+
+
विचार :

कर्मचारीमा खस्कँदो कार्यसंस्कृति, गुम्दै जनविश्वास

सदाचारी र स्वउत्प्रेरित कर्मचारीले नै सेवा प्रवाह प्रभावकारी तुल्याउन सक्ने भएकोले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको व्यवहार ग्राहकमैत्री हुनुपर्दछ ।

उदय रानामगर उदय रानामगर
२०७९ साउन २२ गते १०:४७

सार्वजनिक सेवा जनता र सरकारलाई जोड्ने सम्बन्ध सेतुका रूपमा रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाह गर्नु राज्यको दायित्व र प्राप्त गर्नु नागरिकको अधिकार हो । जनतालाई अधिकतम सेवा दिनु आधुनिक राज्यव्यवस्थाको प्रमुख उद्देश्य हो । राज्यद्वारा प्रवाह गरिने सेवा नागरिकको रोजाइ, आवश्यकता, प्राथमिकता र राज्यको क्षमतामा भर पर्छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउनका लागि भएको अन्तर्राष्ट्रिय अनुभवलाई यहाँ उल्लेख गर्न सकिन्छ ।

बेलायतमा ‘नागरिक बडापत्र र सर्भिस कुपन’ को व्यवस्था छ भने जर्मनमा ‘पिपुल्स बोनस’ जस्ता औजारहरूको प्रयोग गरिएको छ । त्यसैगरी स्वीडेनमा ‘स्ट्रिड ब्युरोक्रेसी’ तथा अमेरिकामा ‘स्टेट फरगिभनेस कार्ड’ द्वारा सेवालाई प्रभावकारी गर्ने प्रयास गरेको छ । नेपालमा पनि यदाकदा ‘घुम्ती सेवा’ सञ्चालन गरिने गरिएको छ । साथै प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक निकायलाई नैतिक, सक्षम, सुदृढ, उत्तरदायी र व्यवसायी बनाउने, क्षमता विकास गर्ने तथा निजामती सेवालाई प्रतिस्पर्धी, उत्तरदायी र जवाफदेही बनाउन विभित्र प्रयास हुँदै आएको छ ।

तथापि सेवा प्रवाहमा बढी लोकप्रिय हुन खोज्ने प्रवृत्तिले यो जनअपेक्षा अनुरूप हुनसकेको छैन । सार्वजनिक प्रशासनमा संलग्न पदाधिकारीको सदाचारितामा आएको ह्रासको कारणले गर्दा सार्वजनिक सेवाप्रति प्रश्नचिह्न खडा भएको छ । नेपालका कर्मचारीहरूको व्यक्तिगत कार्य क्षमता प्रखर भएको तर संस्थागत नतिजा कमजोर रहेको भत्रे छ । यो कार्यले गर्दा सार्वजनिक सेवा प्रवाहप्रति जनविश्वास गुम्दै गएको छ । गुम्दै गरेको जनविश्वास कायमै राख्न पनि सार्वजनिक सेवालाई प्रभावकारी बनाइराख्न सेवामा संलग्न कर्मचारीको आचरण शुद्धीकरण गर्न आवश्यक छ ।

त्यसो त सेवाप्रवाहमा सदाचारिता कायम गर्न कर्मचारी मात्र जिम्मेवार नभई सेवाग्राही पनि त्यतिकै जिम्मेवार र सचेत हुन आवश्यक छ । ग्रीसका दार्शनिक सुकरातको ‘सेवाग्राहीले सार्वजनिक सेवा प्रदायकसँग जति प्रश्न गर्न सक्यो त्यति नै सदाचार सबल हुन्छ’ भन्ने भनाइ छ । उनको यो दर्शन अहिले पनि त्यतिकै सान्दर्भिक रहेको छ । नेपालको सन्दर्भमा हेर्दा पनि सचेत सेवाग्राही भएका क्षेत्रमा सदाचार प्रबल रहेको देखिन्छ भने सोझा र प्रश्न गर्न नसक्ने सेवाग्राही बढी रहेका क्षेत्रमा सदाचारिता नै चेपुवामा पर्ने गरेको तितो अनुभव छ ।

