+
+
फिचर प्रोफाइल :

‘पञ्चकन्या’लाई चम्काइरहेका तेस्रो पुस्ताका उज्ज्वल

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ साउन १५ गते २१:१५

१५ साउन, काठमाडौं । ५० वर्ष पहिले स्थापित ‘पञ्चकन्या ग्रुप’का संस्थापक प्रेमबहादुर श्रेष्ठ छोरा–नाती/नातिनाहरुलाई बारम्बार यही कुरा भनिरहन्छन्, ‘इज्जत कमाउन धेरै गाह्रो छ, तर गुमाउन केही क्षण पनि लाग्दैन, ध्यान दिएर गर ।’

हजुरबुबाले देखाएको यही बाटो समात्दै नाती उज्ज्वलकुमार श्रेष्ठ, पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।

५ दशकअघि इलामको फिक्कलको किराना पसलबाट उठेर समिल अनि चामलको मिल हुँदै नेपालकै प्रतिष्ठित औद्योगिक घराना बनिसकेको ‘पञ्चकन्या ग्रुप’को कार्यकारी नेतृत्व तेस्रो पुस्ताका उज्ज्वलको काँधमा छ । १५ वर्षअघि पञ्चकन्या ग्रुपमा ‘मार्केटिङ म्यानेजर’बाट समूहभित्र प्रवेश गरेका उज्ज्वल हजुरबुवा, बुवा (ध्रुवकुमार श्रेष्ठ) र काका (प्रदीपकुमार) को मार्गदर्शनमै कम्पनी अघि बढाइरहेका छन् ।

पञ्चकन्यामा उत्पादन, बिक्री र रणनीति निर्माणको नेतृत्व उज्ज्वलले नै हेर्छन् । महत्वपूर्ण रणनीतिगत निर्णयहरु सञ्चालक समितिमा छलफल हुने गरेपनि स्टिल र प्लास्टिकको उत्पादन र बिक्रीका अधिकांश कामको संयोजनको जिम्मा उनीमाथि नै छ । स्वर्णजयन्ती मनाइरहेको यो ग्रुपलाई चम्काउने तेस्रो पुस्तामा उज्ज्वलको नाम अग्रस्थानमा आउँछ ।

युवा अवस्थामै लामो विरासत बोकेको ठूलो औद्योगिक-व्यापरिक समूहको कार्यकारी पद सम्हाल्ने गरी योग्य बन्न उज्ज्वललाई सानो मिहिनेतले पुगेन । भारतको दार्जिलिङपछि अमेरिकाबाट पढाइ सकेर हजुरबुवाले सुरु गरेको र बुवा–काकाहरुले फैल्याएको ‘बिजनेस सम्हाल्न’ नेपाल फर्किनु नै उज्ज्वलका चुनौतीपूर्ण थियो । अहिले पञ्चकन्या ग्रुपको उद्योग–व्यवसायहरुलाई कसरी माथि लैजाने र स्थायित्व दिने भन्ने चुनौती उज्ज्वलले आफ्नो काँधमा बोकेका छन् । भाइ उदीप र आशिकसहित ग्रुपभित्रको टिमले गरेको विश्वासका कारण उज्ज्वल ‘पञ्चकन्या’लाई हाँक्न सकिरहेका उनी बताउँछन् ।

उनले कम्पनीमा प्रवेश गर्दा अवस्था भिन्नै थियो । पुरानो कम्पनीको काम गर्ने पुराना तरिका उनका लागि नयाँ विषय थिए । उनले विश्वविद्यालयमा जे पढेका/सिकेका थिए, त्यस्तो ‘वर्किङ कल्चर’ कम्पनीभित्र थिएन । ‘त्यो नै सबैभन्दा ठूलो चुनौती थियो, मान्छे चिन्न, यहाँको कार्य संस्कृति बुझ्न, नेपाली भाषामा सजिलोसँग कुराकानी गर्ने बन्न नै केही समय लाग्यो,’ उनी भन्छन्, ‘अलिक सिक्दै गएपछि विस्तारै वातावरणसँग घुलमिल भएँ, कम्पनीको वितरण सञ्जाललाई बुझ्दै गएँ ।’

