहहरू सिंहदरबार पुग्नुको कारण थियो, आइतबार अनलाइनखबरमा प्रकाशित प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पदीय दुरुपयोग गरेर श्रीमती र नातेदारलाई जागिर खुवाएको समाचार ।
नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका थिए । कमला श्रेष्ठ सहितका केहीलाई पनि नियुक्त गरिएको कुरा बाहिर आएको थियो । असोज २ गते नै उनीहरूको नियुक्ति भएको थियो ।
यो समाचार बाहिरिएसँगै जेनजीका विभिन्न समूह तरंगित बने । सुशासन माग्दै आफूहरूले गरेको आन्दोलनको जगमा बनेको सरकारबाट यस्तो कल्पना नगरिएको उनीहरूको भनाइ छ । त्यसैले तत्काल श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग उनीहरूको छ ।
प्रमुख स्वकीय सचिव आदर्शले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले विज्ञप्ति निकाल्दै आपत्ति जनायो । फ्रन्टले प्रधानमन्त्री समक्ष श्रेष्ठलाई पदमुक्त गरी उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेको छ ।
‘सुशासन र जवाफदेहिताको नाराको बलमा बनेको सरकारमा पुन: नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ?,’ जेनजी फ्रन्टले भनेको छ । उसले यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी मागेको छ ।
यो विषयमा जेनजी मुभमेन्ट अलायन्सले भने कुनै प्रतिक्रिया दिएको छैनन् । अमित खनाल (ऊर्जा), रिजन राना मगर, मोनिका निरौलालगायतले नेतृत्व गरिरहेको यो समूहले यो विषयमा अहिलेसम्म धारणा बनाएको छैन ।
यसमा एक सदस्यकाअनुसार यो समूहभित्र यसलाई लिएर कुनै छलफल भएको छैन । ‘अलि धेरै विज्ञप्तिबाजी यो भनेर हामीले निकालिरहेका छैनौँ । यसमा छलफल भएको मलाई थाहा छैन,’ ती अगुवाले भने, ‘यद्यपि, यो विषय (आदर्श श्रेष्ठ) को विषयमा मेरो खासै टिप्पणी छैन ।
बरु महान्यायधिवक्ता सबिता भण्डारीको हकमा भने उहाँलाई तत्काल बर्खास्त गर्नुपर्छ भन्ने हो, यो सामूहिक भन्दा पनि व्यक्तिगत टिप्पणीको रुपमा बुझ्नुहोला ।’
उनको कुराले यो समूहभित्र पछिल्लो समय सार्वजनिक भइरहेका यस्ता विषयमा कुनै टिप्पणी नगरिरहेको बुझ्न सकिन्छ ।
त्यस्तै, सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेनजी भने प्रधानमन्त्री सचिवालयसँग जोडिएको समाचारलाई लिएर असन्तुष्ट देखिन्छ । तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने यो समूहको भनाइ छ ।
तर, सुदन समूहले विज्ञप्ति निकाल्नेतर्फ भन्दा पनि प्रधानमन्त्रीलाई नै प्रत्यक्ष भेटेर ध्यानाकर्षण गराउने योजना बनायो ।
सोहीअनुसार यो समूह सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय पुग्यो । तर, योसँगै अन्य समूह पनि सँगसँगै पुगे । अरूभन्दा केही छिटो पुगेकाले यो समूहका सदस्य सिंहदरबार भित्र त छिरे, प्रधानमन्त्री भेटेर ध्यानाकर्षण गराउने योजना सफल भएन ।
‘हामी सिंहदरबार गयौँ । अब भोलि भेट्ने कुरा भएको छ,’ कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङले भने, ‘तर, त्यहाँ अन्य समूह पनि भएकाले के–के भयो भयो । बाहिर पनि अरू साथीहरूले अनेक गर्नुभयो । यिनै कारण आज हाम्रो पनि प्रधानमन्त्रीसँग भेट हुनसकेन ।’
सोमबार प्रधानमन्त्री भेट्न नपाएको यो समूहको योजना आदर्श श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग राख्ने थियो । ‘हाम्रो आन्दोलनको दुरुपयोग गरेर आन्दोलनकै बेइज्जत गर्नेलाई त छोड्नुहुन्न । सुशासन मागेका हामीले यस्तो कल्पना गरेका थिएनौँ,’ द काउन्सिल अफ जेनजीका अगुवा अनिल बानियाँले भने ।
यता मिरज ढुंगानाहरू त आन्दोलनको तयारी नै गर्न थालेका छन् । सोमबार सिंहदरबारभित्र प्रवेशसमेत नपाएको यो समूह अब देशव्यापी आन्दोलनमा जाने तयारी गरिरहेको बताएको छ । प्रधानमन्त्री कार्कीको विकल्प नै खोज्ने तयारीस्वरुप आन्दोलन गर्न लागिएको यो समूहका अगुवाहरू बताउँछन् ।
महान्यायधिवक्ता प्रकरणमा जेनजी किन मौन ?
