+
+
समाचार टिप्पणी :

प्रदर्शनमा कार्यकर्ता, आरतीमा ओली

ओलीको पशुपति यात्रालाई उनी निकट नेताहरुले स्वभाविक मानेपनि आमवृत्तमा भने चासोका साथ हेरिएको छ । साउने सोमबार पारेर ओली पशुपति जानुलाई चासोका साथ हेरिनुमा भने उनको शृङ्खलाबद्ध धार्मिक रुझान हो ।

सइन्द्र राई सइन्द्र राई
२०७९ साउन १६ गते २१:१६

१६ साउन, काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी भूमिका बलियो बनाउन महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध सोमबार जनप्रदर्शन गरेको छ । जनप्रदर्शन बसन्तपुरबाट निस्किएर शान्तिबाटिकासम्म पुगेको थियो ।

उपत्यकाका तीन वटै जिल्ला, उपत्यका विशेष प्रदेश कमिटी, जनसंगठन, सम्पर्क समन्वय कमिटी, केन्द्रीय निकाय लगायतले जनप्रदर्शनमा कार्यकर्ता उतारेका थिए । बसन्तपुर, नरदेवी, टंगाल, बांगेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकासम्म पुगेको जनप्रदर्शनलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गरे ।

लगातारको वर्षामा भिज्दै प्रदर्शनमा निस्किएका कार्यकर्तालाई महासचिव पोखरेलले मुलुक श्रीलंकाको बाटोमा रहेकाले खबरदारी आवश्यक रहेको बताए । तर ४ साउनमा तय भएको पूर्वनिर्धारित जनप्रदर्शनमा अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएनन् । जनप्रदर्शन सकिएको केहीबेरमा ओली एक पुस्तक विमोचन कार्यक्रममा देखिए ।

तर साँझ भने दलबलसहित अध्यक्ष ओली पशुपतिनाथको आरतीमा पुगे । ओली आरतीमा सहभागी हुने सूचना बिहानै दिइएको थियो । पशुपति पुगेर ओली पूर्वनिर्धारित विभिन्न धार्मिक कार्यमा सहभागी भए ।

ओलीको पशुपति यात्रालाई उनी निकट नेताहरुले स्वभाविक मानेपनि आमवृत्तमा भने चासोका साथ हेरिएको छ । साउने सोमबार पारेर ओली पशुपति जानुलाई चासोका साथ हेरिनुमा भने उनको शृङ्खलाबद्ध धार्मिक रुझान हो ।

तीन पटक प्रधानमन्त्री हुँदा ‘ईश्वर’को सट्टा ‘जनता’को नाममा शपथ लिने ओली पार्र्टीभित्रकै आलोचना नसुनी धार्मिक कार्यमा संलग्न हुँदै आएका छन् । ओली प्रधानमन्त्रीको हैसियतमा हुँदा पशुपतिमा सुनको जलहरी निर्माण र चितवनको माडीमा राम मन्दिर स्थापनालाई राजनीतिक प्रतिष्ठाकै विषय बनाएका थिए । प्रधानमन्त्रीकै हैसियतमा यी दुवै कार्य रातारात गरेर ओलीले धार्मिक संलग्नता र प्रवर्द्धनप्रतिको सन्देश दिएका थिए ।

पुजारीकै असहमति समेत नसुनी निर्माण गरिएको पशुपतिनाथको शिवलिङ्गमा निर्माण गरिएको सुनको जलहरीको मुद्दा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतमा छ । त्यसबेला नागरिक असन्तुष्टि बेवास्ता गरी रातारात सुनको जलहरी निर्माण गरिएको थियो ।

आम नागरिक विश्वव्यापी कोरोना महामारीको त्रासदीमा हुँदा ओली १२ माघ ०७७ मा पत्नी राधिका शाक्यसहित पशुपतिनाथ पुग्नु नै त्यहाँ सुनको जलहरी निर्माण हुने प्रमुख कारण बनेको थियो । पशुपतिनाथ पुगेपछि ओलीले पञ्चामृत, ओमकार दर्शन, संकल्प पूजा र सवा लाख बत्ती मात्रै बालेनन्, जलहरी निर्माणको उद्घोष गरेर फर्किए । सुनको जलहरी निर्माणमा सरकारले ३० करोड दिने वचन उनको थियो ।

यसको दुई दिन नबित्दै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा पशुपति विकास कोषले एक अर्ब लागतमा जलहरी निर्माण गर्ने निर्णय गर्‍यो । सरकारले दिने ३० करोड रुपैयाँ बाहेकको पैसा कोषबाट खर्चिने निर्णय भएको थियो ।

१४ माघ ०७७ को निर्णय बमोजिम, एक महिनाभित्रै जलहरी बन्यो । १२ फागुन ०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरीको उद्घाटनसहित क्षमा पूजा गरिन् । पशुपतिमा जलहरी निर्माण गर्न राष्ट्रपति भण्डारीले समेत रुचि देखाएकी थिइन् । तर जलहरी निर्माणका क्रममा ११ किलो सुन हिनामिना भएको उजुरी अहिले अख्तियारमा छ, तर अगाडि बढेको छैन ।

पशुपतिनाथमा सुनको जलहरी जत्तिकै महत्वका साथ ओलीले माडीमा राम मन्दिर स्थापना गर्न अडान लिएका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले चर्को विरोध गर्दा पनि ओलीले राम मन्दिर स्थापना गरे ।

दक्षिणी छिमेक भारतसँग जनस्तरमै सम्बन्ध बिगार्नेगरी ओलीले २९ असार ०७७ मा धार्मिक ग्रन्थ रामायण वर्णित रामको जन्म ठोरीस्थित अयोध्यामा भएको अभिव्यक्ति दिएका थिए । भारतमा नभएर रामको जन्म नेपालमा भएको ओलीको अभिव्यक्तिकै कारण परराष्ट्र मन्त्रालयले प्रष्टोक्ति दिनुपरेको थियो ।

३० असारमा परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको थियो, ‘प्रधानमन्त्रीको भनाइ कुनै राजनीतिक विषयसँग सम्बन्धित छैन र कसैको भावनामा आघात पुर्याउने उद्देश्यले आएको होइन’, ओलीले भने आफ्नो अभिव्यक्ति पुष्टि गर्न माडीका तत्कालीन मेयर ठाकुरप्रसाद ढकालकै असहमतिबीच राम मन्दिर निर्माणलाई गति दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै ओलीले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति कुदाए । ती मूर्तिहरू ८ वैशाख ०७८ मा माडी लगिएको थियो । बालुवाटारबाट ओलीले पूजा गरी रथयात्रा गराइ एकदिन देवघाट राखेर मूर्ति माडी पुर्‍याइएको थियो ।

धार्मिक आस्था व्यक्तिगत रोजाइको विषय भएपनि ओली पशुपतिनाथ जानुलाई चासोका साथ हेरिनुमा भने उनकै पृष्ठभूमि प्रमुख कारण हो । धर्मलाई अफिम मान्ने कम्युनिष्ट पार्टीको सदस्य बनेर ‘सामन्तको टाउको काट्ने’ झापा विद्रोहमा ओली सामेल थिए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?