
काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यसअघि धीरज मगर र अदिती बुढाथोकीलाई मात्र पोस्टरमा समेटिएको थियो । बिहीबार सार्वजनिक नयाँ पोस्टरमा डेब्यु अभिनेता धीरज नाडकर पनि अटाएका छन् । उनी अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।
तृप्तिले कुनैबेलाका हिट फिल्महरु सम्झना, कुसुमे रुमाल, साइनो, लाहुरे, कोसेली, कुसुमे रुमाल २ मा अभिनय गरेकी छन् । उनका सुपुत्र धीरजको यो डेब्यु नेपाली फिल्म हो ।
सार्वजनिक पोस्टरमा धीरज मगर, अदिती र धीरज नाडकरको मित्रता झल्किएको छ । तेस्रो पोस्टरमा नाडकर र अदिती रोमान्टिक बनेको र धीरज मगरलाई रोमान्टिक देख्न सकिन्छ ।
फिल्मको कथावस्तु त्रिकोणात्मक रहेको अनुमान छ । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङको पनि अभिनय छ ।
भदौ ३१ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर साउन ३० गते रिलिज हुँदैछ । निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।
बाबरी फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता छन् भने सुष्मा गुरुङ सहनिर्मात्री हुन् ।
प्रतिक्रिया 4