+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
तीज विशेष :

विकृति रोकौं, तीज जोगाऔं

मौलिक तीज गीतमा लगाउने भेषभूषा लगाउनै छोडिएको छ । लय तथा शब्द र नृत्यमा मौलिकता हराउँदै गएको छ । गोरस र परम्परित तीज पर्वको खाना तिरस्कृत हुँदैछ ।

सिन्धु जलेसा बुढाथोकी सिन्धु जलेसा बुढाथोकी
२०७९ भदौ १ गते ९:५८

नेपाल अत्यधिक चाडपर्व मनाउने देशको रूपमा चिनिने गरेको छ । यिनै चाडपर्वमध्ये तीज हिन्दू नेपाली महिलाको एक महत्वपूर्ण चाड हो । नेपाली महिला देश–विदेश जहाँ बसे पनि तीज निकै हर्षोल्लासका साथ मनाइने गर्छन् । नेपालमा हिमाल, पहाड, तराई, भित्री मधेश, चुरे भावर सबै क्षेत्रमा तीज पर्व आ–आफ्नै अनुकूलतामा मनाउने प्रचलन रहँदै आएको छ । खासगरी हिन्दू नारीहरूको पर्व भनिए तापनि यो पर्वमा हिन्दूबाहेकका सबै महिला तीज मनाउन सहभागी हुन्छन् । उनीहरू सँगै खाने, नाच्ने, गाउने गरी सामाजिक सद्भाव बढाउन सक्षम भएको छ । त्यसैले यसलाई राष्ट्रिय चाडका रूपमा धुमधामका साथ मनाउने गरिन्छ ।

तीजमा हिन्दू नारीहरूले मात्र व्रत, उपवास बस्ने गर्छन् भने नाच्ने, गाउने, बजाउने, रमाउने काममा सबै महिलाको सहभागिता रहने गरेको छ । यसरी अधिकांश नेपाली महिलाले राष्ट्रिय चाडको रूपमा रमाइलो गरी मनाउँदै आएका छन् ।
विवाह गरी पराई घरमा गएका छोरी, चेली, दिदीबहिनी, भान्जी र फुपूलाई माइत, मावल बोलाउने र मिठो, मसिनो परिकार खुवाउने चलन छ । यसरी निम्तो गर्दा बाबा, मामा, दाजु र भाइले लिन जाने चलन छ । यस्तो बेलामा छोरीचेलीले आफूलाई लिन माइती नआएर खबरको भरमा बोलाउँदा आफूलाई हेला भएको महसुस गर्दै गाइएको सानो गीतको उदाहरण यसप्रकार रहेको छः

आँगनको डिल बसी काली कौवै करायो
केकुमा समिचार ल्यायो बरिलै

एकुमा समिचार कागतको चिर्कटो
दोसरी समिचार तिम्लाई लिन हो ।

मेरो माया हुँदो हो त बाबा लिन आउँदा हुन्
कागतुको चिर्कटोले जान्न बरिलै ।।

यो पर्व हरेक वर्ष शुक्ल द्वितीयादेखि पञ्चमीसम्म महिला दिदीबहिनीहरू माइतमा जुटेर मनाउँछन् । बिहान, दिउँसो र राति गरी तीन प्रहर घ्यूमा पकाएको खाजा, चाम्रे, खीर, दही, दूध, तामा, चिचिन्डा, घिरौंला, सिमी र फर्सीका मुन्टा आदि तरकारी र मौसम अनुसारका फलफूल खाने गरिन्छ । तृतीयाका दिन महिलाहरू उपवास बस्ने हुँदा दिनभरी भोक नलागोस्, गाउन, नाच्न सकियोस् भनी मध्य राति पनि चिल्लोचाप्लो परिकार दर खाने खुवाउने गरिन्छ । रातिमा खाने आडिलो खानालाई दर भन्ने प्रचलन रहेको पाइन्छ । सबै प्रकारका खाना मिलाएर घरमा दुःख पाएर रुखोसुखो खाएर जीवन गुजारेका चेलीबेटीले खाने उक्त खानालाई सन्तुलित खानाको रूपमा पनि लिन सकिन्छ ।

