+
+

चुनाव लडेर नथाक्ने नेताहरू, जो सातौं पटक उम्मेदवार बन्ने बाटोमा

सइन्द्र राई सइन्द्र राई
२०७९ साउन २४ गते २१:०६

२४ साउन, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव आगामी ४ मंसिरमा घोषणा भएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा सिट बाँडफाँटको गृहकार्य नै सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा उत्रिने लगभग पक्का जस्तो छ । गठबन्धनविरुद्ध हुने चुनावी प्रतिस्पर्धाको तयारीमा एमाले नेता–कार्यकर्ता जुटिसकेका छन् ।

सिट बाँडफाँट गृहकार्य सुुरु भएकाले आफ्नो निर्वाचन क्षेत्र निश्चित गर्न सबैजसो पार्टीकमा नेताहरुको दौडधुप पनि बढेको छ । तर केही यस्ता नेताहरू छन्, जसले टिकट पाउने लगभग निश्चित छ भने बहुदल स्थापना भएपछिको सबै (सातैवटा) चुनावमा उम्मेदवार बनेर कीर्तिमान राख्नेछन् ।

यस्तो कीर्तिमान बनाउनेमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अग्रपंक्तिमा छन् । पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा २०४८ साल यताका सबै चुनावमा डडेलधुराबाट उम्मेदवार बनेका छन् र जितेका पनि छन् । र यसपटक पनि जितेर सातौं पटक आमचुनाव जितेको कीर्तिमान बनाउन चाहन्छन् ।

०७४ को चुनावमा वाम गठबन्धन हुँदा पनि देउवाले माओवादी केन्द्रका नेता खगराज भट्टलाई पराजित गरेका थिए । माओवादीको लहर चलेको ०६४ को पहिलो संविधानसभा चुनावदेखि देउवाले खगराजलाई लगातार तेस्रो पटक पराजित गरे । यसपटक गठबन्धनको लाभ लिएर कुनैपनि संसदीय चुनाव नहारेको र सबै चुनावमा भाग लिएको कीर्तिमान बनाउनेछन् ।

कांग्रेसमा धेरै

३१ वर्षदेखि चुनावमा टिकट पाउने र प्रतिस्पर्धामा गर्ने सूचीमा कांग्रेसकै नेताहरु धेरै छन् । देउवाजस्तै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमेश रिजाल, दीपकुमार उपाध्याय, रामशरण महत र विजयकुमार गच्छदारले लगातार ६ वटै चुनाव लडिसकेका छन् ।

चुनाव लड्ने र सबै चुनाव जित्ने नेता देउवापछि गच्छदार हुन् । ०४८, ०५१, ०५६ र ०७४ मा उनी सुनसरी–३ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेर जिते । ०६४ मा मधेशी जनाधिकार फोरम र ०७० मा मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जिते ।

मधेश आन्दोलनपछि क्षेत्रीय राजनीतिमा लागेका गच्छदार कांग्रेसमै फर्किएर ०७४ को चुनाव जिते । वाम गठबन्धनका उम्मेदवार भगवती चौधरीलाई २२१ मतान्तरले पराजित गरेका थिए । गच्छदारले ३८,९७२ मत ल्याउँदा चौधरीले ३८,७५१ मत पाएकी थिइन् । यसपटक पनि उनी उम्मेदवार बन्ने सम्भावना छ ।

विजयकुमार गच्छदार

देउवाकै समकालीन रामचन्द्र पौडेल पनि लगातार चुनाव लड्दै आएका नेता हुन् । प्रतिस्पर्धा गरेको ६ मध्ये ५ पटक उनले चुनाव जिते । तर ०७४ को चुनावमा एमालेका कृष्णकुमार श्रेष्ठसँग तनहुँ–१ बाट पौडेल पराजित भए । उनी २०४८ र ०७४ मा क्षेत्र नम्बर १ र ०५१, ०५६, ०६४ र ०७० को चुनाव तनहुँ–२ बाट निर्वाचित भए । यसपटक उम्मेदवार बन्दा आम चुनावमा सातौं प्रतिस्पर्धा हुनेछ ।

पञ्चायतपछि ६ वटा आम चुनाव हुँदा सातौं पटक उम्मेदवार बनिसकेका नेता हुन्, कृष्णप्रसाद सिटौला । ०४८ को चुनावमा एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भएपनि उपनिर्वाचनमा उनी निर्वाचित भए । क्षेत्रीको निधन भएकाले उपनिर्वाचन भएको थियो ।

त्यसपछि ०५१, ०५६, ०६४ र ०७४ मा पनि पराजित भए । ०७० को संविधानसभा निर्वाचनमा भने राप्रपाका राजेन्द्र लिङ्देनलाई हराएर जिते । ०७४ मा फेरि तिनै लिङ्देनसँग झापा–३ मा सिटौला पराजित भए ।

कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसी पनि लगातार चुनाव लड्ने नेतामा पर्छन् । ०४८ देखि चुनाव लड्दै आएका केसी ०७४ को चुनावमा एमालेका नारायण खतिवडासँग पराजित भएका थिए । उनी ०४८, ०५१, ०७० मा विजयी भए भने ०५६, ०६४ र ०७४ मा पराजित भए ।

