+
+

पूर्वपञ्चहरूसँग मिल्दा एमालेलाई कति फाइदा ?

सत्ता गठबन्धन झनै फराकिलो हुँदा एमाले बढी दबावमा देखिन्छ । ‘पूर्वपञ्चसँग मिल्यो भन्ने नराम्रो सन्देश त जाने भयो, तर चुनाव भनेको गणितको कुरा पनि रहेछ’, बालकोट निकट एक नेता भन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते २०:१४

२८ साउन, काठमाडौं । आमनिर्वाचन नजिकिएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भेटवार्ता भएको छ ।

महामन्त्री कुन्तीकुमारी शाही र केन्द्रीय सदस्य रेखा थापाले ओलीलाई भेटेको तीन दिनपछि लिङ्देन बालकोट पुगेका थिए । राप्रपाका पदाधिकारीहरुले ओलीसँग आगामी चुनाव केन्द्रित भेटवार्ता गरेको दुवैतिरका नेताहरुले बताएका छन् । ‘भेट हुनु स्वाभाविक हो र कुराकानी पनि सकारात्मक छ’, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्छन् । तर चुनावी सहकार्यबारे ठोस निर्णय भने नभएको उनी बताउँछन् ।

राप्रपाका महामन्त्री शाहीले पनि कुराकानी सकारात्मक रहेको बताइन् । ‘भेटमा राजनीतिक कुरा हुने नै भयो, कसरी अगाडि बढ्छौं भन्ने छिट्टै थाहा पाउनुहुन्छ’, महामन्त्री शाहीले भनिन् । उनका अनुसार, राप्रपाले सोमबार बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट चुनावबारे निर्णय गर्दैछ ।

सत्तारुढ गठबन्धन भन्दा एमालेसँग सहकार्य सहज भएकाले कुराकानी भइरहेको उनी बताउँछिन् । ‘पक्कै पनि हामीलाई एमालेसँग सजिलो छ, तर प्रष्ट निर्णय हुन बाँकी छ’, शाही भन्छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा महामन्त्री कुन्तिकुमारी शाही र केन्द्रीय सदस्य रेखा थापा ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सिट बाँडफाँट टुंग्याउने गरी कार्यदल गठन गरेरै अगाडि बढिसकेकाले एमाले र राप्रपा दुवै दबावमा छन् । सत्ता गठबन्धन झनै फराकिलो हुँदा एमाले बढी दबावमा देखिन्छ । ‘पूर्वपञ्चसँग मिल्यो भन्ने नराम्रो सन्देश त जाने भयो, तर चुनाव भनेको गणितको कुरा पनि रहेछ’, बालकोट निकट एक नेता भन्छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनतिरै नजिकिएकाले एमालेले तालमेल गर्न बाँकी दल राप्रपा र राप्रपा नेपाल हो । ‘कमल थापासँग नहुन पनि सक्छ, तर राप्रपासँग सहकार्य हुने सम्भावना धेरै छ’, बालकोट निकट ती नेता भन्छन् । एमालेले थापासँग गएको स्थानीय चुनावमै सहकार्य रहेको थियो ।

लिङ्देन अहिले आफैं राप्रपाका अध्यक्ष भएकाले पनि एमालेसँग चुनावी तालमेल थप सजिलो देखिन्छ । ‘हामीलाई पनि चुनौती छ, तर एमालेलाई पनि सजिलो छैन, तालमेल आवश्यकता हो’, राप्रपाका एक नेता भन्छन् ।

चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका, झापाको कचनकवल लगायत पालिकामा साझा उम्मेदवारी दिएपनि एमालेले राप्रपासँग तालमेलको संस्थागत निर्णय भने गरेको थिएन । एमालेजस्तै राप्रपाले पनि देशभर उम्मेदवारी दिएको थियो । यद्यपि ओलीकै गृहनगर दमकमा भने राप्रपाले सत्तारुढ गठबन्धनसँग मिलेर मेयर पद जित्यो । देशभर भने राप्रपाले चार पालिका प्रमुख पद जितेके छ ।

