+
+

चुनाव आयो, सांसद गाउँ पसे

रामकुमार डिसी रामकुमार डिसी
२०७९ साउन ३१ गते २०:०१

३१ साउन, काठमाडौं । सांसद गाउँ पसेको देखेर गाउँलेले थाहा पाए, चुनाव आएछ ।

कृष्णबहादुर महरालाई नै हेरौं न । चुनाव घोषणा भएको दुई दिन नबित्दै उनी दाङ पुगे । कुलो भत्किएको रहेछ । उनले त्यो हेरे । हेरे होइन, अवलोकन गरे । दाङ–२ का सांसद महराले घोराही–१२ अवलडाँडामा भत्किएको कुलो छेउबाटै सिधा फोन लगाए उर्जा तथा सिँचाइ मन्त्री पम्फा भुषाललाई । ‘यहाँ त कुलो भत्केको रहेछ, लौ बजेट दिइहाल्न पर्‍याे नि,’ मतदाताले सुन्नेगरी महराले मन्त्री भूसाललाई भने ।

घोराही–१२ अवलडाँडामा भत्किएको कुलो हेर्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा।

दाङबाट पहिलोपटक सांसद बनेका महरा कार्यकालभर आफ्नो क्षेत्रमा गएर जनताको समस्यामा सहभागी भइदिएको त्यस्तो तस्बिर खासै देख्न पाइँदैन ।

सधैजसो सक्रिय भइरहने नेतामध्येमै पर्छन्, गगन थापा । चुनाव नजिकिएसँगै यी कांग्रेस महामन्त्रीले दौडधुप तेज पारेका छन् । काठमाडौँ महानगर प्रमुख बालेन साहसँग अघिल्लो दिन गरेको भेटघाटको तस्बिर उनले चुनाव घोषणा भएका दिन १९ साउनमा सार्वजनिक गरे ।

काठमाडौँ महानगर प्रमुख बालेन साहसँग कांग्रेस महामन्त्री गगन थापा

बालेनसँग भेटघाटको तस्बिर राख्दै थापाले काठमाडौँको टाउको दुखाइको विषय बनेको फोहोर मैलाको व्यवस्थापन लगायतका विषयमा कुरा गरेको उल्लेख गरेका छन् । काठमाडौं–४ का सांसद समेत रहेका उनले त्यसै दिन स्वाथ्यमन्त्री भवानी खापुङसँग भेटेर बीमाको दायरा कम्तिमा १० लाख पुर्‍याउन सुझाव दिएका छन् । जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा पहल लिए जस्तो गरेर उनले मतदाताको सहानुभूति बटुल्न खाजेको देखिन्छ ।

सिन्धुपाल्चोकमा वर्षेनी पहिलो गइरहन्छ । एमाले नेता शेरबहादुर तामाङ चुनाव घोषणा हुनु दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्रको एक गाउँमा पहिरो हेर्न पुगे ।सिन्धुपाल्चोक–२ का सांसद रहेका उनले पहिरोका कारण जोखिममा परेको चौतारा साँगाचोकगढी–१४ को झ्याँडी बस्तीको अवलोकन गरेका हुन् । पहिरोको जोखिमयुक्त तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका तामाङले बाढी पहिरोले सताइरहने आफ्नो क्षेत्रका मतदाताको ध्यान खिच्न खोजेको देखिन्छ ।

पहिरो हेर्न सिन्धुपाल्चोक पुगेका एमाले नेता शेरबहादुर तामाङ

माओवादी केन्द्रका सांसद सुदन किराती चुनाव घोषणा गरेको भोलिपल्ट धरान झरे । भोजपुरका सांसद रहेका उनले धरानका मेयर हर्क साङपाङको श्रम अभियानमा सहभागिता जनाए ।त्यहाँ जानुअघिल्लो दिन उनले फेसबुकमा लेखेका थिए– ‘म पनि धरान श्रम गर्न आउँदैछु । श्रमले नै मातृभूमि सजाउँ, श्रम गर्ने संस्कृति स्थापित गरौं ।’ उक्त अभियानमा सहभागिता जनाएपछि किरातीले धेरै सञ्चार माध्यममा ‘कभरेज’ पाए । श्रमको उद्देश्य सफल भयो । किनकि चुनावका बेला सम्भवत उनले चाहेको यस्तै थियो ।

धरानका मेयर हर्क साङपाङको श्रम अभियानमा सहभागी भएर रूख रोप्दै भोजपुरका सांसद सुदन किराती ।

एमाले सांसद झपट रावलले सोमबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चिसापानी–खिमडी सडक खण्डको ७.५ किलोमिटर सडक कालोपत्रेको शिलान्यास गरे । उक्त सडकलाई रावलको क्षेत्र कैलाली–२ को रणनीतिक सडक मानिन्थ्यो । रावलले सडक शिलान्यास गर्नुअघिल्लो दिन फेसबुकमा आफ्नो पहलमा सडक बनेको देखाउने गरी विभिन्न कागजात सेयर गरेका थिए । उनकै पहलपछि २०७६ मा उक्त सडक रणनीतिक सडक योजनामा समावेश भएको थियो ।