नेपालको कर्णाली प्रदेशको समग्र जनताको साक्षरता र वागमती प्रदेशको साक्षरता तुलना गर्दा वागमती प्रदेश धेरै अगाडि छ त्यसैले कर्णालीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीको अनुपात र वागमती प्रदेशबाट पर्ने उजुरीको संख्यामा धेरै फरक छ । सचेत र शिक्षित सेवाग्राही भएको जिल्लामा भ्रष्टाचार उपरको उजुरी बढेको र भ्रष्टाचारमा कमि आएको देखिन्छ । त्यसो त भ्रष्टाचार घटाई सदाचारिता कायम गर्न र गराउनको लागि कार्यसंस्कृतिको ठूलो भूमिका हुन्छ ।

सार्वजनिक पदमा रहेका पदाधिकारीमा उत्तरदायित्व, सक्षमता, नैतिक मूल्य–मान्यतालाई आत्मसात् गराउने वातावरण भएको खण्डमा सदाचार कायम गर्न सकिन्छ । चीनको स्वशासित क्षेत्र हङकङमा निजामती कर्मचारीहरूको नियुक्तिको समयमा नै सदाचारिताको परीक्षण गर्ने व्यवस्था छ । सामान्यतया सबै व्यक्तिहरूले सरकारी नियुक्तिहरू लिनुअघि विभित्र स्तरको सदाचारिता परीक्षणमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । यस्तो परीक्षण तह तथा पद अनुसार फरक–फरक हुने गरेको छ । यही परीक्षणको आधारमा कर्मचारी नियुक्ति, पदोत्रति र पदस्थापना हुने भएकोले कर्मचारीमा सदाचारिता बलियो छ ।

यसले सम्भावित कर्मचारीहरू असल चरित्र र उच्च निष्ठाका छन् भनी सुनिश्चित गराउँदछ । यसले सेवा प्रवाहमा जनताको विश्वास बढाउन योगदान गर्दै आएको दृष्टान्त छ ।

नेपालमा सदाचारिता खस्कँदो अवस्थामा छ भने जनताले सेवा प्रवाहको विधि र प्रक्रियाप्रति सधैं गुनासो राख्ने गरेका छन् । यसले गर्दा नेपालको सार्वजनिक प्रशासनप्रति जनताको भरोसा टुट्न थालेको अवस्था छ । सेता युनिफर्म लगाएका कर्मचारी देख्दा नै नाक खुम्च्याउने अवस्था सिर्जना भएको छ । जो व्यक्तिप्रति आस्था र भरोसा टुट्छ त्यसले जतिसुकै राम्रा काम गरे पनि त्यसलाई सन्देहको घेरामा राखेर हेरिन्छ । जसले गर्दा सार्वजनिक सेवा प्रवाहको लागि राम्रा कहलिएका कार्यालय तथा कर्मचारीहरूप्रति पनि सेवाग्राहीको धारणा उस्तै रहने गरेको छ ।

हुनत कर्मचारीहरूका पनि आ–आफ्नै समस्या नभएका होइनन् तर पनि जस्तोसुकै कठिन परिस्थितिमा पनि उच्च कार्यसम्पादन गर्ने शपथ खाएर सेवा प्रवेश गरेका कर्मचारीले सधैं आफूलाई अब्बल साबित गर्न सक्नुपर्छ । त्यसको लागि सेवा प्रवाहमा नवीनतम विधि, प्रक्रिया, शैलीको अनुसरण गर्नुपर्दछ । कर्मचारीको कार्यशैलीकै कारण भएका विद्यमान प्रणालीहरू कामयाबी हुनसकेका छैनन् ।

नयाँ पिंढीका कर्मचारीलाई सेवामा भित्र्याएर सेवालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने सिद्धान्त पनि नेपालको सन्दर्भमा गलत साबित भइसकेको छ । सेवा प्रवेश गरेको पाँच वर्षभित्रका कर्मचारीहरू नै बढी भ्रष्टाचारका केसमा समातिएका तथ्य विद्यमान छ । यस्तो प्रवृत्तिले के देखाउँछ भने कर्मचारीको कार्यशैली सुध्रिन सकेको छैन । त्यसकारण अब ढिला नगरिकन कर्मचारीको कार्य–संस्कृतिमा सुधार गर्न जरूरी भइसकेको छ । त्यसको लागि कर्मचारीको कार्यसंस्कृतिमा प्रभाव पार्ने तत्वहरूको पहिचान गर्नुपर्दछ । त्यस्ता संस्कृतिहरूमा मूलतः राजनीतिक तत्व, रकम वा पैसा, कानुनी व्यवस्था, प्रशासनिक व्यवस्था र सूचनाको उपलब्धता जस्ता तत्वहरू छन् ।