सिन्धु जलेसा बुढाथोकी

तृतीया अथवा तीजको दिन सधवा महिलाहरू र रजस्वला नभएका अविवाहित महिलाहरू स्नान गरी शुद्ध भई निराहार उपवास बस्ने गर्दछन् । उक्त दिन गाउँ–टोलका दिदीबहिनीहरू आफ्नो टोली बनाएर नाच्दै, गाउँदै शिवालय मन्दिर, देवीस्थान, चोक, चौतारा र मैदानमा गएर दुःख–सुखका गीतहरू गाएर नाच्ने, रमाइलो गर्ने गर्दछन् । यसरी गाउने, नाच्ने गर्दा गाइने गरेका तीजका केही गीतका उदाहरण यसप्रकार रहेका छन्ः

आँगनीमा सेंवली पर्‍यो बरिलै कदमाको छायाँले
अर्पनी दर पनि छोडी आए घर पनि बरिलै बाबाको मायाले
अर्पनी दर पनि छोडी आए घर पनि बरिलै आमाको मायाले ।

त्यस्तै अर्को गीतः
पँधेरा माथि अम्बा पाक्यो डाली नुगाई खाम्ला बरिलै
हाम्रा बाबा लिन आए ढल्की ढल्की जाम्ला बरिलै

हाम्रो परम्परालाई प्रतिनिधित्व गर्ने तलका हरफहरू पनि उल्लेखनीय छन्–
ढुकुरै चरीले गुँडैमा लायो बरिलै ओतली काठैमा
नाचने नानीलाई भोकैमा लायो बरिलै केही छैन साथमा
फरिया समाइ हिंड मेरी नानी बरिलै लेटौली बाटैमा ।

महिलाहरूका पीर, व्यथा र मर्मलाई गीतको रूपमा गाएर अभिव्यक्त गरिन्छ । समयको बहावसँगै पछिल्लो समय नेपाली नारीमाथि हुने गरेका अन्याय, अत्याचार, प्रताडना, गलत व्यवहार, सामाजिक परिवेशद्वारा पाएका दुःखदर्दहरूलाई अभिव्यक्त गरिएको पाइन्छ । महिला अधिकार, महिला हिंसा विरुद्धको विद्रोह र नारी चेतनाका स्वरहरू बुलन्द हुने गरेको पाइन्छ । उक्त गीतको एक उदाहरणः

कालो मेरो डोरीमा रातो लाइदेउ रिबन
पढाएनौ बाबाले गयो जीवन

मखमलको चोलीमा घरमलाको कठालो
छोरालाई त पढाउ बाबा छोरी गोठालो

अधिकार पाइँदैन रोएर
अधिकार लिनुपर्छ आफैं खोसेर ।।

यसरी नेपाली महिलाको महान् चाड तीजका बेला गाइने तीज गीत जुनसुकै रूपमा उत्पत्ति भए तापनि तीज गीतहरूले देश तथा विदेशमा पहुँच पुर्‍याएको छ । (पराजुली र गिरी, २०६८ः५६)

तीजलाई विशेषगरी नारी विषयक पर्व भन्न सकिन्छ । अचेल तीज पर्वमा गाइने तीज गीतमा विकृति, विसङ्गति भित्रिंदै गएको छ । मौलिक तीज गीतमा लाउने भेषभूषा लगाउन छोडिएको छ । लय तथा शब्द र नृत्यमा मौलिकता हराउँदै गएको छ । गोरस र परम्परित तीज पर्वको खाना तिरस्कृत हुँदैछ । यो संस्कृति हामी नेपालीको गौरव हो । तसर्थ तीज पर्व र तीज गीतको संरक्षण, संवर्द्धन र उत्थानमा लाग्नु हामी सबैको कर्तव्य ठानौं ।

(लेखक संविधानसभा सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?