+
+

तीनै फर्म्याटमा दरिएको बाबरको ब्याटिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १८:१३

१५ साउन, काठमाडौं । यही वर्षको अन्त्यतिर आयोजना हुने आईसीसी टी–२० विश्वकपको सम्भावित विजेताबारे क्रिकइन्फोसँगको कुराकानीमा महान क्रिकेटर रिकी पोन्टिङले भनेका छन्, ‘… पाकिस्तानले उपाधि जित्न उसका कप्तान/ओपनर बाबर आजमको ब्याट चल्नुपर्छ ।’

वर्तमान विश्व क्रिकेटमा ब्याटिङतर्फ सवैभन्दा चर्चामा रहने नाम हो, पाकिस्तानका बाबर आजम । सन् २०१५ पछि सिनियर करिअर सुरु गरेका आजम आजको दिनमा एकदिवशीय र टी–२० अन्तर्राष्ट्रियमा विश्वकै नम्बर एक ब्याटर हुन् । टेष्टको वरीयतामा तेस्रो नम्बरमा छन् । टिमको नेतृत्वसमेत गरेर पाकिस्तानलाई एकपछि अर्को सफलता दिलाउने क्रममा रहेका आजमको लय हेरेर पाकिस्तान टिम आसन्न टी–२० विश्वकपमा उपाधि दावेदार बनेको छ ।

बाबर टेष्ट क्रिकेटमा ४१ खेलमै व्याटिङ वरीयताको शीर्ष तीन भित्र अटाएका हुन् । उनी जोय रुट र मार्नस ल्यावस्चेनभन्दा पछाडि छन् ।

टी–२० अन्तर्राष्ट्रियको ७४ खेलमा २ हजार ६८६ रन बनाएका छन् । त्यस्तै एकदिवशीयमा जिम्बाबेविरुद्ध लाहोरको मैदानमा २०१५ मा डेब्यु गरेका उनले ८९ खेलमा ४ हजार ४४२ रन बनाएका हुन् । टेष्टमा ३ हजार २५ रन बनाएका छन् ।

उनको नाममा धेरै कीर्तिमान बनिसकेको छ । एकदिवशीय अन्तर्राष्ट्रियको थोरै इनिङमा धेरै शतक बनाउने कीर्तिमान उनको छ । उनले अहिलेसम्म ६ शतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो २५ सय रन पूरा गरेका छन् । हालसम्म ७४ खेल खेलेका उनले ६२ इनिङ्समै सो सफलता पाएका थिए ।

आजम लिष्ट ए खेलमा सर्वाधिक रन बनाउने कप्तानमध्ये दोस्रो नम्बरमा छन् । उनी एकदिवशीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ४ हजार रन पूरा गर्ने दोस्रो खेलाडीसमेत हुन् ।

क्रिकेटको तीनै फर्म्याटमा अवस्था र आवश्यकताअनुसारको प्रदर्शनले आजमलाई विश्वस्तरमा लोकप्रिय बताएको छ । आजमको क्षमतामा टिप्पणी गर्दै भारतीय क्रिकेट स्टार दिनेश कार्तिकले उनी छिट्टै तीनै फर्म्याटको क्रिकेटमा नम्बर एक ब्याटर बन्ने बताएका छन् । ‘मलाई उनमा पूरा विश्वास छ । उनी एक उत्तम खेलाडी हुन् । तीनै फर्म्याटमा उनको ब्याटिङ उच्चस्तरको छ । उनले जस्तो सुकै ब्याटिङ कन्डिसनमा पनि राम्रो खेलेर आफूलाई प्रमाणित गरेका छन्,’ कार्तिकले भनेका थिए ।

पाकिस्तानका मात्र होइन विश्वभरका समर्थकमाझ उनको लोकप्रियताको ग्राफ उकालो लागिरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा उनका ३८ लाख फलोर्अस् छन् । इन्टाग्राममा २३ लाख फलोर्अस् छन् । अफिसियल ट्वीटर ह्यान्डलमा ३५ लाख फलोर्अस् छन् । उनका हरेक पोष्टमा समर्थकको तालीमात्र देखिन्छ ।

पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसकिरहेका विराट कोहलीलाई आजमसँग तुलना गरेर भारतीय उग्र समर्थकले आलोचना गरेका थिए । आजमले विराटको समर्थनमा गरेको ट्वीट भाइरल भएको थियो । आजमले लेखेका थिए, ‘यो समय पनि टरेर जानेछ, नआत्तिनु बलियो रहनु ।’ धेरैले आजमको खुला हृदयको तारिफ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?