कर्मचारीको कार्यसंस्कृतिमा सुधार गरी सदाचारिता प्रवर्द्धन गर्नका लागि केही पक्षहरूमा कर्मचारी आफैं सुध्रिनुपर्ने देखिन्छ भने केही पक्षमा कार्यालयले नै जिम्मेवारी लिनुपर्छ ।

नेपालको कर्मचारीतन्त्रमा कार्यसंस्कृतिका त्यही तत्वहरूले गर्दा कर्मचारीको कार्यव्यवहार र कार्यसंस्कृतिमा प्रभाव पार्दै आएको छ । त्यसको मुख्य कारणहरूमा कर्मचारीको मनोबल गिर्दो हुनु, कर्मचारीमा तालिमको अभाव, सूचनामा पहँुचको कमी, सहभागितामूलक निर्णय प्रणालीको अभाव, सेवाग्राहीसँग पृष्ठपोषण लिने प्रणालीको अभाव, सदाचारयुक्त आचरण नहुनु, कमजोर तलबी व्यवस्था, अधिक राजनीतिक हस्तक्षेप र चाकडीजन्य संस्कृतिले प्रश्रय पाएको कारण कर्मचारीको कार्यसंस्कृति प्रभावित हुँदै आएको छ । यसबाट कर्मचारीको मनोबल कमजोर भई सार्वजनिक सेवा प्रभावकारी हुनसकेको छैन ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउनको लागि विद्यमान कानुनी व्यवस्था नभएको भने होइन । नेपालको संविधानको प्रस्तावनाले जनतालाई सार्वभौम शक्ति मानेको छ भने संविधानको मार्गदर्शक सिद्धान्त र नीतिहरूले राज्यलाई जनमुखी बनाउन मार्गनिर्देश गरेको छ । संविधानको धारा ५१ (ख) को (४) मा सुशासन कायम गर्ने कुरा उल्लेख छ भने धारा ५० (४) मा अन्तर्राष्ट्रिय सम्बन्धका कुरा उल्लेख छ ।

संविधानको भावना अनुसार संघमा ३४०, प्रदेश कानुन २१३ र स्थानीय तहमा १६ वटा कानुनसम्म बनेर कार्य हुँदै आएको छ भने त्यसको लागि संघ अन्तर्गत १९०७, प्रदेश अन्तर्गत ९३१ र स्थानीय तह अन्तर्गत ६६०५ वटा संगठनबाट सेवा प्रदान गरिंदै आएको छ । ती सबै संगठनमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिलाई जिम्मेवार बनाई सदाचारिता कायम गर्नको लागि सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन २०६४ को दफा ६ मा आचरणको व्यवस्था छ ।

निजामती सेवा ऐन, २०४९ को दफा ७ मा कर्मचारीको आचरण र दण्ड सजायको व्यवस्था गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ मा भ्रष्टाचारजन्य कार्यमा दण्ड सजायको व्यवस्था गरेको छ । तथापि कर्मचारीको सदाचारितामा सुधार भएको छैन । यसले कर्मचारीको कार्यसंस्कृतिमा सुधारको खाँचो छ भन्ने कुरा औंल्याउँछ ।

कर्मचारीको कार्यसंस्कृतिमा सुधार गरी सदाचारिता प्रवर्द्धन गर्नका लागि केही पक्षहरूमा कर्मचारी आफैं सुध्रिनुपर्ने देखिन्छ भने केही पक्षमा कार्यालयले नै जिम्मेवारी लिनुपर्छ । कार्यालयको तर्फबाट कर्मचारीको कार्यशैली सुधारका लागि प्रत्येक महिनाको कुनै एक दिन स्टाफ बैठक राख्ने र सबै कर्मचारीले भोगेका समस्या सुन्ने र त्यसलाई व्यवस्थापन गर्न संयुक्त रणनीति बनाउनुपर्छ । कर्मचारीको मनोबल उकास्नको लागि उपलब्ध सेवा–सुविधा वितरणमा समानता कायम गर्न सक्नुपर्छ ।

प्रत्येक आर्थिक वर्षको अन्त्यमा कर्मचारीको ३६० डिग्री मूल्यांकन विधिको आधारमा उत्कृष्ट कर्मचारीको छनोट गरी निजको फोटो कार्यालय परिसरमा राख्ने गर्नुपर्छ, यसो गर्दा कर्मचारीको मनोबल बढ्न जान्छ । यो मूल्यांकनबाट उत्कृष्ट ठहरिएको कर्मचारीलाई निजामती सेवा पुरस्कारका लागि मन्त्रालयमा सिफारिस गरिनुपर्दछ । सेवाग्राहीको पृष्ठपोषण नियमित रूपमा गुनासो संकलन गरी सोको अभिलेख राख्ने र त्यसको आधारमा सुधार गर्दै जानुपर्दछ ।

