+
+

‘सधैं जलाउँछु-मार्छु भन्थ्यो, पापीले जलाएरै छाड्यो’

आगोको लप्कामा परेपछि प्रमिला चिच्याउन थालिन् । आमा ब्युँझिइन् । आगो निभाउने पानी लिन बाहिर निस्किन खोजिन् तर कोठा बाहिरबाट बन्द थियो ।

अंगद सिंह अंगद सिंह
२०७९ साउन २४ गते २०:३१

२४ साउन, काठमाडौं । कीर्तिपुर अस्पतालको बर्नवार्ड । बेड नम्बर ४०७ । लमतन्न छिन् महोत्तरी भंगाहाकी प्रमिला देवी सदा (३५) । उनको शरीरभरि सेतो पट्टी बाँधिएको छ । पीडा बढ्दा छटपटिन खोज्छिन् । ७० प्रतिशत जलेको शरीर, छटपटिन पनि कहाँ मिल्छ र ? पीडा व्यक्त गर्ने एक मात्रै माध्यम छ उनीसँग, लामो-लामो सुस्केरा र ऐया ! ऐया !! आवाजसँगै बगिरहने आँसु ।

शरीर मात्रै जलेको छैन, उनको मनसमेत जलेको छ । तन र मन दुवै जलाएर बेपत्ता छन् उनले सर्बस्व सुम्पिएका श्रीमान् शंकर सदा । शंकरले श्रीमती प्रमिलालाई मात्रै होइन, सासू रेशमा (६५)लाई पनि आगोले जलाएका छन् । आमा-छोरी दुवै कीर्तिपुर अस्पतालको बर्न वार्डमा उपचाररत छन् । ‘सधैं मार्छु-जलाउँँछु त भन्थ्यो, पापीले आखिर जलाएरै छोड्यो, मर्नु न बाँच्नु बनाएर गयो,’ प्रमिलाकी आमा रेशमाले भनिन् ।

छोरी प्रमिलाको तुलनामा आमा रेशमाको शरीर कम जलेको छ । उनी यताउता हिँडडुल गर्न र कुराकानी गर्न सक्छिन् । उनीहरूको उपचारमा संलग्न चिकित्सक डा. विनोद लामाका अनुुसार प्रमिलाको ७० प्रतिशत र उनकी आमा रेशमाको १० प्रतिशत शरीर जलेको छ ।

शनिबारको त्यो त्रासदीपूर्ण रात

शंकर पछिल्लो एक वर्षदेखि श्रीमती प्रमिलासँगै ससुरालीमा बस्दै आएका थिए । घरायसी विवादका कारण उनीहरूबीच बेला-बेला झगडा परिरहन्थ्यो । रेशमाका अनुसार जाँडरक्सी खाएर मातेपछि शंकरले प्रमिलालाई ‘तँलाई मार्छु, आगो लगाइदिन्छु’ भन्थे । तर उनले नशाको तालमा भनेका होलान्, त्यस्तो नीच हर्कत गर्दैनन् होला भन्ने लाग्थ्यो रेशमालाई तर शनिबार नहुनुपर्ने भइदियो ।

सदाझैं बेलुकाको खाना खाएर सुतिरहेका थिए प्रमिला र उनकी आमा रेशमा । सानो कच्ची घरको एउटै कोठाभित्र खाटमा प्रमिला र भुईंमा रेशमा सुतेका थिए ।

शंकर सो दिन पनि रक्सीले मातेका थिए । राति करिब ११ बजेतिर उनले श्रीमती प्रमिलाको शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिए र कोठाको ढोका बाहिरबाट बन्द गरेर फरार भए ।

आगोको लप्कामा परेपछि प्रमिला चिच्याउन थालिन् । आमा ब्युँझिइन् । छोरीको शरीरमा आगो दन्किएको देखिन् । कोठाभित्र भएका लत्ताकपडा प्रयोग गरेर आगो निभाउने कोसिस गरिन् । पानी लिन बाहिर निस्किन खोजिन् तर कोठा बाहिरबाट बन्द थियो । छोरीलाई जोगाउने कोसिस गर्दागर्दै उनी आफैं पनि जलिन् । बन्द कोठाभित्र दन्किएको आगोको अगाडि उनको केही सिप लागेन । त्यो झुपडीभित्रको कोलाहल र चिच्याहट छिमेकीले थाहा पाए र ढोका खोलेर आमा-छोरीको उद्धार गरे ।

प्रमिलाकी आमा रेशमा ।

‘दिनभर काम गरेर थाकेकी थिएँ शरीरमा मट्टीतेल परेको थाहा नै पाइनँ, बाहिर जाउँ भने ढोका बन्द थियो, आगो निभाउँ भने न कपडा सद्दे थिए, न पानी,’ रेशमाले शनिबार मध्यरातको त्यो त्रासदी सम्झिइन् ।

