+
+

गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

विजय पराजुली विजय पराजुली
२०७९ साउन १५ गते २१:४०

१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन ।

आमाले पनि नियमित कारोबार गर्दै आएको सहकारीप्रति उनले कहिल्यै शंका गरिनन् । तर शुक्रबार एकाएक आफूले दिनरात नभनी मिहिनेत गरेर कमाएको पैसा वर्षौंदेखि जम्मा गरेको सहकारी संस्थामा ताला लगाएर सञ्चालक फरार भएको सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।

‘पहिले आमाले कारोबार गर्नुहुन्थ्यो, मलाई पनि विश्वास लागेर कारोबार गरेँ । पहिले सानो भवनमा थियो, अहिले सहकारी ठूलो भएपछि भवन पनि ठूलो बनेको छ,’ आइतबार सहकारी विभागमा भेटिएकी महजर्नले गहभरी आँसु पार्दै भनिन्, ‘‘राति १२ बजे पनि नभनी भाँडा माझेर कमाएको पैसा राखेको थिएँ । सबै पैसा डुब्ने भयो ।’

उनीमात्रै होइन, गौतमश्री सहकारीमा वचत गरेका राखेका करिब २५ हजार बचतकर्ताको अवस्था यस्तै छ । आइतबार मात्र भारी वर्षाको बाबजुद सहकारी सञ्चालक र व्यवस्थापकविरुद्ध उजुरी गर्न एक हजार भन्दा धेरै मानिस बानेश्वरस्थित सहकारी विभागको कार्यालय पुगेका थिए । एक हजार ७५ जनाको उजुरी दर्ता भएको छ, अरुलाई भोलि कार्यालय समयमा आउन भनिएको छ ।

‘२० लाखभन्दा बढी पैसा सहकारीमा राखेको थिएँ, परिवारका कसैलाई पनि थाहा छैन, श्रीमान् विदेश हुनुहुन्छ,’ उजुरीका लागि विभागमा पुगेकी एक महिलाले नाम नखुलाउने शर्तमा आफ्नो समस्या सुनाउँदै भनिन्, ‘यति ठूलो रकम डुब्ने भयो । अब परिवारले पैसा खोई भन्दा के गर्ने ? घर न घाटको हुने भइयो ।’

उजुरीका लागि पुग्ने धेरैको यस्तै समस्या छ । सहकारीले ठगी ग¥यो भनेर सार्वजनिक गर्दा परिवारमा तनाव बढ्ने भएकाले सञ्चार माध्यममा पनि आउन रुचाउँदैनन् । ‘सहकारीले पैसा खाएर भागेको छ । घरमा भनौं भने घरबाटै निकाल्लान् भन्ने डर छ,’ विभाग परिसरमा भेटिएकी अर्की महिलाले सुनाइन् ।

काठमाडौंका स्थायी बासिन्दा विजयकुमार रञ्जित भने परिचय खुलाएर बोल्न तयार भए । उनले ८ वर्षदेखि गौतमश्री सहकारीमा कारोबार गर्दै आएका थिए । सहकारीमा उनी र उनको परिवार र साथीभाइको गरेर एक करोड ६० लाख रुपैयाँ भन्दा बढी रकम बचत गरेका थिए । नियमित कारोबार गर्दै आएकोे भए पनि उनलाई अहिलेसम्म सहकारीको साधारणसभा भएको जानकारी छैन ।

गौतमश्री सहकारी पीडितहरुले गठन गरेको संघर्ष समितिका सदस्य समेत रहेका रञ्जित भन्छन्, ‘हामी सदस्यभन्दा पनि बचतकर्ता मात्रै हो । त्यसैले साधारणसभाबारे जानकारी नभएको हुनसक्छ ।’

सहकारी ऐन–२०७४ अनुसार सहकारीमा सिधै सर्वसाधारणको निक्षेप लिन पाइँदैन । पहिला शेयर सदस्य बन्नुपर्छ, त्यसपछि मात्र निक्षेप संकलन गर्नुपर्छ । ८ वर्षदेखि यो सहकारीमा बचत गर्दै आएका रञ्जितको भनाइले सहकारी सञ्चालनको वैधतामाथि प्रश्न उठ्छ ।

सहकारीहरुको नियमन गर्ने जिम्मेवारी पाएको सहकारी विभाग भने गौतमश्रीका सञ्चालक तथा व्यवस्थापक फरार भइसक्दा समेत बेखबर छ । विगत २५ वर्षदेखि सञ्चालनमा रहेको सहकारीका व्यवस्थापक र सञ्चालक बिहीबारदेखि सम्पर्कमा छैनन् ।

कुलेश्वरस्थित कार्यालय बन्द छ भने कार्यलय भवन एभरेष्ट बैंकले शील गरेको छ । सहकारीका अध्यक्ष रामबहादुर गौतमले बैंकबाट ऋण लिएर अन्य व्यवसायमा लगानी गरेका कारण बैंकले सम्पत्ति सुरक्षाका लागि यो भवन शील गरेको हो ।