कार्यालयको कामलाई अधिकतम रूपमा प्रविधिमैत्री बनाई सेवा दिइसकेपछि सेवाग्राहीलाई धन्यवाद दिने कार्यलाई संस्थागत गर्नुपर्छ । सेवाग्राहीमा सेवा वितरणको प्रक्रियाका बारेमा श्रव्यदृश्यमार्फत जानकारी गराउनुको साथै सुधार कार्यको निरन्तर अनुगमन तथा मूल्यांकन गर्नुपर्छ ।

यसका अतिरिक्त कर्मचारी आफैंले सुधार गर्नुपर्ने पक्षहरू पनि छन् । त्यसको लागि उनीहरूमा इच्छाशक्ति बढाउने गतिविधि हुन आवश्यक छ । मन्जोरले सन् २०१२ मा ‘सेवा प्रवाहको प्रभावकारितामा कर्मचारी उत्प्रेरणाको प्रभाव’ भन्ने शीर्षकमा अध्ययन गरेका थिए । यस अध्ययनको नतिजा अनुसार जब कर्मचारीहरूको उत्प्रेरणा मूलतः उसको मान्यता र सशक्तीकरणमा निर्भर हुन्छ, तब आन्तरिक रूपमा उनीहरू आफ्नो काम, संगठन र संगठनात्मक वातावरणमा सन्तुष्ट हुन्छन् जसले संगठनात्मक प्रभावकारितामा सकारात्मक प्रभाव पार्ने र सेवा प्रवाहमा बढोत्तरी हुने निष्कर्ष निकालेको पाइन्छ । यसर्थ पनि सेवा प्रवाहलाई प्रभावकारी तुल्याउनको लागि कर्मचारी उत्प्रेरित हुन आवश्यक छ । उत्पे्ररित कर्मचारीले मात्र उसको आचरणमा सुधार ल्याउन सक्दछ ।

सदाचारी र स्वउत्प्रेरित कर्मचारीले नै सेवा प्रवाह प्रभावकारी तुल्याउन सक्ने भएकोले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको व्यवहार ग्राहकमैत्री हुनुपर्दछ । उनीहरूले सेवाग्राहीसँग गर्ने व्यवहारबाट नै सरकारप्रतिको धारणा बन्ने गर्दछ । त्यसकारण पनि कर्मचारी स्वयंले सेवा दिंदा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिनु बुद्धिमत्तापूर्ण हुन्छ ।

कार्यालयमा सेवा लिन आउने प्रत्येक सेवाग्राहीलाई नमस्कार गर्ने बानी बसाल्नुपर्दछ । कर्मचारीको कार्यशैली परिवर्तन गरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई म तपाईंलाई के सहयोग गर्न सक्छु ? (मे आई हेल्प यू ?) भनेर सोध्ने संस्कारलाई व्यवहारमा रूपान्तरण गर्नुपर्दछ । सेवाग्राहीप्रतिको उत्तरदायित्व बोध गर्दै उनीहरूको कार्य गरिदिने संस्कारको अवलम्बन गर्नुपर्दछ । साथै कार्यालयमा सिर्जना भएको सूचनाहरूलाई प्रत्येक दिनको शून्य समयमा सबै कर्मचारीहरूबीचमा आदान–प्रदान गर्ने व्यवस्था गर्नुपर्दछ ।

कार्यालयमा उपस्थिति हुन नसक्ने अवस्था सेवाग्राहीले समेत देख्ने स्थानमा लगबुकमा नियमित रूपमा अपडेट गरी आफ्नो बारेमा जानकारी लिपिबद्ध गर्ने र सोको जानकारी सेवाग्राहीलाई दिन आफ्नो शाखाको सूचनापाटीमा उक्त जानकारी राख्ने संस्कारको सुरुवात गर्नुपर्दछ । यसो गर्न सकिएको खण्डमा सार्वजनिक प्रशासनमा रहेको सदाचारितामाथि उठेको प्रश्नचिह्नलाई केही हदसम्म निप्टारा गर्न सकिन्छ । यसबाट सेवा प्रवाहको खस्कँदो अवस्थामा सुधार आई सरकार र जनताबीचमा खलबलिएको सम्बन्धमा केही हदसम्म सुधार हुन जानेछ ।

(लेखक नेपाल सरकारका सहसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?