+
+

पशुपति क्षेत्रमा जनै फेर्ने र डोरो बाँध्नेहरुको चहलपहल (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ साउन २७ गते १०:३९

२७ साउन, काठमाडौं । आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ ।

आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो जनै हटाएर नयाँ जनै लगाउने तथा नाडीमा डोरो बाँध्ने र बाँधिदिनेहरुको चहलपहल थियो । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।


लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?