+
+

पदाधिकारीकै क्षेत्रमा कमजोर एमाले : १९ मध्ये ३ क्षेत्रमा मात्रै अग्रता

बिनु सुवेदी बिनु सुवेदी
२०७९ साउन ३१ गते २२:४०

३१ साउन, काठमाडौं । आउँदो प्रतिनिधिसभा चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने परिस्थितिमा पुगेको नेकपा एमाले, शीर्ष नेताहरुकै निर्वाचन क्षेत्रमा कमजोर देखिएको छ ।

स्थानीय तह निर्वाचनको प्राप्त मत परिणामलाई आधार मानेर एमालेले नै गरेको विश्लेषण अनुसार सत्तारूढ दलहरूले गठबन्धन गर्ने हो भने १९ जना पदाधिकारीमध्ये ३ जनाको क्षेत्रमा मात्रै पार्टी अगाडि हुनेछ । जबकी ०७४ को प्रतिनिधि सभा चुनावमा बहुसंख्यक पदाधिकारी विजयी भएका थिए ।

स्थानीय तह निर्वाचनको परिणामअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं–५ र उपाध्यक्ष रामबहादुर थापा वादलको निर्वाचन क्षेत्र चितवन २ मा मात्रै एमालेको अग्रता छ ।

झापा ५ मा एमालेको मत ४१,६१९ हुँदा गठबन्धनको ३४ हजार ७९८ मत आएको छ । जसअनुसार एमाले गठबन्धनभन्दा ६ हजार ८२१ मतले अगाडि छ ।

यस्तै काठमाडौं–५ मा एमालेको १९,७०३ मत आएको छ भने गठबन्धनको मत १७ हजार ९०६ छ । एमालेले आफूलाई सुरक्षित देखेको यो निर्वाचन क्षेत्रमा गठबन्धनभन्दा एमाले १,७९७ ले अगाडि छ ।

गठबन्धनभन्दा एमाले अगाडि रहेको अर्काे निर्वाचन क्षेत्र हो चितवन क्षेत्र नम्बर २ । एमाले उपाध्यक्ष रामबहादुर थापाको यो क्षेत्रमा गठबन्धनभन्दा एमाले जम्मा ११ मतले अगाडि छ । चितवन–२ मा एमालेको एमाले ३५,५४३ मत छ भने गठबन्धनको मत ३५,५३२ छ । यो क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए ।

यी तीन क्षेत्रबाहेक एमालेले आफूलाई बलियो दाबी गरेका पार्टी पदाधिकारीकै अरु निर्वाचन क्षेत्रको स्थानीय तह निर्वाचनको मत संख्या केलाउँदा एमालेको उपस्थिति कमजोर छ ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको निर्वाचन क्षेत्र काठमाडौं–८ मा एमालेभन्दा गठबन्धन ६,९५० मतले अगाडि छ । यहाँ एमालेले ९,२५३ मत प्राप्त गर्दा गठबन्धनको मत १६२०३ छ ।

यसअघि एमालेबाटै प्रतिस्पर्धा गरेर चुनाव जितेका जीवनराम श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीमा छन् । यो निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको बलियो उपस्थिति रहेको भन्दै आउँदो प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं ८ मा गठबन्धनका तर्फबाट उम्मेदवारीको दाबी गर्ने र श्रेष्ठलाई नै उम्मेदवार बनाउने तयारी एकीकृत समाजवादीको छ ।

२०७४ मै प्रदेशसभामा प्रतिस्पर्धा गरेकी उपाध्यक्ष शाक्य भने राजनीतिबाट विश्राम लिने तयारीमा छिन् ।

एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन प्रणाली असाध्यै महँगो भएको भन्दै अघिल्लो चुनावमै प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए । उनका अनुसार आउँदो आमचुनावमा पनि ज्ञवाली प्रतिस्पर्धामा छैनन् । उनी स्वयम् स्पर्धामा सहभागी नहुनु एउटा कुरा हो । तर तथ्यले समेत ज्ञवालीको निर्वाचन क्षेत्र दाङ–३ मा एमाले कमजोर छ भनेको छ ।

स्थानीय तह निर्वाचनको परिणामअनुसार यो निर्वाचन क्षेत्रमा एमालेको ३८,६५२ मत छ भने सत्ता गठबन्धनको मत ४५,९८९ छ । ज्ञवालीको निर्वाचन क्षेत्र दाङ–३ मा एमालेभन्दा गठबन्धन ७,३३१ मतले अगाडि छ ।