स्थानीय चुनावमा राप्रपाले ल्याएको जनमतकै कारण ओलीसहित एमाले नेताहरू तालमेल गर्न चाहिरहेका छन् । ‘तालमेल गर्दा दुवै दलले लाभ पाउने भएकाले नेतृत्व तहमै कुराकानी अगाडि बढेको हो’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भन्छन् ।

३० वैशाखको स्थानीय चुनावमा राप्रपाले सकेसम्म धेरै उम्मेदवार उठाउने नीति लिएको थियो । त्यसअनुसार झापा, काठमाडौं, कपिलवस्तु, चितवन, रुपन्देही, नवलपरासी लगायत जिल्लामा राप्रपाका उम्मेदवारले राम्रै मत पाए ।

ओलीको गृहनगर दमकमा सत्ता गठबन्धनको समर्थन पाउँदा राप्रपाका राम थापाले मेयर जिते । झापाकै हल्दीवारी गाउँपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र हराएरै राप्रपाका रवीन्द्रप्रसाद लिङ्देन निर्वाचित भए । उनले निकटतम प्रतिस्पर्धी एमालेका डम्बर गिरीले भन्दा दुई हजार बढी मत ल्याएका थिए । लिङ्देनले ६ हजार ८५६ मत ल्याउँदा गिरीले ४ हजार ६६६ मत ल्याए ।

काठमाडौंको शंखरापुर नगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवार हराएर राप्रपाका रमेश नातिप मेयर बनेका छन् । काठमाडौं महानगरमा ५ हजार ७७० मत ल्याएको राप्रपाले काठमाडौंका १० वटै स्थानीय तहमा राम्रै मत ल्यायो ।

कपिलवस्तुको शिवराज नगरपालिकामा पनि राप्रपाका अजय थापाले अरु दलको समर्थनबिनै मेयर जितेका छन् । कपिलवस्तुका अन्य स्थानीय तहमा पनि राम्रै मत ल्याएको छ ।

भरतपुर महानगरमा एमालेसँग गठबन्धन गर्दा उपमेयरमा राप्रपाका हिमला गुरुङको ३०,६११ मत आयो । झापाको भद्रपुर नगर र हल्दीबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका र नवपरासीको रामग्राम नगरपालिकामा राप्रपाले उपमेयर/उपाध्यक्ष जितेको छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले नेपाली कांग्रेससँग सहकार्य गर्दा लिङ्देनले एमालेसँग तालमेल गरेका थिए । तालमेलकै कारण लिङ्देनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई झापा–३ मा हराए भने ओलीसहित तत्कालीन वाम उम्मेदवारहरुले बाँकी निर्वाचन क्षेत्रबाट जिते । तर कांग्रेससँग तालमेल गरी चुनाव लडेका कमल थापा, पशुपतिशमशेर राणा, दीपक बोहरा र बिक्रम पाण्डेले भने जित्न सकेनन् ।

लिङ्देन अहिले आफैं राप्रपाका अध्यक्ष भएकाले पनि एमालेसँग चुनावी तालमेल थप सजिलो देखिन्छ । ‘हामीलाई पनि चुनौती छ, तर एमालेलाई पनि सजिलो छैन, तालमेल आवश्यकता हो’, राप्रपाका एक नेता भन्छन् । गठबन्धनविरुद्ध हुन लागेको चुनावमा तालमेल गर्दा दुवै दललाई लाभ हुने ती नेता बताउँछन् ।

०७४ र गएको ३० वैशाखको स्थानीय चुनावमा प्राप्त मत विश्लेषणको आधारमा अनलाइनखबरले गरेको अध्ययनले राप्रपासँगको तालमेलबाट एमालेलाई ठूलै लाभ पुग्ने देखाउँछ ।

अहिलेकै समीकरण (पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै) अनुसार, एमालेले ९ सिट जित्न सक्छ भने राप्रपा र राप्रपा नेपालसँग सहकार्य गर्दा सिट संख्या झण्डै दोब्बर (१७ सिट) हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?