सहकारी बन्द भएपछि वचतकर्ता शुक्रबार नै सहकारी विभाग, बानेश्वर पुगेका थिए । ‘बचतकर्ता बचत फिर्ता लिन जाँदा सहकारीले फिर्ता नदिएको र सहकारीमा ताला लगाएर सञ्चालक फरार रहेको गुनासो लिएर आउनुभयो,’ विभागका सूचना अधिकारी टोलराज उपाध्याय भन्छन्, ‘विभागले थप जानकारी लिँदा सञ्चालक सहकारी बन्द गरेर भागेको पाइयो ।’

उनका अनुसार अहिले विभागले सहकारी पीडितसँग छलफल गरेर उजुरी लिन थालेको छ । साथै सहकारीको चल अचल सम्पत्तिको सुरक्षा गर्न र विभागको अनुमति बिना नखोल्न प्रहरी प्रधान कार्यलयलाई शुक्रबार पत्राचार गरेको छ ।

‘सहकारीको सञ्चालक, व्यवस्थापक र कर्मचारीको अवस्था के हो ? विभागमा उपस्थित गराउनु भनेर विभागले प्रहरी प्रधान कार्यलयलाई शुक्रबार नै पत्राचार ग¥यौं’, उनले भने, ‘आज विभागमा एक हजार ७५ जनाले उजुरी दिनुभएको छ । अबको बाटो सहकारीको सम्पत्ति र दायित्व के कति छ यकीन गर्ने र सोही आधारमा कानुनी प्रक्रियालाई टेकेर समस्याग्रस्त घोषणा गर्ने अथवा त्यही भित्रका अन्य सेयर सदस्यले सञ्चालन गर्ने भन्ने बाटो रहन्छ । त्यसको लागि सहकारी विभाग तयार छ ।’

उनका अनुसार हालसम्म सहकारीको कारोबार कति थियो भन्ने विवरण प्राप्त भएको छैन । सहकारीका एक कर्मचारी विभागको सम्पर्कमा आएका छन, जसलाई हिसाब–किताबसहित विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

विभागका अर्का एक अधिकारीले भने करिब ७ अर्ब बराबरको दायित्व निक्षेपकर्ताबाट लिएको र करिब ५ अर्ब सम्पत्ति सहकारीको विवरणमा देखिएका प्रारम्भिक सूचना आएको बताए । उनका अनुसार विभागले निर्धारण गरेको ब्याजदर कार्यान्वयन नगरी जथाभावी दिने गरेको पाइएको छ ।

मुद्दती निक्षेपमा १७ प्रतिशतसम्म ब्याज दिएको रसिदसहित बचतकर्ता विभागमा पुगेका छन् ।

जबकी हाल सहकारी विभागले कर्जामा अधिकतम १६ प्रतिशत बयाजदर लिन सक्ने र बचतमा कर्जाको अधिकतम ब्याजदर भन्दा ६ प्रतिशत भन्दा बढीले तल हुने गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था छ । यही उच्च ब्याजदरको लोभमा बचतकर्ता पर्दा सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्ने र ठगी गरेर भाग्दा ठूलो क्षति हुने गरेको उनले बताए ।

सहकारी विभाग परिसरमा भेटिएका निर्मल गुरुङले पनि बैंकले भन्दा धेरै ब्याजदरकै कारण सहकारी रोजेको सुनाए । ताप्लेजुङ स्थायी घर भएर काठमाडौंमा गाडी चलाउँदै आएका गुरुङको घर किन्ने योजनाका साथ उनले मुद्दतीमान नवीकरण नगरेर बचतमा पैसा राखेका थिए ।

उनका अनुसार बैंकले बचतमा ३/४ प्रतिशत ब्याज दिँदा सहकारीले ९/१० प्रतिशत ब्याज दिने गरेको थियो । मुद्दतीमा १५ प्रतिशतसम्म ब्याज दिएको उनले बताए ।

‘वर्षौंदेखि कमाएर जोहो गरेको ४० लाख सहकारीमा राखेको थिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘घर किन्ने सोच भएकाले यो वर्ष मुद्दतीमा नराखी बचतमै राखेको थिए । घर त परको कुरा, वर्षौं मिहिनेत गरेर कमाएको पैसा नै डुब्ने भयो ।’

आइतबार सहकारी विभागमा परेको उजुरीमध्ये एउटै परिवारको ७ करोड र एउटै व्यक्तिको २ करोड रुपैयाँसम्म बचत पाइएको छ । विभागमा भेटिएका काठमाडौं–१४ कुलेश्वरकै राजेशकुमार सिंहले आफू र परिवारको गरी ६४ लाखभन्दा बढी रकम सहकारीमा रहेको सुनाए । तर सहकारी सञ्चालक तथा व्यवस्थापक ताला लगाएर भागेपछि सिंगो परिवार नै तनावमा परेको उनले सुनाए ।

गौतमश्री सहकारीका सञ्चालक गौतम कृषि उद्यमी हुन् । काभ्रेको नमोबुद्ध नगरपालिकामा गाई फार्म सञ्चालन गरेका उनले कृषि सामग्री तथा मेसिनरीको व्यापार पनि गर्दै आएका छन् । उनले कुलेश्वरमा मार्ट तथा गौतमश्री अर्गानिक एण्ड काउ फार्म नामक डेरी उद्योग समेत सञ्चालन गरेका थिए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?