+
+

पहिलो खेलमै नेपाललाई जिताउने त्यो ऐतिहासिक महिला फुटबल टिम

नमिता दाहाल नमिता दाहाल
२०७९ भदौ २ गते २०:०३

२ भदौ, काठमाडौं । रमा सिंहलाई सञ्चारकर्मीका रुपमा धेरैले चिन्छन् । नेपाल टेलिभिजनमा लामो समय समाचारवाचकको भूमिकामा चर्चित रहिन् । आमसञ्चारलाई करिअर बनाउनुअघि उनी नेपालको स्थापित खेलाडी पनि थिइन् भनेर अहिलेको पुस्ता कम जानकार छ ।

सिंह नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो कप्तान हुन् । २०३९ सालदेखि २०४४ सालसम्म उनले नेपाली टिमको नेतृत्व गरेर अन्तर्राष्ट्रिय सहभागिता जनाइन् । उनै सिंहले नेपाल खेलकुद पत्रकार मञ्चले हरेक महिना आयोजना गर्ने स्पोर्टस डाइलगमा उपस्थित भएर महिला फुटबलको सुरुवाती विकास चरण र आफ्नो फुटबल करिअरको स्मरण गरिन् ।

२०३८/३९ सालमा नेपाली महिला फुटबलको ठूलो क्रेज थियो । महिला फुटबलको खेल हेर्न दशरथ रंगशालामा दर्शक खचाखच हुन्थे । ‘अहिले सुन्दा अनौठो लाग्ला तर, त्यो समयमा महिला फुटबलको क्रेज अर्कै थियो,’ राष्ट्रिय फुटबल टिमको पहिलो कप्तान सिंह गर्वका साथ सुनाउँछिन् ।

यो चार दशक अगाडीको कुरा हो । अहिले धेरै कुराहरु परिवर्तन भए । फुटबलको त्यो क्रेज ठ्याक्कै उल्टो छ । महिला फुटबलको क्रेज पुरुषको तुलनामा निकै कम छ । महिलाहरुले फुटबल खेलेको हेर्न खचाखच भरिने दशरथ रंगशालामा अहिले समर्थकको भीड लाग्दैन ।

महिला टिम निर्माण र रमाको संयोग

१३ जना दाजुभाइ दिदीबहिनीको ठूलो परिवारमा जन्मिएकी रमा सिंह आधुनिक शैलीमा हुर्कन पाइन् । जहाँ छोरा र छोरीलाई समान व्यवहार हुन्थ्यो । महिलाका लागि खेलकुदमा निकै सीमितता थियो । एसएलसी सकेर २०३८ सालमा पद्मकन्या क्याम्पसमा भर्ना भएपछि सिंहले भलिबलबाट खेलकुदमा प्रवेश पाएकी हुन् । क्याम्पसले पहिलोपल्ट बनाएको टिमकी सदस्य बनेर त्रिपुरेश्वरस्थित कभर्डहलमा भलिबल प्रतियोगिता खेलेकी थिइन् ।

त्यति बेलासम्म नेपालको महिला राष्ट्रिय फुटबल टोली थिएन । भलिबल टोली देखेर अखिल नेपाल फुटबल संघका तत्कालीन अध्यक्ष कमल थापाले सबैलाई फुटबल खेल्न प्रस्ताव गरे ।

फिफाको बाध्यकारी नियम कार्यान्वयन गर्नैपर्ने अप्ठेरो परेपछि उनले पद्मकन्याका विद्यार्थीलाई रोजेका थिए । ‘त्यो बेला फिफाले पुरुष टोली भएको देशमा महिला टोली पनि अनिवार्य हुनुपर्ने नत्र अनुदान कटौती गर्ने चेतावनी दिएको रहेछ,’ कार्यक्रममा उनले स्मरण गरिन्, ‘त्यसपछि ऐतिहासिक महिला टिम बन्यो ।

पर्याप्त महिला खेलाडी नपाउनु तत्कालीन परिस्थितिगत बाध्यता थियो । काठमाडौं, पोखरा र धरानका खेलाडीहरु जम्मा गरी पहिलोपल्ट राष्ट्रिय टिम बनेको थियो । भारतबाट खेलाडी बोलाएर दशरथ रंगशालामा खेलाइएको पहिलो खेल नेपालले जित्यो । ‘दार्जिलिङ–११ र नेपाली महिला टोलीबीच प्रदर्शनी खेल खेलाइएको थियो । हामीले पहिलो खेल जितेका थियौं,’ सिंह स्मरण गर्छिन् ।

त्यो खेलमा नेपाली महिला टोलीको खेल हेर्न आएका समर्थक सम्झँदा अहिलेसम्म पनि उनलाई विश्वास हुँदैन । ‘महिला फुटबलको त्यो क्रेज निकै नै अविस्मरणीय थियो । रंगशाला पूरै खचाखच भरिएको थियो । त्यतिमात्रै नभएर बाहिर पनि उत्तिकै समर्थकहरु हुनुहुन्थ्यो,’ सिंहले भनिन् ।

व्यवस्थित मैदानमा खेल्न जानेनौं

नेपालले सन् १९८६ (वि.सं २०४३)मा पहिलो पटक हङकङमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको हो । त्यस बेलासम्म नेपालका केही जिल्लामा महिला फुटबल टोली बनिसकेको थियो ।

