+
+

‘भेन्टिलेटर भएको भए मेरो सालो बाँच्नेथियो’

भेन्टिलेटरको अभावमा हामीले आफ्नो एक जना युवा उमेरको आफन्त गुमाउनुपर्‍यो । सरकारले उपचार नपाएर कोही पनि मर्नु नपर्ने भने पनि गाउँठाउँमा स्वास्थ्य उपकरण वा दक्ष जनशक्तिको अभावमा अहिले पनि ज्यान गुमाउनुपर्ने घटना उत्तिकै छन् ।

जय जोशी, मृतकका भिनाजु जय जोशी, मृतकका भिनाजु
२०७९ साउन ३० गते ११:५९

१५ साउन २०७९ देखि विद्यालय खुल्ने समय तोकिएको थियो । ५ साउनदेखि परीक्षा सकेर बर्दिबासका सबैजसो निजी विद्यालय एक हप्ताको लागि बन्द भएका थिए । मेरो सालो युवराज श्रेष्ठको घर सिन्धुली हो । उनी घर गएका थिए ।

केही समयभित्रमा विद्यार्थीको नतिजा प्रकाशित गर्नुपर्ने थियो । लामो समय बिदा हुँदा हामी विद्यालयका गाडी मर्मत गर्ने गर्छौं । गाडी मर्मत तथा परीक्षाको नतिजा प्रकाशन गर्नुपर्ने कारण युवराज दुई दिन अगाडि आए ।

म बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक हुँ भने युवराज प्रधानाध्यापक । हामीले दाजु–भाइ ग्यारेजमा गाडी बनाउन दिएका थियौं । १४ साउन दिउँसो हाम्रो भेटघाट भयो । गाडी समयमा मर्मत नभएपछि करिब ९ बजे हाराहारीमा (युवराज) स्कुल गए, म बर्दिबास घर आएँ । उनको परिवार धेरै समयदेखि माइस्थान पब्लिक स्कुलमा बस्दै आएको थियो ।

घर पुगेर के बस्या मात्रै थिए उनलाई सर्पले टोकेको भनेर फोन आयो । युवराजको भनाइ अनुसार ओछ्यानमा पल्टिएर फोन चलाउँदा घाँटीमा कुनै नरम चिज थिचे जस्तो लागेर हातले छाम्न खोज्दा केहीले टोकेको महसुस भएको थियो ।

पछि युवराज र उनकी श्रीमतीले यताउता हेर्दा विद्यार्थीले परीक्षा दिएको उत्तरपुस्तिकामा सर्प देखियो ।  सर्पले टोकेको समय रातिको ९ः३० बजे थियो । कालो रागेपाटे सर्प भनेपछि करेत सर्पले नै टोकेको हुनुपर्छ ।

सर्पले टोकिसकेपछि आफैंले बाइक हाँकेर बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुगेका थिए उनी । उनीसँगै म पनि केन्द्रमा पुगें । त्यसबेला रातिको करिब १० बज्न लागेको हुनुपर्छ । अस्पतालका कर्मचारीले स्लाइन पानी दिन सुरु गरे ।

युवराज श्रेष्ठ

चिकित्सकले त्यतिबेला विषालु सर्पले टोकेको होइन भन्दै नआत्तिकन बस्न सुझाव दिए । हामीले यहाँ उपचार हुँदैन भने अन्य कुनै ठाउँमा लैजान्छौं भनेका थियौं । तर, त्यहाँ भएका कर्मचारीले जहाँ लगे पनि एन्टिभेनम लगाउने हो भन्दै लक्षण सुरु भएपछि लगाउने भने ।

चिकित्सकले दिएको जानकारी अनुसार सर्पले टोके पनि विष नलागेको हुँदा उनी चाँडै निको हुनेमा विश्वस्त भयौं । बिरामीसँग गफ गर्दै जाने क्रममा हात तथा घाँटीमा सर्पले डसेको थाहा भयो । केही समयपछि बिरामीले आँखा कम देख्ने, पूरै जीउ दुखेको तथा पेट बढी नै दुख्न लागेको गुनासो गरे ।