उनले हजुरबुवा, बुवा र काकाले तयार गरेको उत्पादन वितरणको ‘नेटवर्क’ र ग्राहकको विश्वास जितिरहने कुरालाई पहिलो प्राथमिकतामा राखे । उनले कम्पनीदेखि पुरा देशभित्रको कार्यसंस्कृति तथा प्रणालीलाई बुझ्ने र आफूले सक्ने पक्षमा सुधार्ने कुरालाई पनि ठूलो महत्व दिए । उनले अर्को महत्वपूर्ण पक्ष मानेका छन्, कर्मचारी (जनशक्ति)को सशक्तीकरण । ‘अहिले व्यापारिक पुस्ताले बुझ्नै पर्ने कुरा हो कर्मचारी जति बलियो हुन्छ, त्यति नै कम्पनीको जग मजबुत हुन्छ,’ उज्ज्वल भन्छन्, ‘एक जनाले केही गर्न सक्दैन, टिमलाई नै विश्वासमा लिएर दक्ष र अनुभवी र प्रभावकारी बनाएर अघि बढ्ने हो, मैले रोजेको बाटो यही थियो, छ र हुनेछ ।’

उज्ज्वल ‘एस म्यान कल्चर’मा विश्वास गर्दैनन् । ‘माथि जानुपर्छ, माथि भन्नुपर्छ,’ भन्ने कार्यशैलीलाई हटाउन उनको निरन्तर जोड छ । कर्मचारीहरुलाई नै जिम्मेवार र उत्तरदायी बनाउनेमा उज्ज्वलको चासो छ ।

त्यसका लागि सही मान्छे छान्न र उनीहरुलाई तालिममार्फत दक्ष बनाउन कम्पनीले पनि पैसा र समयको लगानी गरिरहेको छ ।  ‘जतिसुकै विरासत भएको कम्पनी भए पनि टिम बलियो भएन भने एक्लै अघि बढेर कहाँ पुगिन्छ र ?’ उज्ज्वल भन्छन् ।

बाल्यकालकै पदचाप

उद्योग–व्यापार व्यवस्थापनमा अब्बल बन्ने अठोट उज्ज्वलको बाल्यकालदेखिकै हो । उज्ज्वलको बाल्यकाल काठमाडौंमा भन्दा बढी भैरहवामा बित्यो, जहाँ पञ्चकन्याका उद्योगहरु थिए ।

उनले सानैबाट उद्योगहरुको आँगनमा खेल्ने र डुल्ने अवसर पाए । उज्ज्वल आफ्ना छुट्टीका अधिकांश दिन उद्योगभित्रै खेलेर बिताउँथे । उनलाई मेसिनहरु चलिरहेको, उद्योगमा अनेक काम भइरहेको, मान्छेहरु आउजाउ गरिरहेको माहोलले निकै तान्थ्यो ।

उनी ५–६ सय कर्मचारी रहेका फ्याक्ट्री परिसरभित्रै खेल्थे, रमाउँथे, साइकल/मोटरसाइकल चलाउँथे । यतिसम्म कि उनले गाडी चलाउन समेत उद्योग परिसरमै सिकेका हुन् । उनलाई त्यतिबेलै भविष्यमा इन्जिनियर बनेर उद्योग सम्हाल्ने सोच आउँथ्यो ।इन्जिनियरिङ त पढेनन्, तर जबसम्म देश बाहिर रहे, उनलाई देश नै फर्किने सोच भने कहिल्यै दिमागबाट कहिल्यै हटेन । उनी विदेशमा व्यस्थापनका नयाँ तरिका सिकेर नेपाल फर्किन आतुर थिए ।

समूहको विसरातका कारण यसतर्फ उनको झुकाव पनि थियो । नेपाल फर्किने बेलामा उनलाई भविष्यप्रति डर थियो, समस्या आइपर्ला कि भन्ने आशंकाहरु पनि थिए । तर, त्यसलाई उनको आत्मविश्वास र स्वदेश फर्किने हुटहुटीले नै जित्यो, त्यसैले आत्मबल दह्रो बनाएर उज्ज्वलले नेपालको टिकट काटेका थिए ।