छिमेकीहरूले उद्धार गर्दा प्रमिला बेहोस् थिइन् । उनको शरीरको अधिकांश भाग जलेको थियो भने रेशमाको पिठ्युँ र दाहिने हात जलेको थियो ।

प्रमिलालाई आफन्तहरूले जनकपुर प्रादेशिक अस्पताल पुर्‍याए । त्यहाँका डाक्टरले काठमाडौं लैजान सुझाए । तर, घरको आर्थिक अवस्था नाजुक भएकाले आफ्नै खर्चमा उपचार गराउन सक्ने अवस्था थिएन । त्यसैले बर्न भ्वाइलेन्स सर्भाइबर्स (बीभीएस) संस्थाको सहयोगमा उनीहरुलाई उपचार गर्न काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । आईसीयूमा राखेर प्रमिलाको उपचार थालियो ।

डा. लामाका अनुसार प्रमिलाको स्वास्थ्य अवस्था गम्भीर छ । उनको स्वास्थ्यबारे अहिल्यै केही भन्न सकिने अवस्था छैन । तर उनकी आमा रेशमाको जलेको घाउमा मल्हमपट्टी लगाए पनि उनलाई भने वार्डमा भर्ना गरिएको छैन । तर जलेको घाउमा इन्फेक्सन बढेमा कुनै पनि बेला भर्ना गर्नुपर्ने अवस्था आउनसक्ने डा. लामा बताउँछन् ।

प्रमिला घरेलु हिंसामा परेको यो पहिलो घटना होइन । श्रीमानले कुटपिट गरेको भन्दै यसअघि प्रमिला र उनका माइती पक्षका अभिभावक प्रहरीकोमा पुगेका थिए । तर सुरुमा प्रहरीले उनीहरु बीचको विवाद साम्य पारेको थियो ।

महोत्तरी प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले शंकरको ज्यादतीको रिपोर्ट पहिले पनि आफूहरुकहाँ आएको र अहिलेको घटना घरायसी विवादकै कारण भएको बताए । ‘प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीलाई शंकाको दृष्टिले हेर्दा पछिल्लो घटना भएको देखिन्छ,’ उनले भने ।

प्रहरी भने घटना भएकै दिन शंकर भागेर भारत पुगेको जानकारीमा आएको र उनलाई खोजिरहेको बताउँछ । ‘घटनाबारे तीन घण्टा ढिलो जानकारी हुँदा उसले भाग्ने मौका पायो । तर हामी उसलाई ट्रयाक गरेर खोजिरहेका छौं,’ महोत्तरीका प्रहरी प्रमुख पंगेनीले भने ।

कारण शंका

रेशमाका अनुसार प्रमिला र शंकरको मागी बिहे भएको थियो । घर खर्च चलाउन शंकर रोजगारीको सिलसिलामा केही वर्ष कुवेत बसे । उनले पठाइदिएको पैसाले प्रमिलाले तीनकोठे घर बनाइन् ।

त्यतिन्जेलसम्म सम्बन्ध ठिकै थियो । विदेशबाट फर्किएपछि शंकरले आफूले पठाइदिएको पैसाको हिसाब माग्न थाले । ‘रक्सीले मातेर घर आउने र मैले कमाएको पैसा कहाँ खर्च गरिस् ? मेरो पैसा दे, भन्दै कुटपिट गर्न थाल्यो’ रेशमा भन्छिन्, ‘छोरीले घर बनाएँ, तीन छोरा-छोरीको लालनपालन गरें भन्थी । तर उसले (शंकरले) शंका गर्थ्यो ।’

अहिले छोरीको यो हालत बनाउने शंकरलाई छिटो प्रहरीले पक्रियोस् र हदैसम्मको कारबाही गरोस् भन्ने लागेको छ रेशमालाई ।

रेशमा बेलाबेला आईसीयू कक्षमा पुगेर छोरीको अवस्था नियाल्छिन् । उनलाई आफ्नोभन्दा बढी चिन्ता छोरीको छ । किनकि उनी आमा हुन् । आफूले जति नै दुःखकष्ट भोगे पनि आफ्नो सन्तानको अगाडि आफ्नो पीडाको पहाड आमालाई सानै लाग्छ । ‘छोरी हो, मनले मान्दैन’ रेशमा आफ्नो जलनको पीडा लुकाउन खोज्छिन्, ‘म जलेकोमा कुनै परवाह छैन, छोरी निको भएको देख्नु छ बस् ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?