+
+

साफ च्याम्पियनसिपमार्फत डेब्यू गर्दै रेफ्री अञ्जना

नमिता दाहाल नमिता दाहाल
२०७९ साउन २८ गते ८:५९

२७ साउन, काठमाडौं । आसन्न साफ महिला च्याम्पियनसिपमा नेपाल टिमबाट कतिपय खेलाडीले अन्तर्राष्ट्रिय डेब्यू गर्नेछन् । यो सूचीमा नेपालबाट खेलाडीमात्र होइन रेफ्रीको पनि डेब्यू हुनेवाला छ ।

फिफा मान्यता पाएपछि सिनियरतर्फको अञ्जना राईले पहिलो खेल खेलाउँदैछिन् । उनको फिफा रेफ्रीका रुपमा मात्र होइन दशरथ रंगशालामै पहिलो अनुभव हुनेछ ।

उदयपुरकी २८ वर्षीया अञ्जनाले स्कुलबाट नै फुटबल सिकेकी हुन् । तर, खेलाडीका रुपमा उनको खास उपलब्धि छैन । विद्यालय, जिल्ला र क्षेत्रीयस्तरसम्म खेलेकी थिइन् । सानै उमेरमा निर्णायक बन्ने सपनाले उनलाई फिफा रेफ्रीसम्मको यात्रामा सहयोग भने गरेको छ ।

२०६९ सालमा आर्मीमा भर्ती भएपछि २०७० देखि त्रिभुवन आर्मी क्लबमा पुगेसँगै उनको सपनाले सार्थकता पाएको हो । उनी खेलाडीका रुपमा आर्मीमा पुगेकी थिइन्, तर उदयपुरको त्रियुगामै रहँदा रेफ्रीको आधारभूत तालिम लिएकी उनलाई आर्मीमा रेफ्री बन्न सजिलो भयो ।

‘एन्फाबाट रेफ्री उत्पादनका एफसीको फेस्टिभल हुन्थ्यो । एउटा अथवा दुईवटा खेल खेलाएपछि राष्ट्रिय रेफ्रीको दर्जा पाइन्थ्यो,’ रेफ्री अञ्जनाले भनिन्, ‘आर्मीको एक वर्षको तालिमपछि मैले रेफ्रीको प्रशिक्षण प्राप्त गरिसकेकोले प्रधानसेनापति कपहरु खेलाउन थालें ।’

२०७१ यता प्रायः घरेलु प्रतियोगितामा उनी राष्ट्रिय रेफ्रीका रुपमा खेल खेलाउँदै आएकी छिन् । सन् २०१६ मा ताजिकिस्तानमा आयोजित एएफसी यू-१४ फेस्टिवलमा उनले पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेलाउन पाएकी हुन् ।

अपजसिलो पेसा

खेलकुदमा सबैभन्दा बढी अपजस आउने पेशा नै निर्णायक/रेफ्रीको हो । विश्व फुटबलमा प्रविधिको उच्चतम प्रयोगले धेरै हदसम्म निष्पक्ष खेलको महशुस गर्न थालिएको छ । तर, नेपालजस्ता देशहरुमा रेफ्रीको निर्णय नै अन्तिम हुने प्रणाली सुधार भइसकेको छैन ।

कहिलेकाहीं मानवीय त्रुटि हुनसक्छ, खेलका क्रममा गरिएको एउटा निर्णयले अर्को पक्षलाई घाटा हुनसक्छ । फुटबलमा आफ्नो कमजोरी लुकाउन टिम व्यवस्थापनले रेफ्रीमाथि दोष थोपरिदिने घटना पनि प्रसस्तै देखिन्छन् ।

‘हामीले बीचमा रहेर निर्णय लिँदा सहायक रेफ्री पनि हुन्छन्, हाम्रो निर्णयमा त्यसैले गल्ती एक जनाबाट होला कि भनेर नै चारजना रेफ्रीले खेल सञ्चालन गर्ने हो,’ अञ्जनाले रेफ्रीको पनि टिम हुने भएकाले निर्णयहरु निष्पक्ष र सन्तुलित हुने बताइन् ।

अविवादित र खेलमा कुनै पनि पक्षलाई असर नपुर्‍याउने तरिकाले निष्पक्ष रहन रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि प्रतियोगिता सुरु हुनुअघि रेफ्रीका लागि विशेष कक्षा सञ्चालन गरिन्छ । त्यसमा हरेक नियम र काइदा उनीहरुलाई सिकाइन्छ । कसरी निर्णय लिने, कार्डको प्रयोग कतिबेला गर्ने, सहायक रेफ्रीसँग कसरी सम्पर्क गर्नेबारे जानकारी दिइन्छ ।