नेपाल फर्किएपछि उनलाई कहाँबाट ‘करियर’ सुरु गर्ने भन्ने पिरलो पनि थियो । तर, जहाँबाट गर्न सकिन्छ भन्ने विश्वास थियो, त्यहीबाट खुसी–खुसी काम थालेका थिए ।

उज्ज्वल मान्छन्, कि ‘घराना’को व्यापारमा छिर्न नयाँ पुस्ताले केही न केही नयाँ कुरा प्रमाणित गर्नुपर्छ । सक्षम नभई परिवारले पनि ठूलो बिजनेस सम्हाल्न नदिने उनी बताउँछन् । पञ्चकन्यामा अहिले करिब साढे २ सय आधिकारिक वितरकहरु छन् भने ४ हजारभन्दा बढी सबडिलर छन् ।

तर, जतिबेला उज्ज्वल कम्पनीमा ‘मार्केटिङ म्यानेजर’का रुपमा प्रवेश गरे, बिक्री वितरणको सञ्जाललाई सम्हाल्ने र व्यवस्थापन गर्ने कुरा सबैभन्दा गाह्रो थियो । वितरकले जे भन्थे, कम्पनीले त्यही गर्नुपर्थ्यो । नत्र उत्पादन बिक्री गर्न सकिन्नथ्यो । ‘आधिकारिक विक्रेतासँग धेरै वार्ता हुन्थ्यो, बहस हुन्थ्यो,’ उनी भन्छन्, ‘बजार र मान्छेको व्यवहार बुझ्दै बुझ्दै गएपछि हामीले पोलिसी नै बदल्न सक्यौं ।’

त्यसबाट सुधार हुँदै गएको वितरण सञ्जालको व्यवस्थापनलाई उज्ज्वल देशकै नमूना र उदाहरणयोग्य र उत्कृष्ट मान्छन् । अहिले पञ्चकन्याले वितरण सञ्जालको व्यवस्थापानमा लिएका नीति र विधिहरु अरु धेरै कम्पनीले पनि अपनाइरहेका छन् । ‘वितरण सञ्जालको मागलाई हामीले सुन्ने र सम्बोधन गर्ने र कम्पनीको नीतिलाई प्रणालीबद्ध रुपमा उहाँहरुसम्म पुर्याउने गर्दा हिजोको ठूलो चुनौती अहिले सम्बोधन हुन सकेको छ,’ उनले भने ।

एकजुट घरानाको लाभ

पञ्चकन्याका निर्माण क्षेत्रमा स्टिल्स, प्लास्टिकतर्फ एचटीपी, पीभीसी, पीपीआर र सीपीभीसी प्लम्बिङका उत्पादनहरु बजारमा छन् । स्टेनलेस स्टिल वाटर ट्यांक, यूपीभीसीका झ्याल ढोका, रेडिमिक्स कंक्रिट, हलुका प्रविधिको भवन निर्माण लगायतका बिजनेसमा पञ्चकन्या सामेल छ । बिटुमिन, हेभी इक्विपमेन्ट, बाइकहरुको आपूर्ति र व्यापारमा पनि पञ्चकन्या संलग्न छ ।

श्रेष्ठ परिवार अहिले पनि संयुक्त रुपमै ‘बिजनेस ह्यान्डल’ गर्छ । विश्वभर नै संयुक्त परिवारले चलाउने बिजनेस तेस्रो–चौंथो पुस्तासम्म ‘सफल कथा’का रुपमा कायम रहनु अपवाद नै मानिन्छ । पञ्चकन्या नेपालमै पनि यस्तो सीमित घरानामध्येको एक हो ।

