+
+

चितवन–३ छाड्न प्रचण्डलाई कांग्रेस नेताहरुको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १९:५७

३० साउन, काठमाडौं । चितवनका कांग्रेस नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिएका छन् ।

चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाल लगायतका नेताले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि मिलेर जाने निर्णय गरेका छन् । त्यसैले गठबन्धन हुँदा कांग्रेसले चितवन–३ प्रचण्डलाई छाड्नुपर्ने आकलन गर्दै चितवनका नेताहरुले प्रचण्डलाई अन्य क्षेत्रमा जान सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य कोइराला प्रचण्डले चितवन–३ बाटै उम्मेदवारी दिन्छु भनेर ढिपी गर्न नहुने बताउँछन् । ‘उहाँले चितवन–३ बाहेक अरुतिर उठ्दिन भन्नुहुँदैन । ठूलो नेताले अरु ठाउँबाट पनि जित्न सक्नुहुन्छ । यसपटक चितवन–३ उहाँले छोडिदिनुपर्दछ’, उनले भने ।

चितवन–३ केन्द्रीय सदस्य कोइरालाको गृह क्षेत्र हो र उनी पनि यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा आकांक्षी छन् । यसै क्षेत्रबाट अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पनि उम्मेदवारको आकांक्षी छन् ।

प्रचण्डले सार्वजनिक कार्यक्रममार्फत चितवन–३ बाटै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । गतहप्ता जापानमा नेपाली पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका थिए, ‘म अरु ठाउँबाट उठ्दिन । चितवन ३ बाटै उठ्छु ।’

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका प्रचण्ड चितवन–३ बाट निर्वाचित भएका थिए । कांग्रेसका जिल्ला तहका नेताहरुको अनुसार प्रचण्डलाई चितवन–३ भन्दा अरु निर्वाचन क्षेत्र अनुकुल छन् ।

चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । भरतपुरका १९ वडामध्ये कांग्रेसले ११, एमालेले ४, माओवादी २, एकीकृत समाजवादी र स्वतन्त्रले १÷१ वडाको वडाध्यक्ष जितेका छन् ।

चितवन–३ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा एमाले पहिलो दल हो । एमालेले २९ हजार ७७१, कांग्रेसले २९ हजार ३४३, माओवादीले १० हजार ९४०, राप्रपाले ६ हजार १९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो ।

गत निर्वाचनमा प्रचण्डले ४८ हजार २७६ मत ल्याई विजयी भएका थिए । कांग्रेसको समर्थनमा उम्मेदवार बनेका विक्रम पाण्डे ३८ हजार ९३५ मत ल्याई पराजय भोगे ।

कांग्रेसका एक जिल्ला नेताका अनुसार भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी छोरी रेणु दाहाललाई गत स्थानीय चुनावमा भएको अनुकुल अवस्था प्रचण्डलाई छैन । ‘रेणुका विरुद्ध केही लागे पनि सिंगो पार्टीले सघाएको थियो’, उनी भन्छन्, ‘माओवादीको अध्यक्ष नै उठ्ने भनेपछि हराउन त अरु शक्ति पनि त्यही अुनसार लाग्छन् ।’

गत स्थानीय तह निर्वाचनमा माडी नगरपालिकामा माओवादी केन्द्रका उम्मदवारले भोगेको पराजय पनि प्रचण्डका लागि खतराको घण्टी भएको कांग्रेस नेताहरु बताउँछन् ।

चितवन–३ मा पर्ने माडी नगरपालिकाको प्रमुखमा यसपटक एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भइन् भने माओवादी केन्द्रका मेयरका उम्मेदवार ऋषिराम काफ्ले पराजित भएका छन् । महतोले ९ हजार ७२९ र काफ्लेले ७ हजार ७२९ मत पाए । माडीमा एमालेले राप्रपासँग र माओवादीले कांग्रेससँग तालमेल गरेको थियो ।

प्रचण्डका लागि अर्को प्रतिकुल कारण कांग्रेसभित्रकै असन्तुष्ट समूह हो । जिल्लामा यो समूहको नेतृत्व कृष्णप्रसाद सापकोटाले गरिरहेका छन् । उक्त पक्षले प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरिसकेको छ ।

कांग्रेसको जिल्ला कार्यसमितिले प्रतिनिधिसभामा २ र प्रदेश सभामा ४ जना उम्मेदवार आफ्नो दलले पाउनुपर्ने निर्णय गरेको छ । जिल्लाको निर्णय अनुसार भागवण्डा नभए तालमेलका उम्मेदवारलाई जिताउन नसकिने चितवनका कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताए ।

‘तालमेलमा माओवादीले १ क्षेत्र पाउने भनेपछि त्यो चितवन–३ नै हो भन्ने त हुँदैन होला नि’, खनालले भने, ‘एउटा क्षेत्र पाउने भनेपछि त्यो २ वा १ पनि हुनसक्छ । उहाँको इच्छाको क्षेत्र एउटा होला । उहाँलाई कहाँ उठाएर जित्ने भन्ने त गठबन्धनको निर्णय होला नि ।’ चितवन–३ मा कांग्रेसका ८ जना आकांक्षी रहेको सबै योग्य रहेको खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?