+
+

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

उपकरण जडान र कार्यालयहरु स्थापना हुँदै

भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन २५ गते १९:२५

२५ साउन, काठमाडौं । भैरहवाको गौतमवुद्ध विमानस्थलपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा छ ।

भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।

नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताए ।

‘हामीले १ जनवरीमै किन भन्यौं भने नियमित फ्लाइटअघि निश्चित प्राविधिक पक्ष हुन्छन् । क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने, त्यो गरेपछि निश्चित महिनापछि मात्र फ्लाइट गर्नुपर्ने यस्ता आधार रहेछ, त्यसैले सबै कुरा मिलाउनुपर्छ’ उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको एक समितिले विमानस्थलको संगठन संरचनाको काम गरिरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

अहिले सञ्चालनमा रहेको पोखरा विमानस्थलका कर्मचारीलाई समेत नयाँ विमानस्थलमा सारिने छ । ‘कति कर्मचारी नयाँ विमानस्थलमा सार्ने र कसरी उडानलाई नियमित गर्ने भन्ने विषयमा अझै मिहिन छलफलमै छौं’ पोखरा विमानस्थलका प्रमुख तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख बिक्रम गौतमले भने ।

पोखरा विमानस्थल निर्माण सुरु हुँदै गर्दा स्वदेशी वायु सेवा कम्पनी वुद्ध एयरले २५ माघ २०७८ मा विमानस्थल सञ्चालनमा आएपछि ५ वटा जहाज पोखरामा राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । त्यसबाहेक अरु विमान कम्पनीले अहिलेसम्म यस्ता घोषणा गरेका छैनन् ।

तर विमानस्थल सञ्चालनमा आउने समयसम्म वायुसेवा कम्पनीहरु पनि उडान भर्न तयार हुने नागरिक उड्डयन प्राधिकरणको विश्वास छ ।

चिनियाँ लगानीमा चिनियाँ निर्माण कम्पनीले नै बनाएको यो विमानस्थलमा चिनियाँ वायु सेवा कम्पनीले नै उडान सुरु गर्ने अपेक्षा नागरिक उड्डयन प्राधिकरणको छ । ‘पोखरा चिनियाँ पर्यटकले रुचाउने प्रकृतिको गन्तव्य हो’, प्राधिकरणका प्रवक्ता निरौला भन्छन्, ‘त्यसकारण पोखरा विमानस्थललाई बढी ट्राफिक चिनियाँ वायुसेवा कम्पनीबाटै आउने अपेक्षा गरिएको छ ।’

पोखरा विमानस्थलको धावनमार्ग ।

गत वर्ष भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै गर्दा त्यहाँको व्यवसायिक उडान गर्न कुनै कम्पनीले इच्छा देखाएको थिएन । तर विमानस्थल उद्घाटन भएदेखि नै जजिरा एयरवेजले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । त्यसैले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले अहिले सजिलै ट्राफिक पाउने अपेक्षा प्राधिकरणले गरेको हो ।

२५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा राष्ट्रिय अन्तर्राष्ट्रिय एप्रोन, ह्यांगर, आइसोलेटेड पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवनसहित एटीसी टावर तयार भइसकेको छ ।

यो विमानस्थलमा अहिले नेपाल एयरलाइन्ससँग रहेको ए ३३० न्यारोबडी क्षमताका जहाजहरु उडान–अवतरण गर्न सक्छन् । अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले सोही मापदण्ड अनुसारको फायर फाइटिङ र रेस्क्यू सेवा समेत यहाँ उपलब्ध हुनेछ ।

यसै साता पोखरामा तयारी बैठक

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विमानस्थलभित्र दर्जनौं निकायको उपस्थिति आवश्यक पर्छ । नागरिक उड्डयन प्राधिकरणको कार्यालयसँगै गृह मन्त्रालय मातहतको अध्यागमन विभाग, अर्थ मन्त्रालय मातहतको भन्सार विभाग पनि अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नुपर्छ । गृह र रक्षा मन्त्रालय मातहतका सुरक्षा निकायले समेत विमानस्थलमा आफ्नो युनिट राख्नुपर्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपालआयल निगमले इन्धन भर्न विमानस्थलभित्र डिपो स्थापना गर्नुपर्छ । यसबाहेक वायुसेवा कम्पनीका कार्यालयहरु विमानस्थलमा रहन्छन् ।