उज्ज्वलको भनाइमा पञ्चकन्या ग्रुपलाई संयुक्त परिवरको बिजनेसका रुपमा जति पनि जटिलता छन्, त्यो भन्दा फाइदा छ । ‘हाम्रो परिवारमा व्यवस्थापनको मामिलामा सबैको आ–आफ्नो खुबी छ,’ उनी भन्छन्, ‘हाम्रो परिवार एक मुठ्ठीजस्तै हो, हामीले कम्पनीभित्र कर्मचारीबाट काम लिने र त्यसको व्यवस्थापन पक्षमा मात्रै परिवरका सदस्य सहभागी हुने प्रणाली बनाएका छौँ, त्यसले पनि सहज अवस्था बनेको छ ।’ कर्मचारीलाई नेतृत्व तहसम्म नै लैजाने र कम्पनीको आफ्नै प्रणाली बनाउने कुरामा पञ्चकन्याको जोड छ ।

हजुरबुवा, बुवा र काकाको फरक–फरक अनुभव र सुझावलाई उज्ज्वल आफूलाई प्राप्त सबैभन्दा ठूलो सम्पत्ति मान्छन् । ‘धेरै खालका अनभुवहरु हामीले सजिलै घरभित्रैबाट सुन्न र बुझ्न पाएका छौं, धेरै व्यापारिक परिवारमा यस्तो अवसर हुँदैन,’ उनी भन्छन्, ‘हजुरबुवाले भनेजस्तै ध्यानपूर्वक काम गर्ने र बोलेको बचन पुरा गर्ने मेरो अठोट हुन्छ ।’

उज्ज्वललाई बुवाले स्वतन्त्रतापूर्वक निर्णय लिनसक्ने गरी दिएको विश्वास ठूलो र महत्वपूर्ण लाग्छ । ग्रुपका प्रवन्ध निर्देशक रहेका काका प्रदीपकुमार श्रेष्ठले ‘अघि बढ्नू, नडराउनू र परिवर्तनलाई स्वीकार्नू’ भनेर दिने आँट अमूल्य पनि लाग्छ । गल्ती गर्दै, सिक्दै अघि बढ्दा उज्ज्वललाई लागिरहेको छ, ‘पछाडि साथ दिने कोही छ !’

त्यसैले निर्माण क्षेत्रमा अधिकांश उत्पादनहरु बजार ल्याएको पञ्चकन्या युगअनुसार बदलिन चाहान्छ । अहिलेसम्मको जगमा डिजिटल प्रविधि, आर्टिफिसियल इन्टालिजेन्स, सेवा क्षेत्रसम्म फैलिने कम्पनीका योजनाहरुलाई पारदर्शी रुपमा प्रणालीबद्ध बाटोबाट अघि बढाउन सकिने उज्ज्वलको विश्वास छ ।

उज्ज्वल अहिले पनि आफ्नो ९० वर्ष काटिससकेका हजुरबुवा उद्योग–व्यवसाय, आन्तरिक तथा विश्व राजनीति तथा आर्थिक कुटनीति, प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनबारे ‘अपडेट’ बस्ने गरेकाले आफूहरुलाई एक कदमअघि बसेर सोच्न सधैँ दबाब हुने गरेको बताउँछन् ।

विगतमा हजुरबुवा र बुवाहरुले गरको कामको अनुपातमा आफूहरुले त्यो तुलनामा केही गर्न नसकेको उज्ज्वल बताउँछन् । ‘तर, यही कुराले आफ्नो पुस्तालाई अघि बढ्न प्रोत्साहित गर्छ,’ उनी भन्छन् ।

व्यवसायको विविधीरणमा रुचि

पञ्चकन्या समूहमा उद्योग क्षेत्रमा विशेषज्ञता हावी छ । साना–साना व्यापारमा हात हाले पनि पञ्चकन्याको ध्यान त्यसकै वा त्यस्तै वस्तुको उत्पादन नेपालमै गर्ने चासो देखिन्छ ।

पञ्चकन्याले विदेशमा उत्पादन भएपनि नेपाल आएर बजार लिएरहेका तर नेपालमै उत्पादन गर्दा प्रतिस्पर्धा गर्न सकिने खालका उत्पादनमा बढी ध्यान लगाउँछ ।  नेपालमै उत्पादन गर्न सकिने कुराहरुमा पञ्चकन्याले पर्याप्त अध्ययन गर्ने गरेको छ ।

