+
+

अन्तर्राष्ट्रिय क्रिकेटबाट केभिन ओ’ब्रायनले लिए सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १५:०९

३१ साउन, काठमाडौं । आयरल्याण्डका अलराउण्डर केभिन ओ’ब्रायन ले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

ओ’ब्रायनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सन्यास लिएको जानकारी गराएका छन् । ३८ वर्षीय ओ’ब्रायनले पछिल्लो पटक सन् २०२१ मा युएईमा भएको टी-२० विश्वकपमा नामिबिया विरुद्ध खेलेका थिए । त्यसपछि उनी टिममा परेका थिएनन् ।

ओ’ब्रायनले गत वर्ष नै एकदिवशी अन्तर्राष्ट्रियबाट सन्यास लिँदै टेष्ट र टी-२० मा निरन्तरता दिने बताएका थिए । ओ’ब्रायनले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपसम्म टिममा रहन चाहे पनि टिममा पर्न छाडेपछि सन्यास लिएको उनको आशय छ ।

‘आज मैले १६ वर्ष र मेरो देशका लागि ३८९ खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको छु । मैले अष्ट्रेलियामा टी-२० विश्वकपमा मेरो करियर अन्त्य गर्ने आशा राखेको थिएँ तर गत वर्षको विश्वकपपछि आइरिस टिममा परेको छैन । छनोटकर्ता र व्यवस्थापनले अरु नै कुरा खोजिरहेको मलाई अनुभव भएको छ’, ओ’ब्रायनले लेखेका छन् ।

उनले आयरल्याण्डका लागि खेलेको प्रत्येक मिनेटमा आफू रमाएको र राष्ट्रिय टिममा खेल्दाको धेरै राम्रा क्षणहरु रहेको बताएका छन् । उनले आफ्नो करियरमा सहयोग गरेका सबै प्रशिक्षकहरु र आफ्नो परिवारलाई धन्यवाद दिएका छन् ।

ओ’ब्रायनले अब आफू जीवन र करियरको अर्को चरणमा पुगेको र यो सही समय रहेको बताएका छन् । उनले अब आफ्नै कोचिङ एकेडेमीलाई विकास गर्न लाग्ने र भविष्यमा केही राम्रा अवसरहरु समेत रहेको खुलाएका छन् ।

यस्तै विदेशमा प्रशिक्षणको अनुभव लिने र केही अन्तर्राष्ट्रिय टिमहरुसँग काम गर्ने अवसर पाउने आशा उनले राखेका छन् । उनले आयरल्याण्ड लागि तीन टेष्ट, १५३ एकदिवशीय र ११० टी-२० खेल खेलेका छन् ।

हरेक फर्म्याटमा शतक प्रहार गरेका उनले टेष्ट र टी-२० मा एक-एक तथा एकदिवशीयमा दुई शतक प्रहार गरेका छन् ।

आयरल्याण्डले खेलेका तीनवटै टेष्ट खेलेका ओ’ब्रायन टेष्टमा शतक प्रहार गर्ने आयरल्याण्डका एक्ला खेलाडी हुन् ।

उनले सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै आयरल्याण्डलाई जित दिलाएका थिए । उनले ६३ बलमै ११३ रन बनाएपछि आयरल्याण्डले इंग्ल्याण्ड विरुद्ध ३२८ रनको लक्ष्य पूरा गरेको थियो ।

ओ’ब्रायनले नेपालमा आएर काठमाडौं किंग्स-११ बाट एभरेष्ट प्रिमियर लिग ईपीएलसमेत खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?