केसीले नुवाकोटको तीन वटै क्षेत्रबाट फेरिफेरि उम्मेदवारी दिएका थिए । नुवाकोट–१ (०७० मा), निर्वाचन क्षेत्र २ बाट (०७४ मा) र बाँकी चुनाव निर्वाचन क्षेत्र ३ बाट लडे ।

कुनैबेला कांग्रेसकै नेतृत्वका रुपमा हेरिएका बलबहादुर केसी पनि लगातार चुनाव लड्ने नेता हुन् । ०६४ र ०७४ मा माओवादी उम्मेदवारसँग पराजित केसीले बाँकी चुनाव जितेका छन् ।

कुनैपनि चुनाव नछोड्ने नेताको सूचीमा रमेश रिजाल पनि छन् । पर्सा–४ रिजालको कब्जा नै बनेको छ । ०४८, ०५१ र ६४ मा जितेका रिजाल ०५६, ०७० र ०७४ मा पराजित भए ।

कांग्रेसमा सदाबहार अर्थमन्त्री भनेर चिनिएका डा. रामशरण महत पनि धेरै चुनाव लड्ने नेता हुन् । ०४८ देखि भएका सबै चुनावमा महत उम्मेदवार छन् । नुवाकोट–१ बाट ०४८ र ०७४ को चुनाव हारेका महतले नुवाकोट–२ बाँकी सबै चुनाव जिते ।

सदाबहार उम्मेदवार बन्ने नेतामा पूर्वराजदूत दीपकुमार उपाध्याय पनि हुन् । कपिलवस्तु–१ बाट ०७४ को चुनाव माओवादी केन्द्रका नेता बलदेव खनालसँग पराजित भए । यसपटक चुनावी प्रतिस्पर्धा गरे उनको सातौं पटक हुनेछ ।

एमालेमा ओली, गुरुङ र श्रेष्ठ

बहुदल आएपछि कुनै चुनाव नछोड्ने नेताको अग्रपंक्तिमै छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । ०४८ यता कुनैपनि चुनाव नछोडेका ओली ०६४ मा भने माओवादी उम्मेदवारसँग परााजित भए । बाँकी चुनाव भने ओलीले जितेका छन् । यसपटक उम्मेदवार बन्दा ओली सातौं प्रतिस्पर्धामा हुनेछन् ।

केपी शर्मा ओली

ओलीजस्तै लगातार चुनावमा भाग लिने झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र झा र राजेन्द्र पाण्डेले एमाले छोडिसकेका छन् । अहिले एमालेमै रहेकामध्ये पृथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठ धेरै चुनाव लड्ने नेता हुन् ।

कृष्णगोपाल श्रेष्ठ त कांग्रेसका कृष्णप्रसाद सिटौला जस्तै हुन् । उनी ६ वटा संसदीय चुनाव हुँदा सात चोटी उम्मेदवार बने । ०७४ को चुनावमा काठमाडौं–९ बाट निर्वाचित भएका श्रेष्ठ ०५१ मा काठमाडौं–५ बाट जिते । ०५६, ०६४ र ०७० को चुनावमा भने उनी काठमाडौं–९ बाट लगातार पराजित भए ।

काठमाडौं–१ र ५ बाट २०४८ को चुनाव जितेका मदन भण्डारीको मृत्यु पछि काठमाडौं–५ को उपनिर्वाचन श्रेष्ठ उम्मेदवार बनेका थिए । त्यसबेला उनी निर्वाचित भएपनि ०७० को एउटै चुनावमा उनी दुई पटक पराजित भए । काठमाडौं–९ बाट पराजित श्रेष्ठ काठमाडौं–२ मा भएको उपनिर्वाचनमा पनि उम्मेदवार बने । माधव नेपालले छाडेको क्षेत्रमा चुनाव लडेपनि श्रेष्ठ पराजित भए ।

लगातार चुनाव लड्नेमा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि हुन् । ०६४ बाहेक सबै चुनाव हारेका गुरुङ ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भए । माओवादी केन्द्रसँग तालमेल भएको उक्त चुनावपछि गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने ।

जसले एमाले छाडे, तर निरन्तर प्रतिस्पर्धी 

एमाले छोडेका झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र झा र राजेन्द्र पाण्डेले पनि ०४८ यताका सबै चुनाव लडेका छन् । गएको वर्ष एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता खनाल ०५६ बाहेक सबै चुनाव जित्ने नेतामा पर्छन् । इलाम–१ पूर्वप्रधानमन्त्री खनालका निम्ति खल्तीकै निर्वाचन क्षेत्र हो ।

एमाले छाडेका अर्का नेता वामदेव गौतम पनि सबै चुनाव लड्ने नेता हुन् । वाम लहर चलेको ०७४ को चुनावमै बर्दिया–१ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित बामदेवले केही समय अगाडि मात्रै आफ्नै नेतृत्वमा पार्टी बनाएका छन् ।