त्यहींबाट खेलाडी छनोट गरी काठमाडौंमा डेढ महिना लामो प्रशिक्षण सकेर १८ सदस्यीय महिला टोली हङ्कङमा एएफसी महिला च्याम्पियनसिप खेल्न गयो ।

‘हामीमा पनि अन्तर्राष्ट्रिय खेल खेल्न जाने भन्ने उत्साह थियो, तर पुरुष टोलीले स्थापित गर्न नसकेको कुरा हामीले कसरी सक्छौं होला र ? भन्ने डर थियो,’ सिंहले भनिन् ।

त्यसबेला दक्षिण एसियाली क्षेत्रमा नेपाल र भारतको मात्रै महिला टोली थियो । महिला टोलीलाई जावलाखेलको महेन्द्र युवालयमा राखेर प्रशिक्षण गराइएको थियो । बाहिरबाट आएका खेलाडी रात दिन त्यहि बस्थे भने काठमाडौंका खेलाडी घरबाट आउजाउ गर्थे । दिनको दुई पटक प्रशिक्षण हुन्थ्यो ।

फिफाले अनिवार्य बनाएका कारण नेपालजस्तै हङ्कङ, थाइल्यान्डजस्ता देशहरुले पनि पहिलो पटक महिला टोली बनाएका थिए । सबै देशका सबै खेलाडी सिक्दै थिए । तर प्राविधिक कुरामा थाइल्यान्ड, हङकङ जस्तादेशहरु त्यतिबेला पनि राम्रा थिए ।

नेपालको पक्षमा भन्ने हो भने नेपाली कतिपय खेलाडीको बुट नै थिएन । खेल्न जाने भनेर भनिएको १२ घण्टा अगाडी हतार हतार ट्रयाकसुट आइपुगेको थियो । ल्याइएका बुटहरु कसैलाई सानो त कसैलाई ठूलो भएर समस्या भएको थियो । नयाँ बुटमा खेल्ने बानी नपरेर कतिपयले त स्पोर्टस जुत्तामै फुटबल खेले ।

‘सबैभन्दा घतलाग्दो पक्ष त के भयो भने, हामीलाई हङकङको आधुनिक र सु–व्यवस्थित मैदानमा दौडनै अप्ठेरो भयो । नेपालको रंगशालामा त्यो बेला माटोको ढिस्को कतै घाँस त कतै, मसिना ढुंगा भएको मैदान थियो,’ उनले भनिन्, ‘हङकङको मैदान त हिंड्दा नै लचक्क हुने । हिंड्दा त लच्किन्छ, कसरी दौडने भन्ने भयो ।’

नेपालले पहिलो खेल नै घरेलु टोलीसँग खेलेको थियो । हङकङसँगको त्यो खेल सिंहका लागि टोलीको कप्तान बनेर खेलेको पहिलो खेल थियो । अन्य राष्ट्रहरु त बरु नेपालकै अवस्थामा थिए तर त्यो बेलाको एएफसी कपमा सशक्त टोली थिए, चीन, जापान र दक्षिण कोरिया । यी राष्टहरु महिला फुटबलमा निकै अगाडि थिए ।

‘भारतमा १२ गोल खायौ होइन भन्दै पत्रकारहरुले जिस्काए पनि,’ सिंहले सम्झिन्, ‘नेपालले त्यो बेलाको अवस्थामा गएर प्रतिस्पर्धा गरेर आउनु नै, ठूलो कुरा थियो कुन अवस्थामा कसरी खेल्यौं हामीलाई थाहा छ ।’

नेपाली महिला फुटबलमा आएको परिवर्तन

नेपाली महिला फुटबलमा इतिहास राखे पनि उनले करिअरलाई निरन्तरता दिन सकिनन् । त्यसको प्रमुख कारण अव्यावसायिकता नै थियो । उनको अनुभवमा त्यो बेलाका खेलाडीका लागि फुटबल एक लतजस्तै थियो । न कुनै लगानी थियो, न त कुनै प्रतियोगिता । पाउने सुविधाको त आशै नगरौं ।

तेस्रो राष्ट्रिय खेलकुद (२०४२साल)का बेला वीरगञ्जमा गएका बेला स्कुल तथा धर्मशालामा पराल ओछ्याइएका् बिछ्यौनामा रात काटेर प्रतियोगिता खेल्नुपरेको थियो । नेपालको राष्ट्रिय खेलकुदमा त्यो बेला महिला खेलाडीलाई विभागमा राखेर सुविधा दिने चलन थिएन । ‘अहिलेका खेलाडी केही नभए पनि हामीले जस्तो अभाव भोग्नु परेको छैन । अझै पर्याप्त चाहीं छैन,’ उनले थपिन् ।

उति बेला महिला खेलाडीले आफ्नो अधिकारका लागि झगडा गर्नुपरेको सिंह सम्झिन्छिन् । भन्छिन्, ‘२२ प्रतिशत महिला फुटबलमा लगानी भन्ने नियम थियो तर, हामीले पाएका थिएनौं ।’

झण्डै दुई दशक अमेरिका बसेर अब नफर्किने गरी नेपाल आएकी छन् उनी । भविष्यमा फुटबलका लागि कुनै भूमिकामा प्रस्ताव आए सहयोग गर्न तयार छिन् । उनले भनिन्, ‘म अब नेपाल नै बस्ने गरी फर्किएकी हुँ । एन्फाले चाहेमा महिला फुटबलका लागि मैले सक्ने सहयोग गर्न सधैं तयार छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?