‘हामीले गल्ती गर्नै पाउँदैनौं । हाम्रो निर्णयले दुवै पक्षको हार र जितमा असर नपरोस भनेर सावधान हुन्छौं । यहि सिकेर र सोचेर नै मैदानभित्र छिर्नुपर्छ,’ अञ्जना भन्छिन् ।

खेल अवधिभर दुवै पक्षले जितका लागि प्रयास गर्छ । खेलको अवस्था हेरेर टिमलाई नियन्त्रणमा राख्ने दायित्व रेफ्रीको हो । महिला रेफ्रीका रुपमा उनले धेरै प्रतियोगिता सन्चालन गरेकी छन् । आफ्नो करिअरमा अहिलेसम्म कसैलाई पनि रातो कार्ड देखाउन नपरेकोमा उनलाई सन्तुष्टि छ । ‘मैले आजसम्म कुनै पनि खेलाडीलाई रातो कार्ड दिएकी छैन,’ आफूलाई भाग्यमानी सम्झिँदै उनले भनिन्, ‘अहिलेसम्म मैले सञ्चालन गरेको खेल विवादमा परेको छैन र मैले अपजस लिनु परेको छैन ।’

प्रतियोगिता अनुसार रेफ्रीको नियुक्ति हुन्छ । क्लब प्रतियोगिता छ भने त्यो क्लमा आवद्ध अथवा नजिक रहेको रेफ्रीलाई खेल सञ्चालन गर्न दिइँदैन । रेफ्री निष्पक्ष होस्, भन्ने हेतुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि फरक फरक देशबाट रेफ्रीहरू समावेश हुन्छन् । यस पटकको साफ च्याम्पियनसिपमा माल्दिभ्सबाहेक सबै देशबाट एक जना रेफ्री र एकजना सहायक रेफ्री समावेश हुनेछन् । जसमा दुई देशको खेल हुँदा फरक देशको रेफ्रीले खेल सञ्चालन गर्छन् ।

महिला रेफ्रीलाई अवसर छ

नेपालमा १९ वर्षको उमेरदेखि रेफ्री नै भएर खेल सञ्चालन गराइरहेकी अञ्जना भने नेपालमा महिला रेफ्रीको भविष्य राम्रो देख्छिन् । भन्छिन्, ‘नेपालमा पुरुष रेफ्रीको तुलनामा महिला रेफ्रीको भविष्य छ । थोरै महिला रेफ्री भएका कारण अवसर पनि पाइन्छ ।’

राष्ट्रिय रेफ्री र फिफा रेफ्रीमा फरक

नेपालमा तीन तहका रेफ्री छन्, एन्फा रेफ्री, राष्ट्रिय तहको रेफ्री र फिफा रेफ्री । यी तीन तहका रेफ्रीमा एन्फा रेफ्री र राष्ट्रिय रेफ्रीको छनोट प्रक्रिया एकै खाले हुन्छन् तर परीक्षामा प्रश्न र फिटनेस टेष्टमा समयको पावन्दी फरक हुन्छ ।

पाँच दिनको कक्षा, प्रशिक्षण, परीक्षा र फिटनेस टेष्ट यी प्रक्रिया पास गरी नेपालमा राष्ट्रिय रेफ्री बन्न पाइन्छ ।

फिफा रेफ्री बन्नको लागि भने राष्ट्रिय रेफ्रीमध्येबाट छनोट चरण पार गर्नुपर्छ । नेपालमा फिफाबाट महिलातर्फ एकजना रेफ्री र एक जना सहायक रेफ्रीको कोटा छ । पुरुषमा भने नेपालमा फिफाबाट मान्यता प्राप्त ४ रेफ्री र ६ सहायक रेफ्री छन् । नेपालमा अञ्जना भन्दा अगाडी अस्मिता मानन्धर फिफाबाट मान्यता प्राप्त रेफ्री थिइन् ।

‘म भन्दा अगाडी अस्मिता दिदी हुनुहुन्थ्यो । पूराना रेफ्रीसँग हामीलाई हाम्रो क्षमताका आधारमा फिटनेस टेष्टमा प्रतिस्पर्धा गराइन्छ र यदि पूरानो रेफ्रीको तुलनामा नयाँले टाइमिङमा सुधार गरेमा बल्ल हामी फिफा रेफ्रीमा बढुवा हुन्छौं’, अञ्जनाले भनिन्, ‘राष्ट्रिय रेफ्रीको भन्दा फिफा रेफ्रीको प्रश्नको ढाँचा, फिटनेस टाइमिङ गाह्रो हुन्छ ।’

रेफ्रीको उक्त कोर्सलाई एमए कोर्स भनिन्छ । हरेक वर्ष रेफ्रीको फिटनेस टेष्ट हुन्छ यसमा राम्रो गर्न नसक्नेले अथवा फिटनेस टेष्ट पास गर्न नसक्नेले खेल खेलाउन अनुमति पाउँदैन ।