‘आयात घटाउने भनेर हल्ला हुन्छ, कामै हुँदैन, यहाँ उत्पादन हुन सक्ने हो भने किन आयातलाई मौका दिने त ?’ उनी भन्छन्, ‘हामीले आफूमाथि सधैँ यही प्रश्न गरिरहेका हुन्छौं र त्यसकै आधारमा नयाँ र गुणस्तरीय उत्पादनका लागि योजना बनाउँछौं ।’

पञ्चकन्याले गुणस्तरीय, नौलो र भरपर्दो उत्पादन दिने कम्पनीका रुपमा परिचय बनाएको उनी बताउँछन् । यही पक्षलाई ध्यानमा राखेर तेस्रो पुस्ताले पनि औद्योगिक तथा व्यापारिक विविधीकरण गर्न चाहेको उज्ववल बताउँछन् ।

‘५० वर्षअघि राइस मिलबाट सुरु भएको पञ्चकन्याको उद्यम यात्रा विभिन्न क्षेत्रमा फैलिएर आ–आफ्नो फ्याक्ट्री, कार्यालय र बिक्री शाखाको ठूलो सञ्जाल देशभरी बनेको छ । अब त्यसलाई थप बलियो बनाउनुपर्ने त छँदैछ,’ उनी भन्छन्, ‘गुणस्तरीय, नौलो र भरपर्दो उत्पादन दिने आधारमा बिजनेस विविधीकरण गर्दैछौं ।’

अटोमोटिभ क्षेत्रमा प्रवेश गरिसकेको पञ्चकन्या अरु क्षेत्रमा पनि क्रमैसँग छिर्ने योजनामा छ । डिजिटल/सोसल मिडिया र प्लाटफर्मका कारण नयाँ सोच र उद्यमलाई स्थापित गर्न सजिलो अवस्था रहेकाले कम्पनीले त्यसलाई अवसरका रुपमा उपयोग गर्ने सोचेको छ ।

अटोमेसन, डिजाइटाइजेसन र आर्टिफिसियल इन्टालिजेन्सलाई उद्योगमा कसरी भित्र्याउने र प्रविधिलाई अपनाएर अघि बढ्ने भन्नेमा सोचमा रहेको उज्ज्वल बताउँछन् । पञ्चकन्याले कृषि, सेवा लगायतका अवसर भएका क्षेत्रमा पनि जाने योजना बनाएको छ । ‘नयाँ उद्योगहरुले हिजोका उद्योगहरुलाई पछाडि छोडेका धेरै उदाहरण छन्,’ उज्ववल भन्छन्, ‘अबको १०–१५ वर्षमा धेरै नयाँ कुरा भएका छन्, यो परिवर्तनशील समयमा हामी कसरी ‘रिलिभेन्ट’ बस्ने भन्नेमा सचेत छौं ।’

५० वर्षसम्म ग्राहकले देखाएको विश्वासलाई ध्यानमा राखेर पञ्चकन्या ग्रुप सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर छ । विद्यालय र विद्यार्थीलाई सघाउने, अस्पताल बनाउने, मन्दिरहरुको पुनर्निर्माण गर्ने, वृक्षारोपण र सरसफाइमा सहयोग गर्ने र सिप नभएकाहरुलाई तालिम दिने तर्फ कम्पनीको बढी चासो छ । ‘शिक्षा, वातावरण, स्वास्थ्य तथा सरसफाइ, सम्पदा र संस्कृति र सिप प्रवर्द्धनमा पनि हामी काम गरिरहेका छौं,’ उज्ज्वल भन्छन् ।

चिन्ता उद्योग क्षेत्रकै

नेपालमा उद्योग क्षेत्रले निरन्तरको राजनीतिक अस्थिरता, विभिन्न काल खण्डमा १० वर्षको सशस्त्र युद्ध, लोडसेडिङ, महाभूकम्प र नाकाबन्दी तथा कोभिड महामारीको संकट व्यहोरेका छ । उज्ज्वलको १५ वर्षको अनुभवमा सरकार र नीति अदलाबदली नौलो विषय रहेनन् ।

