+
+

कैलालीका थारु बस्तीमा तीजको रौनक

डोला खेलेर रमाउँदै महिला

जनक विष्ट जनक विष्ट
२०७९ साउन ११ गते १४:३२

११ साउन, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ गाउँ धनगढीकी कौशिला राना तीज पर्व नजिकिएपछि खुसी छन् । तीज पर्वमा गाउँका दिदीबहिनी र साथीहरुसँग भेट हुने र परम्परागत गीत गाउँदै डोला (पिङ) खेल्न पाइने भएकाले उनी हर्षित भएकी हुन् ।

‘हामी महिला दिदीबहिनीहरु भेला भएर एकआपसमा रमाइलो गर्दै डोला खेल्न थालेका छौं,’ कौशिलाले अनलाइनखबरसँग भनिन्, ‘पहिले–पहिले गाउँमा डोला खेल्न पनि टाढा जानुपथ्र्यो तर अहिले त आफ्नै गाउँमा हालेर खेल्ने गरेका छौं ।’

थारु बस्तीमा हरेक वर्ष साउनमा मनाइने तीज पर्वमा डोला हालेर मौलिक पहिरनमा सजिएर महिलाहरु पिङ खेल्दै रमाउने चलन छ । यो हिन्दू महिलाहरुले मनाउने तीज भन्दा बेग्लै पर्व हो । यो पर्वमा डोला खेल्ने क्रममा महिलाहरुले गीतको माध्यमबाट दाजुभाइ र उनीहरुका छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन् ।

स्थानीय रामदुलारी दासीका अनुसार यो पर्वम किशोरी तथा महिलाहरुले निराहार ब्रत बस्ने गर्छन् । ‘यो पर्व थारु दिदीबहिनीहरुका लागि सबैभन्दा महत्वपूर्ण हो । दुःख बिर्सिएर भएपनि छोरीबेटी माइतीघर जाने, मिठोमसिनो खाने, डोला खेलेर रमाउने गर्छन्,’ रामदुलारीले भनिन्, ‘दाजुभाई र भतिजाको दीघार्युको कामना गर्दै निरहार ब्रत बस्ने गरेका छन् ।’

यो पर्वमा माइती पक्षले दिदीबहिनीलाई दान, दक्षिणा दिने प्रचलन पनि छ ।

गाउँ धनगढीका भलमन्सा भज्जी रानाले साउनको पूर्णिमादेखि डोलाको सुरुवात गर्दै तृतीयाको दिन तीज पर्व विधिवत रुपमा समापन हुने गरेको सुनाए । साउनको पूर्णिमाका दिन सबै सामग्री जुटाएर गाउँघरका दाजुभाइले मिलेर दिदी बहिनीका लागि डोला हालिदिने चलन छ ।

‘डोला खेल्दै दिदीबहिनीले दीर्घायुको कामना गर्छन्’, भलमन्सा रानाले अनलाइनखबरसँग भने, ‘तृतीयाको दिनमा थारुका मौलिक परिकार पकाउँछन् । साँझ डोलामा लगाइएको डोरी काटेर नदीमा लगेर पूजापाठ गरेर बिर्सजन गर्छन् ।’

उनका अनुसार त्यो दिन महिलाहरु निराहार बसेर प्रसादका रुपमा परम्परागत खानेकुरा सिमही, पपरा, पुरी, गुलगुला आदि खान्छन् । विवाहित र अविवाहित महिलाले डोलाको डोरी काटेर नदीको बीच भागमा पुगेर बत्तीसँगै विर्सजन गर्ने चलन छ ।

रानाथारु समुदायबाट प्रतिनिधित्व गर्ने धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना समेत तीज पर्वमा थारु बस्तीमा पुगेर डोला खेल्न महिलाहरुलाई साथ दिन थालेकी छन् । मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य र थारु महिलालाई हौसला प्रदान गर्न गाउँ–गाउँमा पुगेर उनीहरुलाई शुभकामना दिइरहेको राना बताउँछिन् ।

‘धनगढी उपमहानगरपालिकाभित्र धेरै समुदायको बसोबास रहेको छ । उहाँहरुका आ–आफ्नै कला, संस्कृति छन् । सबैको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नु हाम्रो दायित्व हो । यसलाई हामीले अभियानका रुपमा अघि बढाएका छौं’, रानाले अनलाइनखबरसँग भनिन्, ‘अहिले रानाथारु समुदायमा तीज पर्व चलिरहेको छ । यही समुदायबाट म प्रतिनिधित्व गर्ने भएकाले यो संस्कृतीको संरक्षण गर्न भूमिका खेल्छु ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?