यी सबै सरोकारवालाको बैठक यसैसाता पोखरा विमानस्थलमा बस्दैछ । प्रवक्ता निरौलाका अनुसार सोही बैठकबाट प्राधिकरणले सरोकारवालालाई आफ्नो युनिटहरु स्थापना गर्न आह्वान गर्नेछ । ‘सबै निकाय उत्तिकै तयारीमा हुनुहुन्छ’, उनले भने, ‘सरोकारवालाको बैठकबाट हामी औपचारिक रुपमा आह्वान गर्छौं ।’

अक्टोबरपछि वायुसेवा कम्पनीलाई आह्वान

नयाँ विमानस्थल भएका कारण पोखरामा पहिले परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्नुपर्छ । सो परीक्षण उडानबाट प्राप्त प्रतिवेदनपछि विमानस्थल उडानयोग्य भएको वा नभएको यकिन हुन्छ ।

त्यसपछि प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई उडानका लागि आह्वान गर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए । आगामी अक्टोबरभित्र परीक्षण उडान सकेर वायुसेवा कम्पनीहरुलाई आह्वान गरिसक्ने उनको भनाइ छ ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पर्यटनमन्त्री श्रेष्ठले पनि क्यालिब्रेसन फ्लाइटपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्ने बताए । ‘सञ्चालनको सुनिश्चित नगरी फ्लाइटहरुसँग कुरा गर्ने र उनीहरुले पनि इच्छा व्यक्त गर्ने कुरा रहँदैन, त्यसैले क्रमैसँग इच्छुक एयरलाइन्सले कुराकानी अगाडि बढाउँछन्’ उनले भने ।

साढे ५ वर्षमा तयार

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच ८ जेठ २०७१ मा ठेक्का सम्झौता भएको थियो । १ वैशाख २०७३ सालमा शिलान्यास भएको विमानस्थल निर्माणका लागि एक्जिम बैंकले १७ जेठ २०७४ देखि ऋण प्रवाह थालेपछि २७ असार २०७४ देखि काम सुरु भको थियो । चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिुङले निर्माण सुरु गरेको करिब ५ वर्षमा सम्पन्न गरेको हो ।

२६ असोज २०७८ मा सकिनुपर्ने यो विमानस्थल निर्माणको काम कोरोना महामारीका बेला चिनियाँ कामदार चीनमै रोकिएको र उपकरण ढुवानीमा ढिलाइ भएको कारण देखाएर एक वर्ष पर ढिला सकिएको हो । १२ चैत २०७८ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसरमा निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल हस्तान्तरण गरिसकेको छ ।

यो विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१ करोड २९ लाख अमेरिकी डलर (२७ अर्ब १४ करोड रुपैयाँ) ऋण लिएको छ । २१ मार्च २०१६ अर्थात् ८ चैत २०७२ मा भएको ऋण सम्झौता अनुसार ऋण लिएको २० वर्षभित्र तिरिसक्नुपर्नेछ ।

ऋण सम्झौता भएको ७ वर्षसम्मलाई ग्रेस पिरियड मानिएको छ र त्यसपछि मात्र नेपालले ऋण तिर्नुपर्नेछ । ऋण सम्झौता भएको आगामी चैतमा ७ वर्ष पूरा हुनेछ । त्यसपछि भने नेपालले वर्षको दुई किस्ता गरी १३ वर्षमा २६ किस्ता गरी ऋण तिर्नुपर्नेछ ।

सम्झौता अनुसार कुल ऋणको २५ प्रतिशतको व्याज भने चीन सरकारले नेपाललाई अनुदान दिएको छ । बाँकी ७५ प्रतिशत ऋणको साँवा र त्यसको २ प्रतिशत ब्याज एक्जिम बैंकलाई तिर्नुपर्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?