+
+

प्रचण्डको दाउ : प्रधानमन्त्रीमा लास्ट इनिङ

अहिले मुलुक स्थानीय चुनाव सकेर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन (प्रस्तावित ४ मंसिर २०७९) को संघारमा छ । र, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हरहालतमा चुनावपछि प्रधानमन्त्री हुने चाहन्छन् । उनकै शब्दमा ‘लास्ट इनिङ’ खेल्न चाहन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १८:३५

१४ साउन, काठमाडौं । १० वर्ष लामो सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो दल बन्यो ।

भदौ २०६५ मा प्रधानमन्त्री बनेका प्रचण्ड, प्रधानसेनापति हटाउन खोज्दा आफैं हट्नुप¥यो । २०७३ साउनमा दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले पूर्व सहमति अनुसार १० महिनामा शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे ।

आलोपालो प्रधानमन्त्री बन्ने सहमतिका साथै २०७४ को संसदीय चुनावमा एमालेसँग वाम गठबन्धनका साथै पार्टी एकता गर्दा पनि प्रचण्डले सत्ताको बागडोर सम्हाल्न पाएनन् ।

अहिले मुलुक स्थानीय चुनाव सकेर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन (प्रस्तावित ४ मंसिर २०७९) को संघारमा छ । र, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हरहालतमा चुनावपछि प्रधानमन्त्री हुने चाहन्छन् । उनकै शब्दमा ‘लास्ट इनिङ’ खेल्न चाहन्छन् ।

शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’

अंकगणितले दिएको साथ

२३ फागुन २०७७ मा तत्कालीन नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज भएपछि पुनस्र्थापित माओवादी केन्द्र सहजै पूर्ववत अवस्थामा फर्किन सकेन । माओवादी नेताहरुकै शब्दमा भन्दा पार्टीको मूल नेतृत्व प्रचण्ड स्वयं कठिन अवस्थामा थिए । उनले जुन बाटो रोजेका थिए, त्यसमा थोरै तलमाथि भएको भए प्रचण्डकै राजनीतिक भविष्य नै संकटमा पर्न बेर लाग्थेन ।

तर प्रचण्डले एउटा खड्को टारे । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनसँगै राष्ट्रिय राजनीतिको केन्द्रमा आएका उनी स्थानीय चुनावपछि त आफू र माओवादीलाई निर्णायक शक्तिका रुपमा उभ्याउन सफल समेत भएका छन् ।

स्थानीय चुनावमा पार्टीले पाएको मत १७ बाट १३ प्रतिशतमा झर्दा पनि मतको अंकगणित आसन्न प्रतिनिधिसभा चुनावमा माओवादीले जोसँग गठबन्धन÷तालमेल गर्छ, उसले जित्ने अवस्था देखिएको छ ।

शनिबारको कार्यक्रममा प्रचण्डले स्थानीय चुनावमै दोस्रो ठूलो पार्टी हुने सम्भावना रहेको र ५० सिट आफैंभित्रको अतर्घातले गुमेको दावी गरे । ‘५० सिट नगुमेको भए हामी १७५ मा पुग्थ्यौं र एमाले १६० र १७० को तल आइपुग्थ्यो, हामी अहिले नै दोस्रो हुने प्रबल सम्भावना थियो’ उनले भने ।

प्रचण्डले दोस्रो हुन नसके पनि संघीय चुनावका लागि आफ्नो बार्गेनिङ शक्ति भने स्थानीय चुनावले बढाएको आशय व्यक्त गरे । ‘…त्यो अनुभव लिएर जाँदैछौं । र हामी (दोस्रो) बन्छौं, हामी हुनैपर्छ । हामी त्यसरी जाँदा देशको बागडोर हामै्र हातमा आउँछ’, उनले भने ।

कांग्रेस र एमाले दुबै दल, माओवादीसँग गठबन्धन गरेर चुनावमा जान लालयित भएपछि प्रचण्डलाई आफ्नो प्रधानमन्त्री हुने सुनिश्चितता खोज्ने अवसर मिलेको छ ।

कांग्रेसमाथि निरन्तर दबाव

अहिलेसम्म प्रचण्डको प्राथमिकता, कांग्रेससँगै चुनावी तालमेल गर्ने देखिएको छ । तर आम चुनावपछि कांग्रेसले अरु दल खास गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मिलेर सरकार बन्ने स्थिति आउने हो कि भन्ने त्रास पनि माओवादी नेताहरुमा छ । त्यसैले प्रचण्ड आफ्नो समर्थन विना सरकार नै नबन्ने स्थिति सिर्जना गर्न प्रयत्नशील रहेको निकटवर्तीहरु बताउँछन् ।

शनिबार पनि उनले कांग्रेस नेतृत्वमाथि दबाव बढाउने अभिव्यक्ति दिएका छन् । कांग्रेसलाई पहिलो दल बन्न सघाउँदा माओवादीलाई पनि दोस्रो बनाउनुपर्ने उनले बताएका छन् । ‘मैले नेपाली कांग्रेसको नेताहरुलाई भनेको छु । अहिले पहिलो पार्टी त तपाईहरु नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ, नत्र हुँदैन,’ माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?