कैलाली–२ मा सडक शिलान्‍यास कार्यक्रममा बोल्दै उमाले नेता झपट रावल।

कांग्रेस सांसद अमरेशकुमार सिंहले चुनाव घोषणाको दुई दिनपछि काठमाडौं आएर विभिन्न क्षेत्रका काम गर्ने आफ्नो क्षेत्रका वासिन्दासँग भेटघाट गरे । सर्लाही–४ का सांसद रहेका सिंहले यसअघि यस्ता भेटघाट खासै गर्ने गरेका पाइँदैन । निर्वाचन क्षेत्रबासी मजदुरहरुसँगको भेटपछि उनले त्यो तस्बिर फेसबुकमा पनि हालेका छन्।

चुनाव आएपछि मात्रै निर्वाचन क्षेत्रमा

चुनाव नजिकिएसँगै सांसदले जनताको पीर देख्न थालेका छन् । माथि नाम लिएकामध्य केही आफ्नो क्षेत्रमा गइरहने सांसद पनि पर्छन् । तर, समग्र प्रवृत्ति चुनाव जितेर आएपछि आफू आएको ठाउँ बिर्सने र चुनावका बेला मात्रै सम्झिने खालको छ।

राजनीति शास्त्री लोकराज बराल जनताको बीचमा गएको कुरामा विरोध गर्न नमिल्ने तर खाली चुनावका बेला मात्रै पुग्नुलाई भने राम्रो मान्न नसकिने बताउँछन् । ‘जनतामा गएको कुरालाई विरोध त गर्न मिल्दैन,’ उनले अनलाइनखबरसँग भने, ‘तर, सांसद भएपछि आआफ्नो क्षेत्रमा बीच–बीचमा गएर हेर्ने, कुरा गर्ने र सम्बोधन गर्ने खालको हुनुपर्ने हो । खाली चुनावका बेला जनतामा मुख देखाउन जाने कुरा त्यति राम्रो होइन ।’

बराल दुरदराजबाट निर्वाचन क्षेत्र जितेर आए पनि अधिकांश सांसद काठमाडौंमै बस्न रुचाउने बताउँछन् । ‘आफ्नो क्षेत्रमा महिना महिनामा जाने पनि छन्, तर त्यो प्रवृत्ति धेरै कम देखिन्छ,’ उनी भन्छन्, ‘काठमाडौंमा बस्ने, घर किनेर यही बस्ने र यहीको स्थानीय जस्तो हुने चाहना नै बढी देखिन्छ ।’

निर्वाचन पर्यवेक्षणमा समेत सहभागी भइरहने लेखक बिनोद सिजापति निर्वाचित भएर आएपछि जुनकुनै जनप्रतिनिधिले पनि आफूलाई आम नागरिक भन्दा उपल्लो दर्जाको ठान्ने गरेको बताउँछन् ।

‘वडा सदस्यदेखि प्रधानमन्त्रीसम्ममा चुनाव सकिनसाथ म अब आम नागरिक होइन, म नागरिक भन्दा उपल्लो दर्ताको व्यक्ति भएँ भन्ने सोच पलाउँछ,’ केसीले अनलाइनखबरसँग भने । जनप्रतिनिधिलाई अरु बेला जनतासँग विमुख राख्ने र चुनावका बेला मात्रै आफ्नो क्षेत्र पुग्ने कुराको कारक समेत यही सोच भएको उनको ठम्याइ छ ।

कति पर्छ प्रभाव ?

चुनाव नजिकिँदै गर्दा सांसदहरुले देखाउन थालेका गतिविधि मतदातालाई प्रभावित पार्न हो भन्ने बुझ्न गाह्रो छैन । तर, प्रश्न उठ्छ– त्यसको प्रभाव कत्तिको पर्ला ? चुनावका बेला मात्रै आफ्नो क्षेत्रमा मुखरित हुनेलाई मतदाताले पत्याउलान ?

राजनीति शास्त्री बराल भने सांसदहरुले देखाउन थालेको यस्ता गतिविधिले खासै असर नगर्ने बताउँछन् । ‘अहिले गएर तात्विक फरक पर्दैन,’ उनको भनाइ छ, ‘उहाँहरुले पहिलेदेखि नै जाने गरेको भए जनतामा जेहोस् आउने जाने गर्छ, आफ्नो क्षेत्रलाई हेर्छ भन्ने पर्थ्यो । अहिले जाँदा त सोझै आफ्नो स्वार्थका लागि आएको भन्ने पर्छ ।’

सिजापती पनि हालै सम्पन्न स्थानीय तह निर्वाचनको केही सन्र्दभलाई उल्लेख गर्दै चुनाव प्रभावित पार्न केन्द्रित हुने गतिविधिले अब त्यति असर नगर्ने बताउँछन् । ‘हामीले प्रवेक्षण गर्दा पनि गत स्थानीय तहको चुनावमा कति ठाउँमा मतदाताले उम्मेदवारको पैसा लिएको तर भोट नदिएको भेट्टाएका थियौं । त्यसैले अलिहेका मतदाता जे पनि पत्याउँदैनन् ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?