
२६ साउन, काठमाडौं । प्रदिप हुमागाईं राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले आगामी असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हुमागाईंलाई कार्यवाहक प्रशिक्षक तय गरेको एन्फाका एक सदस्यले जानकारी दिए ।
नेपालले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल बिदामा आफ्नै देश कुवेतमा रहेकोले एन्फा कार्यसमिति बैठकले कार्यवाहक तोकेको हो ।
एकदशक अघि थ्री स्टारबाट प्रशिक्षकको रुपमा ए डिभिजन लिग जितेका हुमागाईं हाल अमेरिकामा छन् र विभिन्न एकेडेमीमा प्रशिक्षण दिँदै आएका छन् ।
गत जुनमा कुवेतमै भएको एएफसी एसियन कप छनोटका क्रममा मैदानमै ढलेका उनी तीन महिनाका लागि बिरामी बिदामा बसेका थिए ।
कुवेतमै रहँदा उनले मैत्रीपूर्ण खेलका लागि भन्दै २६ खेलाडीको सूची एन्फामा पठाएका थिए । तर केही दिनअघि एन्फाले अल्मुताइरीलाई पठाएको पत्रको जवाफ नआएको भन्ने खबर सार्वजनिक भएपछि अल्मुताइरीले आफूले पत्र नै नपाएको र के जवाफ दिने भन्ने आशयसहित कडा स्ट्याटस लेखेका थिए ।
उनले एन्फाको पत्रकार बारेमा आफूले कानूनी सल्लाहकारसँग छलफल पनि गररिरहेको बताएका थिए । त्यसैले तत्काल अलमुताइरी नेपाल आउनेमा आशंका रहेकाले एन्फाले उनको विकल्पमा कार्यवाहक खोजेको हो ।
खेलाडी र प्रशिक्षकको विवादबारे छानबिन गरेको समितिले एसियन कप छनोटपछि अल्मुताइरीको विकल्प सोच्न सुझावसहितको प्रतिवेदन एन्फामा बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4