+
+

साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश विरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन १७ गते ६:०१

१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ । पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई टिम पुग्ने छन् ।

आइतरबारको खेलमा घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष २ मा पुग्ने समीकरण कठिन बनेको हो । पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिएका छन् ।

बंगलादेश, भारत र नेपालमध्ये दुई टिम फाइनल पुग्नेछ । तर नेपाललाई फाइनल पुग्न धेरै चुनौती छ ।

अहिलेसम्म बंगलादेश सबै तीन खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन् । हेड टू हेडमा भारत अगाडि छ ।

आज (मंगलबार)को पहिलो खेल नेपाल र बंगलादेशबीच भएकोले नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ । हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालले बंगलादेशलाई हराएमा फाइनल पुग्ने सम्भावना बढ्ने छ । तर, फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच सवा ७ बजे हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

नेपालले बंगलादेशलाई पराजित गरेमा र भारती टिम माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनलमा पुग्नेछ । यदी नेपाल र भारत दुवैले आ–आफ्नो खेल जितेमा तीन वटै टिमको समान ९ अंक हुनेछ । यस्तोमा तीन टिमबीचको हेड टु हेड र गोलअन्तरमा गणना गरिनेछ ।

सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्स र श्रीलंकामाथि सहज जित हात पार्दै नेपालले फाइनल पुग्ने सम्भावालाई बलियो बनाएको थियो । नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

तर, तेस्रो खेलमा अनपेक्षित रुपमा भारतसँग ८–० गोलअन्तरको हारपछि नेपाललाई झड्का लाग्यो । यो नतिजाले नेपालको गोलअन्तर ऋणात्मक बनेको छ ।

पहिलो खेलमै बंगलादेशसँग पराजित भएको भारतले त्यसयता उत्कृष्ट प्रदर्शन गरिरहेको छ । भारतलाई समेत पराजित गरेको बंगलादेश जारी च्याम्पियनसिपमा सबै अपराजित एक्लो टोली हो । पछिल्लो समय बंगलादेशले युवा फुटबलमा राम्रो लगानी गरिरहेको छ । त्यसको प्रतिफल उमेरसमूहको प्रतिस्पर्धामा देखिएको छ ।

बंगलादेश फुटबल फेडेरेसनले सन् २०२१ मा बीएफएफ इलाइट फुटबल एकेडेमी स्थापना गर्दै युवा खेलाडीहरुको विकास सुरु गरेको हो । यस एकेडेमीले बंगलादेशको दोस्रो श्रेणीको लिगमा प्रतिस्पर्धा गर्छ ।

नेपालमा भने कोरोना महामारीपछि उमेर समूहको प्रतियोगिता हुन नसक्दा यो प्रतियोगिताका लागि देशभरबाट खुल्ला छनोटमार्फत टिम बनाइएको थियो । देशभरबाट आएका खेलाडीहरुले छोटो समयमात्र एकसाथ बिताउन पाए । राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान आयुष घलान र ए डिभिजन खेलेका केही खेलाडी भए पनि नेपाली टिममा धेरै जसो पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका खेलाडी छन् ।

भारत विरुद्धको खेलमा ८–० को हारपछि प्रशिक्षक मेघराज केसीले पनि खेलाडीमा अनुभवको कमी देखिएको स्वीकारेका छन् । टिमको क्षमता भए पनि अनुभवको कमीले गर्दा यो नतिजा आएको उनको भनाइ थियो ।

सुरुवाती दुई खेलमा नेपालले दोस्रो हाफमा धेरै गोल गर्दै खेल जितेको थियो । भारत विरुद्ध भने पहिलो हाफमा एक गोल खाएको थियो । दोस्रो हाफमा ७ गोल बेहोरेको थियो ।

अब बंगलादेशविरुद्ध खेल्दा नेपालले भारतसँगको हारलाई बिर्सेर खेल्नुपर्नेछ । यसअघि साफ यू–१९ र यू–१८ को नामबाट हुँदा नेपाल बंगलादेशसँग अपराजित छ । सन् २०१५ मा नेपालमै भएको पहिलो संस्करणको साफ यू–१९ र २०१७ मा भुटानमा भएको साफ यू–१८ मा नेपालले बंगलादेशलाई २–१ को नतिजामा पराजित गरेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?