
१३ साउन, पोखरा । देशभरका ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख ‘मेट्रोमिट नेपाल’मा सहभागी हुन पोखरामा भेला भएका छन् ।
शनिबारसम्म पोखराको सराङकोटमा हुने ‘मेट्रोमिट नेपाल’मा स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्या, मेयर/उपमेयरको सिकाइआदान प्रदान हुनेछ । अन्तिम दिन बैठकको निष्कर्षका रुपमा ‘पोखरा घोषणापत्र’ समेत जारी गरिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्याबारे पनि कार्यक्रममा छलफल हुने उनले बताए ।
‘संघ, प्रदेश र स्थानीय सरकार सञ्चालनका क्रममा अलि कन्फ्युजन पनि छन्,’ मेयर आचार्यले भने, ‘कनफ्युजन क्लियर गर्न र एकआपसमा गरेका कामहरु सहजीकरण पनि समन्वयात्मक कार्यक्रम पोखराबाट सुरु किन नगर्ने भनेर गर्न लागेका हौं ।’
प्रमुख प्रकासकीय अधिकृत समेत सहभागी ‘मेट्रोमिट’को पहिलो दिन मेयर/उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीको सम्बन्धमा अनुभवन तथा सिकाइ आदानप्रदान, प्रमुख प्रशासकीय अधिकृतहरूले विद्यमान ऐन, कानुन तथा तीनका कार्यान्वयनका चुनौतीहरूबारे छलफल हुनेछ ।
‘संघीयता, महानगर र अबको बाटो’ विषयक सेसनमा डा. जगदीशचन्द्र पोखरेलले प्रस्तुति दिनेछन् । महानगरका मुख्य योजना र चुनौतीबारे महानगरका प्रमुखहरुले अनुभव सुनाउनेछन् भने साझा सवालहरूबारे संश्लेषण समेत हुनेछ ।
दोस्रो दिन महानगरमा पूर्वाधार विकास तथा सुशासन विषयमा पूर्वाधारविज्ञ सूर्यराज आचार्यले प्रस्तुति दिनेछन् । महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौतीहरूका बारेमा सरोज बस्नेत र डा. अजयलाल चन्द्रले संयोजन गर्नेछन् । छलफलबाट एउटा टुंगोमा पुगिने र त्यसपछि पोखरा घोषणापत्र जारी गरिने मेयर आचार्यले जानकारी दिए ।
उनका अनुसार हरेक वर्ष ‘मेट्रोमिट नेपाल’ गर्ने सहमतिअनुसार २०८० सालको सम्मेलन ललितपुर महानगरपालिकाले आयोजना गर्नेछ । जसका लागि ‘महानगर मेयर सम्मेलन’को लोगो अङ्कित झण्डा ललितपुरलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4