+
+

बैंकहरूले जथाभावी ब्याजदर बोलकबोल गरेपछि राष्ट्र बैंक आफैंले किन्यो ट्रेजरी बिल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १७:१०

१७ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ ।

केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो ।

बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गर्दा त्यसलाई निरुत्साहन गर्न सोमबारको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिलको लागि २७ बैंक तथा वित्तीय संस्थाले १० अर्ब ३ करोडको बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई १२ करोड रुपैयाँको मात्रै ट्रेजरी बिल नवीकरण गरेर ४ अर्ब ९० करोड रुपैयाँको आफैंले खरिद गरेको छ ।

त्यस्तै १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा १८ बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ३१ करोड बराबरको बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिल पनि बैंकहरुलाई १० करोड रुपैयाँको मात्रै नवीकरण गरेर ४ अर्ब ९० करोड राष्ट्र बैंक आफैंले खरिद गरेको छ ।

१० साउनमा नवीकरणको लागि ल्याइएको ट्रेजरी बिलमा बोलकबोल गरेको ब्याजदर भन्दा सोमबार बैंकहरुले घटाएका छन् । यद्यपि राष्ट्र बैंकले बैंकहरुलाई ट्रेजरी बिल नदिएर आफैं खरिद गरेको छ ।

१० साउनमा ९१ दिनको ट्रेजरी बिलमा डिस्काउन्ट रेट १३.९९८८ प्रतिशत र न्युनतम ९.९००३ प्रतिशत बोलकबोल गर्दा औसत १२.००३३ प्रतिशत कायम भएको थियो । सोमबारको बोलकबोलमा ९१ दिनको ट्रेजरी बिलको लागि बैंकहरुले डिस्काउन्ट रेट अधिकतम ११.८००१ प्रतिशत र न्युनतम ११.४१६८ प्रतिशतको प्रस्ताव पेश गर्दा औसत ११.६९४६ प्रतिशत कायम भएको छ । यस्तै १८२ दिन अवधिको ट्रेजरी बिलको लागि डिस्काउन्ट रेट १०.९९८८ तय भएको छ ।

‘राष्ट्र बैंकको कदम सकारात्मक’

ब्याजदर नियन्त्रण गर्न र बैंकहरुले जथाभाबी ब्याजदर बोलकबोल गर्ने कार्यलाई निरुत्साहित गर्न राष्ट्र बैंक आफैंले ट्रेजरी बिल किन्नु सकारात्मक भएको पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन् । ‘ब्याजदर अत्यधिक बढ्न नदिन राष्ट्र बैंकले लिएको यो कदम स्वागतयोग्य छ,’ उनी भन्छन्, ‘ट्रेजरी बिलकै ब्याजदर यति उच्च भएपछि कर्जाको ब्याजदर के हुने भन्ने थियो, राष्ट्र बैंकले नै बैंकहरुले ब्याजदर बढी बोलकबोल गरेपछि आफैंले खरिद गरेर ब्याजदर घटाउने प्रयास गरेको छ । यो सकारात्मक छ ।’

बैंकहरुसँग तरलता अभाव हुँदा राष्ट्र बैंकबाट तरलता सुविधा लिएर व्यवस्थापन गरिरहेका छन् । गत साता रिपो मार्फत राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाएको थियो ।

यस्तै बैंकहरुले स्थायी तरलता सुविधा मार्फत १ खर्ब २० अर्ब ६० करोड स्थायी तरलता सुविधा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?