अस्पतालका स्वास्थ्यकर्मीले सर्पले टोकेको लक्षण देखिसकियो त्यसैले अब औषधि दिन सुरु गर्न आग्रह गर्‍यौं । तर, उनीहरूले बिरामीलाई आउँदै दुइटा औंला देखाएर कति वटा औंला छ भनेर सोध्दै जाने गरेका थिए । त्यहाँ भएका स्वास्थ्यकर्मीले एकछिन बाहिर घुमाउन लैजान सुझाव दिए । केन्द्रको बाहिर आँगनमा राख्यौं ।

एकछिनपछि बिरामीले लामो सास फर्न नसकेको बताए । तर, चिकित्सकलाई हामीले पटक–पटक यहाँ निको हुन सक्दैन भने भन्नुस् हामी बाहिर लान्छौं भन्दा आत्तिनुपर्दैन, ठीक हुन्छ मात्रै भनिरहे । लगभग साढे १२ तिर बिरामी एकदमै सिकिस्त भए । त्यहाँका स्वास्थ्यकर्मीलाई बिरामीलाई गाह्रो भयो भनेपछि बाहिरबाट भित्र लगे । भित्र लगेपछि बिरामीलाई असाध्यै गाह्रो भयो ।

उनी बोल्न नसकेर हातले कागजमा लेखेर मलाई साह्रै पीडा भो भनेपछि बल्ल चिकित्सकले औषधि प्रयोग गरे । त्यतिबेलासम्म बिरामीको हातखुट्टा लत्रिसकेका थिए । बिरामीले छाद्न थाले । तर, स्वास्थ्यकर्मीले औषधिको प्रतिक्रियाका कारणले भएको हो भने ।

बिरामी झन्–झन् सिकिस्त हुँदै गए । श्वास–प्रश्वासमा समस्या देखियो । उनी बोल्नै छोडेपछि हामीले यहाँ उपचार नहुने भयो भनेर डिस्चार्ज गर्न भन्यांै । औषधि सुरु गरे पनि ढिलो सुरु गरेकोले विषको प्रभाव फैलिसकेकोले बिरामीलाई झन्झन् श्वास फेर्न कठिनाइ हुँदै गयो । झन्डै दुई बजेतिर नाकले श्वास लिन पूरै बन्द गर्‍यो ।

भेन्टिलेटर नभएको र बिरामीले मुखबाट मात्रै कठिनाइका साथ सास लिन थालेपछि बल्ल चिकित्सकले बिरामीलाई जनकपुर लैजान सल्लाह दिए । हामीले भेन्टिलेटरको लागि जनकपुर अञ्चल अस्पतालमा बुझ्यौं । तर, त्यहाँ खाली नभएको जवाफ आयो ।

अस्पताल चिनजान भएको एक नातेदारलाई सिरियस केस भएकाले भेन्टिलेटर मिलाइदिन आग्रह गरें । बिरामीको अवस्था अत्यन्तै नाजुक भइसकेको अवस्थामा जनकपुर अञ्चल अस्पताल पुर्‍याइयो । चिकित्सकले ईसीजी गरेर हेर्दा मृत्यु भएको बताए ।

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर भएको भए मेरो बिरामीको मृत्यु हुँदैनथ्यो होला । भेन्टिलेटरको अभावमा केन्द्रमा पछिल्लो एक महिनामा तीन जना मानिसको मृत्यु भएको जानकारी पाएको छु ।

हामीले त भेन्टिलेटरको अभावमा आफ्नो एकजना युवा उमेरको आफन्त गुमाउनुपर्‍यो । सरकारले कोही पनि उपचार विना मर्नु नपर्ने भन्दै आएको छ । तर, गाउँठाउँका क्षेत्रमा उपकरण नहुँदा वा दक्ष जनशक्ति अभावमा अहिले पनि ज्यान गुमाउनुपर्ने  घटना उत्तिकै छन् ।

(भेन्टिलेटरको अभावमा बर्दिबासको माइस्थान पब्लिक स्कुलका प्रधानाध्यापक ३२ वर्षीय युवराज श्रेष्ठले सर्पले टोकेका कारण अकालमै ज्यान गुमाउनु परेको थियो । उनका भिनाजु जय जोशीसँग गरिएको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?