+
+

पूर्वप्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई गिज्याउने ‘इन्फोग्राफिक ट्विट’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १२:२३

१६ साउन, काठमाडौं । विष्णु रिमाल प्रतिपक्षी दल नेकपा एमालेका उप-महासचिव मात्रै हैनन्, केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका प्रमुख राजनीतिक सल्लाहकारसमेत हुन् । प्रतिपक्षी नेताका रुपमा सरकारका कामकारबाहीलाई आलाेचना गर्नु उनकाे दायित्वभित्र पर्छ । तर  उनले आइतबार गरेका केही ट्वीटले उनको ‘राजनीतिक’ परिचयलाई भने गिज्याउँछन् ।

एमाले नेतृत्वको सरकार रहँदा र गठबन्धन सरकार बनेपछिका आर्थिक सूचकांकहरुलाई तुलना गर्दै उनले इन्फोग्राफिक सेयर गरेका छन् । रिमालको इन्फोग्राफिकका कतिपय तथ्यांक नै गलत छन् भने कपिपय तथ्यांकहरु आफूअनुकूलका राखेर मात्रै पोस्ट गरिएका छन् ।

जनतालाई वास्तविक सूचना दिनेभन्दा ‘एमाले सरकारलाई राम्रो’ देखाउनमा मात्रै केन्द्रित केही ट्विटमा देशको अर्थतन्त्रका सूचक श्रीलंकाभन्दा बढी खराब रहेको देखाउनसमेत खोजिएको छ । जसले गर्दा उनका ट्वीटहरु तार्किकभन्दा प्राविधिक मात्रै बन्न पुगेका छन् ।

रिमालले विदेशी मुद्राको सञ्चिति ओली सरकार हुँदा १४ खर्ब रहेकोमा गठनबन्धन सरकारले ११ खर्बमा झारेको उल्लेख गरेका छन् । त्यसैगरी मुद्रास्फिती (महँगी) दर ४.१९ प्रतिशतबाट ८.५६ प्रतिशत पुगेको उल्लेख गरेका छन् । जुन वास्तविक तथ्यमा आधारित नै देखिन्छ ।

 

तर, यस्ता आर्थिक पक्ष रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारको आपूर्तिमा पारेको, महँगिएको आयातले बढेको व्यापार घाटा, अन्तर्राष्ट्रिय मूल्यवृद्धि जस्ता पक्षसमेत कारण प्रभावित हुने भए पनि वर्तमान सरकारले महँगी कम गर्न र विदेशी मुद्राको सञ्चिति जोगाउन पर्याप्त काम नगरेको नै देखिएको छ ।

तर, रिमालले ‘कसले गर्‍याे नेपाली पैसाको अवमूल्यन ?’ शीर्षकको इन्फोग्राफिकमा ओली सरकारको पालामा ११८ रुपैयाँ रहेको प्रतिअमेरिकी डलरको मूल्य गठबन्धन सरकारको पालामा १२७ रुपैयाँ पुगेको उल्लेख गरेका छन् । रिमालले यो इन्फोग्राफिकलाई ‘आर्थिक रूपमा मुलुकलाई खोक्रो पार्न केही गर्नै पर्दैन, भएको बिगार्दै गए पुग्छ । गठबन्धन अहिले त्यही गरिरहेछ–तथ्य हेरौं !’ भन्दै पोस्ट गरेका छन् ।

 

तर, रिमाललाई थाहा हुनुपर्ने हो, अमेरिकी डलरसँग नेपाली मुद्राको मूल्य न सरकारको कामका आधारमा न रातारात बढ्न सक्छ, न सरकारको कार्यशैलीका कारण घटाउन नै ।

भारतीय रुपैयाँको स्थिति के छ र उसको विदेशी मुद्रासँगको विनिमय दर के हुन्छ भन्नेमा नेपालको विदेशी मुद्राको विनिमय दर आधारित छ । २०४८ पछि नेपालले भारतीय मुद्राबाहेक अन्यको विनिमय दर प्रणाली भारतीय मुद्राको विदेशी आवद्धतासँग जोडेको थियो । त्यसैले नेपालको भारतसँग स्थिर विनिमय दरको प्रणाली छ । भारतको १०० रुपैयाँसँग नेपालको १६० रुपैयाँ आबद्ध (पेग) भएको छ ।

यही कारण भारुको मजबुतीका आधारमा नेपालमा डलरको मूल्य तल-माथि भइरहन्छ । अर्थविदहरुका अनुसार यसैका कारण डलरसँग भारु कमजोर हुँदा नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर हुँदै गएको हो ।

