+
+

खोटाङ भूकम्प : इपिसेन्टरमै क्षतिको सूचना छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते ११:३४
भूकम्पको इपिसेन्टर रहेको खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता । तस्वीर : गुगल म्याप ।

१५ साउन, काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गए पनि अहिलेसम्म क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म त्यस्तो कुनै विवरण प्राप्त भएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले पनि हालसम्म क्षतिको विवरण नआएको बताए । उनका अनुसार कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका-५, मात्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उनका अनुसार यो गोरखा भूकम्पको परकम्प नभइ भूकम्प हो ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो हालसम्मकै शक्तिशाली भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । तर भूकम्पले साकेला गाउँपालिकाको भवन चर्किनुबाहेक जिल्लामा अन्य भौतिक र मानवीय क्षतिको जानकारी अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी दिए । ‘इपिसेन्टरतिर पनि बुझिरहेका छौं, तर क्षति भएको सूचना अहिलेसम्म छैन,’ उनले भने । उनका अनुसार साकेला गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाका केही घर चर्किएका छन् ।

साकेला गाउँपालिकाकी उपाध्यक्ष विरसिका राईले पनि गाउँपालिकाभित्र क्षति भएको जानकारी नआएको बताइन् । ‘हामी खोजबिन गरिरहेका छौं तर अहिलेसम्म क्षतिको जानकारी आएको छैन,’ उनले भनिन् ।

छिमेकी जिल्ला भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा भने एउटा घर चर्किएको छ । घर भत्किएर क्षति हुनसक्ने भएकोले स्थानीयवासीले उक्त घर भत्काइदिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार २०/३० वर्ष पुरानो उक्त घरमा अहिले मानिसहरू बस्दैनथे । जिल्लामा अन्य क्षति भएको जानकारी नआएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?