+
+

लाल मोहर र नागेश्वर भारतको प्रो–कवड्डीमा अनुबन्ध, १०-१० लाख भारु पाउने

नेपालमा पनि प्रो-कवड्डी गर्ने योजना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन २२ गते १३:४२

२२ साउन, काठमाडौं । कुनै समय नेपालको राष्ट्रिय खेलको रुपमा कवड्डी र डण्डी बियोको नाम आउँथ्यो । तर, आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता थिएन । भलिबलले २०७४ सालमा नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि ती खेल छायामा परे ।

तर, कवड्डी व्यावसायिक खेलका रुपमा नेपाल स्थापित छ । नेपालका केही खेलाडी छिमेकी देश भारतमा हुने चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘प्रो कवड्डी’ मा छनोट हुँदै राम्रो एक्स्पोजर र आम्दानी गरिरहेका छन् । प्रो कवड्डीको नवौं सिजनका लागि पनि नेपालबाट दुई खेलाडी छनोट भएका छन् ।

नेपाली राष्ट्रिय कवड्डी टिमका दुई सदस्य लालमोहर यादव र नागेश्वर थारुलाई बेंगलुरु बुल्सले आगामी सिजनका लागि अनुबन्ध गरेको छ । सी ग्रेडमा रहेका नेपाली खेलाडीका लागि बेंगलुरुले १०–१० लाख भारतीय रुपैयाँ खर्चिएको हो ।

लाल मोहर सातौं सिजनमा पनि बेंगलुरुमै थिए । आठौं सिजनमा भने उनी छनोट भएनन् ।

नागेश्वर भने पहिलो पटक प्रो कबड्डीमा छनोट भएका हुन् ।

अखिल नेपाल कबड्डी संघले प्रो कवड्डीका लागि खेलाडीहरुको नाम सिफारिस गरेको र त्यसबाट दुई खेलाडी छनोट भएको संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए । प्रजापतीले भने, ‘हामीले यसपटक लालमोहर र नागेश्वरसँगै रामु टमाटाको नाम पनि सिफारिस गरेका थियौं । दुई जना छनोट भएका छन् ।’

यसअघि नेपालका सञ्जय श्रेष्ठले पनि बेंगलुरु बुल्सबाट खेलिसकेका छन् । जयपुर र पुनेबाट समेत खेलेका सञ्जयले उपाधि पनि जितेका थिए ।

नवौं सिजनका लागि प्रो कबड्डीमा बैंगलुरु बुल्स टिममा अनुबन्ध भएका लालमोहरले खुशी व्यक्त गर्दै यसबाट नेपाली खेलाडीले राम्रो एक्सपोजर पाउने बताए । ‘कबड्डी टिम गेम हो । नाम चलेका स्टार खेलाडीहरुसँगै टिममा हुँदा धेरै कुरा सिक्न पाइन्छ । सँगै ट्रेनिङ गर्छौं । राम्रो एक्सपोजर हुन्छ,’ उनले भने ।

नेपाली खेलाडीले एक सिजनमै १६ लाख रुपैयाँ कमाइ गर्छन् । नेपाली खेलाडीका लागि यो राम्रो कमाइ हो । सुरुमा उनी ८ लाख भारुमा अनुबन्ध भएका थिए । अहिले उनी र नागेश्वर दुवै समान १० लाख भारु पाउनेछन् ।

भारतीय खेलाडी र अरु देशका चर्चित खेलाडी हावी हुँदा नेपाली खेलाडीले भने खेल्ने अवसर कमै मात्रामा पाउँछन् । लालमोहरलाई पनि यही चिन्ताले सताउँछ । ‘हामी पनि धेरै मिहिनेत गर्छौं । म निरन्तर टिममा परिराखेको हुन्छु । नागेश्वर पनि राम्रो खेल्छ,’ लालमोहरले यो सिजन खेल्न पाउने आशा राखेका छन् ।

लाल मोहर र नागेश्वरले २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

नेपालमै कवड्डी लिग गर्ने योजना

भारतमा फ्रेन्चाइज कवड्डी प्रतियोगिता आयोजना हुन थालेको १ दशक हुन लागेको छ । तर, नेपालबाट केही खेलाडी अनुबन्ध हुनु बाहेक नेपालले त्यसको अन्य फाइदा उठाउन सकेको छैन ।

नेपालमा फाट्टफुट्ट मात्र प्रतियोगिता हुँदा अन्तर्राष्ट्रिय प्रतियोगतामा सहभागिता पनि सीमित छ । सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेपछि नेपालले बंगलादेशमा गएर दुई पटक बंगबन्धु कवड्डी प्रतियोगिता खेलेको छ । त्यसअघि नेपालले २०१६ मा भारतमा १२ औं साग र २०१८ मा इन्डोनेसिया १८औं एसियाड खेलेको थियो ।

अहिले राष्ट्रपति रनिङ शिल्डमा पनि कबड्डी समावेश छ । तर, यो खेल र खेलाडीको चर्चा खासै हुन सकेको छैन ।

कवड्डीको संघको अध्यक्ष तुल्सी थापा हुन् । जो नेकपा एमालेको तर्फबाट संघीय सांसद हुन् । २०३४ सालमा संघ स्थापना भए पनि यसले संरचनात्मक रुपमा प्रभावशाली योजना कार्यान्वयन गर्न सकेको छैन ।

महासचिव विनोद प्रजापतिले नेपालमा पनि प्रो कवड्डी लिग जस्तै प्रतियोगिता गर्ने तयारी संघले गरिरहेको बताए । ‘नेपालमा पनि प्रो कबड्डी जस्तै प्रतियोगिता गर्ने हाम्रो योजना छ । तर त्यसका लागि धेरै कुरा गर्नुपर्नेछ,’ प्रजापतिले भने, ‘प्रायोजकहरुसँग कुरा भइरहेको छ । त्यसमा कुरा मिलेपछि छिट्टै घोषणा गर्नेछौं ।’

अहिले कबड्डी संघ १५ जिल्लामा विस्तारित छ । नयाँ खेलकुद ऐन अनुसार विधान संशोधन गरेपछि कम्तिमा ४० जिल्लामा कबड्डी संघ हुने प्रजापतिले बताए । नयाँ ऐनअनुसार सबै प्रदेशमा संघको विस्तार गर्नु अनिवार्य छ । एउटा प्रदेश संघ बनाउन कम्तिमा ५ जिल्ला संघ हुनुपर्नेछ ।

कबड्डीका पुराना प्रशिक्षक सेवानिवृत्त भइसकेकोले अब नयाँ प्रशिक्षकको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रजापतिले बताए ।

स्थानीय तहदेखि कवड्डी खेलिने भए पनि यो खेल अहिलेसम्म ओलम्पिक खेल बनिसकेको छैन । सन् १९३६ मा जर्मनीको बर्लिनमा भएको ओलम्पिकमा कवड्डीलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो ।

यस्तै सन् १९५१ मा भएको पहिलो एसियाली खेलकुदमा प्रदर्शनी खेलको रुपमा समावेश कवड्डी सन् १९९० देखि आधिकारिक खेलका रुपमा समावेश छ ।

सन् २००४ मा अन्तर्राष्ट्रिय कवड्डी महासंघ स्थापना भएपछि कबड्डीलाई ओलम्पिक खेलको रुपमा विकास गर्ने लक्ष्य छ । २००४ यता कबड्डीको तीन वटा विश्वकप आयोजना भइसकेको छ र तीनै पटक भारत विजेता बनेको छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?