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठको सामाचारले तात्तिएका जेनजी महान्याधिवक्ता सविता भण्डारीको प्रकरणमा भने बोलेका देखिँदैनन् ।
डिम्बको अनधिकृत कारोबारको अभियोग लागेको होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता सविता भण्डारीकै सेयर लगानी रहेको खुलेको थियो ।
होप फर्टिलिटीको सेयर लगतमा उल्लेख भए अनुसार सविता भण्डारी स्वयंको नाममा ४६ हजार कित्ता संस्थापक सेयर कायम रहेको देखिएको छ । कुल दुई करोड चुक्ता पूँजी रहेको यो कम्पनीमा उनको नाममा २३ प्रतिशत सेयर रहेको देखिन्छ । सो कम्पनीमा उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत छिन् । होप फर्टिलिटीकी संस्थापक लगानीकर्तामा डिम्ब तस्करीको अभियोग लागेको डा. स्वस्ती शर्माको पनि लगानी छ ।
यसरी एउटा विषयलाई लिएर तात्तिएका जेनजीको अन्य विषयमा भने ध्यान गएको देखिएन । के जेनजीहरूले ‘सेलेक्टिभ मुद्दामा मात्र बोलिरहेका हुन् ? एउटा प्रकरणमा चर्को सुनिएका जेनजी त्योभन्दा गम्भीर अर्को प्रकरणमा किन मौन ?
जेनजी फ्रन्टका अगुवा युजन राजभण्डारीले अन्य विषयमा आफूहरूले अध्ययन गरिरहेकाले ती विषयमा पनि बोल्ने बताए ।
‘यो विषय एकाएक आएकोले यसरी बोलिहालेको हो । अन्य विषयमा नबोलेको भन्न मिल्दैन । त्यसमा पनि हामी अध्ययन गरिरहेका छौँ । जेहोस्, हरेक किसिमका अनियमितता भएको विषयमा सरकार जवाफदेही हुनुपर्छ भन्ने हाम्रो कुरा हो । अरु विषयमा कसरी अघि बढ्ने भनेर पनि हामी सल्लाह गर्छौँ,’ उनले भने ।
त्यस्तै, द काउन्सिल अफ जेनजीका प्रदेश संयोजक खेमराज साउदले भने आधिकारिक रुपमा पुष्टि भएका विषयमा आफूहरू बोलिरहेको बताए ।
उनकाअनुसार आदर्श श्रेष्ठको विषय आधिकारिक रुपमै पुष्टि भएकोले तत्काल आफूहरूको रियाक्सन आएको उनको भनाई छ । ‘अन्य विषयमा समाचार आइरहेपनि आधिकारिक रुपमा पुष्टि भएका छैनन् । त्यसैले हामीले यसमा यसरी बोलेका हौँ । अरु विषयमा पनि पुष्टि भएका दिन बोल्छौँ । यद्यपि, जे भएपनि सुशासनको हकमा सरकार जिम्मेबार बन्नुपर्छ भन्ने हाम्रो अडान हो,’ साउदले भने ।
प्रतिक्रिया 4