तर, पछिल्लो वर्षहरुमा सरकारले लिएको लक्ष्य र कार्यक्रमबीचको पटक्कै तालमेल नदेख्दा उनी बढी चिन्तित छन् । ‘जब सीमित उद्योग या वस्तुलाई हेरेर सरकारले सोच्न थाल्छ औद्योगीकरण गर्न गाह्रो हुन्छ,’ उनी भन्छन्,‘बजेटबाट जसरी भन्सार अन्तःशुल्कहरु हेरफेर भएका छन्, त्यसले धेरै उद्योग मर्ने कुरा त छँदैछ, उद्योगीको आत्मविश्वास गिर्दा त्यो भन्दा ठूलो क्षति हुने अवस्था छ ।’

अब युवा उद्यमीलाई राजनीतिक दल र नेता नचिन्दा उद्योग नै राख्न नसकिने खालको अवस्था बनेको हो कि भन्ने सोच पलाउन थालेको उज्ज्वलको भनाइ छ । अनुभव, सिप, विरासत, गुणस्तर, क्षमतालाई मतलब नगर्ने र तर ‘कनेक्सन’ले महत्व पाउने अवस्थाले निरास बनाएको उनी बताउँछन् । यसले आफूभन्दा पछि आइरहेका नयाँ पुस्तामा ठूलो त्रास र आंशका देखिएको उनको अनुभव छ । ‘औद्योगीकरण उकास्ने हैन, मेटाउने गरी नीति आएका छन्,’ उनी भन्छन्, ‘यो जमानामा पनि यस्तो हुन्छ र ? मेरो पुस्ता त यो देखेर अचम्ममा परेको छ ।’

तर, सरकारले फैलाएको निरासाबाट उज्ज्वल हार मान्ने पक्षमा छैनन् । जुन परिस्थिति आउँछ, त्यससँग लड्ने र भिड्ने उनको अठोट अझै उत्तिकै ताजा छ । उनी कुनै न कुनै दिन ‘सही र सत्य’ ले नै नेतृत्व लिनेमा आशावादी छन् । त्यसका लागि युवा पुस्ताले धैर्य राख्नुपर्ने उनको भनाइ छ । ‘यहाँ धेरै अवसर छ, निजी क्षेत्र र सरकार मिलेरै त्यसलाई सदुपयोग गर्ने हो,’ उनी भन्छन् ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीसँगै नेपालको अर्थतन्त्रमा देखिएको तरलता अभावजस्ता समस्यालाई सम्बोधन गर्नुको साटो राष्ट्र बैंकबाटै नीतिगत रुपमा थप कस्ने काम भइरहेको देखेर उज्ज्वल खुसी छैनन् ।

बैंक ऋणबाट चल्ने उद्योगले रोजगारी र राजस्वमा योगदान दिने भएकाले छुट्टै औद्योगिक ऋणको व्यवस्था गर्न आफूहरुले नै पहल लिएको उज्ज्वलको भनाइ छ । हाल मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले औद्योगिक ऋणलाई छुट्याउने घोषणा गरेको छ ।

सरकारले उद्योग क्षेत्रलाई सकेसम्म कम व्याजदरमा ऋण दिने नीति लिएमा उद्योग क्षेत्र थप फस्टाउने अवसर रहेको उज्ज्वल बताउँछन् । ‘जबसम्म तरलता सहज हुँदैन, सरकारले ढुकुटीमा भएको रकम खर्च गर्न सक्दैन, कोही जवाफदेही छैनन्,’ उनी भन्छन्, ‘राष्ट्र बैंक र अर्थ मन्त्रालयमा विशेषज्ञहरु छन्, तर जे पनि कागजमा मात्रै आउने अवस्थाबाट उद्योग गर्नेहरु प्रताडित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’

फोटो/भिडियो : शंकर गिरी

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?