७४ वर्षका नेता गौतमले ०४८, ०५१ र ०७० को चुनाव एमालेबाट जिते भने पार्टी विभाजनपछि ०५६ मा नेकपा मालेबाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । ०७० को चुनावमा भने उनी बर्दिया–१ सँगै प्यूठान–१ बाट पनि जितेका थिए ।

पछिल्लो समय पार्टी फेर्दै हिँडेका रामचन्द्र झा पनि लगातार चुनाव लड्ने नेता हुन् । ०४८, ०५१, ०५६ र ०६४ को चुनाव एमालेबाट लडेका झा त्यसपछि भने माओवादी, नयाँ शक्ति, नेकपा, माओवादी हुँदै अहिले एकीकृत समाजवादीका नेता छन् ।

रामचन्द्र झा

०७४ को चुनावमा माओवादीका उम्मेदवार बनेका झा संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए । माओवादी केन्द्रबाट उम्मेदवारी दिँदा ०७० को चुनावमा पनि पराजित भएका थिए । त्यसअघि एमाले उम्मेदवारका रुपमा झाले ०५१ र ०६४ को चुनाव जिते भने २०४८ र ०५६ मा पराजित भए ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि लगातार चुनाव लड्ने नेता हुन् । ०४८ यताको सबै चुनावमा भाग लिएका पाण्डे ०७४ को चुनावमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

०६४ को चुनावबाहेक सधैं चुनाव जित्ने नेतामा पर्छन्, पाण्डे । धादिङ–३ बाट ०४८, ०५१, ०५६ र ०७० को चुनाव जिते । ०६४ मा भने माओवादीका शालिकराम जमकट्टेलसँग पराजित भएका थिए । अहिले पाण्डे र जमकट्टेल दुवै जना प्रदेश सांसद छन् ।

ठाकुर, महतो र शुक्लहरु

प्रतिनिधिसभाकै जेष्ठ सदस्य महन्थ ठाकुर बहुदलीय लोकतन्त्रको उच्चतम उपयोग गर्ने नेताहरुकै लाइनमा छन् । ०७४ को निर्वाचन महोत्तरी–३ बाट जितेका ठाकुरले तीन पटक कांग्रेसबाट जिते । मधेश आन्दोलनपछि तराइ मधेश लोकतान्त्रिक पार्टी बनाएका ठाकुरले ०६४ र ०७० को चुनावमा भने पराजित भए ।

मधेशको एजेण्डामा आधारित राजनीति गर्ने राजेन्द्र महतो पनि लगातार चुनाव लड्दै आएका छन् । यसपटक उम्मेदवार बन्दा उनी सातौं पटक चुनावी मैदानमा हुनेछन् ।

नेपाल सद्भावना पार्टीबाट ०४८ र ०५१ मा सर्लाही–२ बाट निर्वाचित महतो ०५६, ०६४ र ०७४ मा भने विजयी भए । ०७० मा महिन्द्रराय यादवसँग पराजित भएका थिए । ०७४ मा महतो धनुषा–३ बाट उम्मेदवार थिए ।

सर्वेन्द्रनाथ शुक्ल, हृदयेश त्रिपाठी, पशुपतिशमशेर जबरा र दीपक बोहराले पनि लगातार छैटौं पटक चुनावी प्रतिपस्पर्धा गरिसकेका छन् । शुक्ल र त्रिपाठीले मधेशको एजेण्डा उठाएर निरन्तर उम्मेदवारी दिँदै आएका छन् भने जबरा र बोहरा पूर्वपञ्च हुन् ।

पशुपतिशम्शेर जबरा

०४८ को चुनावपछि संसदीय अभ्यासमा रहेको कांग्रेस, एमाले, राप्रपा र मधेश केन्द्रित दलहरुमा अरु पनि थुप्रै नेता छन्, जो पार्टीभित्र निर्विकल्प उम्मेदवार बन्दै आएका छन् । तर प्राविधिक कारणले मात्रै ती नेताहरुको उम्मेदवारी संख्या सात पटक पुगेको छैन, केही चुनाव गुमाएका छन् ।

जस्तो– माधव नेपाल । लामो समय एमालेको नेतृत्व गरेका माधव नेपाल ०५६ पछि मात्रै उम्मेदवार बने । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल त्यसअघि राष्ट्रियसभा सदस्य थिए ।

पछ्याउँदै माओवादीहरू

२०४८ सालको चुनावमा भाग लिए त्यसपछिका तीन चुनावबाट अलग भएका माओवादी केन्द्रका नेताहरु पनि पुराना संसदीय पार्टीकै बाटोमा छन् । ०४८ कै चुनाव जितेका कृष्णबहादुर महराले रोल्पा–१, २ र दाङ–३ गरी ०६४ पछिका चुनाव लगातार जितेका छन् ।

महरा जस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भर्खरै नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई पनि निर्वाचन क्षेत्र फेर्दै लगातार सांसद निर्वाचित भएका छन् । अग्नि सापकोटा, हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्माहरु पनि आफ्नो क्षेत्रको निविर्कल्प उम्मेदवार बन्दै गएका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?