भारुको विदेशी मुद्रासँगको दरमा आधारित भएर नेपाली मुद्राको मूल्य तय हुने कारण भारतीय अर्थतन्त्रका समस्या नेपालसँग सोझै जोडिन पुगेको छ । भारतमा मूल्यवृद्धि बढेको छ र रुस–युक्रेन युद्ध, अमेरिकाको ब्याजदर बढाउने नीतिलगायतका कारण भारतीय मुद्रा कमजोर भएर आयातमा हुने खर्च बढेको छ । त्यसका कारण भारतमा डलरको माग र आपूर्तिबीच खाडल उत्पन्न हुँदा भारतीय मुद्रा हुँदै नेपाली मुद्रासम्मको मूल्य गिरिरहेको छ ।

डलरसँग नेपाली मुद्राको अवमूल्यन ओली सरकारको ४२ महिने कार्यकालमा पनि भएको थियो । यो सरकारको काम गराइसँग भन्दा बढी भारतीय मुद्राको मजबुतीसँग जोडिएको विषय हो भन्ने रिमालले नबुझेका त पक्कै हैनन् कि ?

रिमालले सेयर गरेको शोधनान्तर स्थितिबारेको ‘कसले घटायो नेपालको (वैदेशिक) सम्पती इन्फोग्राफिक्समा त झन् तथ्यांक नै गलत छ । ओली सरकारले ३ अर्ब र गठबन्धन सरकार रहँदा ६ अर्ब घटाएको उल्लेख छ ।

 

तर, तथ्य फरक छ । गत जेठ महिनासम्म देशको शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको छ । २०७८ असारमा ओली नेतृत्वको सरकार ढल्दै गर्दा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा थियो, त्यसको ठीक एक वर्षअघि २०७७ असारमा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा थियो । रिमालले राखेको तथ्य के सम्बद्ध हो र कसरी त्यसलाई एमाले सरकारलाई उम्दा देखाउँछ भन्ने खुल्दैन ।

रिमालले पोस्ट गरेको इन्फोग्राफिकले गठबन्धन सरकार बनेपछि चालु खाता घाटा ९ प्रतिशत पुगेको उल्लेख गरेका छन् । तर, त्यो केको अनुपातमा ९ प्रतिशत भन्ने खुल्दैन । सायद उनले कुल गाह्रस्थ अनुपातको भनेका हुनसक्छन् । उनले बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको तथ्यांकसँग तुलना गर्दै नेपालको चालु खाता घाटा ती देशको भन्दा बढी भएको जनाएका छन् ।

गत जेठसम्म नेपालको चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा छ । ओली सरकार विदा हुँदासम्म चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा थियो । तर, ओली सरकार विदा हुनुभन्दा एक वर्षअघि २०७७ असारमा यस्तो घाटा ३३ अर्ब ७६ करोड रुपैयाँ थियो ।

‘पैसाको खोलो बगाएर चुनाव जित्ने ध्याउन्नमा लागेको गठबन्धन सरकारले देश खोक्रो बनाउँदैछ’ भन्ने सन्देश लेखेर नेपालको हात श्रीलंकाको भन्दा पनि खराब बन्न लागेको सन्देश प्रवाह गर्न खोजेका छन् ।

तर, चालु खाता घाटा र शोधनान्तर घाटा पछिल्लो एक वर्षमा भन्दा बढी ओली सरकारको अन्तिम एक वर्षमा ठूलो दरमा बढेको तथ्यलाई रिमालले लुकाएका छन् ।

रिमालले ओली सरकार हुँदा व्यापार घाटा १३ खर्ब ९० अर्ब रहेको र गठबन्धन सरकार बनेपछि त्यस्तो व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको उल्लेख गरेका छन् । तर, आर्थिक वर्ष २०७७/७८मा कोरोना महामारीको असरका कारण आयातको वृद्धिदर सुस्त भएको तथ्यलाई यो तथ्यांकले प्रतिविम्वित गर्दैन ।

 

आर्थिक वर्ष २०७५/७६ मै १३ खर्ब २१ अर्ब पुगेको व्यापार घाटा महामारी सुरु भएपछि आर्थिक वर्ष २०७६/७७मा १० खर्ब ९९ अर्बमा झरेको थियो । क्रमशः आयात बढ्दै गएर आर्थिक वर्ष २०७७/७८मा व्यापार घाटा पुनः १३ खर्ब ९० अर्बमा पुगेको थियो ।

अहिले उच्च दरमा आयात बढ्दासमेत सरकारले आयात प्रतिस्थापनका लागि काम नगरेको प्रष्ट छ, तर यो क्रम पूर्ववर्ती सरकारकै पालादेखि सुरु भएको तथ्यलाई रिमालले देखाएको तुलनात्मक तथ्यांकले प्रष्ट्याउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?