पञ्चायतकालदेखिकै बुलन्द र प्रखर नेता जागृत भेटवालको क्षेत्र हो चितवन–१ । पञ्चायतको जनपक्षीय निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर जितेका भेटवाल ४८ र ५६ को चुनावमा एमालेका उम्मेदवार भएर विजयी भएका थिए । उनकै लिगेसीका कारण चितवन–१ मा एमाले कहिल्यै पनि कमजोर हुनुपरेको इतिहास छैन । पछिल्लो समय एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन–१ मा निर्वाचित हुँदै आएका थिए । तर यसपालिको स्थानीय तह निर्वाचनको परिणाम चितवन–१ पनि एमालेका लागि सकारात्मक भएन । परिणामअनुसार यो क्षेत्रमा एमालेभन्दा पाँच दलीय गठबन्धन ६,६९० मतले अगाडि छ । चितवन–१ मा एमालेले ३९,६०६ मत प्राप्त गर्दा गठबन्धनको मत ४६,२९६ छ ।

निर्वाचनको परिणामले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ र अर्का उपाध्यक्ष सुवास नेम्वाङको निर्वाचन क्षेत्र इलाम २ मा पनि एमालेलाई कमजोर देखाएको छ । दुबै निर्वाचन क्षेत्रमा ०७४ मा एमालेले जितेको थियो भने एमालेको आकलनअनुसार प्रतिनिधिसभाको आउँदो चुनावमा पनि एमालेका लागि जित निश्चित भएको क्षेत्रका रुपमा ब्याख्या गरेको छ । स्थानीय तह निर्वाचन परिणामअनुसार रुपन्देही–२ मा एमालेको ३३,१८७ मत छ भने सत्ता गठबन्धनको मत ३९,७१२ आएको छ । यो निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन ६,५२५ मतले अगाडि छ ।

चुनावी प्रतिस्पर्धामा हारको रेकर्ड नबनाएका उपाध्यक्ष सुवास नेम्वाङका लागि पनि उनको निर्वाचन क्षेत्र यसपालि भारी पर्ने संकेत स्थानीय तह निर्वाचनको परिणामले गरेको छ । परिणामअनुसार इलाम–२ मा एमालेभन्दा गठबन्धन ३,९९९ मतले अगाडि छ । यस निर्वाचन क्षेत्रमा एमालेको ३२,५२७ मत छ भने गठबन्धन मत ३,६५२६ छ ।

एमाले महासचिव शंकर पोखरलले पछिल्लो समय एमाले एक्लै चुनावमा जाने र स्पष्ट जित निकाल्ने बताउँदै आएका छन् । एमालेकै आन्तरिक रिपोर्टमा पनि महासचिव पोखरेललाई उनको निर्वाचन क्षेत्र दाङ–२ मा संभावित विजेताका रुपमा हेरिएको छ । तर स्थानीय तह निर्वाचनको परिणामले दाङ–२ मा एमालेलाई अप्ठ्यारो पर्ने देखाएको छ । एमालेको ३३,५९४ मत छ भने गठबन्धनको मत ३६,७२१ छ । यद्यपि गत स्थानीय तह निर्वाचनमा पोखरेलको निर्वाचन क्षेत्रभित्र पर्ने घोराही र तुलसीपुर उपमहानगरपालिको मेयरमा भने एमाले विजयी भएको थियो ।

एमालेका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पनि आ-आफ्नो निर्वाचन क्षेत्रमा पहिलेझै बलियो देखिएका छैनन् । ०७४ को प्रतिनिधिसभा चुनावमा प्रदेशसभामा प्रतिस्पर्धा गरेर गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए भने ज्ञवालीले कांग्रेसका चन्द्र भण्डारीलाई पराजित गरेका थिए ।

ज्ञवाली यसपालि पनि गुल्मी १ बाटै प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् भने गुरुङ प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् । ज्ञवालीको निर्वाचन क्षेत्र गुल्मी–१ मा एमालेको ३५,७०१ मत छ भने गठबन्धनको मत ३८,३६१ छ । यहाँ एमालेभन्दा गठबन्धन २,६६० मतले अगाडि छ ।

अर्का उपमहाचिव गुरुङको निर्वाचन क्षेत्र लमजुङमा एमालेभन्दा गठबन्धन १,३९६ मतले अगाडि छ । यस क्षेत्रमा एमालेको ४०,१९७ मत छ भने गठबन्धनको मत ४१,५९३ आएको छ ।

एमालेका अर्का उपमहासचिव विष्णु रिमाल अहिलेसम्म चुनावी परीक्षणमा उभिएका त छैनन्, तर पार्टी पदाधिकारी भएका हिसाबले उनको निर्वाचन क्षेत्रमा एमालेको उपस्थिति कति र कस्तो अवस्थामा छ, स्वयम् एमालेकै कार्यकर्ताहरुको पनि चासोको विषय हो । रिमालको निर्वाचन क्षेत्र नुवाकोट–२ मा एमाले गठबन्धनभन्दा २०,५१२ मतले पछाडि छ । यो निर्वाचन क्षेत्रमा गठबन्धनको ४६,८८९ मत आउँदा एमालेको मत २६,३७७ छ ।