यसपटक अञ्जनाको लागि दोब्बर खुसीको माहोल हुनेछ । उनी फिफाबाट मान्यताप्राप्त रेफ्री भइसकेपछि उनको यो पहिलो सिनियर अन्तर्राष्ट्रिय खेल हो । अन्जना भन्छिन्, ‘घरेलु मैदानमा हुँदैछ । त्यसमा पनि पहिलो पटक दशरथ रंगशालमा मैले खेल खेलाउन पाउने छु । म निकै खुसी छु, सँगसँगै चुनौती पनि उत्तिकै छ फिफाको मान्यता पाएपछि जिम्मेवारी बढेको अनुभव भइरहेको छ ।’

सहायक रेफ्री राधिका भन्छिन्- करिअर अनिश्चित छ

राधिका शाक्य ।

नेपालबाट फिफा रेफ्रीमा अञ्जनासँगै सहायक रेफ्रीका रुपमा राधिका शाक्यले साफ महिला च्याम्पियनसिपमा प्रतिनिधित्व गर्नेछन् । राधिका सन् २०२२ को जनवरीदेखि फिफा सहायक रेफ्री बनेकी हुन् ।

३० वर्षीया राधिका कुनै पनि विभागीय टोलीमा आबद्ध छैनन् । नियमित प्रतियोगिता हुँदा सहज भए पनि प्रतियोगिता नहुँदा आर्थिक रुपमा कठिनाई हुने उनको अनुभव छ । ‘यसैमा मात्रै लागेर जीवन नै धान्न सक्ने अवस्था चाँही अझै बनी सकेको छैन’, राधिकाले भनिन् ।

राधिका स्थापित फुटबल खेलाडीसमेत हुन् । २०६२ सालदेखि फुटबल सुरु गरेकी उनलाई कुमार थापाले पहिलो प्रशिक्षण दिएका हुन् । काठमाठौंबाट जिल्लास्तरीय, बागमती अञ्चलस्तरीय र राष्ट्रिय प्रतियोगिताहरुको अनुभव उनीसँग छ ।

नियमित प्रतियोगिता हुन छाडेपछि निराश हुँदै फुटबल छाड्ने अवस्थामा पुगेकी उनलाई हाल एन्फा उपाध्यक्ष विराटजंग शाहीले सहयोग गरे ।

उनलाई अहिले पनि पेशा यहि हो भनेर भन्ने अवस्था छैन । आम्दानीको नाममा प्रतियोगिता भएको बेला आउने म्याच फी र फिफाबाट हरेक महिना पाइने १० हजार रुपैयाँ तलव नै हो । यसले उनलाई सामान्य जीवन जिउन पनि पुग्दैन । भन्छिन्, ‘पेशा हो तर कति समय लाग्ने त ? किनभने यसैमा बसेर जीवन धान्ने अवस्था छैन । कि अर्कातर्फ जागिर गर्नुपर्‍यो नत्र नेपालमा महिला रेफ्री मात्रै भएर जीवन नै जिउन पुग्ने भन्ने वातावरण छैन ।’

उनी साइडलाइनमा बस्छिन्, विशेषत उनको जिम्मेवारी अफसाइड हेर्ने हो । यसका लागि फिटनेस अपरिहार्य हुन्छ । फिफाबाट मान्यता प्राप्त भइसकेपछि राधिकाको पनि आसन्न साफ च्याम्पियनसिप अन्तर्राष्ट्रिय रुपमा पहिलो खेल हो । यस अघि उनले १३ औं दक्षिण एसियाली खेलकुद सागमा सहायक रेफ्री बनेर खेल सञ्चालन गरीसकेकी छन् । उनले उमेर समूहको दुई अन्तर्राष्ट्रिय खेलमा सहायक रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन् ।

‘सहायक हुँदा पनि खेलाडीको गुनासो पनि सुन्नुपर्छ । अफसाइड दिएको अवस्थामा छैन भनेर कहिलेकहीं कराउन आउँछन् । तर त्यो बेला रेफ्रीको मद्दतले हामी अवस्था सम्हाल्छौं,’ उनले भनिन् ।
मुख्य निर्णयमा भन्दा पनि अफ साइड र लाइनमा उनको मुख्य भूमिका हुन्छ । थ्रो इनका बेला समस्या भएमा सहायक रेफ्रीले आफ्नो निर्णय लिनुपर्छ ।

‘राष्ट्रिय तहको सहायक रेफ्री हुँदा र र फिफा मान्यताप्राप्त हुँदा निकै फरक हुँदो रहेछ । मान्छेले हेर्ने दृष्टिकोण फरक हुने रहेछ,’ उनले उनको जीवनमा पाएको फरकपन यहि नै हो ।

लेखकको बारेमा
नमिता दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?