एमालेका सातैजना सचिव अघिल्लो निर्वाचनमा विजयी भएका हुन् । तर गत स्थानीय तह निर्वाचनले आफ्नो क्षेत्रमा यी सचिवहरुको कमजोर उपस्थिति रहेको देखाएको छ । गत चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादीबाट उठेर चुनाव जितेका टोपबहादुर रायमाझीले यसपालि पनि अर्घाखाँचीमा जित निकाल्ने आकलन एमालेको छ । तर पार्टीलाई प्राप्त मत हेर्दा अर्घाखाँचीमा एमालेभन्दा गठबन्धनको मत ५,५१२ ले धेरै छ । यो निर्वाचन क्षेत्रमा एमालेको ४८,२६० मत आउँदा गठबन्धनको मत ५३,७७२ आएको छ ।

सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्र गुल्मी २ मा जित निकाल्न सकिने हिसाब एमालेको राखेको छ । गत निर्वाचनमा पनि विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर स्थानीय तह निर्वाचनको परिणामअनुसार एमालेको ३१,२५३ मत आएको छ भने गठबन्धनको मत ३२,३२० छ । यो परिणामअनुसार एमालेभन्दा गठबन्धन १,०६७ मतले अगाडि छ ।

त्यसबेला माओवादी रहेका लेखराज भट्टले कैलाली–४ मा वाम गठबन्धनको उम्मेदवार भएर जित हासिल गरेका थिए । नेकपा विभाजित हुँदा एमालेमा लागेका भट्टको निर्वाचन क्षेत्रमा गठबन्धनभन्दा एमाले मतले पछाडि छ । कैलाली ४ मा गठबन्धन ३७,२१३ मत आएको छ भने एमालेको मत २०,०८१ छ । यहाँ एमालेभन्दा गठबन्धन १७,१३२ मतले अगाडि छ ।

एमालेले मधेश प्रदेशमा रघुवीर महासठेलाई पार्टीको बलियो खम्बाका रुपमा लिन्छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेशमा एमालेले दुई ठाउँमा जित्दा धनुषा–४ मा महासेठ विजयी भएका थिए । एमाले सचिव समेत रहेका महासेठको निर्वाचन क्षेत्रमा यसपालि पनि आफूहरुले जित्न सकिने एमालेको डाटा छ । तर गत स्थानीय तहको निर्वाचन परिणामअनुसार धनुषा–४ मा एमालेभन्दा गठबन्धन २२,५४१ मतले अगाडि छ । यो क्षेत्रमा एमालेको २३,६३० मत आउँदा गठबन्धनको मत ४६,१७१ आएको छ ।

यस्तै ताप्लेजुङलाई पनि एमालेले आफ्नो बलियो निर्वाचन क्षेत्रका रुपमा लिएको छ । गत निर्वाचनमा एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका थिए । भट्टराईका लागि भोट माग्न पुगेका अध्यक्ष ओलीले ताप्लेजुङका जनतासँग तपाईंहरुले योगेशललाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछ भनेर गरेको भाषण खुब चर्चित भएको थियो । तर स्थानीय तहको चुनावले ताप्लेजुङमा पनि एमालेलाई बलियो भने देखाएको छैन । ताप्लेजुङमा एमालेभन्दा गठबन्धन ७१७ मतले अगाडि छ । ताप्लेजुङमा एमालेकोे २४,२८६ मत आएको छ भने गठबन्धनको मत २५,०१२ छ ।

एमाले सचिव पदमा अर्याल गण्डकी प्रदेश इञ्चार्ज पनि हुन् । तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा गण्डकीमा एमालेलाई बलियो मानिएको छ । स्वयम एमालेको रिपोर्टले पनि त्यसै भन्छ । तर अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्यालको भने उनकै निर्वाचन क्षेत्रमा कमजोर परिणाम देखिएको छ । स्याङ्जा २ मा एमालेको मत ३४,८०९ छ भने गठबन्धन ३८,२८२ मतसहित अग्रस्थानमा छ ।

सचिव छविलाल विश्वकर्मा रुपन्देही १ बाट विजेता प्रतिनिधिसभा सदस्य हुन् । तर यसपालि भने रुपन्देही–१ मा एमाले गठबन्धनभन्दा १४,७४५ मतले पछाडि छ । यस क्षेत्रमा एमालेको ३०,३९४ मत आउँदा गठबन्धनको मत ४५,१३९ छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?